प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ १/८ पृ. १२-१५
  • पहिले वीर योद्धा पछि ख्रीष्टका सिपाही

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पहिले वीर योद्धा पछि ख्रीष्टका सिपाही
  • ब्यूँझनुहोस्‌!—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • छुटकारा
  • धर्म र युद्धका लागि प्रशिक्षित
  • युद्धपछिका परिवर्तनहरू
  • आफ्नो अडानमा दृढ
  • बल्ल, ख्रीष्टका सिपाही
  • “शर्माउन नपर्ने कामदार” हुने प्रयास
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • म ख्रीष्टको सिपाही हुन चाहन्थें
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • “मैले अरूबाट धेरै कुरा सिकेको छु!”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
ब्यूँझनुहोस्‌!—१९९९
g९९ १/८ पृ. १२-१५

पहिले वीर योद्धा पछि ख्रीष्टका सिपाही

लुइस लोलियटको वृत्तान्तमा आधारित

दोस्रो विश्‍व युद्धको दौडान अगस्त १६, १९४४ का दिन दक्षिणी फ्रान्सको समुद्रीतटमा पुगेको संयुक्‍त सैन्य टोलीमा म पनि थिएँ। भूमध्यसागरको तटमा हप्तादिनको लडाइँपछि हाम्रा ट्याङ्‌कहरू मार्सेलको समुद्री किनारा र फेरि लडाइँ गर्दागर्दै माथि नट्रे-डाम-डे-ला-गार्ड बेसिलिकासम्म पुगे। हाम्रो लक्ष्य, त्यहाँ पुगेर जर्मन सेनाहरूको शिविरलाई कब्जामा लिने थियो।

भीषण युद्ध भयो। हाम्रो समूहको ट्याङ्‌कमा प्रहार गरियो र मसँगै भएका तीन जना सिपाहीहरूको मृत्यु भयो। जमिनमुनि बिछ्याइएको विस्फोटक पदार्थले मेरो ट्याङ्‌कको पेटी बिगारेर चल्दै नचल्ने भयो। कुनै हालतमा हार नमान्‍ने दृढ निश्‍चय गरेर हामी त्यसपछि केही घण्टासम्म लडिरह्‍यौं।

मेरो एउटा हातमा मेसिन गन र अर्को हातमा फ्रान्सको झन्डा थियो। युद्ध अलि साम्य भएको मौका पारेर म स्वतन्त्र फ्रान्सको योद्धासँगसँगै अघिल्तिर दौडें। लखतरान र बारूदको धुवाँले कालै भए पनि बेसिलिकाको प्रवेशद्वारमा फ्रान्सको झन्डा गाडें।

छुटकारा

त्यसपछिका हप्ताहरूमा, पछि हटिसकेका जर्मन सैन्य दललाई पक्रने उद्देश्‍यले हामी उत्तरतिर लाग्यौं। सडकहरूमा टाउकोमै छोला जस्तो गरी स्नाइपर तथा तारहरू थिए र यसले गर्दा हामीले ट्याङ्‌क भित्र छिर्ने प्वाल बन्द गर्नुपऱ्‍यो।

अक्टोबर महिनामा हाम्रो टोली उत्तरपूर्वी फ्रान्सको भोझ पहाडको सानो गाउँ रामोनशाँ पुग्यो। यो गाउँ उजाड देखिन्थ्यो। ट्याङ्‌कमा उभिएर चारैतिर हेरिरहेको बेला खै, कता झ्यालबाट प्रहार गरिएको रकेट हाम्रो ट्याङ्‌कमा छिऱ्‍यो र त्यो विस्फोट हुँदा हाम्रो टोलीका तीन जना मानिसको घटनास्थलमै मृत्यु भयो। अर्को सिपाही र मलाई पनि गम्भीर चोटपटक लाग्यो अनि ट्याङ्‌क काम नलाग्ने भयो। मेरो खुट्टामा बमका १७ वटा स-साना टुक्राहरू घुसे। तैपनि मैले जसोतसो ट्याङ्‌कलाई आफ्नो नियन्त्रणमा राखें र अर्को ट्याङ्‌कले बिस्तारै तान्यो।

यस घटनाले गर्दा मलाई सेवामुक्‍त गर्नुका साथै प्रशंसापत्र पनि दिइयो। केही दिनपछि फ्रान्सेली प्रथम सेनाका सेनापति, जर्नेल डे लाट्रे डे टासेन्येले मैले मार्सेलमा गरेको कार्यको लागि सम्मान दिंदै यसो भन्‍नुभयो: “हाम्रो चाँडै भेटघाट हुनेछ।”

यसको धेरै समय नबित्दै मलाई जर्नेलको निजी सहचारी खटाइयो। पछि मे ८, १९४५ का दिन जर्मनले हार स्वीकार्दा फ्रान्सको प्रतिनिधि भएर उहाँ बर्लिन जानुभएको थियो र म पनि सँगै थिएँ। त्यसपछिको चार वर्ष रातदिन म उहाँकै सेवामा हाजिर भएँ।

यद्यपि, दोस्रो विश्‍व युद्धका यी महत्त्वपूर्ण गतिविधिहरूमा म कसरी सामेल हुन पुगें?

धर्म र युद्धका लागि प्रशिक्षित

मेरो लालनपालनले गर्दा म रोमन क्याथोलिक भक्‍त भएँ र आफ्नो ईश्‍वर अनि देशको सेवा गर्न चाहन्थें। फ्रान्स, दोस्रो विश्‍वयुद्धमा सामेल हुनुभन्दा केही दिनअघि अर्थात्‌ अगस्त २९, १९३९ का दिन म सशस्त्र गाडी प्रयोग गर्ने सेनामा भर्ती भएँ। म त्यतिबेला १८ वर्षको मात्र थिएँ। पेरिसको मिलिटरी प्रतिष्ठानमा पाँच महिने प्रशिक्षणपछि अफिसरको सहयोगीको कार्यभार सँभाल्न फ्रान्सको पूर्वी डफ्फामा खटाइएँ।

यो नाउँमात्रको युद्धको समय थियो किनभने हामी अर्कै इलाकामा व्यस्त जर्मन सेनाहरूले हामीकहाँ कहिले आक्रमण गर्लान्‌ भनेर कुरेर मात्र बस्थ्यौं। पछि जर्मनहरूले साँच्चै आक्रमण गर्दा जून १९४० मा म युद्धबन्दी बनाएर लगिएँ। दुई महिनापछि म भागेर उत्तर अफ्रिकाको फ्रान्सेली सेनामा सामेल भएँ।

मरुभूमिको फ्याउरो नाउँले चिनिने जर्नेल अर्विन रोमेलको नेतृत्वमा ट्युनिसियामा छँदा जर्मन सेनाहरू विरुद्ध लडाइँमा मेरो शरीरको ७० प्रतिशतभन्दा बढी भाग जलेको थियो र नौ दिनसम्म म अचेत अवस्थामा थिएँ। फ्रान्सेली वैदेशिक सेनाको मुख्य कार्यालयस्थित उत्तरपश्‍चिम अल्जेरियाको सिदी-बेल-अबिसको अस्पतालममा तीन महिना बस्नुपऱ्‍यो। उत्तर अफ्रिकामा छँदा मैले क्रा दे गर्‌, मिलिटरी क्रस पाएँ।

क्याथोलिक पादरीहरूले हामीलाई हाम्रो “मसीही” कर्त्तव्य गर्न आग्रह गर्थे। तिनीहरूको आग्रहअनुसार म फ्रान्सको लागि आफ्नो ज्यानसमेत दिन तयार थिएँ। मौका मिलेको बेला लडाइँमा जानुअघि म सधैं चर्चमा गएर प्रसाद खाने गर्थें। अनि लडाइँ चर्किरहेको बेला परमेश्‍वर र कन्या मरियमलाई प्रार्थना गर्ने गर्थें।

म विरोधी दलका सेनाहरूको आदर गर्थें, तिनीहरूमध्ये थुप्रै भक्‍त रोमन क्याथोलिकहरू थिए। कोही कोहीले गट मिट उन्स (परमेश्‍वर हामीसित हुनुहुन्छ) लेखिएको पेटी लगाउँथे। एउटै धर्म मान्‍ने दुइटा विरोधी समूहका सिपाहीहरूको प्रार्थना परमेश्‍वरले सुन्‍नुहुन्छ होला र?

युद्धपछिका परिवर्तनहरू

युद्धपछि अप्रिल १०, १९४७ का दिन जर्नेल डे लाट्रे डे टासेन्येको गाउँ, भेन्डीको म्युरों-आ-पारमा बस्ने रान नाउँकी केटीसित विवाह गरें। मेरो विवाहमा जर्नेल साक्षी बस्नुभयो। जनवरी १९५२ मा उहाँको मृत्युपछि शाही शवयात्रामा उहाँको सानो झन्डा बोकें।

सन्‌ १९५२ सालको अन्ततिर आइतबार बिहानको कुरा हो, मेरी पत्नी र म हाम्री सानी छोरीलाई लिएर चर्चमा मास मनाउन घरबाट निस्कनै लाग्दा यहोवाका दुई जना साक्षीहरूले घण्टी बजाए। तिनीहरूले बाइबलबारे गरेको कुराले हाम्रो चासो जाग्यो। मेरी पत्नी र मेरो धर्मप्रति निकै आस्था भए तापनि बाइबलबारे त्यति ज्ञान थिएन किनभने चर्चले बाइबल पढ्‌न निरुत्साहित गर्थ्यो। हामीसित बाइबल अध्ययन गर्न प्रस्ताव राख्ने व्यक्‍ति लोपोल झोन्टा हुनुहुन्थ्यो। उहाँ यहोवाका साक्षीहरूको फ्रान्स शाखा कार्यालयको तत्कालीन निरीक्षक हुनुहुन्थ्यो। सानैदेखि मेरो मनमा खेलिरहेका प्रश्‍नहरूको जवाफ मैले बल्ल बाइबल अध्ययनबाट पाएँ।

उदाहरणका लागि, हाम्रो पिता वा प्रभुको प्रार्थना सुन्दा मलाई सधैं छक्क लाग्थ्यो। क्याथोलिक भएकोले मरेपछि सबै असल मानिसहरू स्वर्ग जान्छन्‌ भन्‍ने विश्‍वास राख्थें। त्यसकारण, “तपाईंको इच्छा . . . यस पृथ्वीमा पूरा होस्‌” भनी परमेश्‍वरसित प्रार्थना गर्नुको कारण बुझेको थिइनँ। (मत्ती ६:९, १०) मैले यसबारे प्रश्‍न गर्दा पादरीले सुन्दै नसुनेजस्तो गर्थ्यो वा सबै मानिसहरू रोमन क्याथोलिक भएपछि यो प्रार्थनाको जवाफ पाउनेछौ भन्‍ने गर्थ्यो। तर त्यो जवाफ मलाई चित्त बुझेन।

त्रिएकसम्बन्धी प्रश्‍नहरूको पनि पादरीहरूले चित्तबुझ्दो जवाफ दिन सकेनन्‌। चर्चको धर्ममतअनुसार यो क्याथोलिक शिक्षाले के सिकाउँछ भने, ‘पिता परमेश्‍वर हो, पुत्र परमेश्‍वर हो र पवित्र आत्मा पनि परमेश्‍वर हो तर तिनीहरू तीन वटा नभई एउटा परमेश्‍वर हो।’ अतः येशू, सर्वशक्‍तिमान्‌ परमेश्‍वर नभई परमेश्‍वरको पुत्र हुनुहुन्छ भन्‍ने बाइबलको स्पष्ट शिक्षा बुझ्दा मेरी पत्नी र म असाध्यै खुसी भयौं।—मर्कूस १२:३०, ३२; लूका २२:४२; यूहन्‍ना १४:२८; प्रेरित २:३२; १ कोरिन्थी ११:३.

हामी दुवैलाई हाम्रो आँखा खुलेजस्तो र जस्तोसुकै त्याग गर्न लायकको बहुमूल्य मोती भेटाएजस्तो लाग्यो। (मत्ती १३:४६) यस्तो खजाना हात पार्न हामीले एउटा छनौट गर्नुपर्नेछ भनेर हामीले बुझ्यौं। हामीले पनि प्रेरित पावलको जस्तै दृष्टिकोण अपनाउन ढिला-सुस्ती गरेनौं। तिनले “ख्रीष्ट येशूको ज्ञानको श्रेष्ठताको निम्ति सब कुरालाई पनि हानिको” ठाने। यसप्रकार, परमेश्‍वरको सेवा गर्न हामीले जीवनमा छाँटकाँटहरू गऱ्‍यौं।—फिलिप्पी ३:८.

आफ्नो अडानमा दृढ

साक्षीहरूसित बाइबल अध्ययन गर्न थालेको केही महिना मात्र भएको थियो, अप्रिल १९५३ मा मैले इन्डोचाइना युद्धमा लड्‌न खटाइएको फ्रान्सेली सैनिक टोलीमा सामेल हुने आदेश पाएँ। त्यतिबेला म पेरिसको सैनिक उपरथीको सहायक थिएँ। यतिञ्जेल मैले तटस्थताबारे बाइबलको सिद्धान्त बुझिसकेको हुँदा मैले एउटा निर्णय गर्नुपर्ने खाँचो महसुस गरें। (यूहन्‍ना १७:१६) अब उप्रान्त युद्धमा भाग नलिने इच्छा व्यक्‍त गर्दै इन्डोचाइनाको युद्धमा सामेल नहुने कुरा हाकिमहरूलाई बताएँ।—यशैया २:४.

मेरा हाकिमहरूले भन्‍नुभयो, “त्यसो गरेको खण्डमा तिम्रो नाउँमा कालो धब्बा लाग्नेछ र अबउप्रान्त कुनै पनि मौकाहरू पाउनेछैनौ भनी थाह छ कि छैन?” त्यसबेलादेखि मलाई अलि पन्छाउन थालियो। तर यो मेरो लागि सुरक्षा भयो किनभने म सैनिक सेवाको लागि हाजिर हुनुपरेन। समाजमा यस्तो ठूलो प्रतिष्ठा हुने कुरालाई मैले स्वीकार नगर्नुको कारण मेरो परिवार र साथीभाइले बुझ्नै सकेनन्‌।

बेग्लै विश्‍वासको बावजूद मलाई आदर गर्ने अख्तियारवालाहरूले मेरो सैनिक सेवालाई हेरेर थप सुविधाहरू दिए। त्यसपछि दुई वर्षको दौडान म लामो समयसम्म स्वास्थ्य बिदामा बसें र कुनै पनि सैन्य गतिविधिहरूमा भाग लिनु परेन। यो समयमा मेरी पत्नी र म यहोवाका साक्षीहरूको स्थानीय मण्डलीका सभाहरूमा उपस्थित हुनुका साथै यो नयाँ विश्‍वासबारे अरूलाई बतायौं।

बल्ल, ख्रीष्टका सिपाही

बल्ल १९५५ सालको सुरुतिर म सैनिक जिम्मेवारीहरूबाट मुक्‍त भएँ। त्यसको पन्ध्र दिनपछि मार्च १२ का दिन मेरी पत्नी र मैले भर्सेलमा सम्पन्‍न सम्मेलनमा यहोवा परमेश्‍वरप्रति हाम्रो समर्पणलाई पानीको बप्तिस्माद्वारा प्रकट गऱ्‍यौं। अब मेरो पुरानो पेसा नरहेकोले परिवारको हेरचाह गर्न अर्कै काम खोज्नुपऱ्‍यो। त्यसपछिको चार वर्षसम्म पेरिसको आल (मुख्य बजार) भन्‍ने ठाउँमा भरियाको काम गरें। यस्तो छाँटकाँट गर्नु सजिलो भएन तर यहोवाले आशिष्‌ दिनुभयो।

वर्षौंको दौडान मेरी पत्नी र मैले थुप्रै मानिसहरूलाई बाइबल सन्देश स्वीकार्ने मदत दिन सक्यौं। मैले थुप्रै सैनिक तथा निजामती हाकिमहरूलाई तटस्थताबारे मसीही दृष्टिकोण बुझाउने मौका पाएँ। म पहिले सिपाही भएको हुँदा यहोवाका साक्षीहरूबारे थुप्रैको पूर्वाग्रहलाई हटाउने मदत दिन सकेको छु। युद्धहरूको सन्दर्भमा ख्रीष्टका प्रारम्भिक अनुयायीहरूको पनि अडान यस्तै थियो भनेर मसीही तटस्थताको कारण बुझाउने मौका पाएको छु। उदाहरणका लागि, प्राध्यापक सि. जे, काडुले प्रारम्भिक चर्च र संसार (अंग्रेजी) नामक आफ्नो पुस्तकमा यस्तो लेखे: “मार्कस एरेलियसको शासनकालसम्म [सा.यु. १६१-१८०] हेर्ने हो भने मसीहीले बप्तिस्मा लिएपछि कुनै पनि हालतमा सैन्य सेवामा सामेल हुन मिल्दैनथ्यो।”

मैले भोगेको सबैभन्दा कठिन परीक्षाहरूमध्ये १९७७ मा मेरी पत्नीको मृत्यु पनि हो। मर्नुअघि एक वर्षसम्म उनलाई रोगले पिरोल्यो तर मरुञ्जेल साहसी भई आफ्नो विश्‍वास प्रकट गरिन्‌। पुनरुत्थानको अत्युत्तम आशाले मलाई सँभाल्यो। (यूहन्‍ना ५:२८, २९) नियमित अग्रगामीको हैसियतमा सेवा गरेर पनि मैले आफ्नो विरह कम गर्न सकें। यहोवाका साक्षीहरूको पूर्ण-समय सेवकहरूलाई नियमित अग्रगामी भनिन्छ। आफ्नो कामबाट अवकाश लिएपछि १९८२ मा मैले अग्रगामी गर्न थालें। पछि, १९८८ मा अग्रगामीहरूलाई प्रशिक्षण दिने स्कूलको प्रशिक्षकको हैसियतमा सेवा गर्न पाउँदा एकदमै खुसी लाग्यो!

मेरी पत्नीको मृत्यु भएदेखि समय समयमा निराशाको सिकार भएको छु। तर आध्यात्मिकतामा बलिया घनिष्ठ साथीहरूले मलाई त्यस्तो अवस्थाबाट उम्कन मदत गरेका छन्‌। यी सबै कठिनाइहरू झेल्दा मैले यहोवाको बल तथा कृपा महसुस गरेको छु, किनकि उहाँमाथि भरोसा राख्ने सबैको उहाँ ख्याल राख्नुहुन्छ। (भजन १८:२) यी परीक्षाहरूले हामीलाई हाम्रो आध्यात्मिक युद्धमा डटिरहन मदत गर्छ जस्तो पनि मलाई लाग्छ। (१ पत्रुस १:६, ७) मण्डलीको प्राचीन भएको हुँदा मैले निराश भएका अरू व्यक्‍तिहरूलाई मदत गर्न सकेको छु।—१ थिस्सलोनिकी ५:१४.

सानो छँदा सिपाही बन्‍ने कल्पना गर्थें र भनौं भने म अहिलेसम्मै सिपाही रहेको छु। एउटा सेनालाई छोडेर अर्को सेना, अर्थात्‌ “ख्रीष्टका सिपाही” भएको छु। (२ तिमोथी २:३) अहिले मेरो स्वास्थ्य त्यति राम्रो नभए पनि क्षमताले भ्याएसम्म ख्रीष्टका सिपाहीको हैसियतमा हाम्रा परमेश्‍वर, यहोवाको आदर, महिमा तथा विजय हुने “असल लड़न्तको” युद्ध लड्‌ने प्रयास गर्दैछु।—१ तिमोथी १:१८.

यो लेख तयार गर्दै गर्दा लुइस लोलियटको मार्च १, १९९८ का दिन मृत्यु भयो।

[पृष्ठ १३-मा भएको चित्र]

जर्नेल डे लाट्रे डे टासेन्येको उपस्थितिमा सम्पन्‍न हाम्रो विवाह

[पृष्ठ १५-मा भएको चित्र]

लुइस लोलियट र तिनकी पत्नी रान, १९७६ मा

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने