युवा जनहरू सोध्छन्. . .
आमाबाबुबिना म कसरी बाचूँ?
“मेरी दिदी चार वर्ष र म तीन वर्षको हुँदा हाम्रो आमाबाबुको सम्बन्ध बिच्छेद भयो। हाम्रो लालनपालन कसले गर्ने हो भन्ने कुरामा उहाँहरूले मुद्दा हाल्नुभयो। आखिरमा हाम्रो लालनपालन गर्ने जिम्मा आमालाई दिइयो। तथापि, म सात वर्षको हुँदा दिदी र मैले बुबासँग बस्ने निर्णय गऱ्यौं।”—ओरासियो।
केही वर्षपछि ओरासियाका बुबा तथा तिनकी प्रेमिका, ओरासियो र उनकी दिदीलाई छोडेर अन्तै हिंडे। ओरासियो यस्तो सम्झना गर्छन्: “यसरी १८ वर्षको उमेरमा नै म परिवारको शिर भएँ र घरमा मेरी १९ वर्षकी दिदी र हामीसितै बस्ने निर्णय गरेकी मेरो १२ वर्षकी सौतेनी बहिनी थिई।”
यसअघिको लेखले देखाएझैं विश्वभरि लाखौं जवानहरूको आमाबाबु छैनन्।a ओरासियोजस्तै कतिपय त्यागिएका छन्। अनि कतिले चाहिं मृत्युको कारण आफ्नो आमाबाबु गुमाएका छन् वा युद्ध तथा प्राकृतिक प्रकोपको कारण आमाबाबुसित छुट्टिएका छन्। परिस्थिति जस्तै भए तापनि आमाबाबुबिना जीवन निर्वाह गर्नु गाह्रो हुनुका साथै त्यसले नराम्रो चोट पुऱ्याउनसक्छ। अनि यसले गर्दा तपाईंको काँधमा धेरै जिम्मेवारीहरू आउनसक्छन्।
‘मेरो देखभाल कसले गर्नेछ?’
तपाईंले कसरी सामना गर्नुहुनेछ भन्ने कुरा धेरै हदसम्म तपाईंको उमेर र परिस्थितिमा भरपर्छ। स्पष्टतः तपाईं आफ्नो बाल्यकालमै वा भर्खरै किशोरावस्थामा पुग्नुभएको छ भने परिस्थिति झनै गाह्रो हुनसक्छ। तैपनि, हुनसक्छ तपाईं बिलकुलै एक्लो हुनुहुन्न होला। सायद, काकाकाकी, मामामाइज्यू वा दाइ वा दिदी तपाईंलाई बास दिन राजी छन् होला।
अनाथ तथा विधवाहरूको हेरचाह गर्नु यहोवाका साक्षीहरूको उपासनाको भाग नै हो। (याकूब १:२७; २:१५-१७) अनि अक्सर मण्डलीका कसै न कसैले मदत गर्नेछ। उदाहरणका लागि, ओरासियो तथा उनकी दिदी र बहिनी यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्दै थिए र सभाहरू धाउँथे। त्यहाँ तिनीहरूले एक मसीही परिवार भेटे र तिनीहरूले उनीहरूलाई मदत गर्न थाले। ओरासियो भन्छन्, “यहोवाको डोऱ्याइ र दिनानुदिन उहाँको मायालु हेरचाहको निम्ति म कत्ति कृतज्ञ छु! हाम्रै उमेरको छोराछोरी भएको मण्डलीको एक आध्यात्मिक तवरमा असाध्यै बलियो परिवारले हामीलाई मदत गर्नु साँच्चै आशिष् नै थियो। उहाँहरूले हामीलाई आफ्नो धर्मपुत्र र धर्मपुत्री बनाउनुभयो भने पनि हुन्छ र यसरी हामीले पूर्णतया भर पर्नसक्ने कोही पायौं र साँच्चै एउटा परिवारको भागजस्तो महसुस गऱ्यौं।”
तथापि, सबै युवाहरूलाई त्यति सजिलो हुँदैन। संयुक्त राष्ट्र बाल कोषको रिपोर्ट यसो भन्छ: “कहिलेकाहीं बेवारिसे बच्चाहरूलाई यस्तो परिवारमा लगिन्छ जहाँ तिनीहरूलाई शारीरिक यातना दिइन्छ, केही पैसा नदिई काममा जोताउँछन् वा उन्नति गर्ने मौका दिंदैनन् र वेश्यावृत्ति वा दास बनाउने जस्ता काम गर्छन्।” अतः तपाईंको कसैले राम्रै हेरचाह गरिरहेको छ भने कृतज्ञ हुनुहोस्।
हो, आमाबाबु नहुनु एउटा अपूरणीय क्षति हो। अनि तपाईंको देखभाल गर्न आमाबाबु नभएकोले तपाईंलाई स्वाभाविकतः रिस उठ्नसक्छ। यसमाथि अझ तपाईंको नातेदार वा दिदी या दाइले यस्तो गर, यस्तो नगरभन्दा झनै रिस मात्र उठ्नसक्छ। तर तपाईंको हेरचाह गर्न खोजिरहेको व्यक्तिमाथि तपाईंको रिस नपोखाउनुहोस्। बाइबलले यसो भन्छ: “होशियार हुनुहोस्, रिसले चूर भएर बदला लिने नगर्नुहोस्। . . . दुष्ट कामतिर नफर्कनु होस्।” (अय्यूब ३६:१८, २१, NW) बाइबलमा उल्लिखित एस्तर नाउँ गरेकी जवान महिलालाई सम्झनुहोस्। तिनी अनाथ भएकी कारण तिनको लालनपालन नातेदार मोर्दकैबाट भएको थियो। उनी तिनको आफ्नै बुबा नभए तापनि मोर्दकैको “आदेशअनुसार” गर्थिन् र तिनले वयस्क होउञ्जेल मौर्दकैको कुरा सुनिन्! (एस्तर २:७, १५, २०) आज्ञाकारी हुने प्रयास गर्नुका साथै मदतगार हुनुहोस्। यसले तनाउ निकै कम गर्नुका साथै सम्मिलित सबैको जीवन धेरै सजिलो बनाउनेछ।
पारिवारिक दायित्व
तपाईंको आफ्नो ठूलो दिदी या दाइ छ वा तपाईं आफै पनि ठूलो भइसक्नुभएको छ भने सायद तपाईं र अन्य दाजुबहिनी आफैले गुजारा चलाउन सक्नुहुन्छ होला। तपाईंले परिवारको शिरको भूमिका निर्वाह गर्नु पनि पर्नसक्छ होला जुन निश्चय पनि एउटा ठूलो जिम्मेवारी हो! तथापि, यस्ता परिस्थितिहरूमा थुप्रै जवानहरूले आफ्नो भाइबहिनीहरूलाई सफलतापूर्वक हुर्काएका छन्।
निश्चय पनि तपाईंलाई कहिलेकाहीं रिस उठ्नसक्छ। आफ्नो भाइ वा बहिनीप्रतिको प्रेमलाई विचार गर्दा तपाईंले अझ सकारात्मक मनोवृत्ति राख्न मदत पाउनुहुनेछ। तपाईंले यसलाई परमेश्वरद्वारा निर्दिष्ट दायित्वको रूपमा लिनुभयो भने पनि मदत हुनसक्छ। आखिर, मसीहीहरूलाई आफ्नो परिवारको पालनपोषण गर्न भनिएको छ। (१ तिमोथी ५:८) तर तपाईंले आमा या बुबाजस्तो हुने लाख प्रयास गर्नुभए तापनि कहिल्यै सफल हुनुहुनै छैन।
तपाईंको भाइबहिनीले तपाईंको आमाबाबुको कुरा सुनेजस्तै तपाईंको पनि कुरा सुनोस् भन्ने आशा गर्नु व्यवहारिक हुने छैन। वास्तवमा, तिनीहरूले तपाईंलाई गम्भीरतापूर्वक लिएर तपाईंको कुरा सुन्न समय लाग्छ। अतः त्यतिञ्जेल हरेस नखानुहोस्। “सबै तीतोपना, क्रोध रीस, हो-हल्ला, निन्दा, सारा वैर-भाव[बाट] समेत” अलग रहनुहोस्। असल नमुना बसालेर “एकले अर्कोलाई क्षमा गरेर . . . एक अर्कोप्रति कोमल मनको र दयालु” हुन आफ्नो भाइबहिनीलाई सिकाउनुहोस्।—एफिसी ४:३१, ३२.
ओरासियो आफूले गल्ती गरेको स्वीकार्दै यसो भन्छन्: “कहिलेकाहीं म दिदी र बहिनीसित अत्यन्तै कडा व्यवहार गर्थें। तर त्यो कुनै हदसम्म सुरक्षा नै थियो र यसो गर्दा हामीले यहोवासामु असल आचरण कायम गर्नसक्यौं।”
आफ्नो लागि प्रबन्ध गर्ने
तपाईंको निम्ति प्रबन्धहरू गरिदिने आमाबाबु छैनन् भने निस्सन्देह आफ्नो भौतिक आवश्यकताहरू पूरा गर्ने एउटा ठूलो चिन्ताको विषय हुनेछ। सायद तपाईंले सिक्नुपर्ने कुरा केही छन् जस्तै खाना पकाउने, सरसफाइ गर्ने वा तपाईंले अहिले घरमा गर्न करै लाग्ने अन्य कार्यहरू छन् भने मसीही मण्डलीको कुनै वयस्क सदस्यसित मदत लिन सक्नुहुन्छ। तर पैसा चाहिं कसरी जुटाउने नि? सायद यसको निम्ति काम खोज्नु सिवाय अरू कुनै उपाय नै नहुनसक्छ।
तथापि, कम शिक्षा, अनुभव वा सीप नहुने जवानहरूले हतपती काम पाउँदैनन्। अतः आधारभूत शिक्षा पूरा गर्न वा जागिरको निम्ति थप सीपहरू सिक्न सम्भव छ भने हर हालतमा सिक्नुहोस्। ओरासियो सम्झन्छन्: “दिदी र मैले काम गऱ्यौं र यसरी म र सौतेनी बहिनीले पढ्यौं।” तपाईं विकासोन्मुख राष्ट्रमा बस्नुहुन्छ भने जागिर भेट्टाउन अलि चलाख हुनुपर्ने हुनसक्छ।—अक्टोबर २२, १९९४ अंकको ब्यूँझनुहोस्!-मा (अंग्रेजी) “विकासोन्मुख राष्ट्रहरूमा जागिर सृजना गर्ने” लेख हेर्नुहोस्।
राम्रो आर्थिक अवस्था भएका राष्ट्रहरूमा सरकारबाट आर्थिक मदत प्राप्त गर्न सकिन्छ। अक्सर, आमाबाबु नभएका वा त्यागिएका बच्चाहरूलाई मदतको निम्ति नै भनेर सरकारी वा गैरसरकारी संस्थाहरू खोलिएका हुन्छन्। उदाहरणका लागि, कुनै संस्थाले तपाईंलाई खानेकुरा प्राप्त गर्न वा बस्नको निम्ति ठाउँ खोजी दिन्छन्। निस्सन्देह, तपाईंले जति पनि आर्थिक सहयोग पाउनुहुन्छ बुद्धिमानीपूर्वक चलाउनुपर्छ। बाइबल यसो भन्छ: “रूपियाँपैसा एउटा आश्रय हो।” (उपदेशक ७:१२, नयाँ संशोधित संस्करण) अनि तपाईंले राम्रोसित हिसाब गरेर खर्च गर्नु भएन भने ‘चील आकाशतिर उड़ेझैं पैसाको पनि पखेटा लाग्छ।’—हितोपदेश २३:४, ५.
कुनै एक वयस्कले तपाईंको हेरचाह गरिरहेको छ भने पैसा त्यस्तो ठूलो चिन्ताको विषय नहुनसक्छ। तथापि, भविष्यमा एक न एक दिन तपाईंले आफ्नो निम्ति आफै प्रबन्ध गर्नुपर्नेछ। तपाईंलाई पढाइमा जोड दिन घरमा आमाबाबु नभएकोले तपाईंले अझ थप प्रयास गर्नुपर्ने हुनसक्छ। आध्यात्मिक उन्नतिको सन्दर्भमा मसीही प्रेरित पावलले तिमोथीलाई दिएको सल्लाह स्कूलको शिक्षामा पनि लागू हुन्छ: “यी कुरामा परिश्रम गर। तिनीहरूमानै लागिरह, र तिम्रो प्रगति सबैमा प्रकट होस्।” (१ तिमोथी ४:१५) यसो गर्नु हुँदा तपाईंले अरूको निम्ति असल नमुना बसाल्नुका साथै तपाईं आफैलाई पनि फाइदा हुनेछ।
सबैभन्दा महत्त्वपूर्ण तपाईंले आफ्नो निम्ति आध्यात्मिक तवरमा प्रबन्ध गर्नुपर्छ। आध्यात्मिक गतिविधिको सन्तुलित तालिका तयार गर्नुहोस्। (फिलिप्पी ३:१६) उदाहरणका लागि, यहोवाका साक्षीहरू दिनहुँ परिवारसित बाइबल पद छलफल गर्छन्। यसलाई तपाईंको दैनिक तालिकाको भाग बनाए कसो होला? नियमित तवरमा बाइबल अध्ययनका साथै मसीही सभामा उपस्थित हुँदा आध्यात्मिक तवरमा बलियो हुन मदत मिल्नेछ।—हिब्रू १०:२४, २५.
चुनौती सामना गर्ने
आमाबाबुबिनाको जिन्दगी अवश्य गाह्रो हुन्छ तर त्यसो भन्दैमा तपाईंको जीवन पूरै दुःखमय, अन्धकार हुन्छ भन्ने पनि छैन। बीस वर्षीया पावोलाकी आमाको मृत्यु तिनी छ वर्षको मात्र हुँदा भयो। तिनका बुबाको मृत्यु पनि तिनी दस वर्ष छँदा नै भयो। एक दयालु आइमाईले तिनी र तिनको एक दिदी र तीन बहिनीलाई बस्न ठाउँ दिइन्। के तिनको जिन्दगी बर्बाद भयो त? भएन। पावोला भन्छिन्: “हो, हाम्रो परिवार अरू सामान्य परिवारहरू जस्तो थिएन तर हाम्रो बाल्यकाल राम्ररी नै बित्यो। वास्तवमा भन्ने हो भने हामीबीचको बन्धन प्रायजसो परिवारहरूको भन्दा बलियो छ।”
पावोलाकी दिदी आइरिन पनि भन्छिन्: “हो, हाम्रो आमाबाबु छैनन् तर हामी अन्य जवान व्यक्तिहरू जस्तै छौं।” यस्तै परिस्थितिमा भएका अरूहरूलाई तिनको कस्तो सल्लाह छ? “जिन्दगी बर्बाद छ भन्ने नसोच्नुहोस्।” यस्तैगरि, ओरासियो भन्छन्: “यस परिस्थितिको कारण म चाँडै परिपक्व भएँ।”
आफ्नो आमाबाबु गुमाउनु भनेको सबैभन्दा पीडादायी घटनाहरूमध्ये एक पक्कै हो। तर यहोवाको मदतद्वारा तपाईं बाँच्नुका साथै उहाँको आशिष् पाउन सक्नुहुन्छ भनी विश्वस्त हुनुहोस्।
[फुटनोट]
a डिसेम्बर ८, १९९८ अंकको ब्यूँझनुहोस्!-को “युवा जनहरू सोध्छन् . . . म किन आमाबाबुबिना बाँच्नुपरेको होला नि?” भन्ने लेख हेर्नुहोस्।
[पृष्ठ २०-मा भएको चित्र]
मसीही प्राचीनहरूबाट तपाईंले मदत पाउन सक्नुहुन्छ