आफ्नो छोराछोरीलाई दुर्घटनाबाट जोगाउनुहोस्
स्वीडेनका ब्यूँझनुहोस्! संवाददाताद्वारा
कार्लएरिक र बिर्गिटा भर्खरै मृत्यु भएको छिमेकीको घर सफा गर्दैगर्दा तिनीहरूको तीन वर्षकी छोरी हाना पनि सँगै थिइन्। केही छिनपछि हाना हातमा औषधीको सिसी लिएर बाहिर आइन्। उनले त्यो सिसीबाट केही चक्कीहरू त खाइसकेकी थिइन्। कुन औषधीको सिसी रहेछ भनी थाह पाएपछि बिर्गिटा आत्तिइन्। त्यो सिसी छिमेकीले खाने गरेको मुटुको रोगको औषधी थियो।
तुरुन्तै हानालाई अस्पताल लगियो र त्यहाँ उनलाई रातभरि सघन उपचार कक्षमा राखियो। उनको शरीरमा उक्त औषधीले गम्भीर हानि पुऱ्याउनसक्थ्यो तर उनलाई केही भएन। किन? किनभने उनले ती चक्कीहरू खानुभन्दा केही समयअघि पकाएको अन्न अलिकता खाएकी थिइन्। त्यस औषधीको विष अन्नले सोस्यो र त्यो उनले बान्ता गर्दा निस्कियो।
हानाको जस्तो अनुभव आकलझुकल मात्र हुने घटना पक्कै होइन। संसारभरि दिनहुँ हजारौं केटाकेटीहरू दुर्घटनामा पर्छन् र तिनीहरूलाई चिकित्सक वा अस्पताल कुदाउनुपर्ने हुन्छ। स्वीडेनमा मात्र वर्षेनी ८ जना केटाकेटीमा १ जनालाई दुर्घटनाको कारण उपचार गर्नुपर्छ। तसर्थ, तपाईं पनि आमा वा बुबा हुनुहुन्छ भने तपाईंको बच्चालाई पनि त्यस्तै केही दुर्घटना हुने सम्भावना धेरै हुन्छ।
केटाकेटीलाई आफ्नै घरमा वा सधैं खेल्ने ठाउँमा चोटपटक लाग्नु कुनै नौलो कुरा होइन। तिनीहरूलाई लाग्ने चोटपटक उमेरअनुसार फरक हुन्छ। दूधे बालक उसको थाङ्ना फेर्न राखिएको पलङबाट खस्नसक्छ वा घाँटीमा खानाको सानो टुक्रा वा केही सानो कुरा अड्केर सर्किन वा निसासिन सक्छ। बामे सर्न थालेका बच्चाहरू चाहिं चढ्न खोज्दा वा सामान भेट्न खोज्दा लड्नसक्छ वा तातो कुरा छुँदा पोल्नसक्छ वा चाख्दा विष लाग्नसक्छ। स्कूल जाने उमेरका केटाकेटीचाहिं सवारी दुर्घटना वा बाहिर खेल्दा घाइते हुन्छन्।
यस्ता दुर्घटनाबाट प्रायजसो बच्न सकिन्छ। अलि चनाखो अनि बच्चाको अवस्थालाई विचार गर्दा सामान्य चोटपटक वा गम्भीर दुर्घटनाबाट समेत जोगाउन सकिन्छ। यो कुरा १९५४ देखि स्वीडेनमा सञ्चालित बाल सुरक्षा कार्यक्रमबाट प्रमाणित भएको छ। त्यस समयभन्दा अघि वर्षेनी ४५० भन्दा बढी केटाकेटीहरू दुर्घटनामा मर्थे। आज यो संख्या घटेर वर्षेनी सालाखाला ७० जति मात्र पुगेको छ।
घरभित्र
“तपाईंले एक, दुई वा तीन वर्षको बच्चालाई खतरादेखि कसरी बच्ने भनी एक चोटि सिकाएपछि उसले सधैंको लागि सम्झने आशा गर्न सक्नुहुन्न” भनी बाल मनोचिकित्सक कर्सटिन बाकस्ट्रोमले बताइन्। यसर्थ, केटाकेटीलाई दुर्घटनाबाट बचाउने जिम्मेवारी तपाईं आमाबाबुहरू वा हेर्ने जिम्मा पाएका वयस्कहरूको हो।
पहिला त आफ्नो घर वरपर यसो हेर्नुहोस्। सँगै पेटीमा दिइएको सूची चलाउनुहोस्। सायद केही सुरक्षात्मक साधनहरू सबै देशहरूमा उपलब्ध नहुनसक्छ वा एकदमै महँगो होला। तैपनि आफ्नो परिस्थितिअनुसार अलिकति चनाखो र कल्पना शक्ति चलाएर उपाय निकाल्न सक्नुहुन्छ।
उदाहरणका लागि, तपाईंको भान्छाका घर्राहरूको ह्यान्डल सानो प्वाल हुने प्रकारका छन् भने त्यसमा एउटा लट्ठी घुसाएर लक गर्न सक्नुहुन्छ। ओभनको ढोकामा पनि त्यस्तै गर्न सकिन्छ। प्लास्टिकका झोलाहरू पनि गाँठो पारेर राख्दा खतरा कम हुन्छ।
सायद तपाईंले पनि घरभित्र र बाहिर दुर्घटनाबाट बच्न अन्य सरल तरिकाहरू विचार गर्न सक्नुहुन्छ र ती, साना छोराछोरी भएका साथी र जानपहिचानहरूलाई बताउन सक्नुहुन्छ।
घरबाहिर
तपाईंको बच्चा खेल्ने ठाउँ जाँच्नुहोस्। चार वर्ष माथिका अधिकांश केटाकेटीलाई घरबाहिर खेल्दा नै चोटपटक लाग्ने गर्छ। तिनीहरू लड्छन् र चोटपटक लाग्छ वा हुनसक्छ, साइकलबाट खस्छन्। तीनदेखि सात वर्षबीचका केटाकेटीलाई प्रायजसो हुने सबैभन्दा घातकचाहिं सवारी दुर्घटना र पानीमा डुब्ने हो।
बाहिर खेल्ने ठाउँको निरीक्षण गर्दा त्यहाँ चलाइने सामानहरू कस्तो हालतमा छ हेर्नुहोस् ताकि बच्चाहरूलाई चोटपटक नलागोस्। पिङ, मंकी क्लाइम र त्यस्तै अन्य खेल्ने कुराहरूमुनि जमिनमा नरम कुरा जस्तै बालुवा बिछ्याएको छ कि छैन हेर्नुहोस्। त्यस्तो जमिनमा बच्चा खसे पनि चोटपटक लाग्दैन।
तपाईंको घरसँगै पोखरी वा खोला छ कि? एक वा दुई वर्षका बच्चा डुब्न केही इन्च पानी भए पुग्छ। बाल मनोवैज्ञानिक बाकस्ट्रोम भन्छिन्, “अलिकति पानी जम्मा भएको खाल्टोमा सानो बच्चाको मुखले टेक्यो भने उसले कुन तल र कुन माथि ठम्याउन सक्दैन। बच्चाले टाउको उठाउनै सक्दैन।”
अतः मूल कुरा यही हो: एकदेखि तीन वर्षबीचका बच्चाहरूलाई घरबाहिर एक्लै कहिल्यै खेल्न नदिनुहोस्। टोलछिमेकमा पानी जम्मा हुने ठाउँ छ भने अलि ठूलो भएपछि मात्र बाहिर एक्लै खेल्न दिनुहोस्।
सडकमा
तपाईंको घरबाहिर सडकमा गाडी आवतजावत हुन्छ भने पनि कुरा त्यही हो। “सानो बच्चाले सबै कुरा मनमा राख्न सक्दैन, एक चोटिमा एउटा कुरामा मात्र ध्यान दिनसक्छ” भनी बाकस्ट्रोम टिप्पणी गर्छिन्। “तर ट्राफिकमा अलमल्याउने, बुझ्न गाह्रो संकेतहरू थुप्रै हुन्छन्।” तपाईंका साना छोराछोरीलाई कहिल्यै आफै बाटो काट्न नदिनुहोस्। विशेषज्ञहरूअनुसार १२ वर्षको उमेर नपुगुञ्जेल बच्चाहरूलाई व्यस्त ट्राफिकमा साइकल चलाउनसक्ने भइसकेका हुँदैनन्।
तपाईंको छोराछोरीलाई साइकल चढ्दा, घोडा चढ्दा, रोलर स्केट गर्दा वा टोबोग्यान गुडाउँदा सुरक्षा हेलमेट लगाउन सिकाउनुहोस्। टाउकोमा लागेको चोट निको हुन गाह्रो हुन्छ र कहिल्यै निको नहुने वा प्राणघातक चोटसमेत लाग्नसक्छ! एउटा बाल क्लिनिकको तथ्यांकअनुसार साइकल दुर्घटनापछि उपचार गरिएका ६० प्रतिशतको टाउको र अनुहारमा चोट लागेको थियो र हेलमेट लगाएकाहरूको चाहिं टाउकोमा कुनै गम्भीर चोट लागेको थिएन।
साथै गाडीमा यात्रा गर्दा पनि तपाईंको बच्चा सुरक्षित छ, छैन याद गर्नुहोस्। थुप्रै देशहरूमा बच्चाहरूको निम्ति भनेर विशेष गरी डिजाइन गरिएको सुरक्षात्मक पेटी लगाउनु अनिवार्य हुन्छ। यसले गर्दा सवारीसाधन दुर्घटनामा बच्चाहरूको चोटपटक र मृत्यु निकै कम भएको छ। तपाईं बस्ने इलाकामा सुरक्षात्मक पेटीहरू उपलब्ध छन् भने त्यसले ज्यान जोगाउनसक्छ। तर त्यो अनुमति प्राप्त मोडल हुनुपर्छ। स्मरण रहोस्, दूधे बालकहरूको निम्ति पेटी र तीन वर्ष नाघेका बच्चाहरूको पेटी फरक हुन्छ।
हाम्रा छोराछोरी यहोवाले दिनुभएको अनमोल उपहार हुन् र हामी तिनीहरूको हर तरिकामा हेरविचार गर्न चाहन्छौं। (भजन १२७:३, ४) असल आमाबाबु कार्लएरिक र बिर्गिटा आफ्नो छोराछोरीको सुरक्षाको निम्ति सधैं चिन्तित रहन्छन्, हानाको त्यस दुर्घटनाअघि र पछि पनि सधैं चिन्तित हुन्थे। कार्लएरिक भन्छन्, “तर हामी त्यस घटनापछि अझ बढी होसियार भयौं।” बिर्गिटा अन्तमा भन्छिन्: “अब त हाम्रा नातिनातिनाहरू पनि छन् र हाम्रो औषधीहरू सधैं ताल्चा मार्ने दराजमा राख्छौं।”
[पृष्ठ २२-मा भएको पेटी]
तपाईंको घरमा सुरक्षा
• औषधीहरू: बच्चाहरूले नभ्याउने ताल्चा मार्ने दराजमा राख्नुहोस्। यही कुरा भिटामिनका तथा आयुर्वेदिक गोलीहरूको सम्बन्धमा पनि लागू हुन्छ। साथै तपाईंको घरमा रात बस्ने गरी आएका पाहुनाहरूलाई पनि औषधीहरू बच्चाले नभ्याउन सुरक्षित ठाउँमा राख्न सम्झाउनुहोस्।
• घरमा चलाइने रासायनिक पदार्थहरू: ती पदार्थहरू बच्चाले नभ्याउने दराजमा राख्नुहोस्। त्यस्ता चीजहरू अरू भाँडोमा नखन्याई त्यसैको भाँडोमा राख्नुहोस्। तपाईं ती पदार्थहरू चलाउँदा सावधान हुनुहोस् र तपाईं एकैछिनको लागि मात्र कोठाबाट बाहिर निस्कन लाग्नुभएको भए पनि सही ठाउँमा राखेर जानुहोस्। तपाईंको भाँडा माझ्ने मेसिनमा धूलो साबुन कहिल्यै बाँकी नछोड्नुहोस्।
• स्टोभ: स्टोभमा ताप्केको बिंड सधैं बाहिर होइन भित्रतिर फर्काउनुहोस्। उपलब्ध छ भने ताप्केमा सुरक्षा साधन राख्नुहोस्। बच्चा ओभनमा झुन्डिए पनि नढलोस् भनेर त्यसमा बार हाल्नुहोस्। ओभनको ढोकामा पनि ताल्चा लगाउने उपकरण जडान गर्नुपर्छ। ओभनको ढोकामा छुँदा बच्चालाई पोल्छ भने नि? त्यसोभए बच्चाले तातो ढोका समात्न नमिल्ने गरी छेकबार हाल्नुहोस्।
• घरमा चलाइने चोटपटक लाग्नसक्ने समानहरू: चक्कु, कैंचीलगायत अन्य चोटपटक लाग्ने सामानहरू दराजमा वा घर्रामा ताला लगाएर वा बच्चाले नभ्याउने ठाउँमा राख्नुपर्छ। तपाईं त्यस्ता सामानहरू चलाउँदै हुनुहुन्छ र एकछिनको निम्ति बिसाउनुपऱ्यो भने टेबलको छेउमा बच्चाले भ्याउने ठाउँमा होइन, भित्रतिर राख्नुहोस्। सलाई र प्लास्टिक झोलाहरूले पनि साना बच्चाहरूलाई चोटपटक लाग्नसक्छ।
• भऱ्याङ: भऱ्याङको दुवै छेउमा कम्तीमा पनि ७०-५ सेन्टिमिटर अग्लो रेलिङ लगाउनुहोस्।
• झ्याल र कौसीको ढोका: कोठामा हावा आवतजावत गर्न झ्याल वा कौसीको ढोका खोल्दा पनि बच्चाले खोलेर वा त्यसबाट छिरेर चोटपटक नलागोस् भनेर झ्यालढोकामा छेस्किनी वा अन्य केही सुरक्षात्मक साधन लगाउनुहोस्।
• किताब राख्ने तख्ता: बच्चा चढ्ने वा झुन्डिने स्वभावको छ भने किताबका तख्ता तथा अन्य अग्ला फर्निचरहरू भित्तामा मजबुतसित अडाउनुहोस् ताकि त्यो पल्टेर बच्चालाई नलागोस्।
• विद्युतीय प्लग तथा तारहरू: प्रयोग नगरिने विद्युतीय प्लगहरूमा एक प्रकारको लक लगाउनुपर्छ। टेबल बत्ती र त्यस्तै अरू बत्तीको तार भित्तामा वा फर्निचरपछाडि राख्नुपर्छ। यसो गर्दा बच्चाले तान्ने र करेन्ट लाग्ने डर हुँदैन। अन्यथा टेबल बत्ती नै हटाउनुहोस्। इस्त्री त्यतिकै टेबलमा र तार झुन्ड्याएर कहिल्यै नछोड्नुहोस्।
• तातो पानी: तपाईंको घरमा तातो पानीको तापक्रम मिलाउन सक्नुहुन्छ भने ५० डिग्री सेल्सियस जति गर्नुपर्छ। यत्तिको तापक्रममा तातो पानीले बच्चाको छाला डाम्दैन।
• खेलौनाहरू: तीखो धार वा कुनाहरू भएको खेलौना नराख्नुहोस्। स-सानो टुक्रा गर्न मिल्ने खेलौना नराख्नुहोस् किनभने सानो टुक्रा बच्चाले मुखमा राख्यो भने अड्कनसक्छ। कपडाको पुतलीको आँखा, नाक ननिस्कने प्रकारको हुनुपर्छ। बामे सर्ने बच्चा भएको ठाउँमा अलि ठूलो भइसकेका बच्चाहरूलाई खेलौनाहरू भुँइमा नछर्न सिकाउनुहोस्।
• चकलेट तथा भुजुरीहरू: साह्रो खाले चकलेट र भुजुरीहरू बच्चाले भ्याउने ठाउँमा त्यत्तिकै नछोड्नु होस्। ती बच्चाको घाँटीमा अड्किनसक्छ।
[स्रोत]
स्रोत: द चिल्ड्रेन्स् ओमबुडस्म्यानको कार्यालय
[पृष्ठ २२-मा भएको पेटी]
दुर्घटना भएमा
• विष सेवन गर्दा: बच्चाले कुनै विषालु झोल पदार्थ खायो भने मुख राम्रोसित कुल्ला गर्न लगाउनुहोस् र एक वा दुई ग्लास दूध वा पानी पिउन दिनुहोस्। त्यसपछि सरसल्लाहको लागि डाक्टर वा विष जानकारी केन्द्रमा टेलिफोन गर्नुहोस्। बच्चाको आँखामा कुनै पोल्ने कुरा परेको छ भने कम्तीमा पनि दस मिनेटसम्म सफा पानीले पखाल्नुहोस्।
• पोल्दा: सानोतिनो पोलेको घाउमा कम्तीमा पनि २० मिनेटसम्म चिसो पानी (अन्यन्तै चिसो होइन) राख्नुहोस्। बच्चाको हत्केलाभन्दा ठूलो चोट लागेको छ भने वा अनुहार, जोर्नी, पेटको तल्लो भाग वा जननेन्द्रियमा चोट लागेको छ भने आकस्मिक कक्षमा लैजानुपर्छ। गहिरो घाउ भएको छ भने सधैं डाक्टरकहाँ लैजानैपर्छ।
• निसासिंदा: बच्चाको श्वासनलीमा केही अड्केको छ भने तपाईंले त्यो तुरुन्तै निकाल्नुपर्छ। तपाईंले चलाउनसक्ने एउटा सबैभन्दा प्रभावकारी तरिका हाइमलिख तरिका हो। यस तरिकाबारे थाह छैन भने थप जानकारी पाउन तपाईंको चिकित्सकलाई सम्पर्क गर्नुहोस् वा यसबारे सिकाइने बाल दुर्घटना वा प्राथमिक उपचार कक्षमा उपस्थित हुनुहोस्।
[स्रोत]
स्रोत: स्वीडिस रेडक्रस
[पृष्ठ २३-मा भएको चित्र]
साइकल चलाउँदा सुरक्षा हेलमेट लगाउने
[पृष्ठ २३-मा भएको चित्र]
गाडीको सीटमा सुरक्षा पेटी