युवा जनहरू सोध्छन् . . .
म किन सबैसित घुलमिल हुन सक्दिनँ?
“लजाउने बानीले असाध्यै अप्ठ्यारोमा पार्छ। तपाईं डरले निसासिएको महसुस गर्नुहुन्छ। साँच्चै डरले छोप्छ।”—रिचर्ड।a
“म केटाकेटी छँदा असाध्यै लजालु थिएँ। मेरो आफ्नै एउटा सानो संसार छजस्तो लाग्थ्यो।”—१८ वर्षीया एलिजाबेथ।
‘के म ठीक त छु? म किन मानिसहरूसित घुलमिल हुन सक्दिनँ?’ के तपाईं कहिलेकाहीं आफूलाई यस्ता प्रश्न गर्नुहुन्छ। माथि उल्लेख गरिएको रिचर्डजस्तै के तपाईं पनि कोही नयाँ व्यक्ति भेट्दा हडबडाएको वा चिन्तित महसुस गर्नुहुन्छ होला। अनि उच्च ओहदाको मान्छे भेट्नुभयो भने डरले लुरुक्क पर्नुहुन्छ होला। वा आफ्ना भावना वा विचारहरू व्यक्त गर्ने मौका पाउनुहुँदा अरूले तपाईंबारे के सोचिरहेका छन् भनी तपाईं यति चिन्तित हुनुहुन्छ कि बोल्नै सक्नुहुन्न होला। जवान ट्रेसी भन्छिन्: “आफूले राम्ररी नचिनेका मानिसहरूसित कुरा गर्न मलाई असाध्यै गाह्रो लाग्छ।”
त्यस्ता भावनाहरू आउनुको कारण के हुनसक्छ? यस्ता भावनाहरू आउनुको कारण बुझ्नु नै त्यो समस्या हटाउने पहिलो कदम हो। (हितोपदेश १:५) एउटी युवतीले यसो भनिन्: “मानिसहरू वरपर हुँदा किन अप्ठ्यारो लाग्छ मलाई थाहै थिएन। तर अहिले मेरो समस्या ठम्याएकी छु र अब यो समस्या हटाउन केही गर्नसक्छु।” यसकारण, केही युवकयुवतीलाई सबैसित घुलमिल हुन गाह्रो लाग्नुको केही कारण विचार गरौं।
लजालुपनको समस्या
सायद सबैभन्दा सामान्य कारण लजालुपन होला। अक्सर मिलनसार युवकयुवतीले विभिन्न प्रकारका मित्रता गाँसेका हुन्छन् भने लजालुहरूले चाहिं एक्लो र अलग्गिएको महसुस गर्छन्। अठाह्र वर्षीया एलिजाबेथ भन्छिन्: “म केटाकेटी छँदा असाध्यै लजालु थिएँ। मेरो आफ्नै एउटा सानो संसार छजस्तो लाग्थ्यो।” हाई स्कूलको प्रथम वर्षमा अनुभव गरेको तनाउ डायनले अझै बिर्सेकी छैनन्। “मलाई कसैले वास्तै नगरे पनि हुन्थ्यो जस्तो लाग्थ्यो। हाम्रा एक जना शिक्षकले आफू लोकप्रिय हुनु कत्तिको महत्त्वपूर्ण ठान्छौं भनी बताउन लगाएका थिए। शून्यदेखि पाँच अंकसम्ममा चिह्न लगाउनुपर्थ्यो। शून्यले पटक्कै महत्त्वपूर्ण छैन भन्ने बुझाउँथ्यो भने पाँचले महत्त्वपूर्ण छ भन्ने बुझाउँथ्यो। स्कूलका लोकप्रिय केटीहरू सबैले पाँच अंकमा चिह्न लगाए। मैले शून्यमा चिह्न लगाएँ। म लजाउनुको कारण लोकप्रिय होला भन्ने डर पनि थियो। अरूले मन नपराउला भन्ने पीरले गर्दा तपाईं कसैले याद गरेको वा चहलपहलको केन्द्रबिन्दु हुन रुचाउनुहुन्न।”
तर पटक्कै लजालु हुनु हुँदैन भनेको पनि होइन। लजालुपन भनेको विनयी अर्थात् आफ्ना सीमितहरूबारे सजग हुने गुणसित सम्बन्धित छ। वास्तवमा बाइबलले हामीलाई ‘परमेश्वरसित नम्र भएर हिंड्न’ आज्ञा गर्छ। (मीका ६:८) फाइँफुइँ, झगडालु वा नचाहिंदो माग गर्ने मानिससित भन्दा विनयी वा अलि लजालु व्यक्तिसित घुलमिल हुन सजिलो हुन्छ। “बोल्ने एउटा समय” भएजस्तै “चूप्प लाग्ने एउटा समय” पनि छ। (उपदेशक ३:७) लजालु व्यक्तिहरूलाई चुपो लाग्न गाह्रो लाग्दैन। किनभने तिनीहरू “सुन्नालाई छिट्टो, बोल्नालाई ढिलो” हुन्छन् र अक्सर तिनीहरू अरूको कुरा राम्ररी सुन्ने व्यक्तिको रूपमा गनिन्छन्।—याकूब १:१९.
तर धेरै कुरा नगर्ने प्रायजसो लजालु युवकयुवतीले साथी बनाउन साह्रै गाह्रो महसुस गर्छन्। अनि अत्यन्तै लजालु हुँदा कहिलेकाहीं एक लेखकले भनेझैं “भावनात्मक तवरमा अस्थिर होइन्छ” र समाजबाट अलग होइन्छ।—हितोपदेश १८:१.
लजालुपन—एउटा सामान्य समस्या
तपाईं लजालु व्यक्ति हुनुहुन्छ भने यो एउटा अत्यन्तै सामान्य समस्या हो भनेर नबिर्सनुहोस्। स्कूल र कलेजका विद्यार्थीहरूमा गरिएको एउटा अनुसन्धानमा “८२ प्रतिशत विद्यार्थीहरूले आफूलाई कुनै समय लजालु ठानेको कुरा बताए।” (किशोरावस्था, इस्टवूड आटवटरद्वारा लिखित) बाइबल समयमा पनि केही व्यक्तिहरू लजालु थिए। मोशा र तिमोथीजस्ता अख्तियार प्राप्त व्यक्तिहरू पनि लजालु थिए।—प्रस्थान ३:११, १३; ४:१, १०, १३; १ तिमोथी ४:१२; २ तिमोथी १:६-८.
उदाहरणका लागि, पुरातन इस्राएल राष्ट्रका प्रथम राजा शाऊललाई लिनुहोस्। शाऊल, साहसी पुरुष थिए। तिनका पिताको बगालहरू हराउँदा तिनी बहादुर भएर खोज्न गए। (१ शमूएल ९:३, ४) तर तिनलाई इस्राएल राष्ट्रको राजा नियुक्त गर्दा तिनी अचानक लाजले भुतुक्क भए। उत्साही भीडलाई भेट्नुको साटो शाऊल सामानहरूको बीच लुके!—१ शमूएल १०:२०-२४.
शाऊलमा आत्मविश्वासको कमी देखेर कतिपयलाई छक्क लाग्ला। नलागोस् पनि किन, बाइबलले तिनी अत्यन्तै सुन्दर पुरुष थिए भनेर वर्णन गर्छ। “तिनका कुनै पनि साथी तिनको कुमभन्दा होंचो थियो”! (१ शमूएल ९:२) यसबाहेक, परमेश्वरका अगमवक्ताले शाऊललाई यहोवाले तिनको शासनमा आशिष् दिनुहुनेछ भनी आश्वासन दिइसकेका थिए। (१ शमूएल ९:१७, २०) तैपनि तिनलाई आफूबारे यकिन थिएन। तिनी राजा हुनेछन् भनी बताइँदा तिनले विनम्रता साथ यस्तो उत्तर दिए: “म ता इस्राएलका कुलहरूको सबैभन्दा सानो एक बिन्यामिनी हुँ। औ बिन्यामीनका कुलका परिवारहरूमध्ये मेरो घराना सबैभन्दा सानो छ। तपाईं किन यो कुरो मलाई भन्नुहुन्छ?”—१ शमूएल ९:२१.
शाऊलजस्तो मानिसले त आत्मविश्वासको कमी महसुस गरे भने तपाईंले कहिलेकाहीं आत्मविश्वासको कमी महसुस गर्नु कुनै छक्क लाग्दो कुरा होइन। तपाईंको बढ्दो उमेरको कारण शरीरमा विभिन्न परिवर्तनहरू भइरहेको हुन्छ। वयस्कहरूको दुनियाँमा कसरी चल्नुपर्छ भनी भर्खरै बुझ्न थाल्दै हुनुहुन्छ। त्यसैकारण बेलाबेलामा आत्मविश्वासको कमी र असुरक्षित महसुस गर्नु स्वाभाविक हो। आमाबाबु नामक पत्रिकामा डा. डेबिड एल्किन्डले यसो भने: “किशोरावस्थाको सुरुतिर अधिकांश किशोरहरू लजाउने स्वभावका हुन्छन्। तिनीहरूले त्यतिबेला काल्पनिक श्रोताहरू देख्छन् तिनीहरूले आफ्नो रूप, चाल र काम एकोहोरो हेरिरहेका छन् भन्ठान्छन्।”
मानिसहरूले अक्सर जवानहरूको रूपरंग हेरेर तिनी कस्तो व्यक्ति हुन् भनी अडकल काट्ने हुँदा थुप्रै आफ्नो रूपबारे अत्यन्तै चिन्तित हुन्छन्। (२ कोरिन्थी १०:७ तुलना गर्नुहोस्।) तर, आफ्नो बाहिरी रूपबारे अत्यन्तै चिन्तित हुनु राम्रो कुरा होइन। यस सन्दर्भमा फ्रान्सका लिली नाउँ गरेकी युवती आफ्नो अनुभव सम्झँदै यसो भन्छिन्: “अन्य थुप्रै युवाहरूको जस्तै मेरो पनि समस्या थियो। मेरो अनुहारभरि डन्डीफोर थियो! अरूले के सोचिरहेको होला भन्ने पीरले मानिसहरूको सामने पर्ने आँट गर्नसमेत गाह्रो हुन्थ्यो।”
खतरनाक चक्र
अक्सर लजालु व्यक्तिहरूको गलत अर्थ लगाइने भएकोले तिनीहरू एकलकाँटे हुने खतरामा पर्नसक्छन्। किशोरावस्था नामक पुस्तकले यस्तो टिप्पणी गर्छ: “लजालु किशोरहरूले साथी बनाउन गाह्रो महसुस गर्छन् किनभने तिनीहरूबारे अक्सर नकारात्मक सोचाइ राखिन्छ। अक्सर लजालु व्यक्तिहरू एकलकाँटे, पट्टाइलाग्दो, केही कुरामा चासो नभएको, भावशून्य र वैरभावी हुन्छन् भन्ठानिन्छ। त्यसैअनुरूप तिनीहरूलाई व्यवहार गरिंदा तिनीहरूले झनै अलग्गिएको, एक्लो र निराश महसुस गर्छन्।” अनि स्पष्टतः तिनीहरू झनै लजालु हुन्छन् र उल्टो मानिसहरूले तिनीहरूलाई घमण्डी वा आफूलाई मैं हुँ भन्ने मान्छे भन्न थाल्छन्।
निस्सन्देह, तपाईं मसीही भएको नाताले “मानिसहरूका निम्ति तमाशा” हुनुहुन्छ, त्यसकारण तपाईंले अरूको अगाडि कस्तो प्रभाव पार्दै हुनुहुन्छ भनी सजग हुनुपर्छ। (१ कोरिन्थी ४:९) अरूसित कुरा गर्दा के तपाईं आँखामा नहेरी यताउता आँखा घुमाउनुहुन्छ? के तपाईंको शरीरले तपाईंलाई एक्लै छाडिदेओस् भन्ने संकेतहरू दिइरहेको छ? छ भने, तपाईंबारे मानिसहरूले गलत अर्थ लगाइरहेका हुनसक्छन् र तपाईंसित हतपती कुरा गर्न आउँदैनन्। यसले गर्दा मित्रता गाँस्न झनै गाह्रो हुन्छ।
अन्य पक्षहरू
यद्यपि अर्को सामान्य समस्या असफलताको डर हो। हो, कुनै कुरा पहिलो चोटि गर्दै हुनुहुन्छ र तपाईंसित त्यसबारे अनुभव छैन भने अलि डर वा हिचकिचाहट अनुभव गर्नु स्वाभाविक हो। तर केही युवाहरूले हदै नाघ्छन्। गेल नाउँ गरेकी युवती मानिसअगाडि पऱ्यो कि त थर्कमान हुन्थिन्। तिनी भन्छिन्: “म कक्षामा कुनै टिप्पणी नै गर्दिन थिएँ। अनि ‘तिनी कक्षामा हात उठाउँदिनन्। बोल्दै बोल्दिनन्,’ भन्ने जस्ता टिप्पणीहरू मेरा आमाबाबुले सुनिरहनुपर्थ्यो। मलाई बोल्नु भनेको असाध्यै अप्ठ्यारो र तनाउपूर्ण लाग्थ्यो। मलाई अझै पनि गाह्रो लाग्छ।” असफलताको डर असाध्यै भयावह हुनसक्छ। पिटर नाउँ गरेका युवक भन्छन्: “गल्ती होला भन्ने डर लाग्छ। आफूले गरिरहेको काममा कहिल्यै भरोसा लाग्दैन।” साथीहरूको खिसी र आलोचना धेरै खप्नुपर्दा तिनीहरू झनै डराउने हुन्छन् र आत्मविश्वास ह्रास हुनसक्छ।
समाजमा घुलमिल हुन चाहिने सीप नहुनु पनि एउटा अर्को सामान्य समस्या हो। सायद तपाईं कोही नयाँ व्यक्तिलाई आफ्नो परिचय दिन हिचकिचाउनु हुन्छ होला किनभने तपाईंलाई के भन्ने नै थाह छैन। तपाईंलाई सुनेर छक्क लाग्ला तर कहिलेकाहीं वयस्कहरू पनि अप्ठ्यारो मान्छन्। फ्रेड नाउँ गरेका व्यापारी यसो भन्छन्: “व्यापार जगत्मा के गर्नुपर्छ, मलाई राम्ररी थाह छ। व्यापारसम्बन्धी मात्र कुरा गर्दा मलाई राम्रो छवि बसाल्न पटक्कै गाह्रो लाग्दैन। तर त्यही व्यक्तिहरूसित अन्य कुराहरू गर्न हिचकिचाउँछु। मलाई नरमाइलो वा किताबको कीरो वा प्राविधिक कुराको मात्र ज्ञान भएको मानिस भन्ठान्ला भन्ने डर लाग्छ।”
तपाईं लजालु, आफूबारे बढ्तै सोच्ने वा मानिससित घुलमिल हुन अप्ठ्यारो लाग्ने जेसुकै भए तापनि मिलनसार कसरी हुने भनी सिक्दा तपाईंकै भलो हुन्छ। बाइबलले मसीहीहरूलाई “ठूला मनका” हुन र अरूलाई राम्ररी चिन्न प्रोत्साहित गर्छ! (२ कोरिन्थी ६:१३) तर तपाईं त्यो कसरी गर्न सक्नुहुन्छ? यसबारे पछिको अंकमा छलफल गरिनेछ।
[फुटनोट]
a केही नाउँहरू परिवर्तन गरिएका छन्।
[पृष्ठ १६-मा भएको चित्र]
लजालु व्यक्ति अक्सर एकलकाँटे हुन्छ भन्ठानिन्छ
[पृष्ठ १६-मा भएको चित्र]
असफलताको डरले केही युवाहरू समाजमा घुलमिल हुन सक्दैनन्