प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ७/८ पृ. २८-२९
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—२००१
  • उपशीर्षकहरू
  • बालबालिका र भ्रष्ट संगीत
  • भ्रूणले सिक्न र सम्झनसक्छ
  • महिला अनि मुटुको रोग
  • रेफ्रिजरेटरविना ताजा खाना
  • विश्‍वले हरेक हप्ता दुइटा पशु नस्ल गुमाउने गर्छ
  • सेलुलर फोनले गर्दा हुने दुर्घटना
  • मनोवृत्ति र विमान दुर्घटना
  • अति संकटमा परेको मुगा
  • लाभदायक भिटामिन
ब्यूँझनुहोस्‌!—२००१
g०१ ७/८ पृ. २८-२९

विश्‍वदर्शन

बालबालिका र भ्रष्ट संगीत

शिकागो ट्रिब्यून यस्तो रिपोर्ट दिन्छ: “छ सात वर्षका कलिला बालबालिकाहरू फोहोर बोली, यौन अश्‍लीलताले भरिपूर्ण लय र हिंसाले भरिएका संगीत सुनिरहेका छन्‌। पहिले पहिले, शिशु विद्यालयदेखि निम्न माध्यामिक स्तरमा पढ्‌ने बालबालिकाका लागि ‘बाल संगीत’ हुने गर्थ्यो। तर “अहिले पूर्व प्राथमिक कक्षामा पढ्‌ने बालबालिकाहरूले प्रायजसो आफ्ना आमाबाबु र किशोरावस्थाका दाजुदिदीले सुन्‍ने संगीत नै सुन्‍ने गर्छन्‌।” एकातिर अमेरिकाका रेकर्डिङ कम्पनीहरूले हिंसा वा यौन अश्‍लीलताले भरिएका संगीतका कम्प्याक्ट डिस्कमा चेताउनी लेबल लगाउनुपर्ने प्रावधान छ भने अर्कोतिर म्युजिक स्टोरहरूमा यस्ता संगीतहरू सजिलै सुन्‍न सकिन्छ। बस्टनस्थित ह्वीलक कलेजका बाल सञ्चार तथा संस्कृति विशेषज्ञ डायन लेभिनले यस्तो चेताउनी दिइन्‌: “यस्ता संगीतले जति उग्र रूप लिन्छ त्यति नै हामी पनि झन्‌ झन्‌ भावशून्य हुँदै जानेछौं।” (g01 6/8)

भ्रूणले सिक्न र सम्झनसक्छ

रोइटर्स समाचार सेवा यस्तो रिपोर्ट दिन्छ: “बच्चाहरू गर्भमा छँदा सिक्ने मात्र होइन तर तिनीहरूसित छोटो अवधि अर्थात्‌ १० मिनेट र लामो अवधि अर्थात्‌ २४ घण्टासम्म सम्झन सक्ने क्षमता पनि हुन्छ। मासट्रिक्टस्थित युनिभर्सिटी अस्पतालका डच अनुसन्धानकर्ताहरूले “३७ देखि ४० हप्तासम्मका २५ वटा भ्रूणलाई” उत्तेजित गराउन कम्पन र ध्वनि प्रयोग गरे अनि “तिनीहरूको प्रतिक्रियालाई अल्ट्रासाउन्ड उपकरणमा हेरे।” यो प्रारम्भिक परीक्षणपछि भ्रूणलाई उत्तेजित गर्ने काम १० मिनेट र २४ घण्टाको अन्तरालमा पटकपटक दोहऱ्‍याइयो। उक्‍त रोइटर्स समाचारअनुसार, “उत्तेजित गराएको एक सेकेन्डभित्रै बच्चाले हात वा खुट्टा चलाएमा भ्रूण सजग रहेछ भन्‍ने प्रमाणित हुन्छ।” तर “लगातार चार पटकसम्म उत्तेजित गर्दा पनि भ्रूणले कुनै प्रतिक्रिया देखाएन भने भ्रूणले त्यो उत्तेजित गराउन गरिएको हो भनेर बुझिसकेको कुरा थाह हुन्छ।” परीक्षणलाई पटकपटक दोहऱ्‍याउँदा पनि भ्रूणले कुनै प्रतिक्रिया नदेखाउनुको अर्थ भ्रूणले त्यो कम्पन र आवाज के हो, सो थाह पाएछ भन्‍ने संकेत हो भनी वैज्ञानिकहरूले पत्ता लगाए। (g01 6/8)

महिला अनि मुटुको रोग

द टोरोन्टो स्टार यस्तो रिपोर्ट दिन्छ, “हरेक वर्ष मुटुको रोगबाट मर्ने महिला तथा पुरुषहरूको संख्या बराबर भए तापनि साधारणतया मुटुको रोगलाई पुरूषलाई लाग्ने रोग भनिन्छ। उक्‍त अखबारअनुसार महिलालाई मुटुको रोग लाग्दा रोग प्रायः एकदमै ढिलो खुट्याइन्छ। पुरुष र महिलामा मुटुको रोगका लक्षण पनि भिन्दाभिन्दै हुन्छन्‌। उत्तर अमेरिकामा यो रोग नै मृत्युको मुख्य कारण भएको छ। स्टार यसो भन्छ, “प्रायः पुरुषहरू छाती भारी भएको महसुस गर्छन्‌ र यो दुखाइ घाँटी, पिठिउँ र कुमसम्म फैलिन सक्छ भने महिलाहरूमा बंगरा दुख्ने, श्‍वासप्रश्‍वासमा कठिनाइ हुने, वाकवाक लाग्ने जस्ता लक्षणहरू देखा पर्छन्‌।” प्रायः ५५ वर्ष नाघेका महिलाहरूमा एस्ट्रोजेन हर्मोनको उत्पादन अत्यन्तै कम हुँदै जान थालेपछि यस्ता लक्षणहरू देखा पर्छन्‌। टोरोन्टो जनरल हस्पिटलका मुटु शल्यचिकित्सक डा. स्टेफेनी ब्रिस्टर यसो भन्छिन्‌: “एस्ट्रोजेन पटक्कै नभएपछि महिलालाई मुटुको रोग लाग्ने सम्भावना पुरुषलाई जत्तिकै हुन्छ।” (g01 6/8)

रेफ्रिजरेटरविना ताजा खाना

बिग्रन सक्ने खानेकुराहरूलाई रेफ्रिजरेटरविना चिसो अनि ताजा राख्नु गाह्रो हुन्छ। तथापि, एकदमै कम वर्षा हुने उत्तरी नाइजेरियामा एउटा साधारण, सस्तो आविष्कार अत्यन्तै सफल साबित भइरहेको छ। माटोको एउटा भाँडाभित्र अर्को सानो माटोको भाँडा राख्ने र यी दुई भाँडाबीच चिसो बालुवा राखिन्छ। खाना सानो भाँडामा राखेर बाहिरको भाँडालाई भिजेको कपडाले छोपिन्छ।। न्यु साइन्टिस्ट पत्रिका यसो भन्छ, “बाहिरको तातो हावामा हुने ओसलाई बाहिरी भाँडाले सोस्छ र बाफमा परिणत गर्छ। बाफ उडेपछि बाहिरपट्टिको भाग चिसो हुन्छ जबसम्म बालुवा र कपडा सुक्दैन तबसम्म यो प्रकिया निरन्तर चलिरहने भएकोले यसले भित्री भाँडोलाई पनि चिसो राख्छ।” यो विधि अपनाउँदा गोलभेडा र खुर्सानी तीन हप्तासम्म अनि भ्यान्टा एक महिनासम्म ताजा रहनसक्छ। भाँडाभित्र भाँडा राख्ने यस प्रणालीका आविष्कारक मोहम्मद बा अब्बाका अनुसार अब कृषकहरूले बजारको आवश्‍यकताअनुसार आफ्ना उत्पादन बेच्न सक्छन्‌ भने छोरीहरू दिनभरि तरकारी बेच्न बस्नुको साटो स्कूल जान सक्छन्‌। (g01 6/8)

विश्‍वले हरेक हप्ता दुइटा पशु नस्ल गुमाउने गर्छ

इटालीको कोर्रीरा डेल्ला सेरा नामक अखबार यस्तो रिपोर्ट दिन्छ: “विश्‍वले हरेक हप्ता दुइटा पशु नस्ल गुमाउँछ र १,३५० नस्ल लोप हुने खतरा छ। सं. रा. खाद्य तथा कृषि संगठन-का (एफ ए ओ) अनुसन्धानकर्ताहरूले १७० राष्ट्रमा ६,५०० घरपालुवा स्तनपायी तथा पंक्षीहरूको अध्ययन गर्न दस वर्ष बिताए। एफ ए ओ-का पशु प्रजनन स्रोत समूहका वरिष्ठ अधिकृत, डा. किथ हामोन्डका अनुसार, “केही नगरी चुपो लागेर बस्ने हो भने, आगामी २० वर्षभित्र विश्‍वले एक तिहाइ जातिका नस्ल गुमाउनेछन्‌।” रोमको रोइटर्स न्युज रिपोर्टले बताएअनुसार विकसित देशहरूबाट निर्यात गरिने पशुहरूले यो समस्यालाई झनै चर्काएको छ। यसरी आयात गरिएका पशु र स्थानीय पशुहरू मिसाउँदा तिनीहरूबाट सन्तानहरू जन्मेपछि स्थानीय नस्लहरू लोप हुन्छन्‌। डा. हामोन्ड यसो भन्छन्‌, “यी आयात गरिएका पशुहरू मुख्यत: आफ्नै देशको वातावरणमा भिजेका हुनाले यिनीहरूलाई विकासोन्मुख देशमा हुने प्रायः कठिन अवस्था सामना गर्न गाह्रो पर्छ।” (g01 6/8)

सेलुलर फोनले गर्दा हुने दुर्घटना

सेलुलर फोन प्रयोग गर्दा दुर्घटना हुने स्थल सडक मात्र होइनन्‌। जापानका रेल अधिकृतहरूले बताएअनुसार प्लेटफर्ममा रेल कुरिरहेका यात्रुहरू सेलुलर फोनमा कुरा गर्न यति मग्न हुन्छन्‌ कि तिनीहरू आफू कहाँ छु भनेर बिर्सन्छन्‌। हालसालै भएका दुर्घटनाहरूमध्ये एउटा घटनालाई उद्धृत गर्दै आसाही इभनिङ न्युज-ले दिएको रिपोर्टअनुसार एक जना युवक प्लेटफर्मको छेवैमा निहुरिदैं टेलिफोनमा कुरा गरिरहेका थिए। वार्तालापको क्रममा तिनले निहुरेर अभिवादन गर्दा स्टेशनमा आइपुगेको रेलले झन्डै तिनको शिरै उडाइ दियो। धन्‍न, तिनको “दाहिने आखाँको माथिपट्टि सानो चोट” मात्र लाग्यो। तथापि, अर्को घटनामा चाहिं “माध्यामिक स्कूलमा पढ्‌ने एक जना विद्यार्थीले सेलुलर फोनमा कुरा गर्दै प्लेटफर्मको सीमाभन्दा बाहिर अडेस लाग्न खोज्दा मालवाहक रेलको ठक्करले गर्दा त्यहीं तिनको मृत्यु भयो।” रेलवे स्टेशनका कर्मचारीले दिएको रिपोर्टअनुसार कहिलेकाहीं मानिसहरूको टेलिफोन रेलको लिकमा खस्छ। प्लेटफर्मबाट उफ्रेर लिकमा खसेको आफ्नो टेलिफोन टिप्न खोज्दा एक २६ वर्षीय व्यक्‍ति रेलले “किच्चिएर मरे।” रेल कर्मचारीहरू मानिसहरूलाई भन्‍ने गर्छन्‌, “सधैं होसियार रहनु रेलवेका प्लेटफर्महरू निकै खतरनाक इलाका हुन्‌।” (g01 6/22)

मनोवृत्ति र विमान दुर्घटना

सिंगापुरको अखबार द स्ट्रेट टाइम्स-मा प्रकाशित एउटा लेखले हवाई दुर्घटनाको सम्भाव्य कारणहरूमध्ये एउटा, यात्रुवाहक विमानको ककपिटमा हुने कुराकानी हो भनी औंल्याएको छ। रिपोर्ट यसो भन्छ, “एसियामा ककपिटमा चालक र सह-चालकबीचको कुराकानीलाई दर्जा वा पदले निकै फरक पार्छ। चालकलाई कसैले केही भन्‍ने आँट नगर्ने हुँदा सह-चालकले तिनको केही अनियमितता देखे पनि चालकको अख्तियारलाई चुनौती दिएजस्तो हुन्छ भन्ठानेर चुप लागेर बस्ने प्रवृत्ति हुनसक्छ।” उक्‍त अखबारअनुसार मानिसहरूले केही सम्भाव्य संकट देख्लान्‌ तरैपनि तिनीहरू केही नभनी बस्छन्‌, “किनभने त्यसबारे बताउँदा कतै आफूले आपत्ति जनाएको जस्तो होला कि भन्ठानेर तिनीहरू त्यो संकटबारे बताउन हिचकिचाउँछन्‌।” अथवा तिनीहरूले “आफू तल्लो दर्जाको कर्मचारी भएको” कारण आफ्नो विश्‍वसनीयतामाथि शंखा उठ्‌ला कि भन्‍ने महसुस गर्न सक्छन्‌। विमानको ककपिटमा सह-चालकले आफ्नो राय बताउन इच्छुकता नदेखाउँदा विमान दुर्घटना हुने खतरा बढ्‌नसक्छ। (g01 6/22)

अति संकटमा परेको मुगा

दी इकोनोमिस्ट यसो भन्छ, हिन्द महासागरको दक्षिण अफ्रिकादेखि भारतसम्मका मुगा ढिस्कोहरू ठूलो संकटमा परेका छन्‌। “विगत दुई वर्षभित्र विभिन्‍न टापुमा रहेका ५०-९५% मुगाका ढिस्कोहरू नष्ट भएका छन्‌” भनी सामुद्रिक जीव विशेषज्ञहरूले हालै पत्ता लगाउँदा त्यो ठूलो चिन्ताको विषय भयो। केही हप्तासम्म समुद्रको तापक्रममा १ देखि २ सेन्टिग्रेड वृद्धि हुँदा मुगाहरूले त्यो तापक्रम सहन नसक्नु नै यसको मूल कारण हो। रिपोर्ट यसो भन्छ, “सन्‌ १९९८ मा सेशल्स्‌को तापक्रम केही हप्तासम्म सामान्य तापक्रमभन्दा ३ डिग्री सेन्टिग्रेडले बढेको थियो।” अनुसन्धानकर्ताहरू यसलाई “विश्‍वकै तापक्रम बढिरहेको प्रत्यक्ष प्रमाणको” रूपमा स्वीकार्छन्‌। मुगाको विनाशले माल्दिभ्सका टापुहरूले १९९८/९९ मा रू. २९० करोड बराबरको क्षति बेहोर्नुपऱ्‍यो। दी इकोनोमिस्ट यसो भन्छ, सुन्दर ढिस्कोहरू हेर्ने आशाले आउने पर्यटकहरू “फुस्रा ढुंगाहरूको थुप्रो मात्र देख्दा निराश भई फर्कन्छन्‌।” उक्‍त रिपोर्टका सह-सम्पादक ओलफ लिनदनले भनेझैं “पृथ्वीको अद्वितीय इकोसिस्टमको प्रायजसो भाग लथालिंग भएको छ।” मुगाका ढिस्कोहरू सामुद्रिक जीवहरू हुर्कने महत्त्वपूर्ण ठाउँ भएको हुँदा माछा मारेर जीविकोपार्जन गर्ने समुद्री तटका बासिन्दाहरूको लागि पनि यो विनाश खतराको संकेत हो। (g01 6/22)

लाभदायक भिटामिन

पोलीश भाषाको स्वास्थ्यसम्बन्धी पत्रिका, ज्द्रोभी यसो भन्छ, कम्प्युटरमा काम गर्दा स्क्रिनमा देखा पर्ने प्रकाशको उज्यालो र अँध्यारो बिन्दु हेर्दा हाम्रो आँखामा निरन्तर कुनै न कुनै प्रतिक्रिया भइरहन्छन्‌। दृश्‍यहरू जत्ति तेजिला हुन्छन्‌ हाम्रो आँखाले त्यत्ति नै मात्रामा रोडोप्सीन नामक फोटोसेन्सेटिभ तन्तु सोस्छ। यही तन्तुले गर्दा नै हामी देख्न सक्छौं। रोडोप्सीन नामक तन्तु उत्पादन गर्नको लागि भिटामिन ए-को आवश्‍यकता पर्छ। ज्द्रोभीअनुसार सबैभन्दा बढी भिटामिन ए पाइने खाना कलेजो र माछाको तेल हो। मोटोपन र कोलेस्ट्रोल घटाउनु पर्ने व्यक्‍तिहरूले बेटा-क्यारोटिन भएका खानेकुराहरू खान सक्छन्‌, जसलाई शरीरले सूर्यको किरणको मदतद्वारा भिटामिन ए-मा परिणत गर्छ। बेटा-क्यारोटिन पहेंलो, सुन्तला, रातो र हरियो तरकारीमा पाइन्छ भने फलहरूमा चाहिं अन्जीर, आरु, आलुबखडा, खरबुजा, आँप आदिमा पाइन्छ। (g01 6/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने