प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 ५/८ पृ. ८-१०
  • जब बाल्यावस्थाको कदर गरिन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जब बाल्यावस्थाको कदर गरिन्छ
  • ब्यूँझनुहोस्‌!—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “बाल-बच्चाहरूका चालअनुसार”
  • “सबै कुराको लागि समय छ”
  • आत्म-संयम सिक्ने
  • जब बाल्यावस्थामा आइपर्ने सबै खतराको अन्त हुनेछ
  • जब बाल्यावस्थामा हतार गरिन्छ
    ब्यूँझनुहोस्‌!—२००३
  • बच्चालाई शैशवकालदेखि प्रशिक्षण दिनुहोस्‌
    पारिवारिक आनन्दको रहस्य
  • तपाईंको बच्चालाई प्रशिक्षण दिन के बाइबलले मदत गर्न सक्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • छोराछोरीसितको बिछोड सहन सिक्ने
    ब्यूँझनुहोस्‌!—१९९८
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००३
g03 ५/८ पृ. ८-१०

जब बाल्यावस्थाको कदर गरिन्छ

बाल्यावस्था राम्रो हुनु र नहुनुमा आमाबुबाको लालनपालनले ठूलो भूमिका खेल्छ। तर राम्ररी लालनपालन गर्नुमा के-के समावेश छ? यस विषयमा दिइएको सल्लाह सायद तपाईंले सुन्‍नुभएको होला। आफ्ना छोराछोरीको लागि समय दिनुहोस्‌। तिनीहरूको कुरा सुन्‍नुहोस्‌। तिनीहरूलाई उचित सल्लाह दिनुहोस्‌। तिनीहरूको सुख र दुःखमा साथ दिंदै समानुभूति देखाउनुहोस्‌। आमा वा बुबाको हैसियतमा आफ्नो अख्तियार नत्यागिकनै तिनीहरूको साँचो मित्र बन्‍नुहोस्‌। निस्सन्देह, ती बारम्बार दोहऱ्‍याइएका सिद्धान्तहरूले आमाबाबुलाई आफ्नो भूमिका राम्ररी निर्वाह गर्न मदत गर्नेछ। तर त्योभन्दा पनि पहिले गर्नुपर्ने आधारभूत तथा महत्त्वपूर्ण कुरा छ।

बाइबलको सिद्धान्त पालन गर्दा आमाबाबुको भूमिका राम्ररी निर्वाह गर्न सकेको कुरा संसारभरिका लाखौं आमाबाबुले बताएका छन्‌। किन? किनभने बाइबलका बुद्धिमान्‌ लेखक, यहोवा परमेश्‍वरले पारिवारिक प्रबन्धको सुरुआत गर्नुभयो। (उत्पत्ति १:२७; २:१८-२४; एफिसी ३:१५) त्यसोभए, छोराछोरी हुर्काउने सन्दर्भमा डोऱ्‍याइको लागि सबैभन्दा राम्रो स्रोत उहाँको प्रेरित वचन हुनु स्वाभाविकै हो। तर के बाइबल जत्तिको पुरानो पुस्तकले छोराछोरी हुर्काउँदा बाल्यावस्थामा हतार गर्ने आधुनिक झुकावमा थप ज्ञान प्रदान गर्न सक्छ र? आउनुहोस्‌, यहाँ लागू गर्न सकिने केही धर्मशास्त्रीय सिद्धान्तहरू विचार गरौं।

“बाल-बच्चाहरूका चालअनुसार”

इसहाकको छोरा, याकूबका एक दर्जनभन्दा बढी बालबच्चा थिए। आफ्नो पारिवारिक यात्रासम्बन्धी तिनको बुद्धिमान्‌ भनाइ बाइबलमा यसरी लिपिबद्ध गरिएको छ: “केटाकेटीहरू कलीलै छन्‌ . . . यसैकारण, [एसाव, याकूबको दाइ] हजूरलाई बिन्ती गर्दछु, कि तपाईंनै मभन्दा अघि जानुहोस्‌। म चाहिं . . . यी बाल-बच्चाहरूका चालअनुसार हजूरकहाँ . . . बिस्तार हिंडेर आउनेछु।”—उत्पत्ति ३३:१३, १४.

याकूबलाई आफ्ना छोराछोरीहरू साना वयस्कहरू होइनन्‌ भनी थाह थियो। तिनीहरू “कलीलै” अर्थात्‌ हुर्किसकेका मानिसहरूभन्दा साना, कमजोर अनि बढी स्याहारसुसार चाहिनेहरू थिए। छोराछोरीलाई आफ्नो चालमा हिंड्‌ने दबाब दिनुको साटो तिनी बिस्तारै हिंडे। यस सन्दर्भमा तिनले परमेश्‍वरले साना केटाकेटीप्रति देखाउनुहुने बुद्धि झल्काए। स्वर्गमा हुनुहुने पितालाई हाम्रा सीमितताहरू थाह छ। हामीले गर्न सक्नेभन्दा बढी कुरा उहाँ चाहनुहुन्‍न।—भजन १०३:१३, १४.

कुनै-कुनै जनावरहरूले समेत त्यस्तो बुद्धि झल्काउँछन्‌ किनभने परमेश्‍वरले तिनीहरूलाई “साह्रै बुद्धिमानी” बनाउनुभएको छ। (हितोपदेश ३०:२४) उदाहरणका लागि, हात्तीहरूको बथानमा छावा छ भने, सम्पूर्ण बथानै त्यो सानो छावाको चालमा बिस्तारै हिंडेको प्रकृतिविद्‌हरूले देखेका छन्‌।

आधुनिक समाजका कुनै-कुनै पक्षहरूले ईश्‍वरीय बुद्धिलाई बेवास्ता गरेका छन्‌। तर तपाईंले पनि त्यस्तै गर्नु पर्दैन। एउटा कुरा नबिर्सनुहोस्‌, तपाईंको बच्चा “कलिलै” भएको हुँदा वयस्कको बोझ तथा जिम्मेवारीहरू बोक्न सक्दैन। उदाहरणका लागि, तपाईं एक्लो आमा या बुबा हुनुहुन्छ र आफ्नो कुनै कठिन समस्याबारे बच्चालाई बताउन उत्सुक हुनुहुन्छ भने त्यसो नगर्नुहोस्‌। बरु, पाको वयस्क साथी खोज्नुहोस्‌ जसले तपाईंलाई समस्या समाधान गर्न तथा सम्भव भए, बाइबलको बुद्धिमान्‌ सल्लाह लागू गर्न मदत गर्नेछ।—हितोपदेश १७:१७.

त्यसरी नै, तपाईंको बच्चाको जीवन अत्यन्तै हतार-पतार, एकदमै नियमअनुसार चल्नुपर्ने, कडा तालिका पछ्याउनुपर्ने नबनाउनुहोस्‌ अन्यथा तिनले यौवनको रमाइलो नै गुमाउनेछन्‌। वर्तमान संसारको होडबाजीजस्तो नभई तपाईंको बच्चाको चाल सुहाउँदो तालिका मिलाउनुहोस्‌। बाइबल यस्तो बुद्धिमान्‌ सल्लाह दिन्छ: “यस संसारसित एकै चालका नहोओ।”—रोमी १२:२.

“सबै कुराको लागि समय छ”

बाइबलको अर्को बुद्धिमान्‌ सल्लाह यसप्रकार छ: “सबै कुराको लागि समय छ, औ संसारमा सबै कामको बेला छ।” निस्सन्देह, काम गर्ने एउटा समय छ। केटाकेटीको पनि थुप्रै काम हुन्छन्‌—स्कूलको काम, घरायसी काम अनि ईश्‍वरतान्त्रिक कामहरू। तथापि, बाइबलको त्यही पद्यांशले बताएअनुसार “हाँस्ने एउटा समय” र “नाच्ने एउटा समय” छ।—उपदेशक ३:१, ४.

बालबालिकाको खेल्न, हाँस्न, आफ्नो जवानीको शक्‍ति निर्धक्क व्यक्‍त गर्न पाउनुपर्छ। तिनीहरूको सम्पूर्ण समय नै स्कूल, स्कूलपछिको क्रियाकलाप र अन्य गम्भीर जिम्मेवारीहरूको लागि छुट्याइयो भने तिनीहरूले खेल्ने इच्छा पूरा गर्नै पाउँदैनन्‌। त्यसले गर्दा तिनीहरू हतोत्साहित र निराश पनि हुन सक्छन्‌।—कलस्सी ३:२१.

त्यही बाइबल सिद्धान्तलाई अरू तरिकामा कसरी लागू गर्न सकिन्छ, विचार गर्नुहोस्‌। उदाहरणका लागि, सबैको लागि एउटा समय हुने हुँदा के बाल्यावस्था भनेको बच्चाजस्तो व्यवहार गर्ने समय होइन र? शायद, तपाईंले हो भन्‍नुहोला तर तपाईंको बच्चा सधैं सहमत नहुन सक्छ। प्रायजसो साना केटाकेटीहरू हरेक कुरामा वयस्कहरूको नक्कल गर्न चाहन्छन्‌। उदाहरणका लागि, साना केटीहरूलाई ठूली आइमाईसरहको कोरीबाटी गर्न र पहिरन लगाउन मन लाग्ला। यौवन चाँडै सुरु हुँदा उमेरभन्दा बढी पाको देखिने दबाब हुन सक्छ।

बुद्धिमान्‌ आमाबाबुले त्यस्तो झुकावको खतरा बुझ्छन्‌। यस पतित संसारका कुनै-कुनै विज्ञापन तथा मनोरञ्जनले केटाकेटी यौनको विषयमा जानकार हुनुका साथै चनाखोजस्तो चित्रण गर्छ। स-साना केटीहरूले पनि श्रृंगार गर्छन्‌, गरगहना र उत्ताउलो लुगा लगाउँछन्‌। तर साना केटीहरूसित नाजायज यौन सम्बन्ध राख्न चाहने विकृत मानिसहरूको लागि किन बच्चालाई अझ आकर्षक बनाउने? आफ्ना छोराछोरीलाई उमेर सुहाउँदा लुगा लगाउन दिएर आमाबाबुले बाइबलको यो अर्को सिद्धान्त लागू गरिरहेका हुन्छन्‌: “चतुर मानिस दुःख आइरहेको देखेर जोगिन्छ।”—हितोपदेश २७:१२.

अर्को उदाहरण: छोराछोरीको लागि खेलकुद सर्वमहत्त्वपूर्ण कुरा बनाइदिंदा जीवन असन्तुलित हुन सक्छ अर्थात्‌ सबै कुराको लागि हुनुपर्ने समय नहुन सक्छ। बाइबलले यस्तो बुद्धिमान्‌ सल्लाह दिन्छ: “शारीरिक साधन थोरैको निम्ति उपयोगी हुन्छ, तर भक्‍तिचाहिं अहिले भइरहेको र पछि हुनेसमेत जीवनको प्रतिज्ञा भएका सबै कुराको निम्ति उपयोगी हुन्छ।”—१ तिमोथी ४:८.

तपाईंका छोराछोरीलाई “जित्नु नै सबै कुरा हो” भन्‍ने मनोवृत्ति राख्न नसिकाउनुहोस्‌। थुप्रै आमाबाबुले आफ्ना छोराछोरीलाई खेलकुदमा हर हालतमा जितेर अत्यन्तै प्रतिस्पर्धात्मक हुन सिकायो भने तिनीहरूले खेलकुदको रमाइलो नै गुमाउन सक्छन्‌। कोही-कोही बालबालिका जित्नको लागि अरूलाई ठग्न वा घाइते बनाउनसमेत पछि पर्दैनन्‌। त्यस हदसम्म पुगेर जित्नुको पक्कै पनि कुनै मोल छैन!

आत्म-संयम सिक्ने

सबै कुराको लागि समय छ भनेर सिक्नु छोराछोरीको लागि प्रायजसो गाह्रो हुन्छ। आफूले कुनै कुराको चाहना गर्दा धीरजी भई पर्खिरहनु सजिलो कुरा होइन। मानव समाजले तुरुन्तै सन्तुष्टिको चाहना राख्न उक्साउने हुँदा परिस्थिति झनै नराम्रो हुन्छ। मनोरञ्जन जगत्‌ले प्रायजसो यस्तो सन्देश दिइरहेको हुन्छ, “आफूलाई जे चाहिन्छ, त्यो हासिल गर अनि अहिले तुरुन्तै प्राप्त गरिहाल!”

आफ्ना छोराछोरीलाई पुलपुल्याएर त्यस्तो प्रभाव नपार्नुहोस्‌। “तुरुन्तै सन्तुष्टि खोज्ने झुकावलाई पन्छाएर धैर्य गर्न सक्नु भावनात्मक बुद्धिको एउटा महत्त्वपूर्ण पक्ष हो” भनी द चाइल्ड एण्ड द मशिन नामक पुस्तक बताउँछ। “आत्म-अनुशासन र सामाजिक सामञ्जस्यताले स्कूलमा वा बाहिर छँदा केटाकेटीलाईहिंसाको प्रतिरोध गर्न निकै बल दिन्छ।” बाइबलमा यो मदतकारी सिद्धान्त दिइएको छ: “दासलाई बाल्यकालदेखिनै खूब लाड-प्यार गऱ्‍यौ भने आखिरमा त्यो कृतघ्न हुन्छ।” (हितोपदेश २९:२१) यो पदमा मुख्यतया जवान दासहरूसित गर्नुपर्ने व्यवहारबारे बताइएको भए तापनि थुप्रै आमाबाबुले यो सिद्धान्त आफ्ना छोराछोरीको सन्दर्भमा पनि लागू हुने पाएका छन्‌।

केटाकेटीको आवश्‍यकतामध्ये बाइबलले भनेझैं “प्रभुको [“यहोवाको,” NW] शिक्षा र चेताउनीमा पालन-पोषण” गर्नु एकदमै महत्त्वपूर्ण छ। (एफिसी ६:४) मायालु निर्देशनले केटाकेटीलाई आत्म-संयम र धैर्यजस्ता गुणहरू विकास गर्न मदत गर्छ। यी गुणहरूले तिनीहरूलाई जीवनमा आनन्द र सन्तुष्टि प्राप्त गर्न मदत गर्नेछ।

जब बाल्यावस्थामा आइपर्ने सबै खतराको अन्त हुनेछ

तर तपाईं सोच्नुहोला, ‘के यी मदतकारी सिद्धान्तहरू दिनुहुने बुद्धिमान्‌, मायालु परमेश्‍वरले हाम्रो संसार अहिलेको हालतमा होस्‌ भन्‍ने चाहनुभएको होला र? के उहाँ केटाकेटीहरू उत्थानदायी नभई खतरनाक संसारमा हुर्केको चाहनुहुन्थ्यो?’ यहोवा परमेश्‍वर र उहाँको पुत्र, येशू ख्रीष्टले सबै उमेरका केटाकेटीलगायत सम्पूर्ण मानवजातिप्रति कोमल प्रेम राख्नुहुन्छ भनी थाह पाएर तपाईं ढुक्क महसुस गर्न सक्नुहुन्छ। उहाँहरूले चाँडै पृथ्वीबाट सबै दुष्टता हटाउनुहुनेछ।—भजन ३७:१०, ११.

के तपाईं त्यस्तो शान्तिमय, आनन्ददायी समयको पूर्वझलक हेर्न चाहनुहुन्छ? बाइबलमा एकदमै सजीव चित्रण गरिएको यो दृश्‍य कल्पना गर्नुहोस्‌: “ब्वाँसो चाहिं थुमासित बस्नेछ, र चितुवा पाठासित सुतेर बस्नेछ। बाछा, जवान सिंह र पालेको पशु एकैसाथ रहनेछन्‌, र एउटा सानो बालकले तिनीहरूलाई डोऱ्‍याउनेछ।” (यशैया ११:६) बाल्यावस्थालाई निसासिन दिने वा एकदमै हतार गर्ने संसारमा परमेश्‍वरले यसै पृथ्वीमा उज्ज्ववल भविष्यको प्रतिज्ञा गर्नुभएको कुरा थाह पाउनु कत्ति सान्त्वनादायी कुरा हो! स्पष्टतः बाल्यावस्था गुमाएको वा हतार गरेको होइन तर प्रशस्त आशिष्‌ पाएको र कदर गरेको सृष्टिकर्ता चाहनुहुन्छ। (g03 4/22)

[पृष्ठ ८-मा भएको चित्र]

तपाईंको बच्चालाई आफ्नो व्यक्‍तिगत समस्याको बोझ थोपर्नुको साटो अर्को वयस्कलाई आफ्नो कुरा पोखाउनुहोस्‌

[पृष्ठ ९-मा भएको चित्र]

बच्चाहरू खेल्न चाहन्छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने