प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 ५/८ पृ. २२-२४
  • फुच्चे बदामको विशाल संसार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फुच्चे बदामको विशाल संसार
  • ब्यूँझनुहोस्‌!—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • लामो इतिहास
  • बदाम खेती गर्ने
  • बदामको बहुउपयोगिता
  • सावधान—बदामको एलर्जी
  • सत्य कहाँ पाउन सकिन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००३
  • फुड एलर्जी र फुड इन्टोलरेन्स—यसका भिन्‍नताहरू
    ब्यूँझनुहोस्‌!—२०१६
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—२०००
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००३
g03 ५/८ पृ. २२-२४

फुच्चे बदामको विशाल संसार

के तपाईंलाई बदाम मन पर्छ? मन पर्छ भने, तपाईं एक्लो हुनुहुन्‍न। धेरै मानिसहरूलाई बदाम मन पर्छ। पृथ्वीको सबैभन्दा बढी जनसंख्या भएको दुइटा राष्ट्र, चीन र भारतले मात्र विश्‍वको कूल बालीको ५० प्रतिशतभन्दा बढी बदाम उत्पादन गर्छन्‌।

संयुक्‍त राज्य अमेरिकाले वर्षेनी अरबौं किलोग्राम बदाम कटनी गर्छ र यो विश्‍वको कूल उत्पादनको झन्डै १० प्रतिशत हो। धेरै मात्रामा बदाम उत्पादन गर्ने अन्य मुलुकहरूचाहिं अर्जेन्टिना, दक्षिण अफ्रिका, नाइजेरिया, ब्राजिल, मलावी, सुडान र सेनेगल पनि हुन्‌। बदाम कसरी यत्तिको लोकप्रिय हुन पुग्यो? के बदाम खान छोड्‌नु बुद्धिमानी होला र?

लामो इतिहास

भनिन्छ, बदामको सुरुआत दक्षिण अमेरिकामा भयो। मानिसले बदामलाई मन पराएको प्रारम्भिक प्रमाण, पेरूमा भेट्टाइएको पूर्व कोलम्बियाली कालको फूलदान हो। यो फूलदान बदाम आकारको छ अनि यसमा सिंगारिएका बुट्टाहरू पनि बदाम आकारका छन्‌। दक्षिण अमेरिकामा पहिलो चोटि बदाम भेट्टाउने स्पेनी अन्वेषकहरूले यात्राको दौडान बदामले निकै पोषण दिने कुरा पत्ता लगाए। अनि तिनीहरूले केही बदाम युरोपमा ल्याए। युरोपेलीहरूले अरू कुरामा जस्तै कफी दानाको विकल्पको रूपमा पनि बदामको प्रयोग गर्न थाले।

पछि, पोर्चुगालीहरूले अफ्रिकामा बदाम ल्याए। त्यहाँको सुक्खा जमिन जहाँ अरू बाली उम्रँदैनथ्यो, यहाँ बदाम बाली खाद्यान्‍नको महत्त्वपूर्ण स्रोत हुन सक्ने पत्ता लगाइयो। वास्तवमा, बदामको बोटले अत्यावश्‍यक नाइट्रोजन प्रदान गरेर नराम्रो माटोलाई राम्रो बनायो। अतः यो बदाम, दास व्यापारको दौडान अफ्रिकाबाट उत्तर अमेरिकासम्म पुग्यो।

सन्‌ १५३० को दशकमा यो बदाम, पोर्चुगालीहरूमार्फत भारत र मकाउ अनि पछि स्पेनीहरूमार्फत फिलिपिन्ससम्म पुग्यो। त्यसपछि व्यापारीहरूले यी टापुहरूबाट चीनसम्म लगे। अनि यो बदाम खेतीले भोकमरीको चपेटामा परेको राष्ट्रको बोझ कम गर्न मदत गर्ने देखियो।

सन्‌ १७०० का वनस्पतिशास्त्रीले बदामबारे अध्ययन गरे अनि त्यसलाई जमिनमुनिको कोसा भन्‍न थाले र सुंगुरहरूको लागि एकदमै राम्रो दाना हुने निष्कर्षमा पुगे। सन्‌ १८०० को सुरुतिर आय आर्जन गर्ने हेतुले संयुक्‍त राज्य अमेरिकाको दक्षिण क्यारोलाइनामा यसको बाली लगाइयो। सन्‌ १८६१ मा सुरु भएको अमेरिकी गृहयुद्धको दौडान दुवै पक्षका सिपाहीहरूलाई भोजनको रूपमा बदाम दिइयो।

तथापि, त्यतिखेर थुप्रै मानिसहरूले बदामलाई गरिबको भोजन ठाने। यस धारणाले गर्दा त्यतिबेलाका अमेरिकी किसानहरूले मानव प्रयोगको लागि बदाम खेती नगर्नुको कारण बुझ्न सक्छौं। यसबाहेक, सन्‌ १९०० मा विद्युतीय उपकरणहरू आविष्कार हुनुअघि बदाम खेती गर्न असाध्यै कडा मेहनत गर्नुपर्थ्यो।

तर १९०३ सम्ममा अमेरिकी कृषि रसायनशास्त्रीका अग्रज, जर्ज वशिङ्‌टन कार्भरले बदामको बोटका नयाँ उपयोगबारे अनुसन्धान गर्न थालिसकेका थिए। तिनले पछि यसबाट बनाइएका पेय पदार्थ, श्रृंगार सामग्री, रङ, औषधी, लुगा धुने साबुन, कीटनाशक, मुद्रण मसीलगायत ३०० भन्दा बढी पदार्थहरू उत्पादन गरे। कार्भरले स्थानीय किसानहरूलाई भूक्षय गर्ने कपास बाली मात्र नलगाएर बदामको बाली लगाउन पनि प्रोत्साहन दिए। त्यतिबेला कपासमा लाग्ने एक किसिमको कीराले बाली स्वाहा पारिरहेको हुँदा थुप्रै किसानहरू कार्भरको सल्लाह स्वीकार्न आकर्षित भए। परिणाम के भयो?

बदामको बाली असाध्यै सफल भएको हुँदा अमेरिकाको दक्षिणी भागको प्रमुख नगदे बाली बन्‍न पुग्यो। अहिले कार्भरको नाउँमा समर्पित स्तम्भ डोथान, आलाबामामा राखिएको छ। विभिन्‍न व्यापारको लागि प्रख्यात नगर आलाबामामा बोल विभिल भनिने कीराको नाउँमा समेत स्तम्भ खडा गरेको छ किनभने यो कीराले बाली खत्तम पारेको हुँदा किसानहरू बदाम खेती गर्न उत्प्रेरित भएका थिए।

बदाम खेती गर्ने

बदाम वास्तवमा काष्ठफल होइन तर बदाम बोटको बीउ हो। बोट हुर्कंदै गएपछि पहेंलो फूल फुल्छ र आफै परागसेचन हुन्छ।

डाँठको टुप्पामा हुने पेगमा गर्भाधान भइसकेको डिम्बाशयले जमिनलाई छेडेर तल जान्छ। बदामको भ्रूण यही डाँठको टुप्पामा हुन्छ। जमिनमा सतहको समानान्तर भएर भ्रूण बढ्‌छ अनि जमिनमुनि नै बढेर चिरपरिचित बदामको आकार लिन्छ। एउटा बोटमा ४० वटासम्म बदाम फल्न सक्छ।

बदामको लागि न्यानो, पारिलो घाम अनि ठिक्क मात्रामा पानी पर्ने मौसम राम्रो हुन्छ। बदामको किसिम र मौसमअनुसार बीउ रोप्नेदेखि कटनी गर्ने समय १२० देखि १६० दिनसम्म हुन सक्छ। बदामको कटनी गर्न खेतालाहरूले बोटलगायत सम्पूर्ण बाली पल्टाएर सुक्न दिनुपर्छ अनि यसरी सञ्चय गर्दा बाली बिग्रन पाउँदैन। आजकल थुप्रै खेतालाहरूले बाली खन्‍ने, माटो झार्ने अनि पल्टाउने जस्ता सबै एकै चोटि गर्न मिल्ने आधुनिक कृषि सामग्री चलाउँछन्‌।

बदामको बहुउपयोगिता

बदामको पौष्टिक मोल अत्यधिक छ। बदाममा भरपूर मात्रामा रेसा हुनुका साथै १३ किसिमका भिटामिन र २६ किसिमका खनिज पदार्थ पाइन्छ जुन आधुनिक भोजनमा अक्सर पाइँदैन। “त्यसरी नै, कलेजोमा भन्दा बदाममा प्रोटिन, खनिज पदार्थ र भिटामिन बढी पाइन्छ” भनी दी इन्साइक्लोपीडिया ब्रिटानिका बताउँछ। तर वजन नियन्त्रणमा राख्न प्रयास गरिरहनुभएकाहरू—होसियार हुनुहोस्‌! बदाममा “बाक्लो क्रिममा भन्दा बढी चिल्लो पदार्थ” र “चिनीमा भन्दा बढी खाद्य शक्‍ति (क्यालोरी)” पाइन्छ।

विभिन्‍न राष्ट्रका भोजनहरूमा बदाम प्रयोग गरिएको पाइन्छ। अनि त्यसको अनौठो स्वाद सजिलै थाह पाउन सकिन्छ। “बदामको स्वाद एकदमै कडा र अरूभन्दा बेग्लै हुने हुँदा यो राखेर तयार पारिएको भोजनको पनि त्यस्तै स्वाद हुन्छ” भनी भोजन विशेषज्ञ लेखिका आन्या भोन ब्रेम्जेन लेख्छिन्‌। “त्यसकारण इन्डोनेसियाली बदामको लेदो, पश्‍चिम अफ्रिकी सुप, चाइनिज चाउचाउ, पेरूको बाक्लो सुरुवा र बदामी मख्खन दलेको पाउरोटीको स्वादमा केही समानता पाइन्छ।”

खाजाको रूपमा पनि बदाम संसारमा प्रख्यात छ। उदाहरणका लागि, भारतमा बदामलाई अरू गेडागुडीसित मिसाएर फुटपाथमा बिक्री गरिन्छ। चाखलाग्दो कुरा, कुनै-कुनै देशमा लोकप्रिय बदामी मख्खन पाउरोटी “एक जना भौतिकशास्त्रीले १८९० तिर [सं.रा.अ.] सेन्ट लुइसका वृद्धहरूको लागि स्वास्थ्यवर्धक भोजनको रूपमा आविष्कार गरेका थिए भनिन्छ” भनेर द ग्रेट अमेरिकन पिनट भन्‍ने प्रकाशन बताउँछ।

तर भोजनमा बाहेक अरू थुप्रै कुरामा बदामको प्रयोग भएको पाइन्छ। एसियाभरि पकाउने तेलको लागि बदाम अत्यन्तै राम्रो स्रोत मानिन्छ। एकदमै चर्को आगोमा खाना पकाउन बदामको तेल प्रयोग गर्न सकिन्छ अनि खानाको बास्ना यथावत नै रहन्छ।

बदाम तेल उत्पादनको सह-उत्पादन अर्थात्‌ ब्राजिल बदाम भोजन, जनावरहरूको लागि राम्रो आहारा मानिन्छ। अनि अरू थुप्रै घरायसी सामानमा बदामका उत्पादनहरू प्रयोग भएको पाइन्छ।—माथि हेर्नुहोस्‌।

सावधान—बदामको एलर्जी

बदामलाई फ्रिजमा नराखे पनि लामो समयसम्म सञ्चय गर्न सकिन्छ। तथापि, सावधानी अपनाउनुपर्छ। ढुसी परेको बदाममा अफ्लाटक्सिन हुन्छ र यो एउटा क्यान्सर कारक हो। साथै, कोही-कोही मानिसहरूलाई बदामको एलर्जी हुन्छ। यसबाट हुने प्रतिकूल लक्षणमा “पातलो सिंगान बग्नेदेखि लिएर जीउमा डाबर आउने अनि श्‍वासप्रश्‍वाससम्बन्धी घातक समस्या हुन सक्छ” भनी प्रिभेन्शन पत्रिका बताउँछ। थुप्रै अध्ययनहरूले देखाएअनुसार साना केटाकेटीमा बदामको एलर्जी निकै देखिन थालेको छ।

आमा र बुबा दुवैलाई दम, एलर्जिक राइनिटिस वा छालामा घाउ खटिरा निस्कने समस्या छ भने बच्चालाई बदामको एलर्जी हुने खतरा बढी हुन्छ भनी प्रिभेन्शन रिपोर्ट गर्छ।

आमालाई एलर्जी छ भने बच्चालाई पनि हुन्छ अनि पहिलो वर्षमा दूधको एलर्जी हुने बच्चाहरूलाई पनि बदामको एलर्जी हुन्छ। “यस्ता परिवारहरूले बदामी मख्खन साना भन्ट्याभुन्टुङहरूले नभ्याउने ठाउँमा राख्नु अनि तीन वर्ष लागेपछि मात्र दिनु बेस हो’ ” भनी सं.रा.अ.-को जोन हप्किन्स युनिभर्सिटी मेडिकल सेन्टरका बालविशेषज्ञ प्राध्यापक डा. ह्‍यु साम्पसन बताउँछन्‌।

चाहे तपाईं बदाम प्रेमी होस्‌ या नहोस्‌, यस छलफलबाट तपाईंले यो फुच्चे तर अत्यन्तै लोकप्रिय बीउलाई अझ बढी मूल्यांकन गर्न सक्नुभयो होला। (g03 4/22)

[पृष्ठ २४-मा भएको पेटी/चित्र]

बदामका सह-उत्पादनहरू दिनहुँ प्रयोग गर्ने थुप्रै सामानहरूमा पाइन सक्छ

• भित्तामा झुन्ड्याइने बोर्ड

• अगेनाको काठ

• बिरालोका छाउराको बिछ्‌यौना

• कागज

• धुने पदार्थ

• मलम

• धातुको पालिस

• ब्लिच

• मसी

• चक्का घुम्ने धुरामा राखिने ग्रीज

• दाह्री खौरने बेला लगाउने क्रिम

• अनुहारमा लाउने क्रिम

• साबुन

• लिनोलियम

• रबर

• श्रृंगार सामग्री

• रङ

• विष्फोटक पदार्थ

• स्याम्पु

• औषधी

[स्रोत]

स्रोत: द ग्रेट अमेरिकन पिनट

[पृष्ठ २२-मा भएको रेखाचित्र/चित्र]

पातहरू

पेग

जमिनको सतह |

जरा बदाम

[स्रोत]

The Peanut Farmer magazine

[पृष्ठ २२-मा भएको चित्र]

जर्ज वशिङ्‌टन कार्भरको नाउँमा समर्पित स्तम्भ

[पृष्ठ २३-मा भएको चित्र]

संयुक्‍त राज्य अमेरिका

[पृष्ठ २३-मा भएको चित्र]

अफ्रिका

[पृष्ठ २३-मा भएको चित्र]

एसिया

[स्रोत]

FAO photo/R. Faidutti

[पृष्ठ २३-मा भएको चित्र]

खाजाको रूपमा प्रयोग गरिने बदामको केही किसिम

[पृष्ठ २४-मा भएको चित्र]

कुनै कुनै देशमा मानिसहरूले बदामी मख्खन धेरै मन पराउँछन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने