प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 ६/८ पृ. २०-२२
  • गँड्यौलाको रोमाञ्चकारी संसार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • गँड्यौलाको रोमाञ्चकारी संसार
  • ब्यूँझनुहोस्‌!—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सरल दिमाग तर अपत्यारिलो क्षमता
  • किन यस्तो चिपचिपे?
  • उत्पादनशील खेतालाहरू प्रशस्त भएको ग्रह
  • गँड्यौलाको शक्‍ति उपयोग गर्ने
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००४
ब्यूँझनुहोस्‌!—२००३
g03 ६/८ पृ. २०-२२

गँड्यौलाको रोमाञ्चकारी संसार

अस्ट्रेलियाका ब्यूँझनुहोस्‌! लेखकद्वारा

मिश्रकी रानी क्लियोपात्राले गँड्यौलालाई पवित्र घोषणा गरिन्‌। अरस्तुले गँड्यौलालाई धर्तीको आन्द्रा भने। चार्ल्स डार्विनको विचारमा गँड्यौलाले संसारको इतिहासमा महत्त्वपूर्ण भूमिका खेल्थ्यो।

गँड्यौलाहरूको विशेष महत्त्व छ भनी तपाईंले बिस्तारै बुझ्नुहुनेछ। हो, यी चिपचिपे हुन्छन्‌ र सुलसुलती घस्रन्छन्‌। यी गुणहरू हामीलाई त्यति आकर्षक नलाग्ला तर गँड्यौलाबारे थप जानकारी पाउनुभएपछि भने तपाईं आश्‍चर्यचकित हुनुहुनेछ। तपाईंले केही गर्नुपर्दैन, अलिकता निहुरिएर भुइँको माटो कोट्याउनुभयो वा थुप्रिएका पातहरू पल्टाउनुभयो भने गँड्यौलाको रोमाञ्चकारी संसारमा प्रवेश गर्न सक्नुहुन्छ।

सरल दिमाग तर अपत्यारिलो क्षमता

गँड्यौलालाई नियालेर हेर्नुहोस्‌ अनि तपाईंले यसको शरीरमा रिङ आकारका स-साना खण्डहरू देख्नुहुनेछ, जुन हेर्दा थुप्रै सेलहरू एक ठाउँमा चेप्टाइएको जस्तो देखिन्छ। हरेक खण्डलाई मांसपेशीको दुइटा समूहले नियन्त्रण गरिरहेको हुन्छ। छालाको ठिक्क मुनि पर्ने एउटा समूहले गँड्यौलाको शरीरमा रिङ बनाउँछ। यो तहको मुनि हुने मांसपेशीहरूको दोस्रो समूह गँड्यौलाको पूरै शरीरमा फैलिएको हुन्छ। यी विपरीत दिशामा भएका मांसपेशीहरू फुक्दै खुम्चँदै चलहल गर्छ अनि पूरै शरीरमा फैलिने चालजस्तै खण्ड खण्डमा सर्छ।

तपाईंले एउटा गँड्यौला आफ्नो हातमा राख्नुभयो भने यो पक्कै चलमलाउनेछ। गँड्यौलाले यसो गर्नुको कारण के हो भने, यसको एउटा खण्डमा १,९०० वटा जतिसम्म बुरुसजस्ता इन्द्रिय अंगहरू हुन्छन्‌। यी रिसेप्टरहरूले गर्दा गँड्यौलाले स्पर्श महसुस गर्छ, स्वाद पाउन सक्छ अनि यससित प्रकाश पत्ता लगाउन सक्ने क्षमता हुन्छ।

गँड्यौलाले सिटी भनिने सानो रौंजस्ता धारहरूद्वारा माटो समात्छ। गँड्यौलाको हरेक खण्डमा सिटी हुन्छ र यसले डुंगाको बहनाले जस्तै काम गर्छ। गँड्यौलाले सिटीलाई माटोमा गाड्‌छ अनि त्यसलाई तानेर शरीर खुम्च्याउँछ। गँड्यौलाले एक चोटिमा एउटा सिटी समूह प्रयोग गरेर जुनसुकै दिशामा “खियाउन” सक्छ वा तर्सिएको खण्डमा शरीरको एउटा छेउ कतै अड्‌काएर अर्को छेउलाई खुम्च्याउन सक्छ। यी “बहनाको चाल” ठ्याक्क समयमै मिलाएर चालेको हेर्दा ओलम्पिकको नौका टोलीलाई डाह लाग्नेछ।

गँड्यौलाको पुच्छरको एउटा भागलाई चराले थुत्यो भने कुनै कुनै जातका गँड्यौलाको शरीर फेरि बढ्‌न थाल्छ तर त्यसको शरीरबाट जत्रो भाग गुम्छ, त्योभन्दा बढी भने कहिल्यै बढ्‌दैन। हरेक खण्डले सानो परिमाणमा विद्युत्‌ उत्पादन गर्छ जस्तो देखिन्छ अनि अधिकतम चार्ज प्राप्त नभएसम्म त्यो टुक्रा भएको खण्ड पुनः बढ्‌छ।

हजारौं स्नायु अंग तथा जटिल मांसपेशी प्रणालीहरू सबै यसको मस्तिष्कमा जोडिएको हुन्छ जुन गँड्यौलाको मुखतिर हुन्छ। अनुसन्धानहरूले देखाएअनुसार गँड्यौलाको शारीरिक क्षमताको साथै स्मरणशक्‍ति सीमित छ र खतराबाट जोगिनसमेत सिक्न सक्छन्‌।

किन यस्तो चिपचिपे?

गँड्यौलाको चिपचिपे सतह थुप्रैलाई एकदमै घिन लाग्न सक्छ तर यसले यो प्राणीलाई श्‍वास फेर्न मदत गर्छ। गँड्यौलाको छाला प्वालै प्वाल परेको हुन्छ अनि छाला नजिकैको रक्‍त नलीहरूले हावा वा अक्सिजनयुक्‍त पानीबाट अक्सिजन लिन्छ र कार्बन डाइअक्साइड बाहिर फ्याँक्छ। तर छाला ओसिलो भएको खण्डमा मात्र यी ग्याँसहरूको आदान-प्रदान हुन सक्छ। गँड्यौलाको छाला सुक्खा भयो भने यो निसासिएर बिस्तारै मर्छ।

अर्कोतर्फ, धेरै वर्षा भएको समयमा गँड्यौला जमिनमुनि थुनियो भने पानीले पर्याप्त मात्रामा अक्सिजन प्राप्त गरिरहन सक्दैन। भीषण वर्षापछि गँड्यौलाहरू बाहिर सतहमा देखा पर्नुको एउटा कारण यो हो। जमिनमुनिबाट बाहिर निस्केन भने त्यो निसासिनेछ।

उत्पादनशील खेतालाहरू प्रशस्त भएको ग्रह

पृथ्वीमा १,८०० भन्दा बढी जातका गँड्यौलाहरू छन्‌। यी पृथ्वीको अत्यन्तै सुक्खा तथा चिसो ठाउँबाहेक सबैतिर पाइन्छन्‌। दक्षिण अफ्रिकाका उष्ण प्रदेशीय इलाकाहरूमा प्रति वर्ग मिटर जमिनमा कम्तीमा पनि ७० वटा गँड्यौला पाइन्छ भने क्यानाडाको जंगलमा प्रति वर्ग मिटरमा ७०० वटासम्म गँड्यौला पाइन्छ।

न्यु जील्याण्डमा पाइने गँड्यौलाहरू खास गरी तीन किसिमका छन्‌। पहिलो किसिमको, छिटो सन्तान उत्पादन गर्ने, छिटो चलहल गर्ने गँड्यौला हो र यो पृथ्वीको सतहमा कुहिएका जैविक पदार्थहरूमा पाइन्छ। दोस्रो र प्रशस्त मात्रामा पाइने गँड्यौला जमिनको सतहमुनि समानान्तर किसिमले छेडेर बसेको पाइन्छ। तेस्रो किसिमको गँड्यौलाले जमिनमुनि ठाडो किसिमले प्वाल छेड्‌छ अनि जिन्दगीभरि एउटै प्वालमा वर्षौंसम्म बस्छ। गँड्यौलाजगत्‌का बलिया हट्टाकट्टाहरू यिनै हुन्‌। गँड्यौलाको टाउकोमा बलिया मांसपेशीका रिङहरू हुन्छन्‌ जसले त्यसलाई जमिनभित्र छेड्‌न मदत गर्छ। संसारको सबैभन्दा ठूलो गँड्यौला दक्षिणी अस्ट्रेलियामा पाइन्छ। यो विशाल गँड्यौला १.५ मिटर लामो र तौल ५०० ग्रामसम्मको हुन सक्छ।

गँड्यौलाहरू पृथ्वीको सतहमा चलमलाउँदा यिनीहरूले फुच्चे खेतालाहरूजस्तै काम गर्छन्‌। मल, माटो, कुहिएको पातपतिंगर खाएपछि यिनीहरूले आफ्नो शरीरबाट ठूलो परिमाणमा फोहर निष्कासन गर्छन्‌। एउटा अनुमानअनुसार इंग्ल्याण्डको हरिया खेतहरूमुनि कार्यरत गँड्यौलाहरूले वर्षेनी प्रति एकड आठ टनजति फोहर निकाल्छन्‌। सबैभन्दा छक्कैलाग्दो त नील उपत्यकामा पाइने गँड्यौलाहरू हुन्‌। यी गँड्यौलाहरूले प्रति एकड जमिनमा १,००० टनभन्दा बढी फोहर थुपार्न सक्छन्‌। गँड्यौलाहरूले माटोभित्र प्वाल खन्दा माटो खुकुलो हुन्छ र पानी बढी सोस्न सक्ने हुनुका साथै उत्पादन क्षमता बढ्‌छ।

वैज्ञानिकहरूले पत्ता लगाएअनुसार गँड्यौलाको पाचन प्रणालीले पौष्टिक पदार्थलाई बोटबिरुवाहरूले सोस्ने सक्ने रूपमा परिणत गर्छ। त्यसैले गँड्यौलाको फोहरमा बोटबिरुवाको लागि प्रशस्त मात्रामा आहारा पाइन्छ। साथै, गँड्यौलाले खाने कुहिएको मल र वनस्पति त्यसको घाँटीमा पुगेपछि हानिकारक जीवाणुहरू सबै नाश हुन्छन्‌। तसर्थ, गँड्यौलाहरूले आहारा लिंदा जमिनलाई पनि सफा पारिरहेका हुन्छन्‌। यो पुनः प्रयोग गर्न सकिने एकदमै उपयुक्‍त साधन हो अनि यसले फोहर पदार्थहरू खाँदै पोषिलो पदार्थ उत्पादन गर्छ।

गँड्यौलाको शक्‍ति उपयोग गर्ने

गँड्यौलामा भएको पुनः प्रयोग गर्न सक्ने शक्‍तिलाई फोहर व्यवस्थापन उद्योगले पूर्ण सदुपयोग गरेका छन्‌। अस्ट्रेलियाको एउटा कम्पनीले थुप्रै फोहर प्रशोधन केन्द्रहरूमा कूल ५० करोड गँड्यौलाहरूको प्रयोग गर्छ। गँड्यौलाहरू विशेष किसिमले बनाइएका कक्षहरूमा राखिन्छ अनि सुंगुर वा मानिसहरूको फोहरमा काम नलाग्ने कागजको टुक्रा र अन्य जैविक पदार्थहरू मिसाएर बनाइएको दाना खुवाइन्छ। यी गँड्यौलाहरूले हरेक दिन आफ्नो शरीरको तौलको ५० देखि १०० प्रतिशत खान्छन्‌ अनि यिनीहरूले वनस्पतिहरूको लागि पोषणयुक्‍त मल उत्पादन गर्छन्‌ जुन बजारमा व्यापक बिक्री गरिन्छ।

अध्ययनहरूले गँड्यौलाहरूको अर्को सम्भाव्य प्रयोग पनि देखाएको छ—त्यो हो, खाद्य स्रोतको रूपमा। बीफमा पाइने एमिनो एसिड गँड्यौलामा पनि पाइन्छ। सुकाइसकेपछिको तौल लिंदा यसमा ६० प्रतिशत प्रोटिन र १० प्रतिशत चिल्लो पदार्थ अनि क्याल्सियम र फोस्फोरस पाइन्छ। अहिले पनि, कुनै-कुनै मुलुकका मानिसहरूले गँड्यौलाको परिकार खान्छन्‌। संसारका अरू भागमा भने गँड्यौला भुटेर र काँचैसमेत खाने गरिन्छ।

गँड्यौलाहरू संसारको सबैभन्दा लोकप्रिय जन्तु त कहिल्यै नहोला तर यी नभइदिएका भए यो संसार बेग्लै हुने थियो। त्यसकारण अर्को चोटि शान्त ग्रामीण इलाकाको दृश्‍यबाट आनन्द उठाउनुहुँदा तपाईंको खुट्टामुनि भएका गँड्यौलाको विशाल फौजलाई सम्झनुहोस्‌ जो त्यस सुन्दर दृश्‍य सृजना गर्न, खेतीपाती, मलजल गर्नका साथै त्यो अवस्थालाई कायम राख्न व्यस्त छन्‌। (g03 5/08)

[पृष्ठ २२-मा भएको रेखाचित्र/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

गँड्यौलाको शारीरिक बनोट

एपिडर्मिस

गोलाकार मांसपेशी

मूत्राशय

पाचन नली

स्नायु नसा

सिटी

सिटी मांसपेशी

लामो आकारका मांसपेशी

[स्रोत]

Lydekker

J. Soucie © BIODIDAC

[पृष्ठ २०-मा भएको चित्र]

गँड्यौलाले आफ्नो सिटीद्वारा जमिनमा “खियाउँछ”

[पृष्ठ २१-मा भएको चित्र]

गँड्यौलाले माटो जोतेर उर्वर शक्‍ति बढाउँछ

[पृष्ठ २१-मा भएको चित्र]

विशाल जिप्सल्याण्ड गँड्यौला, अस्ट्रेलियामा संकटमा परेको जाति हो र यो १.५ मिटरभन्दा लामो हुन सक्छ

[स्रोत]

Courtesy Dr A. L. Yen

[पृष्ठ २२-मा भएको चित्र]

गँड्यौलाले फोहरलाई वनस्पतिहरूको लागि पोषणयुक्‍त मल उत्पादन गर्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने