प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 ६/८ पृ. १७-१९
  • मलाई मेरो प्रेमीले किन यति रूखो व्यवहार गर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मलाई मेरो प्रेमीले किन यति रूखो व्यवहार गर्छ?
  • ब्यूँझनुहोस्‌!—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको दृष्टिकोण बुझ्ने
  • तपाईंको गल्ती छैन!
  • आफ्नो सोचमा परिवर्तन ल्याउने
  • वास्तविकताको सामना गर्ने
  • मेरो प्रेमीले मलाई गर्ने दुर्व्यवहार, म कसरी रोक्न सक्छु?
    ब्यूँझनुहोस्‌!—२००४
  • घोच्ने बोली नबोल्न के गर्न सकिन्छ?
    ब्यूँझनुहोस्‌!—२०१३
  • १२. “उत्थान गर्ने असल वचन” बोल्नुहोस्‌
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • मलाई मन पराउने केटीसित म कस्तो व्यवहार गरूँ?
    ब्यूँझनुहोस्‌!—२००५
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००४
g04 ६/८ पृ. १७-१९

युवा जनहरू सोध्छन्‌ . . .

मलाई मेरो प्रेमीले किन यति रूखो व्यवहार गर्छ?

“[ मेरो प्रेमीले] अक्सर मलाई चाहिने नचाहिने आरोप लगाइरहन्छ। तर के गर्ने, ऊसित मेरो गहिरो भावनात्मक सम्बन्ध बसिसक्यो।”—क्याथरिन। a

“बाहिरबाट तपाईंले मेरा [ चोटहरू] देख्नुहुन्‍न तर भित्र-भित्रै भने साह्रै दुख्छ।”—एन्ड्रिया, जसले आफ्नो प्रेमीको एक थप्पड खाइन्‌।

आजकाल यस्ता घटना त सामान्य भइसके: एउटी भर्खरकी युवती एउटा लक्का जवान युवकसित डेटिङ गर्दैछिन्‌, हेर्दा युवक शालीनता र भद्रताको प्रतिमूर्ति नै पो हो कि जस्तो देखिन्छ। तर विस्तारै युवकमा परिवर्तन आउन थाल्छ। मायाप्रीतीका शब्दहरूको ठाउँ तिखो व्यङ्‌ग्य अनि हेपाइले लिन थाल्छ। सुरुमा त युवतीले त्यसलाई ढङ्‌ग नपुऱ्‍याई बोलेको अनि मायालु जिस्क्याइ भनी त्यत्ति वास्ता गर्दिनन्‌। तथापि, परिस्थिति गम्भीर हुँदै बारम्बार छुद्र बोलीले प्रहार गर्ने, नराम्ररी रिसाउने र गल्ती गरेकोमा पछि गहिरो पश्‍चात्ताप गर्ने हदसम्म पुग्छ। दुर्व्यवहारको सिकार हुनुमा आफ्नै केही गल्ती हुनुपर्छ भन्ठान्दै परिस्थिति परिवर्तन होला भन्‍ने आशामा युवतीले पीडालाई मनमनै लुकाउँछिन्‌। तर कुनै परिवर्तन आउँदैन। अब त उनको प्रेमी जङ्‌गिने र गर्जने हदसम्म पुग्छन्‌। एकचोटि त रिसको झोकमा तिनले उनलाई बेसरी धक्का समेत लगाउँछन्‌! अब आफ्नो प्रेमीले चुट्‌ने पो हो कि भन्‍ने उनलाई डर छ।b

युवायुवतीबीचको रोमान्टिक सम्बन्धमा जब शारीरिक अनि मौखिक दुर्व्यवहारले ठाउँ लिन्छ, त्यतिबेला यस्तो दुर्व्यवहार बारम्बार आलोचना गर्ने, चित्त दुख्ने शब्दहरू बोल्ने अनि झोक्किने हदसम्म पुग्न सक्छ। के तपाईंले पनि यस्तै परिस्थितिको सामना गर्नुपरिरहेको छ? (“खतराका केही सङ्‌केतहरू” शीर्षकको पेटी हेर्नुहोस्‌।) यदि छ भने तपाईं यति व्याकुल अनि हडबडाउनुहोला कि तपाईंलाई के गर्ने, कसो गर्ने थाहै हुँदैन।

यस्ता परिस्थितिहरू तपाईंले सोचेजति असामान्य नहुन सक्छन्‌। अनुसन्धाताहरूको अनुमानअनुसार डेटिङ गइरहेका ५ जनामा १ जनाले कुनै-न-कुनै प्रकारको हिंसाको सामना गरेकै हुन्छ। मौखिक दुर्व्यवहारलाई पनि हिंसाकै कुनै रूप मान्‍ने हो भने यो अनुमान बढेर ५ जनामा ४ जना हुन्छ। अधिकांश मानिसहरूले सोचेजस्तो दुर्व्यवहारका सबै सिकारहरू केटीहरू मात्र हुँदैनन्‌। डेटिङमा गरिने हिंसाबारे एउटा बेलाइती अध्ययनअनुसार “युवायुवती दुवैले समान रूपले” आ-आफ्नो जोडीबाट दुर्व्यवहारको सिकार भएको रिपोर्ट दिए।c

विवाहपूर्व गरिने भेटघाटहरूमा किन यस्ता दुर्व्यवहारहरू हुने गर्छन्‌? तपाईंले यस्तै समस्या भोगिराख्नुभएको छ भने के गर्नुपर्छ?

परमेश्‍वरको दृष्टिकोण बुझ्ने

सबैभन्दा पहिले, परमेश्‍वरको नजरमा यस्तो परिस्थिति कत्तिको गम्भीर छ भनी तपाईंले बुझ्नुपर्छ। हो, असिद्ध मानिसहरूमा अरूलाई चोट पुऱ्‍याउने कुरा बोल्ने र गर्ने झुकाव हुन्छ। (याकूब ३:२) एक-अर्कालाई प्रेम अनि विश्‍वास गर्ने व्यक्‍तिहरूहरूबीच पनि कहिलेकाहीं मतभिन्‍नताहरू हुन्छन्‌ भन्‍ने कुरा पनि सही हो। उदाहरणका लागि, पावल र बर्णाबास परिपक्व मसीहीहरू थिए। यद्यपि, एक पटक तिनीहरूबीच “चर्को मतभेद भयो।” (प्रेरित १५:३९) त्यसैले यदि तपाईं कसैसित डेटिङ गर्दै हुनुहुन्छ भने समय-समयमा केही तनावहरू हुन सक्छन्‌।

यसको अतिरिक्‍त, आफ्नो प्रेमीले कहिल्यै आलोचनाको एक शब्द बोल्नेछैन भनेर आशा गर्नु व्यावहारिक हुँदैन। आखिर, तपाईंहरू एक-अर्कासित विवाह गर्नेबारे सोच्दै हुनुहुन्छ। अनि तपाईंको कुनै स्वभाव अथवा बानीले तिनलाई पिरोल्छ भने, के त्यसबारे तिनले तपाईंसित कुरा गर्नु बेस हुँदैन र? हो, आलोचनाले घोच्छ। (हिब्रू १२:११) तर यदि यो प्रेमले उत्प्रेरित छ अनि प्रेममा गरिएको छ भने यसलाई दुर्वचन भन्‍न मिल्दैन।—हितोपदेश २७:६.

तर जङ्‌गिनु, चड्‌काउनु, घुस्सी हान्‍नु अथवा जथाभावी गाली गर्नु अर्कै कुरा हो। बाइबलले “रीस, क्रोध, डाह, निन्दा[को]” घोर निन्दा गरेको छ। (कलस्सी ३:८) कसैले अरूलाई हेप्न, धम्काउन वा दबाउन आफ्नो “शक्‍ति” प्रयोग गर्दा यहोवालाई चोट पुग्छ। (उपदेशक ४:१; ८:९) वास्तवमा, परमेश्‍वरको वचन पतिहरूलाई यस्तो आज्ञा दिन्छ, “आफ्ना आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैं प्रेम गर्नुपर्छ। . . . किनभने कुनै मानिसले कहिल्यै आफ्नै शरीरलाई घीन गर्दैन, तर . . . त्यसको पालन पोषण गर्दछ।” (एफिसी ५:२८, २९) विवाह गर्ने उद्देश्‍यले भेटघाट गरिने केटीलाई दुर्वचन तथा दुर्व्यवहार गर्ने पुरुषले विवाहित जोडी बन्‍न आफैंलाई अयोग्य साबित गर्छन्‌। अनि तिनले यहोवा परमेश्‍वरलाई पनि अप्रसन्‍न तुल्याउँछन्‌।

तपाईंको गल्ती छैन!

यद्यपि, दुर्व्यवहार गर्ने व्यक्‍तिले अक्सर दुर्व्यवहारको सिकार हुने व्यक्‍तिकै टाउकोमा दोष थुपार्ने गर्छ। त्यसैले सायद कहिलेकाहीं तपाईंलाई लाग्ला, तपाईंको प्रेमी रिसाउनुमा तपाईंकै गल्ती छ। तर, तिनी रिसाउनुमा तपाईंको कुनै हात हुँदैन। दुर्व्यवहार गर्ने व्यक्‍ति अक्सर हिंसा अनि दुर्वचनलाई सामान्य ठानिने घर-परिवारमा हुर्केका हुन्छन्‌।d कुनै-कुनै देशका युवाहरू, पुरुषहरू श्रेष्ठ हुनुपर्ने संस्कृतिद्वारा प्रभावित हुन्छन्‌। साथीभाइहरूले पनि युवाहरूलाई पुरुषार्थ देखाउन दबाब दिन सक्छन्‌। आत्मविश्‍वासको कमीले गर्दा पनि तपाईंले भन्‍नुभएको अनि गर्नुभएको कुनै पनि कुरालाई तिनले आफ्नो निन्दा ठान्‍न सक्छन्‌।

परिस्थिति जे-जस्तो होस्‌, कुनै व्यक्‍तिले पोखाउने रिसको लागि तपाईं जिम्मेवार हुनुहुन्‍न। दुर्वचन अनि हिंसालाई कहिल्यै छुट दिन मिल्दैन।

आफ्नो सोचमा परिवर्तन ल्याउने

तथापि, तपाईंले आफ्नो सोचाइमा छाँटकाँट गर्नुपर्ने हुन सक्छ। कसरी? जस्तै, यदि कुनै केटी हिंसात्मक तथा चोट पुग्ने वचनहरू बोल्ने वातावरणमा हुर्केकी छिन्‌ भने उनलाई दुर्व्यवहार सामान्य लाग्न सक्छ। उनलाई त्यस्ता गैरमसीही आचरणहरूले पिरोल्नुको सट्टा उनले ती सब सहन सक्छिन्‌—सायद उनलाई त्यस्तो व्यवहार आकर्षक समेत लाग्ला। वास्तवमा, दुर्व्यवहारको सिकार हुने कसै-कसैले साह्रै भद्र पुरुषसित झर्को लाग्ने गरेको कुरा स्वीकारे। अरू कतिपय युवतीहरू चाहिं आफ्नो प्रेमीलाई बदल्न सक्छु भन्‍ने भ्रमको सिकार हुन्छन्‌।

यदि तपाईंलाई पनि यस्तै लाग्छ भने तपाईंले आफ्नो ‘मनलाई परिवर्तन गरी बदल्नु’ आवश्‍यक छ। (रोमी १२:२) प्रार्थना, अध्ययन अनि मननद्वारा यहोवाले दुर्व्यवहारप्रति राख्नुहुने दृष्टिकोणलाई तपाईंले गम्भीरतासाथ विचार गर्नु आवश्‍यक छ अनि तपाईंले दुर्व्यवहारलाई घृणा गर्नुपर्छ। तपाईं दुर्व्यवहारको लायक हुनुहुन्‍न भन्‍ने कुरालाई बुझ्नु आवश्‍यक छ। नम्रता खेती गर्दा अर्थात्‌ आफ्नो सीमिततालाई बुझ्दा रिसाहा प्रेमीलाई बदल्ने क्षमता आफूसित नभएको कुरा बुझ्न तपाईंले मदत पाउनुहुनेछ। आफूलाई बदल्ने जिम्मेवारी तपाईंको प्रेमी-कै हो।—गलाती ६:५.

कुनै-कुनै परिस्थितिमा आत्मसम्मानको कमीले गर्दा पनि युवतीहरूले दुर्व्यवहार सहने गर्छन्‌। सुरुमा उल्लेखित क्याथरिन यसो भन्छिन्‌, “म ऊविनाको जीवन कल्पनै गर्न सक्दिनँ, अनि मलाई लाग्छ, मैले ऊभन्दा राम्रो अरू पाउनै सक्दिनँ।” त्यस्तै गरी, हेल्गा नाउँकी एउटी युवतीले आफ्नो प्रेमीबारे यसो भनिन्‌, “उसले पिटे पनि पिटोस्‌ किनकि कुनै प्रेमी नहुनुभन्दा त बरु कुटाइ खानु नै जाती।”

के तपाईंलाई यस्ता सोचाइहरूले स्वास्थ्यकर सम्बन्धको लागि असल जग बसाल्छ जस्तो लाग्छ? आखिर, तपाईं आफैंलाई प्रेम गर्न सक्नुहुन्‍न भने के साँच्चै अरूलाई प्रेम गर्न सक्नुहुन्छ? (मत्ती १९:१९) सन्तुलित आत्मसम्मान विकास गर्ने प्रयत्न गर्नुहोस्‌।e दुर्व्यवहार सहँदा यस्तो आत्मसम्मान विकास गर्न तपाईंले मदत पाउनुहुन्‍न। आफ्नो अनुभवबाट पाठ सिकेकी एउटी युवती इरेनाको भनाइअनुसार दुर्व्यवहार सहँदा “आफूसित जे जति आत्म-सम्मान छ, त्यो पनि गुम्छ।”

वास्तविकताको सामना गर्ने

आफ्नो सम्बन्ध अस्वास्थ्यकर छ भनी स्वीकार्न कसै-कसैलाई गाह्रो पर्न सक्छ—गहिरा रोमान्टिक भावनाहरू विकास भइसकेका छन्‌ भने त झनै गाह्रो हुन सक्छ। वास्तविकतालाई देखेर आँखा नचिम्लनुहोस्‌। बाइबलको एउटा हितोपदेश यसो भन्छ: “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ, तर सीधा-साधा त्यसमा पर्छ र दण्ड भोग्छ।” (हितोपदेश २२:३) हन्‍ना नाउँकी एउटी युवती यसो भन्छिन्‌, “जब तपाईं कुनै युवकको प्रेममा फस्नुहुन्छ, तपाईं अन्धो बन्‍नुहुन्छ अनि तपाईंले तिनका राम्रा गुणहरू सिवाय अरू केही देख्नुहुन्‍न।” यद्यपि, यदि तपाईंमाथि दुर्व्यवहार गरिएको छ भन्‍ने ऊ वास्तवमा कस्तो व्यक्‍ति हो भनेर तपाईंले बुझ्नु नितान्त जरुरी छ। अनि यदि तपाईंको प्रेमीले तपाईंलाई धम्क्याउँछ अथवा तल खसालेर व्यवहार गर्छ भने तिनमा कुनै-न-कुनै खराबी त अवश्‍य हुनै पर्छ। आफ्ना भावनाहरूलाई इन्कार गर्ने, तिनलाई छुट दिने अथवा आफ्नै टाउकोमा दोष थुपार्ने नगर्नुहोस्‌। अनुभवहरूले देखाउँछ, यस्ता व्यवहारहरूलाई नसच्चाइएमा दुर्व्यवहार केवल बढ्‌नेछ। तपाईंको सुरक्षा गम्भीर खतरामा पर्न सक्छ।

निस्सन्देह, आत्मसंयमको कमी हुने व्यक्‍तिसित सम्बन्ध नबढाउनु नै बेस हुनेछ। (हितोपदेश २२:२४) त्यसैले, तपाईंले राम्ररी नचिनेको कुनै व्यक्‍ति, तपाईंसित डेटिङ गर्न चाहन्छ भने त्यस व्यक्‍तिबारे केही कुरा पत्ता लगाउनु बेस हो। पहिले त समूहमा संगत गर्ने प्रस्ताव राखे कसो होला? यसो गर्दा उक्‍त व्यक्‍तिसित रोमान्टिक सम्बन्ध नगाँसिकनै तपाईंले तिनलाई चिन्‍ने मौका पाउनुहुन्छ। आफैंलाई यस्ता अर्थपूर्ण प्रश्‍नहरू सोध्नुहोस्‌, तिनका साथीहरू को-को छन्‌? तिनलाई कस्तो प्रकारको सङ्‌गीत, फिल्म, कम्प्युटर गेम, अथवा खेलकुद मनपर्छ? के तिनको कुराकानीले आध्यात्मिक कामकुराहरूप्रतिको तिनको चासो प्रकट गर्छ? तिनलाई चिन्‍ने व्यक्‍तिहरूसित कुरा गर्नुहोस्‌, जस्तै: तिनको स्थानीय मण्डलीका प्राचीनहरू। तिनको परिपक्व अनि ईश्‍वरीय आचरणले गर्दा अरूहरूमाझ तिनको “असल नाउँ चलेको” छ कि छैन भनी तिनीहरूले तपाईंलाई जानकारी दिनेछन्‌।—प्रेरित १६:२.

तर दुर्व्यवहार गर्ने व्यक्‍तिसित तपाईंले सम्बन्ध गाँसिसक्नुभएको छ भने चाहिं के गर्न सक्नुहुन्छ? पछि प्रकाशित हुने लेखले यस प्रश्‍नको जवाफ दिनेछ। (g04 5/22)

[फुटनोटहरू]

a केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

b यो लेख मौखिक तथा शारीरिक दुर्व्यवहारका सिकार हुनेहरूको लागि तयार पारिएको हो। दुर्व्यवहार गर्ने व्यक्‍तिलाई मदतकारी हुन सक्ने सल्लाहहरू, अवेक! अक्टोबर २२, १९९६ अंकको “चोट पुऱ्‍याउने शब्ददेखि लिएर निको पार्ने शब्दसम्म” र ब्यूँझनुहोस्‌! अप्रिल ८, १९९७ को अंकको “दादागिरी गर्नु यसमा के खराबी छ र?” शीर्षकका हाम्रा लेखहरूमा पाइन्छन्‌।

c तथापि, सजिलोको लागि, दुर्व्यवहारको सिकार हुनेहरूलाई हामी स्त्रीलिङ्‌गमा सङ्‌केत गर्नेछौं। यहाँ चर्चा गरिएको सिद्धान्त पुरुष र महिला दुवैलाई लागू हुन्छ।

d मार्च ८, २००३ को अंकमा “बाइबलको दृष्टिकोण—अरूको चित्त दुखाउने बोली त्याग्नुहोस्‌” शीर्षकको लेख हेर्नुहोस्‌।

e यहोवाका साक्षीहरूद्वारा प्रकाशित युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ पुस्तकको अध्याय १२ हेर्नुहोस्‌।

[पृष्ठ १९-मा भएको पेटी]

खतराका केही सङ्‌केतहरू

◼ तपाईं एक्लो अथवा अरू कसैसित हुँदा तिनले अक्सर तपाईं, तपाईंको परिवार अनि तपाईंका साथीभाइलाई खसाल्दै कुरा गर्छन्‌

◼ तिनले तपाईंको इच्छा अथवा भावनाहरूलाई अक्सर बेवास्ता गर्ने गर्छन्‌

◼ तिनले तपाईंको जीवनको हरेक पक्षलाई नियन्त्रण गर्ने प्रयास गर्छन्‌ तपाईं कहाँ हुनुहुन्छ भनेर हरबखत जान्‍ने तथा तपाईंको लागि सबै निर्णयहरू आफैं गरिदिने जिद्दी गर्छन्‌

◼ तिनी तपाईंसित जङ्‌गिने गर्छन्‌, तपाईंलाई घचेट्‌ने अथवा धकेल्ने, अथवा धम्क्याउने गर्छन्‌

◼ अनुचित ढङ्‌गमा स्नेह व्यक्‍त गराउन खोज्छन्‌

◼ तपाईंको मनमा आफूले गर्ने हरेक कामकुराले आफ्नो प्रेमीलाई चिढ्याउने पो हो कि भन्‍ने डर रहिरहन्छ

[पृष्ठ १८-मा भएको चित्र]

बारम्बार गरिएको आलोचना अथवा अपहेलना अस्वास्थ्यकर सम्बन्धको सङ्‌केत हुन सक्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने