माइलीनको लागि नयाँ अनुहार
माइलीनकी आमाको वृत्तान्तमा आधारित
मेरी ११ वर्षीया राम्री छोरी माइलीनलाई किन नयाँ अनुहार चाहियो? म तपाईंहरूलाई सुनाउन चाहन्छु।
मेरी दुइटी छोरीमध्ये माइलीन कान्छी हो। उसको जन्म क्युबाको ओल्गिन भन्ने ठाउँमा अगस्त ५, १९९२ का दिन भएको थियो। उसको बुबा, दिदी र म ऊ जन्मँदा एकदमै खुसी भएका थियौं। तर हाम्रो खुसी धेरै दिन रहेन। ऊ जन्मिएको केही दिनपछि मलाई ठेउला लाग्यो अनि एक महिनापछि माइलीनलाई सऱ्यो।
सुरुमा उसको अवस्था त्यति गम्भीर देखिंदैनथ्यो तर बिस्तारै नराम्रो हुँदै गयो अनि उसलाई अस्पतालमा भर्ना गर्नुपऱ्यो। माइलीनलाई अस्पतालले राम्रो हेरचाह गरेको थियो तर उसको रोग प्रतिरोधात्मक प्रणाली अत्यन्तै कमजोर भइसकेको हुँदा सङ्क्रमण भयो। मैले उसको सानो नाकको एक छेउमा अलि असामान्य खालको रातो टाटाजस्तो देखें। डाक्टरहरूले यो विरलै देखिने एउटा कडा किसिमको ब्याक्टेरियाले गर्दा भएको पत्ता लगाए।
उसलाई तुरुन्तै एन्टिबायोटिक उपचार सुरु गरिए तापनि केही दिनभित्रै ब्याक्टेरियाले माइलीनको अनुहार बिगार्न थाल्यो। डाक्टरहरूले सङ्क्रमण रोकिसकुन्जेलसम्म माइलीनको नाक, ओंठ अनि गिजा र चिउँडोको प्रायजसो भाग पूरै झर्न थालिसकेको थियो। उसको एउटा आँखाको छेउमा पनि प्वाल-प्वाल देखिन थाल्यो।
मेरो श्रीमान् र मैले उसको अनुहार देखेपछि हामी धुरुधुरु रोयौं। हाम्री सानी छोरीलाई यो के भएको? माइलीनलाई निकै दिन सघन उपचार कक्षमा राखियो अनि डाक्टरहरूले ऊ बाँच्दिन होली भन्ठानेका थिए। मेरो श्रीमान्ले मलाई यसो भनिरहनुभयो, “अति अप्रिय घटनाको लागि तयार रह।” तथापि, मैले इन्क्युबेटरभित्र आफ्नो हात छिराएर माइलीनको सानो हातलाई समाउँदा उसले यस्तो बेसरी समात्थी कि मलाई ऊ बाँच्छे भनी पक्का थियो। मैले उहाँलाई भनें: “हाम्री छोरी मर्दिन। तर त्यस्तो अवस्थामा माइलीनको जिन्दगी कस्तो होला?” हरेक बिहान बिउँझदा यो एउटा दुःस्वप्न मात्र होला जस्तो लाग्थ्यो।
हामी अस्पतालमा बस्दा हाम्री जेठी छोरी, मिडलिस जो त्यतिबेला छ वर्षकी थिई, मेरा आमाबाबुसित बसी। ऊ पनि आफ्नी सानी बहिनी घर फर्कने समयको प्रतीक्षामा थिई। उसले आफ्नी बहिनीलाई घरमा अन्तिम चोटि देख्दा ठूल्ठूला नीला आँखा भएकी राम्री “पुतली” जस्ती देखेकी थिई। तर मिडलिसले पछि आफ्नी सानी बहिनीलाई देख्दा ऊ त कुरूप भइसकेकी थिई।
‘मेरो बच्चाले किन यत्तिको दुःख भोग्नुपरेको?’
डेढ महिनापछि माइलीनलाई अस्पतालबाट घर पठाइयो। हामी त्यहाँबाट सोझै हाम्रो सहरको घरमा गएनौं किनभने अरू कसैले उसलाई नदेखोस् जस्तो लाग्थ्यो। मेरा आमाबाबुको फार्म नजिकै सहरबाहिरको सानो घरमा हामी बस्न थाल्यौं।
माइलीनको मुख भएको ठाउँको सानो प्वालबाट मैले सुरुमा उसलाई अलिकता दूध चुसाउन सकें। ऊ दूध चुस्न सक्दिनथी। तथापि, घाउ बिस्तारै निको हुन थालेपछि त्यो प्वाल लगभग बन्द भयो। मैले उसलाई सिसीमा राखेर झोल पदार्थ मात्र खुवाउन सक्थें। ऊ एक वर्षकी भएपछि हामी ओल्गिन फर्क्यौं अनि त्यो प्वाल खोल्नको लागि चिकित्सकहरूले चारवटा शल्यक्रिया गरे।
म आफैलाई सोध्ने गर्थें, ‘मेरो बच्चाले किन यत्तिको दुःख भोग्नुपरेको?’ प्रेतविद्यासम्बन्धी केन्द्रहरूमा गएर मैले जवाफ खोजें अनि धार्मिक मूर्तिहरूलाई प्रार्थना गरें। तर मलाई कुनै कुराले सान्त्वना दिएन। मेरा कोही-कोही नातेदार तथा साथीहरूको घोच्ने बोलीले मलाई झनै विचलित बनायो। कसैले भने, “यी सबै हुनुको कारण परमेश्वरलाई थाह छ।” अरूले भने, “यो पक्कै परमेश्वरले दिनुभएको सजाय हो।” माइलीन ठूली भएपछि उसलाई के भन्ने होला भनेर पनि मलाई चिन्ता लागेको थियो। एकचोटि सानै छँदा माइलीनले आफ्नो बुबालाई सोधेकी थिई, “मेरो नाक किन अरूहरूको जस्तो छैन?” बुबा चाहिंले जवाफ दिन सक्नुभएन र बाहिर गएर रुनुभयो। मैले उसलाई त्यसको कारण बुझाउन खोजें। एउटा सानो कीराले उसको नाक र मुख खायो भनेर मैले बताएको उसले अहिलेसम्म बिर्सेकी छैन।
आशाको आधार
मलाई असाध्यै दिक्क लागिरहेकै बेला मैले मेरो एक जना छिमेकी यहोवाको साक्षी हुन् भनेर सम्झें। मैले उनलाई परमेश्वरले मेरी सानी छोरीलाई किन यत्तिको दुःख भोग्न दिनुभएको भनेर बाइबलबाट देखाउन आग्रह गरें। मैले यो पनि सोधें, “यो बिमारी मेरो कुनै गल्तीको लागि परमेश्वरले सजाय दिनभएको हो भने किन माइलीनले दुःख भोग्नुपर्छ?”
मेरो छिमेकीले पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छa भन्ने पुस्तक चलाएर मसित बाइबल अध्ययन गर्न थालिन्। माइलीनलाई जे भयो, त्यसको लागि परमेश्वर दोषी हुनुहुन्न र उहाँले साँच्चै हाम्रो चिन्ता गर्नुहुन्छ भनेर मैले बिस्तारै बुझ्न थालें। (याकूब १:१३; १ पत्रुस ५:७) येशू ख्रीष्टमार्फत उहाँको स्वर्गीय राज्य शासनअन्तर्गत सबै दुःखकष्ट हटाइनेछ भन्ने अद्भुत आशाको मैले कदर गर्न थालें। (मत्ती ६:९, १०; प्रकाश २१:३, ४) यो ज्ञानले मलाई बल दियो अनि यहोवाका साक्षीहरूको मसीही सभाहरूमा उपस्थित हुन उत्प्रेरित गऱ्यो। सुरुमा त मेरो श्रीमान्लाई मेरो नयाँ आध्यात्मिक चासो मन परेन। तथापि, हाम्रो दुःख सहन मदत गरुन्जेल उहाँले मलाई बाइबल अध्ययन गर्न रोक्नुभएन।
विदेशबाट मदत
माइलीन दुई वर्षकी हुँदा मेक्सिकोका एक जना वरिष्ठ प्लास्टिक सर्जनले माइलीनको कुरा थाह पाए र निश्शुल्क उपचार गरिदिने प्रस्ताव राखे। सुरुका शल्यक्रियाहरू १९९४ मा भए। माइलीन र म झन्डै एक वर्ष मेक्सिकोमा बस्यौं। सुरुमा हामीले यहोवाका साक्षीहरूसित सम्पर्क राख्न सकेनौं र त्यसले गर्दा मसीही सभाहरूमा जान सकेनौं। यसले मलाई आध्यात्मिक तवरमा कमजोर बनायो। पछि एक जना स्थानीय साक्षीले हामीसित सम्पर्क राखे अनि मौका मिल्ने बित्तिकै सँगी विश्वासीहरूसित संगत गर्न थाल्यौं। क्युबा फर्केपछि मैले मेरो बाइबल अध्ययन पुनः कायम राखें र आध्यात्मिक ताजगी पाएँ।
त्यतिबेलासम्म मेरो श्रीमान्लाई बाइबलप्रति अझै कुनै चासो थिएन। उहाँको चासो जगाउने प्रयासमा मैले अझ राम्ररी बुझ्न सकूँ भनेर बाइबल आधारित प्रकाशनहरूका केही अंशहरू पढिदिन उहाँलाई आग्रह गर्थें। पछि उहाँ पनि बाइबल अध्ययन स्वीकार्न राजी हुनुभयो किनभने मेक्सिको जाने क्रममा यसरी लामो समयसम्म एकअर्काबाट अलग्गिएर बस्नुपर्दा हाम्रो पारिवारिक सम्बन्ध बिग्रन सक्छ भनेर उहाँ चिन्तित हुनुहुन्थ्यो। हामी आध्यात्मिक तवरमा एकताबद्ध भएको खण्डमा यसरी अलग्गिनु पर्दाको पीडा सहन सजिलो हुनेछ भन्ठान्नुभयो। अनि वास्तवमा साँच्चै भयो पनि। मेरो श्रीमान्, जेठी छोरी र मैले यहोवाका साक्षीको हैसियतमा १९९७ मा बप्तिस्मा लियौं।
हामी सुरु-सुरुतिर मेक्सिकोमा बस्दा माइलीन भन्ने गर्थी, एउटा सानो कीराले उसको अनुहार नखाइदिएको भए उसको बुबा र दिदीसित हामी छुट्टिनुपर्ने थिएन। यसरी लामो समयको लागि परिवारसित छुट्टिनु हृदयविदारक थियो। तथापि, मेक्सिकोका यहोवाका साक्षीहरूको शाखा कार्यालय जसलाई बेथेल भनिन्छ त्यहाँ जाँदा एक चोटि हामीले निकै प्रोत्साहन पायौं। माइलीनले अब फेरि अर्थात् पाँचौं पटक शल्यक्रिया गर्दिनँ भनिरहेकी थिई किनभने निको हुने प्रक्रिया असाध्यै पीडादायी हुन्थ्यो। तर शाखा कार्यालयमा सेवा गरिरहेका कोही-कोही सदस्यहरूले माइलीनलाई ऊ साहसी भएर डाक्टरहरूलाई शल्यक्रिया गराउन दिने हो भने ऊ अस्पतालबाट निस्कने बित्तिकै उसको लागि एउटा पार्टी मनाउने कुरा बताए। त्यसपछि ऊ शल्यक्रिया गर्न राजी भई।
उसलाई कस्तो लाग्यो भनेर माइलीनबाटै सुनौं: “बेथेलमा पार्टी गर्ने कुरा सुनेर म असाध्यै खुसी भएँ। त्यसैले शल्यक्रिया गर्दा म असाध्यै साहसी भएँ। पार्टीमा एकदमै रमाइलो भयो, थुप्रै आध्यात्मिक भाइबहिनीहरू हुनुहुन्थ्यो। उहाँहरूले मलाई थुप्रै कार्डहरू दिनुभयो र ती अझै मसित छन्। मैले पाएको प्रोत्साहनले गर्दा त्यसपछिका शल्यक्रियाहरू सहने बल पाएँ।”
सुधार तथा सहने मदत
अहिले ११ वर्ष पुगेकी माइलीनले उसको अनुहार बनाउन २० वटा शल्यक्रिया गरिसकी। शल्यक्रियापछि निकै राम्रो भए तापनि ऊ पूरै मुख खोल्न सक्दिन। तथापि, उसले सधैं साहसी र सकारात्मक मनोवृत्ति राखेकी छ। उसले आध्यात्मिक कुराहरूप्रति पनि निकै मूल्याङ्कन देखाएकी छे। छ वर्षको उमेरदेखि नै उसले हाम्रो स्थानीय मण्डलीको ईश्वरतान्त्रिक सेवकाई स्कूलमा भाग लिएकी छे अनि अप्रिल २७, २००३ मा उसले बप्तिस्मा लिई। उसले एकै चोटिमा तीन वटासम्म बाइबल अध्ययन सञ्चालन गरेकी छे। एक चोटि मेक्सिकोमा छँदा उसले एक जना भलादमीसित कुरा गरी जो ऊसित बाइबल अध्ययन गर्न राजी भए। माइलीनले तिनलाई ख्रीष्टको मृत्युको स्मरणार्थ उत्सव र अन्य सभाहरूमा बोलाई अनि तिनले निकै चासो देखाए।
माइलीनले घर-घर प्रचार गर्दा कोही-कोहीले उसको अनुहार हेरेर आगोले पोलेको हो भनेर सोध्छन्। माइलीनले यही मौकाको सदुपयोग गर्दै अरूलाई आफ्नो बाइबल आधारित आशा बताउँछे अनि आउँदै गरेको प्रमोदवनमा यहोवाले उसलाई नयाँ अनुहार दिनुहुनेछ भनेर बताउँछे।—लूका २३:४३, NW.
माइलीनले अनेकन् शल्यक्रियाहरूबाट भोगेको पीडा र अरू केटाकेटीहरूको खिसीटिउरी बयान गरी साध्य छैन। उसलाई कुन कुराले सहन मदत गरेको छ? माइलीन निर्धक्कसाथ यस्तो जवाफ दिन्छे: “यहोवा मेरो लागि एकदमै वास्तविक हुनुहुन्छ। उहाँले मलाई सहने बल र साहस दिनुहुन्छ। म अब फेरि शल्यक्रिया गर्न चाहन्नँ किनभने डाक्टरहरूले पनि गर्न सक्ने खासै केही छैन। तिनीहरूले म जन्मँदा जस्तो थिएँ, त्यस्तो कहिल्यै बनाउन सक्नेछैनन्। तर मलाई थाह छ, नयाँ संसारमा यहोवाले मलाई नयाँ अनुहार दिनुहुनेछ र म फेरि राम्री हुनेछु।” (g04 5/22)
[फुटनोट]
a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।
[पृष्ठ २६-मा भएको ठूलो अक्षरको क्याप्सन]
“नयाँ संसारमा यहोवाले मलाई नयाँ अनुहार दिनुहुनेछ”
[पृष्ठ २७-मा भएको ठूलो अक्षरको क्याप्सन]
परमेश्वर दोषी हुनुहुन्न भनेर मैले बिस्तारै बुझ्न थालें