प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 ९/८ पृ. १४-१५
  • संसारको सबैभन्दा सानो कुकुर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • संसारको सबैभन्दा सानो कुकुर
  • ब्यूँझनुहोस्‌!—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चिवावाको उत्पत्ति
  • चिवावा पाल्ने
  • कुकुरको सुँघ्ने क्षमता
    सृष्टि या संयोग
  • के तपाईंले सोलोइटस्‌क्वीन्टली देख्नुभएको छ?
    ब्यूँझनुहोस्‌!—२००१
  • कपर केन्यनमा यहाँलाई स्वागत छ
    ब्यूँझनुहोस्‌!—२०००
  • जनावरहरू परमेश्‍वरका वरदान
    ब्यूँझनुहोस्‌!—२००४
ब्यूँझनुहोस्‌!—२००४
g04 ९/८ पृ. १४-१५

संसारको सबैभन्दा सानो कुकुर

मेक्सिकोका ब्यूँझनुहोस्‌! लेखकद्वारा

के तपाईं यस्तो साथीको खोजीमा हुनुहुन्छ, जो मित्रैलो होस्‌ तर तपाईंले पढिरहनुभएको बेला चुपचाप तपाईंको काखमा सुतोस्‌ वा थपक्क तपाईंको छेउमा बसिरहोस्‌? यस्तो साथी जसले थोरै खान्छ, थोरै मात्र ठाउँ चाहिन्छ अनि व्यायाम गराउनको लागि दिनदिनै बाहिर लैजानु पर्दैन? त्यसो हो भने संसारको सबैभन्दा सानो प्रजातिको कुकुर भनेर चिनिएको चिवावा पाल्न तपाईंलाई रमाइलो लाग्ला।a

चिवावाहरूले सतर्क गराउन भुक्ने भएकोले यिनले राम्रो रखवाली गर्छन्‌। वास्तवमा, चिवावाहरू आँटिला हुन्छन्‌। ठूला कुकुरदेखि समेत यिनीहरू पटक्कै डराउँदैनन्‌।

गोलाकार टाउको, ठूल्ठूला र चहकिला आँखा, फूर्तिलो स्वभाव अनि आराम गर्दा लुत्रुक्क पर्ने ठाड-ठाडा कानहरूद्वारा चिवावालाई चिन्‍न सकिन्छ। यिनीहरूको रौं छोटो-छोटो र नरम वा लामो-लामो र सलसलाउँदो अनि रातो, खैरो, नीलो वा चकलेटी रङको हुनुका साथै एउटै रङको, छिर्केमिर्के वा पाङ्‌ग्रे जस्तोसुकै खालको हुन सक्छ। अधिकांश चिवावाहरूमा पाइने अद्वितीय पक्ष भनेको भर्खरै जन्मेको मानिसको बच्चामा जस्तै यसको तालुमा पनि नरम खोपिल्टा हुन्छ।

चिवावाको उत्पत्ति

एउटा प्रजातिको रूपमा चिवावाको उत्पत्तिबारे विभिन्‍न अनुमानहरू भए तापनि यो कुकुर टेचिची भनिने एउटा सानो जातको कुकुरबाट आएको जस्तो देखिन्छ। सा.यु. नवौं शताब्दीमा मेक्सिकोका टोलटेकहरूले यो कुकुर पालेका थिए। यसको उत्पत्तिको प्रमाण चोलुला सहरको पिरामिडबाट निकालिएका ढुङ्‌गाहरू प्रयोग गरेर व्होजिङ्‌गोमा फ्रान्सिस्कन पादरीद्वारा निर्माण गरिएको धर्मशालामा पाउन सकिन्छ। यी ढुङ्‌गाहरूमा अहिलेको चिवावा जस्तै खालका कुकुरहरूको पुरातन चित्र खोपिएको छ।

पछि, एट्‌जेकहरूले टोलटेकहरूलाई हराए अनि यी सम्भ्रान्त वर्गका मानिसहरूले यी साना कुकुरहरूलाई, विशेष गरी नीलो रङका कुकुरहरूलाई उपासनाको वस्तुको रूपमा अपनाए। यी कुकुरहरूले मृतकहरूको आत्मालाई अर्को संसारमा पुग्न मदत गर्न सक्छन्‌ भनेर विश्‍वास गरिन्थ्यो। एट्‌जेकहरूका अन्तिम सम्राट्‌ मोन्टेजुमा द्वितीय चिवावाका सोखिन थिए। भनिन्छ, तिनले सयौं चिवावाहरू पालेका थिए र प्रत्येकका लागि एक जना सुसारे राखेका थिए। मेक्सिको र संयुक्‍त राज्य अमेरिकाको सिमानामा भएका मानव चिहानहरूमा चिवावाका कङ्‌कालहरू फेलापरेका छन्‌।

एक जना इतिहासकार र चिवावा विशेषज्ञ, थेल्मा ग्रे आफ्नो अनुसन्धानद्वारा एट्‌जेकहरूको रैथाने कुकुरलाई स्पेनी विजेताहरूले ल्याएका सानो खालको फूर्तिलो कुकुरसित समागम गराइएको थियो भन्‍ने निष्कर्षमा पुगिन्‌। यसरी वर्तमान समयको अझ सानो चिवावाको उत्पत्तिको लागि आधार तयार पारियो। यसलाई चिवावा भनिन्छ किनभने १९ औं शताब्दीको बीचतिर अमेरिकी यात्रीहरूले मेक्सिकोको चिवावा प्रान्तमा यो प्रजातिको कुकुर फेला पारेर संयुक्‍त राज्य अमेरिका लगेका थिए। यही समयताका, मेक्सिकोका सम्राट्‌ म्याक्सिमिलनकी पत्नी कार्लोटाले चिवावा प्रजातिको कुकुर युरोप लगेर यसको अन्तरराष्ट्रिय ख्यातिमा योगदान पुऱ्‍याइन्‌।

चिवावा पाल्ने

चिवावा घरभित्र पालिने कुकुर हो र यो अपार्टमेन्टहरूमा बस्ने, वृद्ध, अशक्‍त र रोगबिमार वा अन्य कारणले घरभित्र सीमित हुनु परेकाहरूको लागि उपयुक्‍त हुन्छ। प्रशस्त हेरविचार र मानिससितको सम्पर्कमा यी कुकुरहरू फस्टाउँछन्‌। यद्यपि, यी कुकुरहरू असाध्यै साना हुने भएकोले होसियार पनि हुनुपर्छ। भूलवश कुल्चँदा, त्यसमाथि बस्दा वा जोडसित समात्दा तिनलाई चोटपटक लाग्न वा मर्न सक्छन्‌। तिनीहरूले उचाइ ठम्याउन नसक्ने भएकोले अग्लो ठाउँबाट हामफालेर हड्डी भाँचिन सक्ने हुनाले खाट वा सोफाजस्ता अग्ला ठाउँहरूमा यी कुकुरहरूलाई एक्लै छोड्‌नुहुँदैन। यी कारणहरूले गर्दा धेरै साना बच्चाहरू भएको घरमा चिवावा पाल्ने सल्लाह दिइँदैन।

यद्यपि, चिवावा तपाईंले सोच्नुभएको भन्दा बलियो हुन सक्छ। वास्तवमा, यो लामो समयसम्म बाँच्ने प्रजातिहरूमध्ये एउटा हो, यो लगभग १८/१९ वर्षसम्म बाँच्छ। यो कुकुर बलियो र खेल्न मन पराउने हुन्छ, यद्यपि, यसले आफूलाई चाहिनेजति व्यायाम खेलेर र उफ्रेर नै प्राप्त गर्न सक्छ। तथापि, यसको शक्‍ति ठूलो प्रजातिको कुकुरको भन्दा चाँडो प्रयोग हुने र यसको पाचन प्रणाली पनि असाध्यै सानो हुने भएकोले चिवावालाई हाइपोग्लाइसेमिया अर्थात्‌ रगतमा चिनीको मात्रा कम हुने सम्भावना धेरै हुन्छ। त्यसैले यसलाई बेलाबेलामा अलिअलि गरी खुवाइरहनुपर्छ र प्रशस्त आराम चाहिन्छ। काम्नु यो प्रजातिको कुकुरको सामान्य विशेषता हो। वास्तवमा, जाडोको कारण मात्र नभई खुसी हुँदा, चिन्ता लाग्दा, रिसाउँदा वा डराउँदा पनि चिवावा काम्ने गर्छ।

चिवावा वफादार, खुसी पार्न सकिने र सजिलै तालिम दिन सकिने हुन्छ। अ न्यु ओनर्स गाइड टु चिवावाज्‌ (अङ्‌ग्रेजी) भन्‍ने पुस्तक यसो भन्छ: “चिवावा पाल्नको लागि पूरा गर्नुपर्ने सबै जिम्मेवारीहरू उठाउन तपाईं इच्छुक हुनुहुन्छ भने यो जत्तिको घुलमिल हुन सक्ने, मिजासिलो र उपयुक्‍त प्रजातिहरू अरू कमै छन्‌।” थुप्रै व्यक्‍तिहरूले फुच्चे चिवावा राम्रो साथी भएको पाएका छन्‌। (g04 8/22)

[फुटनोट]

a चिवावा एक मात्र “प्राकृतिक” खेलौना प्रजाति अर्थात्‌ यही प्रजातिको ठूलो कुकुरबाट उत्पादन नगरिएको एक मात्र सानो कुकुर हो।

[पृष्ठ १५-मा भएको चित्र]

न्याउरो र चिवावाको छाउरो

[स्रोत]

© Tim Davis/CORBIS

[पृष्ठ १५-मा भएको चित्र]

वयस्क चिवावा

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने