प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 १०/८ पृ. १३-१५
  • रक्सी पार्टीमा जाँदैमा के हुन्छ र?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • रक्सी पार्टीमा जाँदैमा के हुन्छ र?
  • ब्यूँझनुहोस्‌!—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • रक्सी पार्टी—खतराहरू
  • पिउने दबाब
  • तपाईं के-कस्ता छनौटहरू गर्नुहुनेछ?
  • रक्सीप्रति परमेश्‍वरको जस्तै दृष्टिकोण राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • मद्यपानको वशमा नपर्न के गर्न सक्नुहुन्छ?
    थप लेखहरू
  • ख्रिष्टियनहरूले रक्सीप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • रक्सीलाई त्यसकै ठाउँमा राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००४
g04 १०/८ पृ. १३-१५

युवा जनहरू सोध्छन्‌ . . .

रक्सी पार्टीमा जाँदैमा के हुन्छ र?

“हामी घण्टौं बसेर रक्सी पिएर मत्तु भइसकेका थियौं तैपनि म र मेरो साथी राती १ बजेतिर ह्विस्कीको बोतल लिएर पार्टी छोडेर हिंड्यौं। हामी घरतिर लाग्यौं—हिंड्‌दा समेत हामीले रक्सी पिउन छोडेनौं। होस खुल्दा घाम झुल्कँदै गरेको अनि आफू गलत बाटो हिंडिरहेको मैले चाल पाएँ। हामी त मुख्य राजमार्गमै पो हिंडिरहेका रहेछौं। अचम्मै भयो, धन्‍न हामीलाई गाडीले हानेनछ।”—क्ले।a

रक्सी पार्टी। कसै-कसैले यसलाई मात्तिनको लागि पिउने त हो भन्छन्‌। यु एस इन्स्टिच्युट अन अल्कोहल एब्यूज एन्ड अल्कोहलिज्मद्वारा प्रकाशित रिपोर्टले यसलाई अझ स्पष्ट पारेको छ। रक्सी पार्टीमा गएर रक्सी पिउनु भनेको “केटाहरूको सन्दर्भमा लगातार पाँच अथवा त्योभन्दा बढी पटक पिउनु अनि केटीहरूको सन्दर्भमा चाहिं चार वा त्योभन्दा बढी पटक पिउनु हो।”

संयुक्‍त राज्य अमेरिकाका स्वास्थ्य अधिकारीहरूले यस्तो किसिमको रक्सी पार्टीलाई “एउटा मुख्य जनस्वास्थ्य समस्या” मानेका छन्‌। इङ्‌गल्याण्ड, स्कटल्याण्ड र वेल्सस्थित माध्यमिक स्कूलमा अध्ययनरत विद्यार्थीहरूका अनुसार “१३ देखि १४ वर्षका २५ प्रतिशतले एउटा पार्टीमा कम्तीमा पनि पाँच पटक सम्म रक्सी पिएर मात्तिएको बताए।” सर्वेक्षण लिइएकाहरूमध्ये १५ देखि १६ वर्षका करिब आधा जतिले पनि यसै गरेको बताए।b

एउटा अमेरिकी अध्ययनअनुसार ५ जनामा २ जना कलेजका विद्यार्थीहरूले सर्वेक्षणको दुई हप्ताअघि मात्र कम्तीमा पनि एक चोटि रक्सी पार्टीमा गएको बताए। संयुक्‍त राज्य अमेरिकाको स्वास्थ्य विभागअनुसार “१२ देखि २० वर्षका करिब १.०४ करोड किशोर-किशोरीहरूले मदिरा सेवन गर्छन्‌। तिनीहरूमध्ये ५१ लाख रक्सी पार्टीमा जाने गर्छन्‌ र महिनामा कम्तीमा पनि पाँच पटक रक्सी पार्टीमा जाने २३ लाख किशोर-किशोरीहरू चाहिं बेस्सरी पिउने जँड्याहाहरू थिए।” अष्ट्रेलियामा गरिएको एउटा अध्ययनमा केटाहरूभन्दा केटीहरू बढी रक्सी पार्टीमा जाने कुरा देखियो र तिनीहरू एक पटकमा १३ देखि ३० पटक रक्सी पिउँछन्‌!

अरू जवानहरूले उक्साएको कारणले गर्दा नै तिनीहरूले यसरी रक्सी पिउने गर्छन्‌। अनुसन्धाता क्यारोल फाल्कोस्की यस्तो रिपोर्ट दिन्छिन्‌: “नौला तथा आँटिला रक्सी पिउने खेलहरू फस्टाउँदैछन्‌: समूहमा सँगै बसेर रक्सी पिउने अनि मात्तिएर मस्त हुने उद्देश्‍य लिएर नै तिनीहरू भेला हुने गर्छन्‌। कुनै-कुनै खेल यस्तो पनि हुन्छ, जस्तै कुनै टिभी कार्यक्रम अथवा सामूहिक गफगाफमा सहभागीहरूले कुनै निश्‍चित समयमा कडा रक्सीको पेग स्वाट्टै पार्नुपर्ने हुन्छ।”

रक्सी पार्टी—खतराहरू

बेस्सरी रक्सी पिउनुलाई कसै-कसैले खेल सम्झे पनि यो एउटा साह्रै खतरनाक खेल हो! अत्यधिक मद्य पिउनाले मस्तिष्कमा अक्सिजनको मात्रा कमी हुन्छ; शरीरका महत्त्वपूर्ण अङ्‌गहरूले राम्ररी काम गर्न छोड्‌छन्‌। बान्ता आउने, बेहोस हुने र श्‍वासप्रश्‍वासको गति सुस्त हुने अथवा बीच-बीचमा श्‍वासप्रश्‍वास रोकिने हुन सक्छ। कुनै-कुनै अवस्थामा त मर्न पनि सक्छ। हाई-स्कूलको पढाइ सिद्धिएको एक महिना जतिपछि १७ वर्षीया किम “जति पिए पनि हुने” पार्टीमा गइन्‌। अचेत हुनुअघि किमले १७ पटक रक्सी पिएकी थिइन्‌। त्यसपछि तिनकी दिदी आएर उनलाई घर लिएर गइन्‌। भोलिपल्ट बिहान किमकी आमा आउँदा तिनी मरिसकेकी थिइन्‌।

बेस्सरी रक्सी पिउँदा मर्न त नमर्ला तर यो स्वास्थ्यको लागि भने खतरनाक हुन्छ। मानसिक-स्वास्थ्य विज्ञ जेरोमी लेभिन यसो भन्छन्‌, “मद्यले तपाईंको शरीरका कुनै पनि अङ्‌गलाई खत्तमै पारिदिन सक्छ। मद्यले स्नायुप्रणाली, कलेजो र मुटुलाई आफ्नो मुख्य सिकार बनाउँछ।” डिस्कभर पत्रिकामा प्रकाशित एउटा लेखमा यसो भनिएको छ: “नयाँ अनुसन्धानहरूले देखाएअनुसार कलिलो उमेरमै रक्सी पिउनेहरूले खतरा निम्त्याइरहेका हुन्छन्‌ किनकि २० वर्षसम्म पनि तिनीहरूको मस्तिष्कको विकास भइरहेको हुन्छ। बेस्सरी रक्सी पिउने किशोर-किशोरीहरूले आफ्नो मानसिक क्षमतालाई अत्यधिक मात्रामा नष्ट गरिरहेका हुन सक्छन्‌।” लामो समयसम्म रक्सी सेवन गरिरहँदा डन्डीफोरहरू बढ्‌ने, उमेर नपुग्दै छाला चाउरिने, तौल बढ्‌ने, शरीरभित्रका अङ्‌गहरू नष्ट हुने, रक्सी अनि लागुपदार्थको अम्मली हुने जस्ता समस्याहरू पनि देखापर्छन्‌।

बेस्सरी रक्सी पिउनुका अरू खतराहरू पनि छन्‌। तपाईं रक्सीले मत्तु हुनुभएको छ भने तपाईंमाथि दुर्व्यवहार हुन सक्ने सम्भावना धेरै हुन्छ। तपाईं शारीरिक आक्रमण अथवा बलात्कारको सिकार बन्‍न सक्नुहुन्छ। साथै तपाईं अरूको लागि खतरासमेत बन्‍न सक्नुहुन्छ, तपाईं सद्दे भएको बेला कल्पनासमेत नगरेका असंयमित व्यवहारहरू तपाईंबाट हुन सक्छन्‌। तपाईंले बढी पिउनुभयो भने, ‘आँखाले अचम्म अचम्मका कुराहरू देख्नेछ, विचार शक्‍ति बोली लरबरिनेछ’ भनेर बाइबल चेतावनी दिन्छ। (हितोपदेश २३:३३) मित्रता टुट्‌ने, स्कूल तथा जागिरमा राम्रो गर्न नसक्ने, आपराधिक छवि बस्ने अनि गरिबी जस्ता तीता नतिजाहरू पनि यसले निम्त्याउन सक्छ।c—हितोपदेश २३:२१.

पिउने दबाब

यस्ता खतराहरू हुँदाहुँदै पनि रक्सीलाई अचाक्ली बढवा दिइन्छ अनि धेरै मुलुकहरूमा यो सर्वसुलभ छ। वास्तवमा, टिभी र पत्र-पत्रिकाहरूले रक्सीको विज्ञापनलाई अत्यन्तै आकर्षक ढङ्‌गमा प्रस्तुत गर्छन्‌। यद्यपि, जवानहरू रक्सी पार्टी जानुको मुख्य कारण साथीहरूको दबाब नै हो।

अष्ट्रेलियामा रक्सीबारे जनचेतना जगाउन गरिएको एउटा सर्वेक्षणमा प्रश्‍न सोधिएकाहरूमध्ये ३६ जनाले पिउनुको मुख्य कारण “समाजसित घुलमिल हुनु हो” भन्‍ने जवाफ दिए। होहल्लापूर्ण वातावरण मच्चिरहेको “बियर पार्टी[मा]” साथीहरूले बियरमाथि बियर थपेर एक जना लजालु व्यक्‍तिलाई दबाब दिंदै पिउन लगाउँदा उक्‍त व्यक्‍ति पार्टीकै आकर्षण बन्‍न सक्छ। जवान क्येटीलाई बेस्सरी रक्सी पियाएर अचेत अवस्थामा घरमा ल्याइयो। तिनको “साथीले” तिनलाई यसो भन्दै रक्सी दिएका थिए, “पिऊ न पिऊ क्येटी अब त तिमी बच्ची होइनौ नि। तिमीले अब एकै सासमा रक्सी घुट्‌क्याउन सिक्नुपर्छ।”

मोजमज्जा गर्ने अनि अरूसित घुलमिल हुने चाहना यति तीव्र हुन्छ कि रक्सी पार्टीमा जानु खतरनाक छ भन्‍ने भरपर्दो प्रमाण हुँदाहुँदै पनि हाम्रो लागि यो प्रिय बन्‍न पुग्छ।

तपाईं के-कस्ता छनौटहरू गर्नुहुनेछ?

प्रश्‍न उठ्‌छ: पिउने सन्दर्भमा तपाईं के-कस्ता छनौटहरू गर्नुहुनेछ? के तपाईं आफ्नो साथीले जे भन्छ खुरुखुरु मान्‍नुहुन्छ? बाइबलले रोमी ६:१६ मा के भन्छ, ध्यान दिनुहोस्‌: “के तिमीहरूलाई थाह छैन, जसको आज्ञाकारिताको निम्ति दासजस्तै भई तिमीहरू आफैलाई समर्पण गर्दछौ, त उसैका दास तिमीहरू हौ, जसको आज्ञा पालन गर्दछौ?” आफ्ना एक-एक गतिविधिहरूलाई आफ्ना साथीहरूद्वारा नियन्त्रित हुन दिनुभयो भने तपाईं केवल उनीहरूको दास बन्‍नुहुनेछ। बाइबल तपाईंलाई आफ्नो निर्णय आफैले गर्न प्रोत्साहन दिन्छ। (हितोपदेश १:४) बाइबलमा त्यस्ता सल्लाहहरू छन्‌ जसले तपाईंलाई गम्भीर गल्तीहरू गर्नबाट जोगाउन सक्छ। मद्यबारे यसले के भन्छ, विचार गर्नुहोस्‌।

वास्तवमा, बाइबलले रक्सी पिउनुको निन्दा त गर्दैन अनि जवान मानिसहरूले यसबाट उठाउने आनन्दको विरोध पनि गर्दैन। तथापि, यसले बेस्सरी रक्सी पिउनुको खतराबारे चेतावनी दिन्छ। हितोपदेश २०:१ ले यसो भन्छ, “मद्य घृणित वस्तु हो, औ कडा मद्यले होहल्ला मचाउँछ, त्यसमा लत बस्ने कोही पनि बुद्धिमानी हुँदैन।” हो, मद्यले जुनसुकै व्यक्‍तिलाई पनि वाहियात अनि उच्छृङ्‌खल काम गर्न उक्साउन सक्छ! हो, यसले तपाईंलाई क्षणिक आनन्द त दिन सक्ला तर बेस्सरी पिउनुभयो भने यसले तपाईंलाई “साँपलेझैं डस्छ,” र तपाईंलाई शारीरिक अनि मानसिक तवरमा पूरै घाइते बनाएर मात्र छोड्‌छ।—हितोपदेश २३:३२.

विचार गर्नुपर्ने अर्को कुरा, धेरै देशहरूले रक्सी पिउनको लागि उमेर तोकेका हुन्छन्‌। मसीहीहरूले यस्ता नियमहरूको पालन गर्छन्‌। (तीतस ३:१) यो तिनीहरूकै सुरक्षाको लागि हो।

अन्तमा अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, बेस्सरी पिउँदा हुन सक्ने आध्यात्मिक क्षतिलाई तपाईंले विचार गर्नुहोस्‌। तपाईंले यहोवा परमेश्‍वरलाई “सारा समझले” सेवा गरेको उहाँ चाहनुहुन्छ—बेस्सरी रक्सी पिएर अनावश्‍यक रूपमा बिग्रेको समझले त होइन! (मत्ती २२:३७) परमेश्‍वरको वचनले “मतवालीपन” मात्र होइन तर “रक्सी पिउने खेल[हरूलाई]” पनि निन्दा गर्छ। (१ पत्रुस ४:३, NW) त्यसैले रक्सी पार्टीमा जानु हाम्रो सृष्टिकर्ताको इच्छा विपरीत हो। यसरी बेस्सरी पिउँदा सृष्टिकर्तासितको घनिष्ठ सम्बन्धबाट आनन्द उठाउनदेखि तपाईं वञ्चित हुनुहुनेछ।

यदि तपाईं रक्सी पार्टीको पासोमा फस्नुभएको छ भने, तपाईंले के गर्नुपर्छ? आफ्ना आमाबाबु अथवा कुनै परिपक्व मसीहीसित कुरा गरेर तुरुन्तै मदत मागिहाल्नुहोस्‌।d यहोवा परमेश्‍वरलाई प्रार्थनामा पुकार्नुहोस्‌ अनि उहाँलाई गुहार्नुहोस्‌। आखिर, उहाँ “सङ्‌कष्टमा अति सजिलैसँग पाइने सहायक” हुनुहुन्छ। (भजन ४६:१) रक्सी पार्टीमा जाने अनि उमेरै नपुगी रक्सी पिउने समस्या साथीहरूको दबाबले गर्दा आउने भएकोले तपाईंले साथी तथा मनोरञ्जन छान्‍ने सन्दर्भमा आमूल परिवर्तनहरू गर्नुपर्ने हुन सक्छ। यस्ता परिवर्तनहरू गर्न सजिलो नहुन सक्छ तर यहोवाको मदतले तपाईं सफल हुन सक्नुहुन्छ। (g04 9/22)

[फुटनोटहरू]

a केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

b भनिन्छ, संयुक्‍त राज्य अमेरिकामा एक पटक पिउँदाको परिमाण १२ औन्स (३६० मि.ली.) बियर, ५ औन्स (१५० मि.ली.) रक्सी, अथवा ४० प्रतिशत अल्कोहल मिसिएको १.५ औन्स (४५ मि.ली.) मद्य हुन्छ। यी मात्राहरू १४ ग्राम अल्कोहल बराबर हुन्छन्‌।

c एउटा अमेरिकी अध्ययनअनुसार “रक्सी पार्टीमा नजानेहरूको तुलनामा बारम्बार गइरहनेहरू कक्षामा अनुपस्थित हुने, स्कूलका कार्यहरूमा राम्रो गर्न नसक्ने र घाइते हुनुका साथै त्यस्ता व्यक्‍तिहरूले सरसम्पत्तिहरू बिगार्ने सम्भावना आठ गुणा बढी हुन्छ।”

d कुनै-कुनै अवस्थामा तालिम-प्राप्त पेसेवर चिकित्सकको मदत लिनुपर्ने हुन सक्छ।

[पृष्ठ १५-मा भएको पेटी/चित्र]

रक्सी पार्टीमा जानु—दुःखलाग्दो तथ्याङ्‌क

निम्न तथ्याङ्‌कले संयुक्‍त राज्य अमेरिकाको कलेजका विद्यार्थीहरू रक्सी पार्टीमा जाँदा घटेका दुःखलाग्दा परिणामहरू प्रकट गर्छ:

मृत्यु: १८ देखि २४ वर्षका १,४०० जना कलेजका विद्यार्थीहरू हरेक वर्ष रक्सीले गर्दा चालै नपाई घाइते भई मर्ने गर्छन्‌ जसमा मोटर दुर्घटना पनि समावेश छ।

घाइते: १८ देखि २४ वर्षका ५,००,००० विद्यार्थीहरू रक्सीले गर्दा चालै नपाई घाइते हुन्छन्‌

आक्रमण: १८ देखि २४ वर्षका ६,००,००० भन्दा धेरै विद्यार्थीहरू रक्सीले मत्तु भएका विद्यार्थीहरूको आक्रमणका सिकार हुन्छन्‌

यौन दुर्व्यवहार: १८ वर्षदेखि २४ वर्षका ७०,००० हजार भन्दा धेरै विद्यार्थीहरू रक्सीले गर्दा यौन दुर्व्यवहार अथवा बलात्कारका सिकार हुन्छन्‌

[स्रोत]

स्रोत: यु एस इन्स्टिच्युट अन अल्कोहल एब्यूज एन्ड अल्कोहलिज्म

[पृष्ठ १३-मा भएको चित्र]

तपाईंहरूलाई रक्सी पार्टीमा जान साथीहरूले उक्साउन सक्छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने