प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 २/८ पृ. २०-२२
  • ठूलो पैसाको देश

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ठूलो पैसाको देश
  • ब्यूँझनुहोस्‌!—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कठिन प्राप्ति
  • यसको मोल कति छ?
  • ठूलो हुँदैमा सधैं धेरै मूल्यको हुँदैन
  • पैसाप्रति सही दृष्टिकोण राख्नुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०१५
  • के रुपैयाँ-पैसा सबै किसिमका खराबीको जरा हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
ब्यूँझनुहोस्‌!—२००५
g05 २/८ पृ. २०-२२

ठूलो पैसाको देश

गुआमका ब्यूँझनुहोस्‌! लेखकद्वारा

विशाल प्रशान्त महासागरमा तपाईं याप टापुहरू देख्न सक्नुहुन्छ। उष्ण प्रदेशीय सौन्दर्य र आरामदायी मौसमले गर्दा यो द्वीपसमूह एक्लै समय बिताउन चाहने पर्यटकहरूको लागि एकदमै रमणीय हुन्छ। तर मानिसहरूले आफ्नो पैसा सडकमा त्यत्तिकै छोडेको देखेर भने आगन्तुकहरू अक्सर छक्क पर्छन्‌। अनि यो चानचुने पैसा होइन!

यी टापुहरूमा तपाईंले भवनहरूको अगाडि अनि बाटोमा ढुङ्‌गाका चक्काहरू देख्नुहुनेछ। यी चक्काहरूलाई स्थानीय भाषामा राई भनिन्छ र यो यापको स्थानीय मुद्रा हो। कोही-कोही मानिसले ढुङ्‌गाको पैसा घरमा राख्छन्‌ तर प्रायजसोले गाउँको “बैंकमा” नै राख्छन्‌। यी संस्थानहरूमा पहरा दिइरहेका सुरक्षागार्ड र ग्राहकहरूलाई मदत गरिरहेका कर्मचारीहरू हुँदैनन्‌। तपाईंले सायद भवन पनि देख्नुहुन्‍न होला। सुरक्षित भण्डारमा पैसा राख्नुको साटो यी “बैंकहरूले” आफ्नो सम्पत्ति बाहिरै छोड्‌छन्‌। त्यहाँ नरिवलको बोट र पर्खालमा ठड्याइएका ढुङ्‌गाका चक्काहरू थुप्रै हुन्छन्‌ र सबै ढुङ्‌गाको बीचमा एउटा प्वाल हुन्छ। यी चक्काहरूको व्यास चार मिटरसम्म हुन्छ अनि वजन पनि पाँच टनभन्दा बढी हुन सक्छ।

तपाईं बस्नुहुने ठाउँमा खुद्रा पैसा खल्तीमा बोक्नुहुन्छ होला तर यहाँका सिक्काहरू यति ठूला हुन्छन्‌ कि गाडीमा पनि अट्‌दैनन्‌। यी ढुङ्‌गाका पैसा सबै सन्‌ १९३१ अघि बनाइएका हुन्‌। तैपनि, यहाँ टापुहरूमा यी पैसाहरू कानुनी रूपमा अझै स्वीकार्य छ। यो अचम्मको मुद्राको सुरुवात कसरी भयो?

कठिन प्राप्ति

प्रचलित कथाअनुसार धेरै पहिला यापका यात्रुहरूको एउटा समूह पालाऊ टापुमा आइपुग्यो र त्यहाँ तिनीहरूले

राम्रा-राम्रा ढुङ्‌गाहरू बटुले। तिनीहरूले ती यापमा लगे अनि मानिसहरूले त्यसैलाई मुद्राको रूपमा चलाउने निर्णय गरे। तिनीहरूले ढुङ्‌गाहरूमा पूर्णेको जूनजस्तो आकार खोपे तर बीचमा चाहिं प्वाल बनाए।

कस्तो ढुङ्‌गा चलाउने भन्‍ने सन्दर्भमा यापका मानिसहरू विशेष ध्यान दिन्थे। अहिले आरागोनाइट र क्याल्साइट भनेर चिनिने खनिजहरू तिनीहरू रुचाउँथे। जमिनको ढिस्कोमा पाइने आरागोनाइट मोतीमा पनि पाइन्छ र क्याल्साइट चाहिं मार्बलको प्रमुख तत्त्व हो। राम्रोसित खोप्दा दुवै आकर्षक देखिन्छन्‌ तर यी दुवै किसिमका खनिज यापमा पाइँदैन। त्यसैले यापवासीहरू यी ढुङ्‌गाहरू लिन पालाऊ जाने गर्थे। पालाऊ, यापबाट ४०० किलोमिटर दक्षिण-पश्‍चिममा पर्छ र एक किसिमको सानो डुङ्‌गा चलाएर खतरनाक समुद्र हुँदै पाँच दिन यात्रा गर्नुपर्छ।

पालाऊमा यापवासीहरूले स्थानीय प्रमुखको अनुमति पाएर चट्टानहरूबाट ढुङ्‌गा निकाल्न थाले। पुरानो किसिमका ज्याबलहरू चलाएर तिनीहरू जमिनमुनिका गुफाहरूबाट ढुङ्‌गा काट्‌थे र चक्का आकारमा खोप्थे। एक टुक्रा पैसा बनाउनको लागि मात्र पनि महिनौं र कहिलेकाहीं वर्षौंसम्म हिर्काउनु र आकार मिलाएर काट्‌नु पर्थ्यो!

समुद्री किनारसम्म पुऱ्‍याउन सजिलो होस्‌ भनेर चट्टानमा प्वाल पारेर काठको ठुटा अड्‌काइन्थ्यो। अनि ती भर्खरै खोपेर बनाइएका पैसाहरू कनु वा बाँसको डुङ्‌गामा राखिन्थ्यो। ठूलो ढुङ्‌गा ओसार्न भने कामदारहरू यसलाई पानीमा ठड्याएर तरण बनाउँथे। हावाको बहाव सँगसँगै बेस्सरी डुङ्‌गा खियाएर यो नयाँ पैसा यापसम्म पुऱ्‍याउँथे।

सबै काम हातैले गरिन्थ्यो अनि यो काम खतरनाक थियो। हुन पनि, ढुङ्‌गा काट्‌दा र चट्टानको टुक्रालाई सुक्खा ठाउँसम्म पुऱ्‍याउँदा धेरै घाइते भए वा मारिए। अनि यापसम्म फर्कन पनि त्यत्तिकै खतरा मोल्नु पर्थ्यो। याप र पालाऊको समुद्री पींधमा पाइने ढुङ्‌गाको पैसाले के प्रमाण दिन्छ भने, यहाँको सबै खजाना वा यी ओसार्नेहरू सबै सुरक्षितपूर्वक यापसम्म पुग्न सकेनन्‌। तर त्यसरी समुद्रमा डुबेको पैसा यापका बासिन्दाहरूमध्ये कसैको हो। जमिनमा भएका ढुङ्‌गाका चक्काहरू जत्तिकै यसको मोल छ।

यसको मोल कति छ?

व्यापारिक कारोबारमा राई नयाँ मालिकलाई सुम्पिसकेपछि पनि यो पहिलेकै स्थानमा त्यत्तिकै छोडिन्छ। थुप्रै भने हालको ठाउँमै रहेको दशकौं भइसक्यो अनि तिनीहरूका वर्तमान मालिकको घरभन्दा निकै टाढा छन्‌। यहाँ चोरको कुनै समस्या छैन। चोरले कुनै ढुङ्‌गाको सिक्कामा आँखा लगाए तापनि पहिला त्यो लैजाने बल अनि त्यसो गर्ने आँट हुनुपर्छ। यसो गर्ने आँट बटुल्नु अझ गाह्रो हुनेछ किनभने ढुङ्‌गाको यो पैसा कसको हो भनेर छिमेकीहरूलाई थाह हुन्छ अनि तिनीहरू अरूको सम्पत्तिप्रति गहिरो आदर देखाउँछन्‌।

ढुङ्‌गाको पैसाको मूल्य तपाईं कसरी निर्धारण गर्नुहुन्छ? पहिला त यसको साइज, प्राकृतिक सौन्दर्य र यसको वास्तुकारको गुण हेर्नुहुन्छ। त्यसपछि यसको इतिहास विचार गर्नुहुन्छ। यो कति पुरानो हो? के यो चट्टानबाट निकाल्न अनि खोप्न धेरै गाह्रो भएको थियो? मानिसहरूले यसलाई यापसम्म ओसार्दा जीवन खतरामा परेको थियो वा कसैले ज्यान गुमाउनुपरेको थियो कि? अन्तमा, यसको कारोबारमा संलग्न व्यक्‍तिहरूको सामाजिक ओहदा कस्तो छ? साधारण मानिससित भन्दा गाउँको प्रमुखसित यो ढुङ्‌गाको स्वामित्व हुँदा यसको मोल बढी हुन्छ।

सन्‌ १९६० मा १.५ मिटर व्यास भएको ढुङ्‌गाको पैसा एउटा विदेशी बैंकले किन्दा त्यस ढुङ्‌गाको इतिहास बाह्‍य संसारलाई थाह भयो। यो सन्‌ १८८० को दशकदेखि प्रयोगमा भएको देखियो। यो एक चोटि एउटा घर निर्माणमा संलग्न कामदारहरूलाई पैसा तिर्न प्रयोग गरिएको थियो। अर्को चोटि भने छिमेकी गाउँका गाउँलेहरूले गरेको विशेष नाचबापत दिइएको थियो। अनि पछि एक जना घरधनीले घरमा छाना लगाउने टिनसित त्यो साटेका थिए। यो सबै कारोबार त्यस ढुङ्‌गालाई सुरुको ठाउँबाट कतै नसारी गरिएको थियो अनि कुनै लिखित रेकर्ड थिएन। यापका बासिन्दाहरू सबैलाई यस सिक्काको स्वामित्व र इतिहासबारे थाह थियो।

ठूलो हुँदैमा सधैं धेरै मूल्यको हुँदैन

सयौं वर्षअघि राई प्रयोग गरिन थाल्दा ढुङ्‌गाका यी पैसाहरू अति दुर्लभ हुनुका साथै त्यहाँका मुख्य मान्छेहरूसित मात्र हुन्थ्यो। पछि १९ औं शताब्दीको अन्ततिर भने फलामे औजार तथा ढुवानी जहाजहरूले गर्दा यी ठूला साना सबै किसिमका ढुङ्‌गाहरू खोप्न र ढुवानी गर्न सम्भव भयो। ढुङ्‌गाका नयाँ पैसाहरू पुरानोभन्दा ठूलो भए तापनि मूल्य भने कम छ किनभने तिनीहरू परम्परागत र कठिन तरिकामा बनाइएका थिएनन्‌।

सन्‌ १९२९ को एउटा आधिकारिक तथ्याङ्‌कअनुसार जम्मा १३,२८१ वटा ढुङ्‌गा थिए र यो ती टापुको जनसंख्याभन्दा बढी थियो! दोस्रो विश्‍वयुद्धपछि भने कुरा अर्कै भयो। सेनाले प्रायजसो ढुङ्‌गाका मुद्रा जफत गऱ्‍यो अनि धावन मार्ग तथा गढहरू बनाउन ती ढुङ्‌गाहरू फोडियो। आधाजसो ढुङ्‌गाहरू मात्र बाँकी रहे। त्यसपछि स्मारिका बटुल्ने तथा निजी सङ्‌कलकहरूले प्रायजसो चक्का लगे। आज, सरकारले ढुङ्‌गाका ती पैसालाई सांस्कृतिक खजाना ठान्छ र कानुनी सुरक्षा प्रदान गरेको छ।

यापमा पैसा रूखमा फल्दैन नता सडकमा सुन पाइन्छ। तैपनि मानिसहरू अझै पनि आफ्नो पैसा सबैले देखोस्‌ भनेर सडकमै छोड्‌छन्‌! (g05 1/8)

[पृष्ठ २०-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

जापान

प्रशान्त महासागर

फिलिपिन्स

साइपान

गुआम

याप

पालाऊ

[स्रोत]

Globe: Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.

[पृष्ठ २१-मा भएको चित्र]

ढुङ्‌गे पैसाको “बैंक”

[पृष्ठ २२-मा भएको चित्र]

यापका कुनै-कुनै पैसाको वजन पाँच टनभन्दा बढी हुन सक्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने