प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 २/८ पृ. १६-१७
  • समुद्रका फुच्चे योद्धाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • समुद्रका फुच्चे योद्धाहरू
  • ब्यूँझनुहोस्‌!—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • समुद्रको सूक्ष्मजीव तपाईंको प्लेटमा
  • हतियार बदल्ने
  • छद्‌मवेषी रङ, अरूलाई देखाउने रङ
  • समुद्रका नाच्ने घोडाहरू
    ब्यूँझनुहोस्‌!—२००५
ब्यूँझनुहोस्‌!—२००५
g05 २/८ पृ. १६-१७

समुद्रका फुच्चे योद्धाहरू

अस्ट्रेलियाका ब्यूँझनुहोस्‌! लेखकद्वारा

ह्वे ल, डल्फिन, शार्क—यी ठूल्ठूला समुद्री जीवहरूले पक्कै पनि तपाईंको कल्पनाशक्‍तिलाई जुरमुऱ्‍याउँछ। तर समुद्रमा “ठूला साना दुवै थरीका जन्तुहरू” छन्‌। (भजन १०४:२५) ससाना कुराहरूलाई समेत ध्यान दिने व्यक्‍तिहरूका लागि साना प्राणीहरू हेर्नु पनि रोमाञ्चकारी हुन्छ।

उदाहरणका लागि समुद्रको पींध नै ढाकिने जस्तै गरी खेलिरहेका प्राणीहरूलाई “समुद्रका योद्धाहरू” भनिएको छ। केही मध्यकालीन योद्धाहरूको तुलनामा यी थुप्रै फुच्चे “योद्धाहरूले” विभिन्‍न रङ र बुट्टा भएका हतियार धारण गरेका हुन्छन्‌। समुद्रका यी साना बासिन्दाहरू, क्रस्टेसियन भनिने समूहमा पर्छन्‌ र यिनीहरूलाई साधारण बोलीचालीमा स्रिम्प वा झिंगे माछा भनिन्छ।

समुद्रको सूक्ष्मजीव तपाईंको प्लेटमा

तपाईंलाई झिंगे माछा भनेको एउटा स्वादिलो समुद्री खाना जस्तो मात्र लाग्ला। तर झिंगे माछा तपाईंको प्लेटमा पुग्नुअघि तिनीहरूले एकदमै बेग्लै किसिमको जीवन बिताएका हुन्छन्‌। कुनै-कुनै पोथी झिंगे माछाहरूले कोरल्नुअघि सम्म भुँडीमा निषेचित अण्डा बोक्छन्‌, अरू कतिले भने समुद्रको धारमा अण्डा छोड्‌छन्‌ जहाँ ती आफै हुर्कन्छन्‌, बढ्‌छन्‌।

झिंगे माछाका अण्डाहरू कोरलिएपछि झोइ अर्थात्‌ प्रारम्भिक लार्भामा परिणत हुन्छन्‌ अनि त्यसपछिका विभिन्‍न लार्भावस्थाहरू पूरै हुर्किसकेको अवस्थाभन्दा एकदमै फरक हुन्छ। सूक्ष्मजीवहरूको समुदायमा समय बिताइसकेपछि यी झोइ समुद्रको पींधमा बस्छन्‌ अनि तिनीहरूले जुन आकार लिन्छन्‌, त्यसलाई हामी स्रिम्प भन्छौं र यी बिस्तारै हुर्किसकेको झिंगे माछाको रूपमा देखापर्छन्‌।

हतियार बदल्ने

कडा खोलभित्र हुने यी बढिसकेका झिंगे माछाहरू कसरी हुर्कन्छन्‌? “यो प्रक्रियाअनुसार (एक्डाइसिस पनि भनिने) पुरानो खोलभित्र नयाँ र नरम पत्र बन्छ” भनी अ फिल्ड गाइड टु क्रस्टेसियन्स्‌ अफ अस्ट्रेलियन वटर्स भन्‍ने पुस्तक बताउँछ। “त्यसपछि यो पुरानो पत्र हटाइन्छ र जीवले पानी सोस्छ अनि नयाँ पत्र फुलेर अझ बढ्‌नको लागि ठाउँ तयार पार्छ।” अस्ट्रेलियन सीशोर्ज्‌ भन्‍ने पुस्तक यसरी बताउँछ: “यस जीवले पुरानो कत्ले खोलबाट आफ्ना ठूला र बलिया अनि साना र कमला खुट्टाहरू (कुनै-कुनैको धेरै हुन्छ) लगायत पूरै शरीर निकाल्नुपर्छ। यसका खुट्टाहरू भने पन्जाबाट औंला निकालेझैं निकालिन्छ।”

यी क्रस्टेसियनहरूले नङ्‌ग्राका मांसपेशीजस्ता ठूल्ठूला खुट्टाहरू सानो प्वालबाट कसरी तान्छन्‌? लेखक डब्ल्यु. जे. डाकिन यसो भन्छन्‌: “यसरी तान्‍न सक्नुको एउटै मात्र कारण हो, यस जीवका जीवित भागहरू नरम हुन्छ र साँघुरो ठाउँबाट पनि तान्‍न सकिन्छ। वास्तवमा एक्डाइसिस हुँदा खुट्टाबाट रगत निकालेर शरीरको अरू भागमा पुऱ्‍याइन्छ र यसरी निकाल्ने बेलामा सजिलै निचोर्न सकिन्छ।” पुरानो खोलमा भएको चक्र, धर्काजस्तो बुट्टा अनि सबै रङ्‌गीन बुट्टाहरू नयाँ खोलमा यथावत्‌ रहन्छ र यसो गर्नुको एउटा उपयुक्‍त कारण छ।

छद्‌मवेषी रङ, अरूलाई देखाउने रङ

समुद्रका एनिमोनहरूको टेन्टाकलमा बाँच्ने झिंगे माछाहरू अलि पारदर्शी हुन्छन्‌ वा जुन प्राणीले आश्रय दिन्छ त्यसैको रङसित सुहाउने गरी आफ्नो हतियार मिलाउँछन्‌। यी छद्‌मवेषी झिंगे माछाहरूले एनिमोनका हातहरूमा लुकेर सुरक्षा खोज्छन्‌ र आफूलाई आश्रय दिने जीवको जीउमा थुप्रिएका खानेकुरा सफा गर्नेजस्तो घरायसी काम गरिदिने हुँदा आश्रय पाउँछन्‌।

अरू झिंगे माछाहरू भने एकदमै रङ्‌गीचङ्‌गी हुन्छन्‌, जस्तै: सफाइ गर्ने झिंगे माछाहरू। तिनीहरू अक्सर चट्टानको मुनितिर बस्छन्‌ अनि तिनीहरूको चहकिलो रङले भने तिनीहरूले प्रदान गर्ने सफाइ सुविधाको विज्ञापन गरेजस्तो देखिन्छ। आफ्नो जीउमा परजीवी भएका माछाहरू सफाइ गर्ने झिंगे माछाको घर नजिकै चलहल गर्छन्‌ र झिंगे माछाहरूलाई आफ्नो जीउमा चलमलाउन दिन्छन्‌। यी झिंगे माछाहरू कुनै अवरोधविना माछाको टाउको र गिल्स्‌मा समेत चढ्‌छन्‌। अनि यी “झिंगे माछा डाक्टरले” माछाको शरीरमा भएका परजीवीहरू खाइदिन्छन्‌ अनि माछाको ऱ्‍याले पत्रलाई आफ्नो भोजन बनाउँछन्‌।

तिनीहरूको रङ र काम जस्तोसुकै भए तापनि यी सुन्दर साना जीवहरूको एउटा कुरा भने पक्का छ—पुरातन योद्धाहरूको भन्दा यिनीहरूको हात-हतियार धेरै आकर्षक छ। (g05 1/22)

[पृष्ठ १७-मा भएको चित्र]

हिंजबिक स्रिम्प

[पृष्ठ १७-मा भएको चित्र]

पारदर्शी एनिमोन स्रिम्प

[पृष्ठ १७-मा भएको चित्र]

सम्राट्‌ स्रिम्प

[पृष्ठ १७-मा भएको चित्र]

एनिमोन स्रिम्प

[पृष्ठ १७-मा भएको चित्र]

सफाइ गर्ने स्रिम्प

[पृष्ठ १७-मा भएको चित्रको स्रोत]

All photos except cleaner shrimp: © J and V Stenhouse

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने