प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g १/०६ पृ. ३१
  • “स्वागत छ यहोवाको संगठनमा”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “स्वागत छ यहोवाको संगठनमा”
  • ब्यूँझनुहोस्‌!—२००६
ब्यूँझनुहोस्‌!—२००६
g १/०६ पृ. ३१

“स्वागत छ यहोवाको संगठनमा”

फिनल्याण्डको एउटा परिवारले यहोवाका साक्षीहरूसित संगत गर्न थालेको केही समय मात्र भएको थियो। धेरैले उनीहरूको विरोध गरे। तिनीहरूले यसरी तर्साए: “यहोवाका साक्षीहरूले तिमीहरूको जम्मै पैसा खाइदिन्छन्‌।” कोहीकोहीले यसो भने: “घरखेत जम्मै खाइदिएर पाटीको बास भएपछि थाह पाउँछौ।” दुःखको कुरा, एक रात, घर न्यानो बनाउनको लागि हिटिङ सिस्टम राखेको ठाउँमा आगलागी भयो। फिनल्याण्डजस्तो चिसो ठाउँमा हिटिङ सिस्टम ध्वस्त हुनु भनेको ठूलै क्षति हो।

बिमाबापत प्राप्त रकमले मर्मत-सम्भारको सामान किन्‍न एक छेउ पनि पुगेन। विरोधीहरूको श्राप साँच्चै लागेजस्तो देखियो। लामो सुस्केरा हाल्दै त्यस परिवारका बुबा भन्छन्‌, “त्यतिबेला हाम्रो मनै भरङ्‌ग भयो।” तैपनि तीन हप्तापछि बप्तिस्मा लिने आफ्नो सोचाइमा पति-पत्नी दुवैले कुनै परिवर्तन ल्याएनन्‌।

“हे मेरा साना केटा-केटी हो, वचन र मुखले मात्र हामी प्रेम नगरौं, तर कामले साँचो प्रेम गरौं।” (१ यूहन्‍ना ३:१८) बाइबलको यो सल्लाह व्यवहारमा उतार्ने मौका यही हो भन्ठान्दै स्थानीय मण्डलीका साक्षीहरूले भवन मर्मत गर्ने योजना बनाइहाले। यहोवाका साक्षीहरूको फिनल्याण्ड शाखा कार्यालयले पुनर्निमाणबारे व्यावहारिक सरसल्लाह दियो। नक्सा तयार पारियो, भवन बनाउने अनुमति लिइयो, किन्‍नुपर्ने सामानहरूको सूची तयार पारियो र स्वयम्‌सेवकहरू बोलाइयो।

आगलागी भएको लगभग एक महिनापछि जोडतोडले काम भइरहेको थियो। बुधबारको दिन साक्षीहरूले आगोले खाएर बिग्रेका सामानहरू हटाउन सुरु गरे। अरू मण्डलीका साक्षीहरू पनि मदत गर्न आए। शुक्रबारसम्ममा त नयाँ भवनको चौकोस र खापाहरू ठड्याउने काम सुरु भइसकेको थियो। बजार जाँदा वडाको मान्छेसित उक्‍त परिवारको बुबाको भेट भएछ। “छानामा तिरपाल राखेको छ कि छैन? पानी छिरेर खत्तम होला नि,” वडाको मान्छेले सम्झाउन खोज्दै भन्यो। गर्वका साथ बुबाले भने, “कहाँको तिरपाल राख्नु? तीस-तीस जना मान्छे भकाभक छाना बनाउँदैछन्‌!”

शनिबारको दिन लगभग ५० जना भाइबहिनी अरूलाई मदत गर्न पाउँदा रमाई-रमाई काम गरिरहेका थिए। मर्मत कार्यमा सहयोग गरेका एक जना छिमेकीले भने, “हिजो राती मैले तपाईंहरूबारे निक्कै घोरिएर विचार गरें। तपाईंहरू एकअर्काको साँच्चै ख्याल राख्नुहुँदो रहेछ, मदत गर्नुहुँदो रहेछ।”

शनिबार बेलुकीसम्ममा सबै काम सिद्धियो। नयाँ भवन तयार भएपछि, खिसी गर्नेहरूको मुखमा बुजो लाग्यो। एक जना प्राचीन र त्यस परिवारका बुबा मख्ख पर्दै भर्खरै सिद्धिएको भवन हेरिरहेका थिए। त्यतिबेलाको घटना सम्झँदै ती प्राचीन भन्छन्‌, “भर्खरै बप्तिस्मा लिएका हाम्रा भाइलाई अँगालो हालेर ‘ल, तपाईंलाई पनि स्वागत छ यहोवाको संगठनमा’ भन्‍न पाउँदा मेरो खुसीको सीमै थिएन।” (g05 12/08)

[पृष्ठ ३१-मा भएको चित्र]

आगोले गरेको क्षति

[पृष्ठ ३१-मा भएको चित्र]

मर्मतकार्य भइरहेको

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने