प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • yp अध्या. २४ पृ. १९२-१९७
  • विवाहपूर्व यौनसम्बन्ध नराख्न मैले के गर्नुपर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विवाहपूर्व यौनसम्बन्ध नराख्न मैले के गर्नुपर्छ?
  • युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हृदय जोगाउनुहोस्‌
  • प्रेमीप्रेमिकासित भेट्‌दा हुनसक्ने खतराहरूबाट बच्ने
  • परमेश्‍वरसँगको मित्रता
  • के म केटा वा केटीसित घुम्न सक्ने भइसकें?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • विवाहपूर्व यौनसम्बन्ध राख्नदेखि म कसरी जोगिन सक्छु?
    ब्यूँझनुहोस्‌!—२००४
  • विवाहपूर्व यौनसम्बन्ध राखे के बिग्रन्छ र?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • किशोरावस्थामा डेटिङ गर्दा के-कस्ता हानिहरू हुन्छन्‌?
    ब्यूँझनुहोस्‌!—२००२
थप हेर्नुहोस्
युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
yp अध्या. २४ पृ. १९२-१९७

अध्याय २४

विवाहपूर्व यौनसम्बन्ध नराख्न मैले के गर्नुपर्छ?

टिन पत्रिकाले राष्ट्रव्यापी सर्वेक्षण लिंदा अधिकांश युवा पाठकहरूले “अरूले यौनसम्बन्ध राख्ने दबाब दिंदा कसरी इन्कार गर्ने” विषयमा जानकारी मागेको पाइयो।

भजन ११९:९ मा भजनरचयिताले त्यस्तै प्रश्‍न गरेका छन्‌: “जवान मानिसले [वा स्वास्नीमानिसले] आफ्नो चालचलन कसरी शुद्ध राख्नसक्ला?” त्यसको जवाफ? “[परमेश्‍वरको] वचनमा ध्यान दिएर।” तर दिमागी ज्ञान भएर मात्र पुग्दैन। एक युवतीले यसो भनिन्‌, “बाइबलले अनैतिक यौनसम्बन्धबारे के भन्छ भनेर थाह हुँदाहुँदै पनि मनले मानिरहेको हुँदैन।” त्यसैकारण भजनरचयिता अगाडि यसो भन्छन्‌: “तपाईंको विरुद्धमा पाप नगरुँ भनेर, तपाईंको वचन मैले मेरो हृदयमा राखेको छु।”—भजन ११९:११.

हृदय जोगाउनुहोस्‌

परमेश्‍वरको वचनलाई हृदयमा जोगाएर राख्न तपाईंले बाइबल अनि बाइबलआधारित साहित्यहरू पढ्‌नुका साथै अध्ययन गर्नु जरुरी छ। यसो गर्नुभयो भने परमेश्‍वरका व्यवस्थाहरू हितकर रहेछन्‌ भनेर तपाईं विश्‍वस्त हुन सक्नुहुन्छ। अर्कोतर्फ, अश्‍लील कुराहरू पढ्‌नुभयो, सुन्‍नुभयो वा हेर्नुभयो भने “काम वासना” जाग्छ। (कलस्सी ३:५) त्यसकारण त्यस्ता कुराहरूदेखि बिल्कुलै अलग बस्नुहोस्‌! बरु असल र स्वच्छ कुराहरूमा मन लगाउनुहोस्‌।

कुनै व्यक्‍ति अनैतिक यौनसम्बन्धदेखि टाढा बस्ने नबस्ने, त्यसमा घनिष्ठ मित्रहरूको पनि ठूलो हात हुन्छ भनेर अनुसन्धानबाट थाह लागेको छ। यसै विषयमा भजनरचयिताले यसो भने: “तपाईंको [परमेश्‍वरको] डर मान्‍नेहरू र तपाईंका आदेश पालन गर्नेहरूका म एक साथी हुँ।”—भजन ११९:६३.

के तपाईंका मित्रहरू ‘परमेश्‍वरका नियमअनुसार’ चल्ने प्रयत्न गर्छन्‌? साथीहरू छान्‍ने विषयमा जोआना भन्‍ने युवतीको यस्तो अनुभव छ: “यहोवालाई प्रेम गर्ने मानिसहरूबीच हुनुहुन्छ भने, तपाईंको विचारधारा पनि बिस्तारै तिनीहरूकै जस्तो हुनथाल्छ। उदाहरणका लागि, तिनीहरूले अनैतिकता अति घृणित कुरा हो भनेमा तपाईंलाई पनि अनैतिकता घृणितै हो जस्तो लाग्न थाल्छ। अर्कोतर्फ नैतिकताको वास्तै नगर्नेसित संगत गर्दै हुनुहुन्छ भने चाँडै तपाईं पनि तिनीहरूजस्तै हुनुहुनेछ।”—हितोपदेश १३:२०.

तथापि, अनैतिक कामहरूदेखि अलग बस्न गाह्रो पर्ने समय खासगरि प्रेमी वा प्रेमिकासित भेटघाट गर्दा वा घुम्न जाँदा हो। यस विषयमा रोबर्ट सोरेनसेनले गरेको राष्ट्रव्यापी अध्ययनलाई विचार गर्नुहोस्‌। तिनले सर्वेक्षण लिएका ५६ प्रतिशत युवक र ८२ प्रतिशत युवतीहरूले पहिलो पटक आफ्नै प्रेमीप्रेमिकासित वा आफूले राम्ररी चिनेको र असाध्यै मन पराएको व्यक्‍तिसित यौनसम्बन्ध राखेको पाइयो। त्यसोभए, तपाईं विवाह गर्नसक्ने उमेरको भइसक्नुभयो र हाल कुनै केटा वा केटीसित तपाईंको प्रेमसम्बन्ध छ भने के गर्ने? आफूमाथि कुनै किसिमको नैतिक आँच आउन नदिइकन तपाईं कसरी त्यस व्यक्‍तिलाई अझ राम्ररी चिन्‍न सक्नुहुन्छ?

प्रेमीप्रेमिकासित भेट्‌दा हुनसक्ने खतराहरूबाट बच्ने

बाइबलले यस्तो चेताउनी दिन्छ: “मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, त्यो अति भ्रष्ट हुन्छ, त्यसलाई कसले जान्‍नसक्छ र?” (यर्मिया १७:९) केटा र केटी खराबै नियतले एकअर्कासित आकर्षित भएका हुन्छन्‌ भन्‍नु मिल्दैन। तथापि, तपाईंहरू जति धेरै समय सँगै बिताउनुहुन्छ, आकर्षण त्यति नै बढ्‌दै जान्छ। अनि सुरुमा नियत राम्रै भए तापनि पछि हृदय भ्रष्ट हुनसक्छ। हृदयबारे येशू ख्रीष्टले यसो भन्‍नुभयो: “हृदयबाटनै दुष्ट विचार . . . व्यभिचार . . . बाहिर निस्कन्छन्‌।”—मत्ती १५:१९.

युवकयुवतीहरू यौनसम्बन्ध राख्ने योजना बनाएर कमै भेटघाट गर्छन्‌।a तथापि, एकअर्कोको जीउ सुमसुम्याउने वा उत्तेजक ढंगमा छुन थाल्दा अन्तमा प्रायः त्यस्तै हुन्छ। यो कुरालाई स्वीकार्दै एक अविवाहित आमाले यसो भनिन्‌: “हरेक चोटि भेट्‌दा अझ अलिकता, अझ अलिकता भन्दाभन्दै मैले आफ्नो कौमार्य गुमाएँ। मजस्ता थुप्रै केटाकेटीहरूले पनि यसरी नै आफ्नो कौमार्य गुमाएका छन्‌। सुरुमा त्यति बिघ्न छुने वा सुमसुम्याउने गर्नुहुन्‍न होला तर अलि अलि सुमसुम्याउँदा सुमसुम्याउँदै काम बिग्रनसक्छ।”

यौन अनैतिकताबाट बच्न तपाईंले मनलाई लगाम कस्नुपर्छ। (हितोपदेश २३:१९) तर कस्ने कसरी?

सीमा तोक्नुहोस्‌: मेरी प्रेमिका मैले चुम्बन गरेको, सुमसुम्याएको मन पराउँछिन्‌ भन्‍ने युवकको विचार होला, तर वास्तविकता अर्कै हुनसक्छ। “अट्टेरीको घमण्डले झगड़ा उठाउँछ, सर-सल्लाह लिनेहरूका बीचमा बुद्धि पाइन्छ।” (हितोपदेश १३:१०) अतः कुनै केटा वा केटीसित तपाईंको प्रेमसम्बन्ध छ र भेटघाट भइरहन्छ भने आपसमा “सर-सल्लाह” गरेर आफ्नो विचार व्यक्‍त गर्नुहोस्‌। कुन कुन ढंगमा स्नेह व्यक्‍त गर्ने हो, त्यसको सीमा तोक्नुहोस्‌। अनि अर्को महत्वपूर्ण कुरा, तपाईंको प्रेमी वा प्रेमिकाले कहिल्यै गलत संकेत नपाओस्‌। जीउमा टिमिक्क कस्सिने, अंग प्रदर्शन हुने वा यौन इच्छा जगाउने खालका लुगा लगाएर आफ्नो प्रेमी वा प्रेमिकालाई गलत संकेत नदिनुहोस्‌।

प्रलोभनमा पर्नसक्ने परिस्थितिहरूबाट अलग बस्नुहोस्‌: बाइबलले एक जना कुमारी केटीलाई तिनको प्रेमीले पहाडको निर्जन स्थानमा घुम्न जाने निमन्त्रणा दिएको घटनाबारे उल्लेख गर्छ। तिनको नियत? भर्खरै सुरु भएको बसन्त ऋतुका रमाइला दृश्‍यहरू हेर्न। तथापि, यो कुरा थाह पाएर केटीका दाइहरू रीसाउँछन्‌ र तिनीहरूलाई घुम्न जान दिंदैनन्‌। के बहिनीको अनैतिक झुकाउ देखेर तिनीहरूले त्यसो गरेका हुन्‌? अवश्‍य होइन! त्यसरी निर्जन स्थानमा घुम्न जाँदा यौनसम्बन्ध राख्ने प्रलोभन कत्तिको प्रबल हुनसक्छ भनेर तिनीहरूलाई थाह थियो। (श्रेष्ठगीत १:६; २:८-१५) त्यस्तैगरि, आफू प्रलोभनमा पर्नसक्ने परिस्थितिहरू जस्तै, प्रेमी वा प्रेमिकाबाहेक घरमा अरू कोही हुन नसक्ने परिस्थिति, बिसाइराखेको गाडीमा दुइ जना मात्रै पर्ने जस्ता परिस्थितिहरू आउन दिनु हुँदैन।

आफ्नो सीमा बुझ्नुहोस्‌: समय अनि परिस्थितिले गर्दा कहिलेकाहीं व्यक्‍तिविशेषको यौन इच्छा प्रबल हुनसक्छ। जस्तै, असफलताको सामना गर्नुपर्दा वा आमाबाबुसित ठाकठुक परेकोले निरुत्साहित हुनुपर्दा। जेसुकै परेको होस्‌, त्यस्तोबेला तपाईं असाध्यै होशियार हुनुपर्छ। (हितोपदेश २४:१०) मदिरा सेवन गर्दा पनि होशियार हुनु आवश्‍यक छ। किनकि मदिराको नशाले गर्दा तपाईंको होश हराउनसक्छ। “दाखमद्य र नयाँ दाखमद्यले बुद्धि नाश पार्छ।”—होशे ४:११.

नाइँ भन्‍नुहोस्‌ र तपाईंको नाइँ, नाइँ नै होस्‌: उत्तेजित हुन थाल्यो र आफ्नो प्रेमी वा प्रेमिकासित शारीरिक तवरमा असाध्यै नजीक हुन थाल्यो भने के गर्ने? त्यस्तो अवस्थामा तपाईंहरू दुइमध्ये एकले दुवैको दिमागलाई ठीक ठाउँमा ल्याउन केही कुरा भन्‍न वा गर्न सक्नुपर्छ। आफ्नो प्रेमीले एकान्त ठाउँमा गाडी रोकेर “कुरा गरौं न” भन्दा डेब्रा भन्‍ने केटीले आफूलाई त्यस्तै अवस्थामा पाइन्‌। दुवै जना उत्तेजित हुँदै जाँदा डेब्राले आफ्नो प्रेमीलाई भनिन्‌: “के यो हदभन्दा बढी भएन र? यसलाई यहीं रोकिहालौं।” त्यसो भन्दा तिनको प्रेमीको होश फर्क्यो र तिनले तुरुन्तै घर पुऱ्‍याइदिए। यस्ता परिस्थितिहरूमा नाइँ भन्‍न अरू बेला भन्दा असाध्यै गाह्रो पर्ला। तर फितलो नहुनुहोस्‌। किनभने त्यस्तै परिस्थितिमा नाइँ भन्‍न नसकेर यौनसम्बन्ध गाँस्न पुगेकी २० वर्षीया युवतीले यसो भनिन्‌: “तुरुन्तै केही गरेन वा भनेन भने पछि पछुताउनु पर्नेछ!”

तेस्रो व्यक्‍तिलाई पनि लिएर जानुहोस्‌: हुन त प्रेमीप्रेमिकासित घुम्न जाँदा तेस्रो व्यक्‍तिलाई लिएर जानु केही व्यक्‍तिहरूलाई पछौटेपन लाग्ला तर त्यसो गर्नु राम्रो कुरा हो। “के हामीलाई भरोसा गर्नु मिल्दैन?” केही प्रेमीप्रेमिकाहरू गुनासो गर्छन्‌। हो, शायद भरोसा गर्नु मिल्दैन कि। अनि के आफूलाई भरोसा गर्नु बुद्धिमानी कुरा हो त? हितोपदेश २८:२६ ठाडै यस्तो जवाफ दिन्छ: “आफ्नै बुद्धिमा मात्र भरोसा गर्नु सरासर मूर्खता हो तर बुद्धिको मार्गमा हिंड़ने सुरक्षित रहनेछ।” त्यसकारण विवेकी हुनुहोस्‌ र आफूसँगै अर्को साथी लिएर जानुहोस्‌। डेब्राले यसो भनिन्‌, “साथी लिएर प्रेमीप्रेमिकालाई भेट्‌न जाने व्यक्‍तिलाई म साँच्चै आदर गर्छु। किनकि मजस्तै त्यो व्यक्‍ति पनि आफ्नो कौमार्य गुमाउन चाहँदैन भन्‍ने कुरामा तब म ढुक्क हुन्छु। त्यसरी साथी लैजाँदा कुनै अप्ठ्यारोमा परिने पनि होइन। किनकि गोप्य कुरा गर्नुपर्दा एक दुइ पाइला पछि सरेर कुरा गरे पनि भो। साथी लैजाँदा जति नै अप्ठ्यारो किन नहोस्‌ तर त्यसो गर्नुमा जुन सुरक्षा पाइन्छ त्यो अरू कुनै कुराले दिन सक्दैन।”

परमेश्‍वरसँगको मित्रता

यद्यपि, सबैभन्दा मुख्य कुरा त तपाईंले परमेश्‍वरसित घनिष्ठ मित्रता गाँस्नुपर्छ, उहाँका भावनाहरू बुझ्नसक्ने हदसम्म उहाँलाई चिन्‍नुपर्छ। किनभने तब मात्र तपाईं उहाँलाई चित्त दुख्ने कामहरू गर्नदेखि अलग बस्नुहुनेछ। कुनै समस्या छ भने, किटेरै प्रार्थना गरेर आफ्नो हृदय खोल्नुहोस्‌। त्यसो गर्दा तपाईं उहाँसित घनिष्ठ हुनुहुनेछ। यौन अनैतिकतामा फस्न नचाहने थुप्रै प्रेमीप्रेमिकाहरूले आफू उत्तेजित हुन थाल्दा दुवै मिलेर परमेश्‍वरलाई प्रार्थनासमेत गरेर मदत मागेका छन्‌।

अनि त्यसरी प्रार्थना गर्नेहरूलाई यहोवा त्यसै छाड्‌नुहुन्‍न। बरु उदारचित्तसाथ “असामान्य बल” दिनुहुन्छ। (२ कोरिन्थी ४:७, NW) तथापि, तपाईंले आफूले गर्नुपर्ने काम गरेको हुनुपर्छ। ढुक्क हुनुहोस्‌, परमेश्‍वरको मदत र आशिष्‌ले तपाईं अवश्‍य यौन अनैतिकतालाई इन्कार गर्न सक्नुहुन्छ।

[फुटनोट]

a एउटा अध्ययनअनुसार ६० प्रतिशत महिलाहरूले त्यसो गर्ने विचार नगरेको र अनायास यौनसम्बन्ध गाँस्न पुगेको बताएका छन्‌।

छलफलका लागि प्रश्‍नहरू

◻ यहोवाले यौनसम्बन्धी दिनुभएका नियमहरूको कदर गर्न तपाईंले गर्नसक्ने केही कुराहरू के के हुन्‌?

◻ विवाहपूर्व यौनसम्बन्धप्रति तपाईंको विचारधारालाई तपाईंका मित्रहरूले कसरी असर गर्नसक्छन्‌?

◻ प्रेमीप्रेमिकासित भेटघाट गर्दा सावधान रहनु किन आवश्‍यक छ जस्तो तपाईंलाई लाग्छ?

◻ यौन अनैतिकतामा नफस्न प्रेमीप्रेमिकाहरूले गर्नसक्ने कुराहरू के हुन्‌?

[पृष्ठ १९३-मा भएको ठूलो अक्षरको क्याप्सन]

“अलि अलि सुम-सुम्याउँदा सुम- सुम्याउँदै . . . ”

[पृष्ठ १९४-मा भएको ठूलो अक्षरको क्याप्सन]

प्रेमी वा प्रेमिकासित भेट्‌दा एकान्त खोज्ने बानी छोडेर अनैतिकतादेखि बच्नुहोस्‌

[पृष्ठ १९५-मा भएको पेटी/चित्रहरू]

प्रेमीप्रेमिकासित भेटघाट गर्दा नैतिक तवरमा स्वच्छ रहने

शरीरमा हात हाल्ने, सुमसुम्याउने हदसम्म पुऱ्‍याउने परिस्थिति सृजना हुन नदिनुहोस्‌

समूहमा भेटघाट गर्नुहोस्‌ वा सँगै कसैलाई लग्नुहोस्‌

एकअर्कोको उन्‍नति हुने कुराहरू मात्र गर्नुहोस्‌

कुन हदसम्म के गरेर स्नेह देखाउने हो, त्यससम्बन्धमा तपाईंको दृष्टिकोण के छ, सुरुमै आफ्नो साथीलाई बताउनुहोस्‌

भद्र लुगा लगाउनुहोस्‌, यौनइच्छा जगाउने भाउभंगी नदेखाउनुहोस्‌

नैतिकता खतरामा पर्ला जस्तो लागेमा तुरुन्तै घर पुऱ्‍याइदिने आग्रह गर्नुहोस्‌

“राती बिदावारी” गर्दा निकै लामो समयसम्म नबसिरहनुहोस्‌

चाँडै घर फर्कने गर्नुहोस्‌

[चित्र]

प्रेमीप्रेमिकासित भेट्‌दा अरू मानिसहरू वरपर हुनसक्ने ठाउँहरूमा जानुहोस्‌

[पृष्ठ १९६-मा भएको चित्र ]

परिस्थिति “नाजुक” हुन थाल्दा नाइँ! भन्‍ने आँट गर्नुहोस्‌ र तपाईंको नाइँ, नाइँ नै होस्‌!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने