तपाईंको टोलछिमेकमा सुसमाचारको व्यावहारिक महत्त्व
संसारमा आजकाल हामी यस्तो भनाइ प्रायजसो सुन्ने गर्छौं: “मसीहीधर्मका सिद्धान्तहरू व्यावहारिक छैनन्। आजको जटिल समाजमा ती सिद्धान्तहरू व्यवहारमा उतार्न सम्भवै छैन।” तथापि, भनिन्छ, हिन्दू नेता मोहनदास क. गान्धी र भारतका लागि बेलाइतका भूतपूर्व सेनापति, लर्ड अर्विनबीच भएको कुराकानीमा एकदमै फरक सोचाइ व्यक्त गरिएको थियो। भनिन्छ, लर्ड अर्विनले गान्धीलाई बेलाइत र भारतबीचको राम्रो सम्बन्ध कायम राख्न के गर्नुपर्ला भनी सोधेका थिए। गान्धीले बाइबलबाट मत्तीको पुस्तकको पाँचौं अध्याय पल्टाएर यसो भने: “ख्रीष्टले डाँडाको उपदेशमा दिनुभएका शिक्षाहरूअनुसार तपाईंको देश र मेरो देश हिंड्न सक्यो भने हामीले आफ्ना दुई देशहरूका मात्र होइन, सारा संसारका समस्याहरूको समाधान गर्न सक्नेछौं।”
त्यो उपदेशले आध्यात्मिकता खोज्ने अनि नम्र, शान्तिप्रिय, कृपालु अनि धार्मिकतालाई प्रेम गर्ने जस्ता गुणहरूबारे बताउँछ। यसले हत्या मात्र होइन तर अरूसित क्रोधित हुने अनि व्यभिचार मात्र होइन तर कामुक सोचाइलाई समेत निन्दा गर्छ। यसले परिवार टुक्य्राउने अनि बालबच्चाहरूलाई दुर्व्यवहारको सिकार बनाउने गैरजिम्मेवारपूर्ण सम्बन्ध-विच्छेदको समर्थन गर्दैन। हामीलाई यसो भनिएको छ: ‘तपाईंलाई मन नपराउने व्यक्तिलाई पनि प्रेम गर्नुहोस्, खाँचोमा परेकाहरूलाई दिनुहोस्, निष्ठूर भई अरूको आलोचना नगर्नुहोस्, अरूले जस्तो व्यवहार गरेको चाहनुहुन्छ, आफूले पनि त्यस्तै व्यवहार गर्नुहोस्।’ यी सबै सल्लाह व्यवहारमा उतारेको खण्डमा निकै लाभ प्राप्त हुनेछ। तपाईंको टोलछिमेकमा जति धेरै मानिसहरूले यी सल्लाह लागू गर्छन्, तपाईंको टोल त्यति नै राम्रो हुनेछ!
यसरी यहोवाका साक्षीहरूले अरूलाई प्रभाव पार्छन्। बाइबलले तिनीहरूलाई वैवाहिक सम्बन्धको आदर गर्न सिकाउँछ। तिनीहरूका छोराछोरीलाई सही सिद्धान्तहरू सिकाइन्छ। पारिवारिक जीवनको महत्त्वमा जोड दिइन्छ। एकताबद्ध परिवारहरू तपाईंको टोलछिमेक अनि तपाईंको राष्ट्रको लागि वरदान हुन्। पारिवारिक बन्धन कमजोर हुँदा र अनैतिकताको जगजगी हुँदा विश्वशक्तिको पतन भएका उदाहरणहरू इतिहासमा प्रशस्तै पाउँछौं। यहोवाका साक्षीहरूले मसीही सिद्धान्तअनुसार जीवन बिताउन जति बढी मानिस तथा परिवारलाई प्रभावित गर्न सक्छन्, त्यति नै बालअपराध, अनैतिकता अनि हिंसा तपाईंको टोलमा कम हुनेछ।
थुप्रै समुदाय तथा राष्ट्रहरूलाई अहिले पिरोलिरहेको ठूलो समस्या जातीय पूर्वाग्रह हो। तर प्रेरित पत्रुसले यसो भने: “म देख्तछु, कि परमेश्वरले मानिसहरूको पक्षपात गर्नुहुन्न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।” अनि पावलले यस्तो लेखे: “यहूदी, ग्रीक, कमारा, फुक्का, नर नारी छैन, किनभने तिमीहरू सबै ख्रीष्ट येशूमा एउटै छौ।” (प्रेरित १०:३४, ३५; गलाती ३:२८) यहोवाका साक्षीहरूले यो कुरा मानि लिएका छन्। तिनीहरूको मुख्यालय, शाखा कार्यालय र मण्डलीहरूमा विभिन्न जाति र रङका मानिसहरू मिलेर बस्नुका साथै सँगै काम गरिरहेका छन्।
अफ्रिकाका कुनै-कुनै जातिहरू अर्को जातिका मानिसहरूसित घुलमिल गर्न खोज्यो कि मुठभेड भइहाल्छ। तथापि, त्यहाँ यहोवाका साक्षीहरूको सम्मेलनहरूमा बेग्लाबेग्लै जातका मानिसहरू सँगै खान्छन्, सुत्छन्, उपासना गर्छन् अनि न्यानो संगतिको आनन्द उठाउँछन्। यस्तो देख्दा सरकारी अधिकृतहरू छक्कै पर्छन्। एकतामा बाँध्ने साँचो मसीहीधर्मको शक्तिबारे अगस्त २, १९५८ को न्यु योर्क एम्स्टरडाम न्युज-ले टिप्पणी गरेको थियो। अघिल्लो पाठमा उल्लिखित अन्तरराष्ट्रिय सम्मेलन देखेपछि उक्त टिप्पणी गरिएको थियो र त्यो सम्मेलनमा साढे दुई लाखभन्दा बढी साक्षीहरू भेला भएका थिए।
“विभिन्न पेसा अंगालेका र संसारको भिन्नाभिन्नै भागका काला, गोरा वा एशियाली मूलका मानिसहरू, हाँसीखुसी एकअर्कासित घुलमिल भएर आनन्द उठाइरहेका थिए . . . यसरी १२० वटा मुलुकबाट आएका साक्षीहरू शान्तपूर्वक सँगै उपासना गरिरहेका छन् र यसो गर्नु गाह्रो कुरा होइन भनेर अमेरिकीहरूलाई देखाइदिएका छन्। . . . यो सम्मेलन, मानिसहरू कसरी एकसाथ मिलेर बस्न र काम गर्न सक्छन् भन्ने ज्वलन्त उदाहरण हो।”
थुप्रैले भन्ने गर्छन्, मसीहीधर्मका सिद्धान्तहरू आधुनिक संसारको लागि व्यावहारिक छैनन्। त्यसो हो भने, कुनचाहिं सिद्धान्तहरू व्यावहारिक साबित भएका छन् वा हुनेछन्? तपाईंले मसीही सिद्धान्तहरू आफ्नो समुदायमा लागू गर्नुभयो भने ती साँच्चै अर्थपूर्ण हुनेछन् अनि ‘हरेक जाति र सबै कुल र मानिसलाई’ एकतामा बाँध्ने आधार हुनेछ।—प्रकाश ७:९, १०.
[पृष्ठ २३-मा भएको ठूलो अक्षरको क्याप्सन]
सबै जाति तथा रङका मानिसहरू एकसाथ मिलेर बस्छन्
[पृष्ठ २४-मा भएको ठूलो अक्षरको क्याप्सन]
मसीहीधर्म व्यावहारिक छ। अन्यथा कुनचाहिं सिद्धान्त व्यावहारिक साबित भएको छ ?