तिनीहरूले सुसमाचार बताउने तरिकाहरू
मसीहीहरूलाई “सबै देशका जातिहरूलाई चेला बनाओ” भन्ने आज्ञा दिइएको छ तर यसको मतलब तिनीहरूले अरूलाई दबाउ दिनुपर्छ वा जबरजस्ती धर्म परिवर्तन गराउनुपर्छ भनेको होइन। येशूले “नम्रहरूलाई सुसमाचार सुनाउन,” “मन भाँचिएकाहरूको हृदयलाई निको पार्न,” “सबै विलाप गर्नेहरूलाई सान्त्वना दिन” आज्ञा दिनुभएको थियो। (मत्ती २८:१९; यशैया ६१:१, २; लूका ४:१८, १९) यहोवाका साक्षीहरूले बाइबलबाट सुसमाचार घोषणा गरेर यसो गर्ने प्रयास गर्छन्। पुरातन समयका इजकिएल अगमवक्ताले जस्तै आज यहोवाका साक्षीहरू “सबै घिनलाग्दा कामहरू देखेर शोक र विलाप गर्ने . . . मानिसहरू” भेट्टाउने कोसिस गर्छन्।—इजकिएल ९:४.
वर्तमान अवस्था देखेर विचलित भएकाहरू भेट्टाउने सबैभन्दा राम्रो तरिका घर-घरमा गएर हो। यसरी तिनीहरू येशूले जस्तै “शहर शहर र गाउँ गाउँ हुँदो प्रचार गर्दै र परमेश्वरको राज्यको सुसमाचार सुनाउँदै” सर्वसाधारण सबैलाई भेट्ने प्रयास गर्छन्। उहाँका प्रारम्भिक चेलाहरूले पनि त्यसै गरे। (लूका ८:१; ९:१-६; १०:१-९) आज, यहोवाका साक्षीहरू स्थानीय वा कुनै चाखलाग्दो वा चिन्ताको अन्तरराष्ट्रिय विषयमा घरधनीसित वर्षमा एक चोटि भन्दा बढी, दुई चार मिनेट कुरा गर्न यथासक्दो प्रयास गर्छन्। घरधनीलाई सोच्न लगाउने एक-दुइटा शास्त्रपद देखाउँछन् अनि तिनले चासो देखाएको खण्डमा थप छलफलको लागि साक्षीहरूले कुनै अनुकूल समय मिलाएर फेरि भेटघाट गर्छन्। बाइबल अनि बाइबलबारे छलफल गरिएका साहित्यहरू दिन्छन् अनि घरधनीले इच्छा गरेको खण्डमा निश्शुल्क गृह बाइबल अध्ययन सञ्चालन गर्छन्। यस्ता लाखौं लाभदायी बाइबल अध्ययनहरू नियमित तवरमा व्यक्तिविशेष र परिवारसित संसारभरि सञ्चालन भइरहेका छन्।
अरूलाई “परमेश्वरको राज्यको सुसमाचार” सुनाउने अर्को तरिका स्थानीय राज्यभवनहरूमा सञ्चालन हुने सभाहरूद्वारा हो। साक्षीहरूले राज्यभवनमा हरेक हप्ता सभा सञ्चालन गर्छन्। एउटा सभा, समयानुकूल विषयमा जनभाषण हो अनि त्यसपछि बाइबलीय विषय वा भविष्यवाणीमा आधारित अध्ययन हुन्छ र यो प्रहरीधरहरा भनिने पत्रिकाबाट लिइन्छ। अर्को सभा, साक्षीहरूलाई अझ सक्षम राज्य प्रचारकहरू बनाउने स्कूल हो अनि त्यसपछि स्थानीय इलाकामा साक्षी कार्य गर्ने विषयमा आधारित छलफल हुन्छ। साथै, हरेक हप्ता साक्षीहरू निजी घरमा स-साना समूहमा बाइबल अध्ययनको लागि भेला हुन्छन्।
यी सभाहरूमा सर्वसाधारण सबै आउन सक्छन्। केही संकलन गरिंदैन। ती सभाहरू सबैका लागि लाभदायक हुन्छन्। बाइबल यसो भन्छ: “कसै कसैको बानी भएझैं, हामी एक ठाउँमा भेला हुनालाई नछोडौं। तर दिन नजीक नजीक आइपुगेको तिमीहरूले देखेकै हुनाले एउटाले अर्कोलाई झन् बढ़ता गरेरे अर्ती दिंदै गरौं।” व्यक्तिगत अध्ययन तथा अनुसन्धान आवश्यक छ तर अरूसित सँगै भेला हुनु उत्प्रेरणादायी हुन्छ: “फलामले फलामलाई उध्याएजस्तै एउटा मानिसको बुद्धिले अर्को मानिसको बुद्धिलाई तिखार्छ।”—हिब्रू १०:२४, २५; हितोपदेश २७:१७.
साक्षीहरूले दिनचर्याको सिलसिलामा भेट्ने अरू मानिसहरूलाई पनि मौका पाउनेबित्तिकै सुसमाचार सुनाउँछन्। हुन सक्छ, छिमेकीसित भलाकुसारी वा बस, हवाईजहाजमा यात्रा गरिररहेका सहयात्रीसित छोटो कुराकानी, साथी वा नातेदारसित लामो कुराकानी वा सहकर्मीसित खाजा खाने छुट्टीमा छलफल। यसरी नै येशूले आफ्नो पार्थिव जीवनको दौडान समुद्री किनारामा हिंड्नुहुँदा, पहाडी इलाकामा आराम गर्नुहुँदा, कसैको घरमा भोजनको लागि जानुहुँदा, विवाह समारोहमा उपस्थित हुनुहुँदा वा गालील समुद्रमा माछा मार्ने डुंगामा यात्रा गर्नुहुँदा अरूलाई प्रचार गर्नुभयो। उहाँले सभाघर अनि यरूशलेमको मन्दिरमा सिकाउनुभयो। उहाँ जहाँसुकै जानुहुँदा परमेश्वरको राज्यबारे कुरा गर्ने मौका भेट्टाउनुभयो। यस सन्दर्भमा पनि यहोवाका साक्षीहरू उहाँको पाइला पछ्याउने प्रयास गर्छन्।—१ पत्रुस २:२१.
आफ्नो उदाहरणद्वारा प्रचार गर्ने
तपाईंलाई सुसमाचार सुनाउने व्यक्तिले आफूले सिकेका कुराहरू आफ्नो जीवनमा उतारेको छैन भने माथि भनिएको कुनै पनि तरिका अर्थपूर्ण हुँदैन। भनाइ र गराइ फरक-फरक हुनु भनेको कपट्याइँ हो र धार्मिक कपटले गर्दा लाखौं मानिसहरू बाइबलबाट तर्किएका छन्। यसो हुनुमा बाइबललाई दोष दिन मिल्दैन। शास्त्री तथा फरिसीहरूसित हिब्रू धर्मशास्त्र थियो तर येशूले तिनीहरूलाई कपटीहरू भनेर निन्दा गर्नुभयो। तिनीहरू मोशालाई दिइएको व्यवस्था त पढ्थे तर येशूले चेलाहरूलाई यसो भन्नुभयो: “जे तिनीहरूले भन्दछन्, ती गर र मान, तर तिनीहरूकै काम जस्तो चाहिं नगर, किनकि तिनीहरूले भन्द ता छन्, तर गर्दैनन्।” (मत्ती २३:३) घण्टौं लामो भाषणले भन्दा मसीहीको असल जीवन शैलीको राम्रो उदाहरणले ठूलो प्रभाव पार्छ। बेग्लै विश्वास मान्ने पति भएका मसीही पत्नीहरूलाई यसो भनिएको थियो: “तिनका पत्नीहरूका चाल-चलनले गर्दा, विना वचनले भए पनि, तिमीहरूका डरसहितको पवित्र चाल-चलन देखेर तिनीहरू विश्वास गर्ने होऊन्।”—१ पत्रुस ३:१, २.
तसर्थ, यहोवाका साक्षीहरूले यसरी पनि अरूलाई सुसमाचार सुनाउने प्रयास गर्छन्: आफ्नो मसीही चालचलन उदाहरणीय बनाएर अरूलाई सही परिचय दिन्छन्। तिनीहरू ‘अरूले जे जसो गरून भन्ने चाहन्छन्, आफूले पनि त्यसै गर्ने’ प्रयास गर्छन्। (मत्ती ७:१२) तिनीहरू सँगी साक्षी, साथी, छिमेकी वा नातेदारसित मात्र होइन तर सबै मानिसहरूसित यस्तो व्यवहार गर्ने कोसिस गर्छन्। असिद्ध हुनाकारण तिनीहरू कहिलेकाहीं यसो गर्न चुक्छन्। तर तिनीहरू मानिसहरूलाई परमेश्वरको राज्यको सुसमाचार सुनाएर मात्र होइन तर सम्भव भए मदत गरेर पनि तिनीहरूको भलाइ गर्ने उत्कट इच्छा राख्छन्।—याकूब २:१४-१७.
[पृष्ठ १९-मा भएको चित्र]
हवाई
[पृष्ठ १९-मा भएको चित्र]
भेनेजुएला
[पृष्ठ १९-मा भएको चित्र]
युगोस्लाभिया
[पृष्ठ २०-मा भएको चित्र]
उपयुक्त ढाँचामा निर्माण गरिएका राज्यभवनहरू बाइबल छलफल हुने ठाउँहरू हुन्
[पृष्ठ २१-मा भएको चित्र]
साक्षीहरूले आफ्नो परिवार तथा अरूसित व्यवहार गर्दा आफूले जे प्रचार गर्छन् त्यही गर्ने निष्कपट प्रयास गर्छन्