तिनीहरूले तपाईंलाई सुनाउन चाहेको सुसमाचार
येशू पृथ्वीमा हुनुहुँदा चेलाहरूले उहाँलाई यो प्रश्न सोधेका थिए: “तपाईंको आगमन र जगत्को अन्तको चिह्न के हुन्छ?” उहाँले थुप्रै राष्ट्रहरूमा युद्ध, अनिकाल, रूढी, भैंचालो हुनेछ, अधर्म बढ्नेछ, झूटा धर्मगुरुहरूले धेरैलाई बहकाउनेछन्, साँचो अनुयायीहरूले घृणा र सतावट भोग्नेछन् अनि धार्मिकताप्रति धेरै मानिसको प्रेम सेलाउनेछ भनेर जवाफ दिनुभयो। यी कुरा ख्रीष्ट अदृश्य रूपमा उपस्थित हुनुहुन्छ र स्वर्गको राज्य नजिकै छ भन्ने संकेत हुनेछ। यो साँच्चै एउटा विशेष समाचार अथवा सुसमाचार हुनेछ! अतः येशूले चिह्नस्वरूप यसो पनि भन्नुभयो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।”—मत्ती २४:३-१४.
हाल विश्वमा भइरहेका घटनाहरू राम्रा कुरा होइनन्, तर त्यसले संकेत गर्ने कुरा अर्थात् ख्रीष्टको उपस्थिति भने राम्रो कुरा हो। व्यापक तवरमा प्रचारप्रसार गरिएको वर्ष, १९१४ देखि माथि उल्लिखित घटनाहरू प्रस्ट देखा पर्न थाले! यो अन्यजातिको समयको अन्त थियो र मानव शासनको बदलामा ख्रीष्टको हजार (सहस्र) वर्षीय शासन सुरु हुनुअघिको समयावधि थियो।
यो समयावधिलाई भजन ११० अध्यायको पद १ र २ अनि प्रकाश १२:७-१२ ले संकेत गर्छ। ती पदहरूमा ख्रीष्ट उहाँको राजा हुने समय नआउन्जेल स्वर्गमा परमेश्वरको दाहिने हाततर्फ बस्नुहुनेछ भनेर बताइएको छ। त्यसपछि स्वर्गमा लडाइँ हुनेछ, शैतान पृथ्वीमा फ्याँकिनेछ र पृथ्वीमा दुःख हुनेछ अनि ख्रीष्टले शत्रुहरूको माझमा शासन गर्नुहुनेछ। सम्पूर्ण दुष्टताको अन्त आर-मागेडोनको युद्धमा “महा संकष्ट[द्वारा]” हुनेछ र त्यसपछि ख्रीष्टको शान्तिमय हजार वर्षीय शासन सुरु हुनेछ।—मत्ती २४:२१, ३३, ३४; प्रकाश १६:१४-१६.
बाइबल यसो भन्छ, “तर यो जान, कि आखिरी दिनमा डरलाग्दो समय आउनेछ। किनभने मानिसहरू स्वार्थी, धनका लोभी, अहंकारी, हठी, निन्दक, आमा-बाबुको आज्ञा पालन नगर्ने, बैगुणी, र अपवित्र, स्वाभाविक प्रेम रहितका, खुशी नहुने, अर्कालाई दोष लाउने, असंयमी, निष्ठूर, असल नरूचाउने, विश्वासघाती, उत्ताउला, दिमागी, परमेश्वरभन्दा बरु सुख-विलास निको मान्ने, भक्तिको भेष चाहिं लिने तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन्, यिनीहरूबाट पनि पर बस।”—२ तिमोथी ३:१-५.
यी कुराहरू मानव इतिहासमा पहिला पनि नभएका त होइनन् नि! भनी कसै-कसैले तर्क गर्लान्। तर वास्तविकता के हो भने, यति विघ्न व्यापक तवरमा पहिले कहिल्यै भएको थिएन। इतिहासकार तथा टिप्पणीकारहरूले भनेझैं मानवजातिले १९१४ देखि यताको अवस्था पहिले कहिल्यै भोगेको थिएन। (पृष्ठ ७ हेर्नुहोस्।) दुःखकष्टहरू अहिले जति व्यापक तवरमा पहिले भएको थिएन। साथै, आखिरी दिनबारे ख्रीष्टको चिह्नका अन्य पक्षहरूको सन्दर्भमा यी पक्षहरू पनि विचार गर्नुपर्छ: ख्रीष्टको उपस्थिति र परमेश्वरको राज्यबारे संसारभरि घोषणा गरिने कार्य अहिलेको अनुपातमा इतिहासमा पहिले कहिल्यै भएको थिएन। प्रचारकार्यको लागि यहोवाका साक्षीहरूले जति अरू कसैले सतावट भोगेका छैनन्। तिनीहरूमध्ये सयौं जना नाजी यातना शिविरमा मारिए। आजसम्म पनि कतिपय ठाउँहरूमा यहोवाका साक्षीहरूमाथि प्रतिबन्ध लगाइएको छ भने अन्य ठाउँहरूमा तिनीहरू गिरफ्तार भएका छन्, थुनामा परेका छन्, सताइएका छन् र मारिएका छन्। यी सबै येशूले दिनुभएको चिह्नका भाग हुन्।
प्रकाश ११:१८ मा भविष्यवाणी गरिएझैं यहोवाका विश्वासी साक्षीहरू विरुद्ध “जाति जातिहरू क्रोधित भए” अनि यसले ती राष्ट्रहरूमाथि यहोवाको “क्रोध” खन्याइनेछ भनेर देखाउँछ। यही पदमा बताइएअनुसार परमेश्वरले “पृथ्वीका नष्टकारीहरूलाई नष्ट” गर्नुहुनेछ। मानव इतिहासलाई पल्टाएर हेर्दा मानव जीवन धान्ने पृथ्वीको क्षमतामाथि पहिला कहिल्यै यस्तो खतरा आइपरेको थिएन। तथापि, अहिले कुरा अर्कै छ! मानिसले पृथ्वीलाई झन् झन् बिगार्दै जाने हो भने यो आबाद गर्न लायकको हुनेछैन भनेर थुप्रै वैज्ञानिकहरूले चेताउनी दिएका छन्। तर यहोवाले यो “आबाद गर्नलाई बनाउनुभयो” अनि नष्टकारीहरूले पृथ्वीलाई नाश गर्नुअघि उहाँले ती नष्टकारीहरूलाई नाश गर्नुहुनेछ।—यशैया ४५:१८.
परमेश्वरको राज्य शासनमा पार्थिव आशिष्हरू
बचाइनेहरू सबै स्वर्गमा लगिनेछन् भनी विश्वास गर्नेहरूको लागि परमेश्वरको राज्यका प्रजाहरू यसै पृथ्वीमा बसोबास गर्नेछन् भन्ने सोचाइ अनौठो लाग्न सक्छ। बाइबलले स्वर्गमा जानेहरूको संख्या सीमित छ अनि पृथ्वीमा सधैंभरि बाँच्ने मानिसहरूको गन्नै नसक्ने ठूलो भीड हुनेछ भनेर बताउँछ। (भजन ३७:११, २९; प्रकाश ७:९; १४:१-५) ख्रीष्टको नेतृत्वमा परमेश्वरको राज्यले पृथ्वी भरिनेछ अनि यसमाथि शासन गर्नेछ भनी बाइबलको पुस्तक, दानियलमा दिइएको भविष्यवाणीले देखाउँछ।
उक्त विवरणमा ख्रीष्टको राज्यलाई यहोवाको पहाडरूपी सार्वभौमिकताबाट निस्केको ढुंगाले चित्रण गरिएको छ। यसले एउटा मूर्तिलाई प्रहार गरेर नाश गर्छ र त्यो मूर्तिले पृथ्वीका शक्तिशाली राष्ट्रहरूलाई चित्रण गर्छ अनि “त्यस मूर्तिमा लाग्ने त्यो ढुंगा बढ्दै एउटा ठूलो पहाड भएर सारा पृथ्वीलाई ढाक्यो।” भविष्यवाणी अझ यसो भन्छ: “ती राजाहरूका समयमा स्वर्गका परमेश्वरले एउटा राज्य खड़ा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ। त्यसले यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।”—दानियल २:३४, ३५, ४४.
यहोवाका साक्षीहरूले तपाईंलाई यही राज्यबारे बताउन चाहेका हुन् जहाँ धर्मशास्त्रमा प्रतिज्ञा गरिएअनुसार सफा तथा सुन्दर प्रमोदवनमा अनन्त जीवन सम्भव हुनेछ। अहिले बाँचिरहेका लाखौं र चिहानमा भएका लाखौं-लाख मानिसहरूले त्यस प्रमोदवनमा सधैंभरि बाँच्ने मौका पाउनेछन्। तब यहोवाले पृथ्वी सृष्टि गर्नुहुँदाको सुरुको उद्देश्य तथा त्यहाँ प्रथम मानव जोडी राख्नुको उद्देश्य ख्रीष्ट येशूको हजार वर्षीय शासनको दौडान पूरा गर्नुहुनेछ। यो पार्थिव प्रमोदवन कहिल्यै नरमाइलो हुनेछैन। अदनको बगैंचामा आदमलाई काम दिइएझैं मानिसजातिले पृथ्वी अनि यसमा भएका बोटबिरुवा तथा जीवित-जीवातहरूको हेरचाह गर्ने रोमाञ्चकारी काम पाउनेछ। तिनीहरूले “आफ्ना हातले गरेका काम धेरै दिनसम्मै भोग गर्नेछन्।”—यशैया ६५:२२; उत्पत्ति २:१५.
येशूले “तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्” भनी गर्नुभएको प्रार्थनाको जवाफस्वरूप पृथ्वीको अवस्था कस्तो हुनेछ भनेर देखाउन थुप्रै शास्त्रपदहरू उल्लेख गर्न सकिन्छ। (मत्ती ६:१०) तथापि, अहिलेलाई यही एउटा मात्र विचार गर्नुहोस्: “सिंहासनबाट यसो भन्ने एउटा ठूलो आवाज मैले सुनें, ‘हेर, परमेश्वरको बासस्थान मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका मानिसहरू हुनेछन्। औ परमेश्वर आफै तिनीहरूसँग भएर तिनीहरूका परमेश्वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।’ औ सिंहासनमा विराजमान हुनुहुनेले भन्नुभयो, ‘हेर, म सब कुरा नयाँ तुल्याउँछु।’ औ उहाँले भन्नुभयो, ‘लेख, किनकि यी कुराहरू विश्वासयोग्य र सत्य छन्।’ ”—प्रकाश २१:३-५.
[पृष्ठ १५-मा भएको ठूलो अक्षरको क्याप्सन]
“आखिरी दिनमा डरलाग्दो समय आउनेछ”
तर “त्यसपछि अन्त हुनेछ”
[पृष्ठ १८-मा भएको चित्र]
नेदरल्याण्ड्स
[पृष्ठ १८-मा भएको चित्र]
नाइजेरिया