अध्याय ३
सही उच्चारण
हामीमध्ये कसैले धेरै पढेका छौं त कसैले थोरै। हुन पनि प्रेषित पत्रुस र प्रेषित यूहन्नालाई “साधारण मानिस” भनेर सम्बोधन गरिएको छ किनकि तिनीहरू यहूदीहरूको धार्मिक स्कूलमा पढ्न गएका थिएनन्। (प्रेषि. ४:१३) जे होस्, बाइबल सत्य प्रस्तुत गर्दा शब्दको उच्चारण राम्रोसित नगरेर मानिसको ध्यान भङ्ग गर्नदेखि होसियार हुनु जरुरी छ।
विचार पुऱ्याउनुपर्ने कुरा: भाषाअनुसार उच्चारणसम्बन्धी नियम फरक हुन्छ। थुप्रै भाषाको आफ्नै वर्ण र लिपि हुन्छ। नेपाली भाषामा देवनागरी लिपि प्रयोग गरिएझैं अङ्ग्रेजी, उर्दू, नेवारी, बङ्गाली आदि भाषाको पनि बेग्लाबेग्लै लिपि छ। तर चिनियाँ लिपिमा भने वर्णको प्रयोग नगरी चित्र-लिपिको प्रयोग गरिन्छ। यी चित्र-लिपि थुप्रै अक्षर-चित्र-सङ्केत मिलेर बनेका हुन्छन्। यी चित्र-लिपिले कुनै खास शब्द अथवा शब्दको अंशलाई जनाउँछ। जापानी र कोरियन भाषामा प्रयोग हुने चित्र-लिपि चिनियाँ भाषाबाटै सापटी लिइएको भए तापनि तिनको उच्चारणमा आकाश-जमीनको फरक हुन्छ र अर्थ पनि प्रायः भिन्नै हुन्छ।
वर्ण प्रयोग गर्ने भाषामा सही उच्चारण गर्न प्रत्येक अक्षरको वा शब्दको सही ध्वनि निकाल्नुपर्छ। वर्ण प्रयोग गरिने भाषा जस्तै:- जुलू, ग्रीक र स्पेनिस आदि भाषामा भएझैं उच्चारणसम्बन्धी एउटै नियम छ भने सही उच्चारण गर्न गाह्रो हुँदैन। तर सापटी लिइएका शब्दहरूको उच्चारणमा मूल भाषाको उच्चारणकै प्रभाव बाँकी हुने हुँदा कहिलेकाहीं कुनै खास अक्षर वा शब्द पनि दुई/तीन तरिकामा उच्चारण गर्न सकिन्छ भने कहिलेकाहीं त उच्चारण नै गरिंदैन। त्यस्ता अपवादहरूलाई सम्झनुपर्छ र आफ्नो कुराकानीमा ती शब्द अक्सर प्रयोग गर्नुपर्छ। चिनियाँ भाषामा सही उच्चारण गर्न हजारौं अक्षर-चित्र-सङ्केत सम्झनुपर्छ। कुनै-कुनै भाषामा भने आवाज निकाल्ने वा उच्चारण गर्ने तरिकामा अलिकता मात्र फरक पर्दा पनि शब्दको अर्थ नै फरक हुन पुग्छ। भाषाको यस पक्षलाई राम्ररी ध्यान दिन सकिएन भने व्यक्त विचारको अर्थ नै उल्टो पर्न जान्छ।
नेपाली भाषा जस्तै स्वरवर्ण र व्यञ्जनवर्ण मिलेर शब्द बन्ने भाषामा सही अक्षरमा जोड दिनुपर्छ। यस्ता भाषामा सही अक्षरमा जोड दिनेबारे प्रायः एउटै नियम लागू हुन्छ। तर नेपालीमा केही अपवाद पनि छन्। जस्तै, कहिलेकाहीं शब्दको अन्तमा हलन्त प्रयोग गरिएको छैन भने पनि उच्चारण गर्दा हलन्त प्रयोग गरिएको जस्तैगरि पढ्नुपर्ने हुन्छ। यसरी सही ठाउँमा जोड दिएर उच्चारण गर्ने सम्बन्धमा समान नियम लागू नहुँदा भने शब्दको सही उच्चारण गर्दा अलमलिन सक्छौं। त्यसकारण सही तरिकाले उच्चारण गर्न थुप्रै शब्द उच्चारण गर्ने तरिका सम्झनुपर्ने हुन्छ।
यसबाहेक अन्य केही भाषामा जस्तै नेपाली भाषामा पनि सही उच्चारण गर्न मात्राको प्रयोगमा विशेष ध्यान दिनुपर्छ। यी मात्रा व्यञ्जनवर्णमा थपेर लेखिन्छन्। ती हुन्:- ा, , ी, ु, ू, े, ै, ो, ौ, ं, : आदि। ह्रस्व मात्रा प्रयोग गरिएको अक्षर वा शब्दको उच्चारण अलि छोटो र दीर्घ मात्रा प्रयोग गरिएको अक्षर वा शब्दको उच्चारण अलि लामो गर्नुपर्छ। त्यसैकारण मानिससामु पढ्ने जिम्मेवारी पाउँदा दिइएको अंश पहिल्यै राम्रोसित तयारी गरेर पढ्नुपर्छ।
उच्चारणको सम्बन्धमा हामी होसियार हुनुपर्ने केही पक्ष पनि छन्। शब्द-शब्दमा जोड दिंदै अति प्रस्टसित उच्चारण गर्दा भने हाम्रो बोली अस्वाभाविक सुनिन्छ। साथै अरूलाई हामीले स्वाङ पारेर बोलेको भानसमेत पर्न सक्छ। यसबाहेक अहिले प्रयोग नहुने तरिकामा उच्चारण गर्छौं भने पनि सुन्ने व्यक्तिलाई हाम्रो बोली अनौठो लाग्न सक्छ। यसरी उच्चारण गर्दा हामीले श्रोताको ध्यान आफूतिर मात्र खिचिरहेका हुन्छौं। तर कुराकानी गर्ने र उच्चारण गर्ने तरिकालाई बेवास्ता गर्नु पनि हुँदैन। यसबारे केही त “प्रस्ट बोली” अन्तर्गत चर्चा गरिसक्यौं।
एउटै भाषाको उच्चारण पनि देशअनुसार र देशभित्रै पनि ठाउँअनुसार फरक-फरक हुन्छ। कुनै इलाकाको भाषा विदेशीले बोल्दा उसको बोल्ने शैली वा लबज भिन्नै हुन्छ। शब्दकोशमा समेत कुनै एक शब्दको भिन्नाभिन्नै उच्चारण दिइएको हुन्छ। विशेषगरि कुनै व्यक्तिले त्यति पढ्ने-लेख्ने मौका पाएका थिएनन् अथवा तिनले अहिले बोलिरहेको भाषा तिनको मातृभाषा होइन भने उक्त भाषा राम्ररी बोल्न सक्नेहरूको बोली ध्यान दिएर सुनेर अनि उनीहरूले जस्तै उच्चारण गर्ने कोसिस गरेर तिनले निकै फाइदा उठाउन सक्छन्। हामी यहोवाको साक्षी भएकोले प्रचार गर्ने सन्देशको गरिमा बढ्नेगरि र इलाकाका मानिसले बुझ्नेगरि बोल्न चाहन्छौं।
कुराकानी गर्दा तपाईंलाई राम्ररी थाह भएको शब्द प्रयोग गरेर बोल्दा बेस हुन्छ। सामान्य कुराकानीमा शब्दको उच्चारणले खासै फरक पार्दैन। तर स्वर निकालेर पढ्दा भने आफ्नो कुराकानीमा प्रयोग नगर्ने शब्द पनि तपाईंले उच्चारण गर्नुपर्ने हुन्छ। त्यसमा पनि हामी यहोवाका साक्षीहरूले पढेरै सुनाउनुपर्ने थुप्रै अवसर आइपर्छन्। प्रचारमा हामी मानिसहरूलाई बाइबलबाट पढेर सुनाउँछौं। कुनै भाइलाई प्रहरीधरहरा अध्ययनमा वा मण्डली बाइबल अध्ययनमा अनुच्छेद पढ्ने जिम्मेवारी दिइएको हुन्छ। त्यतिखेर ठीकसित पढ्नुपर्छ र गलत उच्चारण गरेर श्रोताको ध्यान भङ्ग गर्नदेखि होसियार हुनुपर्छ।
सुधार्ने तरिका: सही उच्चारण नगर्ने धेरैलाई आफूले गलत उच्चारण गरिरहेको छु भन्ने पत्तो नै हुँदैन। उच्चारणको सम्बन्धमा तपाईंले सुधार्नुपर्ने पक्षमा स्कूल निरीक्षकले तपाईंको ध्यान खिच्दा खुसी हुनुहोस्। आफ्नो समस्या थाह पाएपछि तपाईं कसरी सुधार्न सक्नुहुन्छ?
एउटा तरिका, सही उच्चारण गर्ने व्यक्तिलाई पढ्नुपर्ने अंश पढेर सुनाउनुहोस् र तपाईंले गलत उच्चारण गर्दा औंल्याइदिन आग्रह गर्नुहोस्।
अर्को तरिका, राम्रो वक्ताले बोल्दा ध्यान दिएर सुन्नुहोस्। नयाँ संसार अनुवाद अथवा प्रहरीधरहरा र ब्यूँझनुहोस्! अथवा अन्य प्रकाशनको सीडी पाइन्छ वा सङ्गठनको वेवसाइटबाट डाउनलोड गर्न सकिन्छ भने ती सुन्नुहोस्। तपाईंले उच्चारण गर्ने तरिकाभन्दा भिन्नै तरिकामा उच्चारण गरिएका शब्दहरू याद गर्नुहोस्। ती शब्दहरू कापीमा टिप्नुहोस् र सही तरिकाले उच्चारण गर्ने अभ्यास गर्नुहोस्।
थुप्रै भाषामा हिज्जे, उच्चारण तथा शब्दको अर्थ दिइएको शब्दकोश हेरेर पनि सही उच्चारण गर्ने तरिका सिक्न सकिन्छ। त्यस्तो शब्दकोश छ भने तपाईंलाई थाह नभएका शब्दहरू शब्दकोशमा खोज्नुहोस्। शब्दकोश प्रयोग गर्न जान्नुहुन्न भने शब्दकोशको सुरुका पृष्ठहरूमा व्याख्या गरिएको तरिका पढ्नुहोस्। बुझ्नुभएन भने शब्दकोश हेर्न जान्ने व्यक्तिसित मदत माग्नुहोस्। शब्दकोशमा उच्चारण गर्ने तरिका पनि दिइएको हुन्छ। कुनै-कुनै शब्दको उच्चारण गर्ने तरिका धेरै छन् भने ती पनि दिइएका हुन्छन्। तपाईंले खोजेको शब्दको उच्चारण शब्दकोशमा हेर्नेबित्तिकै बन्द नगर्नुहोस्। त्यसलाई दोहोऱ्याइ-तेहऱ्याइ अभ्यास गर्नुहोस्। समयमा तपाईंको उच्चारण पनि सही हुनेछ। यसरी तपाईंको बोल्ने कलामा निकै सुधार हुनेछ।