अध्याय ६
विनाश गर्ने शक्ति—“यहोवा वीर योद्धा हुनुहुन्छ”
१-३. (क) इस्राएलीहरूलाई मिश्री सेनाबाट कस्तो खतरा थियो? (ख) यहोवा कसरी इस्राएलीहरूका लागि लड्नुभयो?
कल्पना गर्नुहोस्: एकातर्फ अग्ला-अग्ला पहाडहरू छन्। अर्कोतर्फ तर्नै नसकिने विशाल समुद्र छ। इस्राएलीहरूको लागि बच्ने कुनै उपाय देखिँदैन। पछिल्तिरबाट विशाल मिश्री सेना तिनीहरूको नामोनिसान मेटाउने उदेश्यसहित आइरहेका छन्।a इस्राएलीहरू कत्ति त्रसित भए होलान्! तर मोसा तिनीहरूलाई आशा नमार्न प्रोत्साहन दिन्छन्। तिनी यसो भन्छन्: “यहोवा परमेश्वर स्वयम् तिमीहरूका लागि लड्नुहुनेछ।”—प्रस्थान १४:१४.
२ तर त्यतिबेला मोसा आफै पनि डराएर यहोवालाई पुकारिरहेका थिए। त्यसैले यहोवाले तिनलाई भन्नुभयो: “तिमी किन मलाई पुकार्छौ? . . . समुद्रमाथि आफ्नो लौरो पसारेर पानीलाई दुई भाग पार।” (प्रस्थान १४:१५, १६) त्यसपछि एकएक गर्दै कस्ता अद्भुत घटनाहरू घट्छन्, एकछिन कल्पना गर्नुहोस्! यहोवा तुरुन्तै स्वर्गदूतलाई आज्ञा गर्नुहुन्छ र इस्राएलीहरूको अघिअघि गइरहेको बादलको खामो तिनीहरूको पछिल्तिर जान्छ। त्यो बादलको खामो मिश्री सेनाको अगाडि फैलिन्छ र पर्खालजस्तै बन्छ, जसले गर्दा उनीहरू अघि बढ्न सक्दैनन्। (प्रस्थान १४:१९, २०; भजन १०५:३९) त्यसपछि मोसा आफ्नो हात समुद्रतिर पसार्छन्। जोडसित चलिरहेको पूर्वीय बतासले गर्दा समुद्र दुई भागमा छुट्टिन थाल्छ। दुईतिर छुट्टिएको पानी जमेर विशाल पर्खाल बन्छ र बीचमा इस्राएलीहरू आरामले हिँड्न सक्नेगरि फराकिलो बाटो तयार हुन्छ।—प्रस्थान १४:२१; १५:८.
३ परमेश्वरको यस्तो अद्भुत शक्ति देखेपछि वास्तवमा फारोले आफ्नो सेनालाई फर्कन आदेश दिनुपर्थ्यो। तर अहङ्कारी फारो उल्टै आफ्नो सेनालाई इस्राएलीहरूमाथि जाइलाग्न भन्छन्। (प्रस्थान १४:२३) त्यसपछि पूरै मिश्री सेना वेगसित समुद्रतिर बढ्छ। तर समुद्रको बीचमा पुगेपछि रथको पाङ्ग्रा फुस्किन्छ र उनीहरूमाझ खैलाबैला मच्चिन्छ। सबै इस्राएलीले सुरक्षितसाथ समुद्र पार गरेपछि यहोवा मोसालाई यसो भन्नुहुन्छ: “समुद्रमाथि आफ्नो हात पसार अनि समुद्रको पानीले मिश्रीहरू, उनीहरूका रथहरू र घोडचढीहरूलाई डुबाओस्।” त्यसपछि पानीका ती विशाल पर्खालहरू फेरि पहिले जसरी नै बग्न थाल्छन् अनि फारो र तिनको पूरै सेना डुबेर मर्छन्।—प्रस्थान १४:२४-२८; भजन १३६:१५.
४. (क) लाल समुद्रमा यहोवाले आफूलाई के साबित गर्नुभयो? (ख) यहोवाको व्यक्तित्वको यो पक्ष थाह पाउँदा कसै-कसैलाई कस्तो लाग्न सक्छ?
४ यहोवाले लाल समुद्रमा इस्राएलीहरूलाई जोगाउनुभएको अविस्मरणीय घटनाबाट उहाँ मानिसजातिसित कस्तो व्यवहार गर्नुहुन्छ भनेर प्रस्ट हुन्छ। त्यतिबेला यहोवाले आफूलाई “वीर योद्धा” साबित गर्नुभयो। (प्रस्थान १५:३) तर यहोवा योद्धा हुनुहुन्छ भनेर थाह पाउँदा तपाईँलाई कस्तो लाग्यो? युद्धले गर्दा संसारमा मानिसहरूले अनेकौँ समस्या झेल्नुपरेको छ र निकै पीडा खप्नुपरेको छ। त्यसोभए विनाश गर्ने परमेश्वरको शक्तिबारे थाह पाउँदा तपाईँ उहाँसित नजिक हुन चाहनुहुन्छ कि टाढै रहन चाहनुहुन्छ?
यहोवाले लाल समुद्रमा आफू “वीर योद्धा” भएको प्रमाण दिनुभयो
परमेश्वरको युद्ध र मानिसहरूको युद्ध
५, ६. (क) परमेश्वरलाई “सेनाहरूका यहोवा” भन्नु किन उपयुक्त छ? (ख) परमेश्वरको युद्ध मानिसहरूको युद्धभन्दा कसरी फरक हुन्छ?
५ बाइबलको हिब्रू धर्मशास्त्रमा झन्डै २६० पटक र ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा दुई पटक परमेश्वरलाई “सेनाहरूका यहोवा” भनिएको छ। (१ समुएल १:११) यहोवा सार्वभौम शासक हुनुहुन्छ र उहाँसित स्वर्गदूतहरूको विशाल सेना छ। (यहोसु ५:१३-१५; १ राजा २२:१९) विनाश गर्ने यस सेनाको शक्ति कत्ति धेरै छ, हामी सोच्न पनि सक्दैनौँ। (यसैया ३७:३६) मानिसहरूको विनाश हुनु आफैमा राम्रो कुरा त होइन। तर हामीले याद गर्नुपर्ने कुरा के हो भने परमेश्वरको युद्ध मानिसहरूको युद्धभन्दा बिलकुलै फरक हुन्छ। हुनत राजनैतिक नेताहरू र सैन्य पदाधिकारीहरूले आफूले युद्ध गर्नुको पछाडि उचित कारण छ भन्लान् तर अक्सर त्यसमा लोभ र स्वार्थ लुकेको हुन्छ।
६ अर्कोतर्फ यहोवा भावनामा बहेर कदम चाल्नुहुन्न। व्यवस्था ३२:४ यसो भन्छ: “उहाँ चट्टान हुनुहुन्छ, उहाँको काममा कुनै खोट छैन, उहाँका सबै काम न्यायसङ्गत छन्। परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, उहाँ कहिल्यै अन्याय गर्नुहुन्न; उहाँ सत्य र न्यायी हुनुहुन्छ।” परमेश्वरको वचनमा अनियन्त्रित रिस, क्रूरता र हिंसाको भर्त्सना गरिएको छ। (उत्पत्ति ४९:७; भजन ११:५) त्यसैले यहोवाले कुनै कदम चाल्नुको पछाडि सधैँ जायज कारण हुन्छ। उहाँ विनाश गर्ने शक्ति कहिल्यै जथाभाबी प्रयोग गर्नुहुन्न बरु त्यसलाई अन्तिम विकल्पको रूपमा मात्र प्रयोग गर्नुहुन्छ। उहाँले भविष्यवक्ता इजकिएलमार्फत यसो भन्नुभएको छ: “ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ: ‘दुष्ट मर्दा म खुसी हुन्छु र? के म उसले खराब काम त्यागेर बाँचेको हेर्न चाहन्नँ र?’”—इजकिएल १८:२३.
७, ८. (क) आफूले भोगेको दुःखकष्टबारे अय्युब कस्तो निष्कर्षमा पुगे? (ख) एलिहुले कसरी अय्युबको सोचाइ सच्याए? (ग) हामी अय्युबको विवरणबाट कस्तो पाठ सिक्न सक्छौँ?
७ त्यसोभए यहोवा किन विनाश गर्ने शक्ति प्रयोग गर्नुहुन्छ? यस प्रश्नको जवाफ पाउनुअघि धर्मी मानिस अय्युबबारे विचार गरौँ। सैतानले यहोवालाई अय्युबलगायत कुनै पनि मानिस परीक्षा आइपर्दा सत्यनिष्ठ रहन सक्दैन भनेर चुनौती दियो। त्यसैले यहोवाले सैतानलाई अय्युबको सत्यनिष्ठा जाँच्न अनुमति दिनुभयो। नतिजास्वरूप अय्युबले आफ्ना छोराछोरी र सबै धनसम्पत्ति गुमाउनुपऱ्यो अनि तिनलाई पीडादायी रोग लाग्यो। (अय्युब १:१–२:८) यी सबको पछाडि के-कस्ता विवाद मुछिएका छन् भनेर तिनलाई थाह थिएन। त्यसैले तिनी यहोवाले विनाकारण सजाय दिँदै हुनुहुन्छ भन्ने गलत निष्कर्षमा पुगे। तिनले उहाँलाई “तपाईँ किन मलाई आफ्नो तारो बनाउनुहुन्छ” र “शत्रु ठान्नुहुन्छ” भनेर सोधे।—अय्युब ७:२०; १३:२४.
८ एलिहु नाम गरेका अय्युबका जवान साथीले तिनको सोचाइ गलत छ भनेर बताए। उनले भने: “तपाईँ भन्नुहुन्छ, ‘म परमेश्वरभन्दा धर्मी छु!’ आफू सही छु भन्ने कुरामा के तपाईँ त्यति धेरै विश्वस्त हुनुहुन्छ?” (अय्युब ३५:२) हो, हामीलाई परमेश्वरलाई भन्दा धेरै थाह छ भन्नु वा उहाँ अन्याय गर्नुहुन्छ भन्ने सोचाइ राख्नु मूर्खता हो। एलिहुले भने: “साँचो परमेश्वरले कहिल्यै कसैलाई दुःख दिनुहुन्न, सर्वशक्तिमान् परमेश्वरले कसैको हानि गर्नुहोला भनेर सोच्न समेत सकिँदैन।” पछि उनले यसो पनि भने: “हामी सर्वशक्तिमान् परमेश्वरबारे सबै कुरा बुझ्न सक्दैनौँ। उहाँको शक्ति अथाह छ। उहाँ आफ्नो न्याय र धार्मिकताको स्तरलाई कहिल्यै उल्लङ्घन गर्नुहुन्न बरु सधैँ सही काम गर्नुहुन्छ।” (अय्युब ३४:१०; ३६:२२, २३; ३७:२३) त्यसैले परमेश्वरले युद्ध गर्नुको पछाडि कुनै न कुनै जायज कारण हुन्छ भन्ने कुरामा हामी ढुक्क हुन सक्छौँ। यो कुरा मनमा राख्दै अब आउनुहोस्, शान्तिका परमेश्वर यहोवा किन कहिलेकाहीँ योद्धाको भूमिका निर्वाह गर्नुहुन्छ भन्नेबारे विचार गरौँ।—१ कोरिन्थी १४:३३.
शान्तिका परमेश्वर किन युद्ध गर्नुहुन्छ?
९. पवित्र परमेश्वर किन युद्ध गर्नुहुन्छ?
९ “यहोवा वीर योद्धा हुनुहुन्छ” भनेर गुणगान गाएपछि मोसाले यसो भने: “हे यहोवा, तपाईँजस्तो ईश्वर अरू को छ र? तपाईँजस्तो महापवित्र अरू को छ र?” (प्रस्थान १५:११) त्यसैगरि भविष्यवक्ता हबकुकले पनि यस्तो लेखे: “तपाईँका आँखाले दुष्ट कुरा हेर्न सक्दैनन् किनकि ती अत्यन्तै पवित्र छन्। तपाईँ दुष्टता सहन सक्नुहुन्न।” (हबकुक १:१३) हुनत यहोवा प्रेमको परमेश्वर हुनुहुन्छ तर उहाँ पवित्रता, धार्मिकता र न्यायको परमेश्वर पनि हुनुहुन्छ। यी नै गुणहरूले कहिलेकाहीँ उहाँलाई विनाश गर्ने शक्ति प्रयोग गर्न बाध्य बनाउँछ। (यसैया ५९:१५-१९; लुका १८:७) त्यसैले परमेश्वरले युद्ध गर्नुहुँदा उहाँको पवित्रतामा कुनै आँच आउँदैन बरु उहाँ आफ्नो पवित्रताको निम्ति युद्ध गर्नुहुन्छ।—प्रस्थान ३९:३०.
१०. उत्पत्ति ३:१५ मा भविष्यवाणी गरिएको दुस्मनी कसरी अन्त हुनेछ र त्यसले गर्दा मानिसजातिले कस्तो आशिष् पाउनेछ?
१० प्रथम मानव दम्पती आदम र हव्वाले यहोवाको विद्रोह गरेपछि कस्तो परिस्थिति खडा भयो, विचार गरौँ। (उत्पत्ति ३:१-६) ब्रह्माण्डका मालिक यहोवाले तिनीहरूको गल्ती टुलुटुलु हेरेर बस्नुभएको भए उहाँ कमजोर शासक साबित हुनुहुने थियो। तर उहाँ धार्मिकता मन पराउने परमेश्वर हुनुभएकोले तिनीहरूलाई मृत्युदण्डको सजाय सुनाउनुभयो। (रोमी ६:२३) बाइबलको पहिलो भविष्यवाणीमा यहोवाले आफ्ना सेवकहरू अनि “सर्प” अर्थात् सैतानको पछि लाग्ने मानिसहरूबीच दुस्मनी हुनेछ भनेर बताउनुभयो। (प्रकाश १२:९; उत्पत्ति ३:१५) सैतानको शिर कुच्याइएपछि मात्र त्यस दुस्मनीको अन्त हुने थियो। (रोमी १६:२०) यहोवाले त्यस्तो न्यायिक कदम चाल्नुभएपछि मात्र यस पृथ्वीमा सैतानको कुनै प्रभाव हुनेछैन र यसलाई सुन्दर बगैँचामा परिणत गरिनेछ। यसरी मानिसजातिले थुप्रै आशिष् पाउनेछन्। (मत्ति १९:२८) त्यतिन्जेल यहोवाका जनहरूले सैतानको पक्ष लिनेहरूबाट शारीरिक र आध्यात्मिक हानि भोग्नुपर्ने हुन्छ। त्यसैले यहोवाले समय-समयमा हस्तक्षेप गर्नुहुन्छ।
परमेश्वर दुष्टता हटाउन कदम चाल्नुहुन्छ
११. यहोवा पूरै पृथ्वीमा जलप्रलय ल्याउन किन बाध्य हुनुभयो?
११ यहोवाले त्यसरी हस्तक्षेप गर्नुभएको एउटा उदाहरण नुहको समयमा ल्याउनुभएको जलप्रलय हो। उत्पत्ति ६:११, १२ यसो भन्छ: “पृथ्वी साँचो परमेश्वरको नजरमा भ्रष्ट भएको थियो र हिंसाले भरिएको थियो। हो, परमेश्वरले संसारको अवस्था असाध्यै नराम्रो देख्नुभयो किनकि सबै मानिस भ्रष्ट भइसकेका थिए।” के यहोवाले पृथ्वीमा बाँकी रहेका थोरै असल मानिसलाई दुष्टहरूको हातबाट नाश हुन दिनुहुने थियो? कदापि दिनुहुने थिएन। त्यतिबेला उहाँ हिंसा र अनैतिकतामा चुर्लुम्मै डुबेका मानिसहरूलाई नाश गर्न पूरै पृथ्वीमा जलप्रलय ल्याउन बाध्य हुनुभयो।
१२. (क) अब्राहामको सन्तानबारे यहोवाले कस्तो भविष्यवाणी गर्नुभयो? (ख) एमोरीहरू किन कनानबाट धपाइने थिए?
१२ परमेश्वरले कनानीहरूविरुद्ध चाल्नुभएको न्यायिक कदमबारे पनि त्यसै भन्न सकिन्छ। उहाँले अब्राहामको वंशबाट एक जना सन्तान आउनेछन् र तिनीद्वारा पृथ्वीका सबै घरानाले आशिष् पाउनेछन् भनेर भविष्यवाणी गर्नुभयो। साथै उहाँले अब्राहामका सन्तानहरूले कनान अधिकार गर्नेछन् भनेर पनि बताउनुभयो, जहाँ त्यतिबेला एमोरीहरू बस्थे। के उहाँले तिनीहरूलाई जबरजस्ती कनानबाट धपाउनु न्यायोचित हुने थियो? उहाँले लगभग ४०० वर्षसम्म अर्थात् “एमोरीहरूले आफ्नो कुकर्मको सजाय पाउने समय” नभएसम्म उनीहरूलाई त्यहाँबाट धपाइनेछैन भनेर पनि भविष्यवाणी गर्नुभयो।b (उत्पत्ति १२:१-३; १३:१४, १५; १५:१३, १६; २२:१८) त्यस समयको दौडान एमोरीहरू नैतिक रूपमा झन्झनै पतित हुँदै गए। कनान मूर्तिपूजा, हत्याहिंसा र अवैध यौनसम्बन्धमा चुर्लुम्मै डुब्यो। (प्रस्थान २३:२४; ३४:१२, १३; गन्ती ३३:५२) त्यहाँका बासिन्दाहरू आफ्नै छोराछोरीलाई समेत आगोमा बलि चढाउँथे। के पवित्र परमेश्वर यहोवाले त्यस्ता दुष्ट मानिसहरूलाई आफ्ना जनहरूमाझ रहन दिनुहुने थियो? अहँ, दिनुहुने थिएन। उहाँले यस्तो घोषणा गर्नुभयो: “तिनीहरूको देश अशुद्ध भएको छ। त्यसैले म तिनीहरूलाई सजाय दिनेछु र तिनीहरू त्यहाँबाट धपाइनेछन्।” (लेवी १८:२१-२५) तर उहाँले तिनीहरूलाई अन्धाधुन्ध नाश गर्नुभएन बरु राहाब र गिबोनीहरूजस्ता असल हृदय भएका कनानीहरूलाई जोगाउनुभयो।—यहोसु ६:२५; ९:३-२७.
यहोवा आफ्नो नामको निम्ति लड्नुहुन्छ
१३, १४. (क) यहोवाले आफ्नो नाम पवित्र पार्न किन कदम चाल्नुभयो? (ख) यहोवाले आफ्नो नाममा लागेको कलङ्क कसरी मेटाउनुभयो?
१३ यहोवा पवित्र हुनुभएकोले उहाँको नाम पनि पवित्र छ। (लेवी २२:३२) येसुले आफ्ना चेलाहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो: “तपाईँको नाम पवित्र पारियोस्।” (मत्ति ६:९) अदनको बगैँचामा भएको विद्रोहले गर्दा परमेश्वरको नाममा कलङ्क लाग्यो अनि उहाँको प्रतिष्ठा र शासन गर्ने तरिकामाथि प्रश्न खडा भयो। उहाँ यस्तो निन्दा र विद्रोह चुपचाप सहेर पक्कै बस्नुहुने थिएन बरु आफ्नो नाममा लागेको कलङ्क मेटाउन कदम चाल्नुहुने थियो।—यसैया ४८:११.
१४ इस्राएलीहरूबारे फेरि विचार गरौँ। तिनीहरू मिश्रको दासत्वमा छउन्जेल अब्राहामको सन्तानमार्फत पृथ्वीका सबै घरानाले आशिष् पाउनेछन् भन्ने यहोवाको प्रतिज्ञाको कुनै अर्थ रहने थिएन। तर उहाँले तिनीहरूलाई छुटकारा दिनुभएर र राष्ट्रको रूपमा एकत्रित पार्नुभएर आफ्नो नाममा लागेको कलङ्क मेटाउनुभयो। त्यसैले भविष्यवक्ता दानिएलले यहोवालाई प्रार्थनामा यसरी सम्बोधन गरे: “आफ्नो पराक्रमी हातले आफ्ना मानिसहरूलाई मिश्रबाट छुटाएर ल्याउनुहुने र आजको दिनसम्मै आफ्नो नाम कायम राख्नुहुने हे यहोवा हाम्रा परमेश्वर।”—दानिएल ९:१५.
१५. यहोवाले किन यहुदीहरूलाई बेबिलोनको निर्वासनबाट छुटकारा दिनुभयो?
१५ दानिएलले यो प्रार्थना अनाज्ञाकारी यहुदीहरू बेबिलोनको निर्वासनमा परेको बेला गरेका थिए। त्यतिबेला यहोवाले आफ्नो नामको निम्ति फेरि पनि कदम चाल्नुपर्ने भएको थियो। यहुदीहरूको राजधानी सहर यरुसलेम तहसनहस भएको थियो। यहोवाले ती यहुदीहरूलाई तिनीहरूको मातृभूमि यरुसलेममा फर्काउनुभयो भने उहाँको नामको महिमा हुनेछ भनेर दानिएललाई थाह थियो। त्यसैले तिनले यसरी प्रार्थना गरे: “हे यहोवा, हामीलाई क्षमा गर्नुहोस्! हे यहोवा, हाम्रो बिन्ती सुनेर हामीलाई बचाउनुहोस्! हे मेरा परमेश्वर, आफ्नै लागि भए पनि ढिलो नगर्नुहोस् किनकि तपाईँको सहर र तपाईँका मानिसहरू तपाईँको नामले चिनिएका छन्।”—दानिएल ९:१८, १९.
यहोवा आफ्ना जनहरूको लागि लड्नुहुन्छ
१६. यहोवा आफ्नो नामको निम्ति लड्नुहुन्छ भन्नुको मतलब के उहाँ स्वार्थी र अरूको वास्तै नगर्ने परमेश्वर हुनुहुन्छ भन्ने हो? व्याख्या गर्नुहोस्।
१६ यहोवा आफ्नो नामको निम्ति लड्नुहुन्छ भन्नुको मतलब के उहाँ स्वार्थी र अरूको वास्तै नगर्ने परमेश्वर हुनुहुन्छ भन्ने हो? अहँ, होइन। यहोवा पवित्र र न्यायलाई प्रेम गर्ने परमेश्वर हुनुभएकोले आफ्ना जनहरूको लागि कदम चाल्नुहुन्छ। उत्पत्ति अध्याय १४ को विवरण विचार गर्नुहोस्। चार जना राजाको संयुक्त सैन्यदलले अब्राहामका भतिजा लुत र तिनको परिवारलाई बन्दी बनाएर लैजान्छ तर यहोवाको मदत पाएर अब्राहामले त्यस शक्तिशाली फौजमाथि सानदार जित हासिल गर्छन्। सम्भवतः यो विवरण “यहोवा परमेश्वरका युद्धहरूको पुस्तकमा” उल्लेख गरिएको पहिलो युद्ध थियो। हुन सक्छ त्यस पुस्तकमा बाइबलमा उल्लेख नगरिएका अन्य युद्धका विवरणहरू पनि समावेश थिए। (गन्ती २१:१४) त्यसपछि पनि यहोवाले थुप्रै युद्धमा जित हासिल गर्नुभयो।
१७. इस्राएलीहरू कनानमा प्रवेश गरिसकेपछि यहोवाले कैयौँ पटक तिनीहरूको लागि युद्ध लड्नुभयो भनेर केले देखाउँछ? उदाहरण दिनुहोस्।
१७ इस्राएलीहरू कनानमा प्रवेश गर्नुअघि मोसाले तिनीहरूलाई यस्तो आश्वासन दिए: “यहोवा तिमीहरूका परमेश्वर तिमीहरूको अघिअघि जानुहुनेछ र तिमीहरूको लागि लड्नुहुनेछ, जसरी उहाँ तिमीहरूकै आँखाअगाडि मिश्रमा तिमीहरूको लागि लड्नुभएको थियो।” (व्यवस्था १:३०; २०:१) मोसापछिका इस्राएलीहरूको अगुवा यहोसुको समयदेखि न्यायकर्ताहरू र यहुदाका वफादार राजाहरूको समयसम्म यहोवाले कैयौँ पटक आफ्ना जनहरूको लागि युद्ध लड्नुभयो र तिनीहरूलाई शत्रुहरूमाथि सानदार जित हासिल गर्न मदत गर्नुभयो।—यहोसु १०:१-१४; न्यायकर्ता ४:१२-१७; २ समुएल ५:१७-२१.
१८. (क) यहोवा परिवर्तन हुनुभएको छैन भनेर थाह पाउनु किन खुसीको कुरा हो? (ख) उत्पत्ति ३:१५ मा बताइएको दुस्मनी अन्तिम बिन्दुमा पुग्दा के हुनेछ?
१८ यहोवा परिवर्तन हुनुभएको छैन अनि पृथ्वीलाई शान्तिमय र सुन्दर बगैँचा बनाउने उहाँको उद्देश्य पनि परिवर्तन भएको छैन। (उत्पत्ति १:२७, २८) यहोवा दुष्टतालाई अहिले पनि उत्तिकै घृणा गर्नुहुन्छ। साथै उहाँ आफ्ना जनहरूलाई धेरै माया गर्नुहुन्छ र चाँडै उहाँले तिनीहरूको लागि कदम चाल्नुहुनेछ। (भजन ११:७) हो, उत्पत्ति ३:१५ मा बताइएको दुस्मनीले निकट भविष्यमा विकराल रूप लिनेछ र अन्तिम बिन्दुमा पुग्नेछ। आफ्नो नाम पवित्र पार्न र आफ्ना जनहरूलाई जोगाउन यहोवा फेरि “वीर योद्धा” बन्नुहुनेछ।—जकरिया १४:३; प्रकाश १६:१४,१६.
१९. (क) विनाश गर्ने परमेश्वरको शक्तिबारे विचार गर्दा हामी कसरी उहाँसित नजिक हुन सक्छौँ? एउटा उदाहरण दिनुहोस्। (ख) यहोवा हाम्रो लागि विनाश गर्ने शक्ति प्रयोग गर्नुहुन्छ भन्ने कुरा थाह पाउँदा हामीमा कस्तो प्रभाव पर्छ?
१९ एउटा उदाहरण विचार गर्नुहोस्। एउटा हिंस्रक जनावर एक जना व्यक्तिको परिवारलाई आक्रमण गर्न आउँछ। तिनी परिवारको बचाउको लागि त्यस जनावरसित भिड्छन् र त्यसलाई मार्छन्। के यो देखेर तिनकी पत्नी वा छोराछोरी तिनीदेखि टाढिन्छन् र? अहँ बरु तिनको त्यस्तो आत्मत्यागी प्रेम देखेर उनीहरूको मन छुन्छ। त्यसैगरि विनाश गर्ने यहोवाको शक्तिबारे थाह पाउँदा हामी पनि उहाँदेखि टाढिँदैनौँ। उहाँ हामीलाई बचाउन आफ्नो शक्ति प्रयोग गर्नुहुन्छ भन्ने कुरा विचार गर्दा उहाँप्रतिको प्रेम र उहाँको असीमित शक्तिप्रतिको कृतज्ञता झनै बढ्नेछ। साथै “हामी परमेश्वरप्रतिको डर र श्रद्धासहित उहाँलाई ग्रहणयोग्य पवित्र सेवा चढाइरहन सक्नेछौँ।”—हिब्रू १२:२८.
“वीर योद्धा”-सित नजिक हुनुहोस्
२०. परमेश्वरले युद्ध गर्नुभएको कतिपय बाइबल विवरण राम्ररी बुझ्न नसके पनि हामीले कुन कुरा मनमा राख्नुपर्छ र किन?
२० यहोवाले विनाश गर्ने शक्ति प्रयोग गर्नुको कारणबारे बाइबलको कतिपय विवरणमा एकएक कुरा बताइएको छैन। तर हामी यस कुरामा ढुक्क हुन सक्छौँ: यहोवा कहिल्यै अन्याय गर्नुहुन्न अनि विनाश गर्ने शक्ति अन्धाधुन्ध र क्रूर तरिकामा प्रयोग गर्नुहुन्न। बाइबलमा उल्लेख गरिएका कतिपय घटनाको प्रसङ्ग विचार गऱ्यौँ वा थप जानकारी खोज्यौँ भने हामी यहोवाले चाल्नुभएको कदमप्रति उचित दृष्टिकोण राख्न सक्नेछौँ। (हितोपदेश १८:१३) तर हामीसित उक्त घटनाको सबै जानकारी छैन भने पनि यहोवाका अनमोल गुणहरूबारे सिक्दा र मनन गर्दा मनमा उब्जन सक्ने शङ्का-उपशङ्का हटाउन सक्नेछौँ। त्यसो गऱ्यौँ भने यहोवाप्रतिको हाम्रो भरोसा झनै बढ्नेछ।—अय्युब ३४:१२.
२१. कहिलेकाहीँ यहोवा “वीर योद्धा” बन्नुभए तापनि उहाँको हृदय कस्तो छ?
२१ हुनत यहोवा परिस्थितिअनुसार “वीर योद्धा” बन्नुहुन्छ तर यसको अर्थ उहाँको हृदय ढुङ्गाजस्तो कठोर छ भन्ने चाहिँ होइन। इजकिएलले देखेको स्वर्गीय रथको दर्शनमा यहोवालाई आफ्ना शत्रुहरूसित युद्ध गर्न तम्तयार योद्धाको रूपमा चित्रण गरिएको छ। तर तिनले दर्शनमा परमेश्वरको चारैतिर शान्तिको प्रतीक मानिने इन्द्रेनी पनि देखे। (उत्पत्ति ९:१३; इजकिएल १:२८; प्रकाश ४:३) स्पष्ट छ, यहोवा शान्तिप्रिय हुनुहुन्छ। प्रेषित युहन्नाले उहाँबारे यस्तो लेखे: “परमेश्वर प्रेम हुनुहुन्छ।” (१ युहन्ना ४:८) हो, यहोवा आफ्ना सबै गुणलाई पूर्णतया सन्तुलनमा राख्नुहुन्छ। उहाँ सर्वशक्तिमान् परमेश्वर हुनुहुन्छ तर प्रेमले भरिपूर्ण पनि हुनुहुन्छ। यत्ति मायालु परमेश्वरसित नजिक हुन पाउनु के हाम्रो लागि ठूलो सुअवसरको कुरा होइन र?
a यहुदी इतिहासकार जोसेफसका अनुसार इस्राएलीहरूलाई खेद्न “फारो ६०० रथ, ५० हजार घोडसवार र २ लाख सशस्त्र सैनिकको फौज” लिएर आएका थिए।—यहुदी इतिहास (ग्रीक), खण्ड २, अध्याय १५, अनुच्छेद ३.
b “एमोरीहरू” भन्ने अभिव्यक्तिले कनानमा बसोबास गर्ने सबै मानिसलाई जनाएको हुनुपर्छ।—व्यवस्था १:६-८, १९-२१, २७; यहोसु २४:१५, १८.