बायाँ: सन् १९३० दशकको अन्ततिर भाइ रदरफोर्डको भाषण सुनाउँदै एक बहिनी, अलाबामा, अमेरिका, दायाँ: स्वीट्जरल्याण्ड
भाग १
परमेश्वरको राज्यबारे साँचो कुरा—आध्यात्मिक भोजन बाँड्ने
कल्पना गर्नुहोस्, तपाईं आफ्नो बाइबल विद्यार्थीलाई कुनै एउटा बाइबल पदको अर्थ बुझाउँदै हुनुहुन्छ। तपाईंको कुरा सुनेर तिनको अनुहार उज्यालो हुन्छ। अनि तिनी यसो भन्छन्, “हामी सधैंभरि सुन्दर पृथ्वीमा बाँच्न सक्छौं भनेर के बाइबलले साँच्चै सिकाउँछ?” तपाईंसँगै प्रचारमा जाने साथी मुस्कुराउँदै यसो भन्छन्, “तपाईंले भर्खरै बाइबलमा त्यही कुरा पढ्नुभयो नि, होइन?” अचम्म मान्दै तपाईंको विद्यार्थी यसो भन्छन्, “यस्तो कुरा मैले कहिल्यै सिकेको थिइनँ!” केही हप्ताअघि सृष्टिकर्ताको नाम यहोवा हो भनेर पहिलो पटक थाह पाउँदा पनि तिनले त्यस्तै भनेका थिए।
प्रचारमा जाँदा तपाईंले सायद यस्तै मानिस भेट्नुभएको होला। हाम्रा थुप्रै भाइबहिनीले पनि यस्तै अनुभव बटुलेका छन्। हामीले पाएको सत्यको ज्ञान कत्ति बहुमूल्य छ भनेर यस्ता घटनाहरूले हामीलाई सम्झाउँछ! तर एकछिन विचार गर्नुहोस्, तपाईं आफैले चाहिं त्यस्तो बहुमूल्य ज्ञान कसरी पाउनुभयो? यस भागमा हामी यो प्रश्नको जवाफ खोज्नेछौं। परमेश्वरका जनहरूले जुन तरिकाले आध्यात्मिक ज्योति क्रमिक रूपमा पाए, त्यसबाट परमेश्वरको राज्य वास्तविक हो भनेर प्रमाणित हुन्छ। परमेश्वरको राज्यको राजा येशू ख्रीष्टले आफ्नो प्रजालाई सत्यको ज्ञान सिकाउन सक्रिय भूमिका खेलेको सय वर्ष भइसक्यो।