प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bhs अध्या. ५ पृ. ५२-६१
  • फिरौतीको बलिदान​—⁠परमेश्‍वरले दिनुभएको सबैभन्दा अनमोल उपहार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फिरौतीको बलिदान​—⁠परमेश्‍वरले दिनुभएको सबैभन्दा अनमोल उपहार
  • बाइबलले हामीलाई के सिकाउँछ?
  • बाइबलले सिकाउँछ-मा पढ्नुहोस्
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • फिरौतीको बलिदान के हो?
  • यहोवा परमेश्‍वरले कसरी फिरौतीको प्रबन्ध गर्नुभयो?
  • फिरौतीको बलिदानले गर्दा सम्भव भएको लाभ
  • फिरौतीको बलिदानको कदर गर्नुहोस्‌
  • यहोवाले “धेरैको निम्ति फिरौती”-को प्रबन्ध गर्नुभयो
    यहोवासित नजिक हुनुहोस्‌
  • फिरौतीको बलिदानप्रति कृतज्ञता देखाइरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • ख्रीष्टको छुडौती-परमेश्‍वरको छुटकारा दिने तरिका
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • सबैभन्दा उत्तम उपहार
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
थप हेर्नुहोस्
बाइबलले हामीलाई के सिकाउँछ?
bhs अध्या. ५ पृ. ५२-६१

अध्याय पाँच

फिरौतीको बलिदान —परमेश्‍वरले दिनुभएको सबैभन्दा अनमोल उपहार

१, २. (क) तपाईँलाई कस्तो उपहार अनमोल लाग्छ? (ख) फिरौतीको बलिदान किन परमेश्‍वरले दिनुभएको सबैभन्दा अनमोल उपहार हो?

तपाईँले अहिलेसम्म पाउनुभएको सबैभन्दा अनमोल उपहार के हो? कुनै उपहार महँगो छ भने मात्र त्यो अनमोल हुन्छ भन्‍ने छैन। उपहारको मोल जतिसुकै होस्‌, यदि त्यसले तपाईँलाई खुसी बनाउँछ वा त्यो तपाईँलाई चाहिएकै कुरा हो भने तपाईँ त्यस्तो उपहार दिने व्यक्‍तिलाई मनैदेखि धन्यवाद दिनुहुन्छ नि, होइन र?

२ परमेश्‍वरले हामीलाई दिनुभएको थुप्रै उपहारमध्ये एउटा हामीलाई नभई हुँदैन। त्यो उपहार हो, फिरौतीको बलिदान। परमेश्‍वरले दिनुभएको त्यो सबैभन्दा अनमोल उपहारबारे हामी यस अध्यायमा सिक्नेछौँ। येसु ख्रिष्टले गर्दा हामी कसरी सधैँभरि बाँच्न सक्ने भयौँ, त्यसबारे पनि हामी यस अध्यायमा सिक्नेछौँ। (मत्ति २०:२८ पढ्‌नुहोस्‌) यहोवा परमेश्‍वरले फिरौतीस्वरूप येसुलाई पृथ्वीमा पठाउनुभएर उहाँ हामीलाई धेरै माया गर्नुहुन्छ भनेर साबित गर्नुभएको छ।

फिरौतीको बलिदान के हो?

३. मानिसहरू किन मर्छन्‌?

३ फिरौतीको बलिदान मानिसजातिलाई पाप र मृत्युबाट मुक्‍त गर्न यहोवा परमेश्‍वरले मिलाउनुभएको माध्यम हो। (एफिसी १:७) फिरौतीको बलिदान हामीलाई किन चाहियो भन्‍ने कुरा बुझ्न हामीले हजारौँ वर्षअघि अदनको बगैँचामा के भएको थियो, त्यो थाह पाउनुपर्छ। हाम्रो सबैभन्दा पहिलो पुर्खा आदम र हव्वाले पाप गरे। त्यसैले तिनीहरू मरे। आदम र हव्वाको सन्तान भएकोले हामी जन्मैदेखि पापी भयौँ। त्यसैले हामी पनि मर्छौँ।—नोट १० हेर्नुहोस्‌।

४. आदम को थिए र तिनले कस्तो जीवन पाएका थिए?

४ यहोवा परमेश्‍वरले पहिलो मानिस आदमलाई सृष्टि गर्नुहुँदा तिनलाई एउटा अनमोल कुरा दिनुभएको थियो। त्यो हो, कुनै खोट नभएको त्रुटिरहित जीवन। आदमको दिमाग र शरीरमा कुनै त्रुटि थिएन। तिनी कहिल्यै बिरामी पर्ने थिएनन्‌, कहिल्यै बूढो हुने थिएनन्‌ अनि कहिल्यै मर्ने थिएनन्‌। आदमको सृष्टि यहोवा परमेश्‍वरले नै गर्नुभएकोले उहाँ आदमको बुबासरह हुनुहुन्थ्यो। (लुका ३:३८) उहाँ तिनीसित नियमित रूपमा कुराकानी गर्नुहुन्थ्यो। यहोवा परमेश्‍वर तिनीबाट के चाहनुहुन्थ्यो, त्यो कुरा उहाँले आदमलाई स्पष्टै बताउनुभएको थियो अनि तिनलाई पट्टाइ नलाग्ने काम पनि दिनुभएको थियो।—उत्पत्ति १:२८-३०; २:१६, १७.

५. परमेश्‍वरले आदमलाई “आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो” भन्‍नुको अर्थ के हो?

५ यहोवा परमेश्‍वरले आदमलाई “आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो।” (उत्पत्ति १:२७) त्यसैले आदमसित प्रेम, बुद्धि, न्याय र शक्‍तिजस्ता गुणहरू थिए। उहाँले आदमलाई आफूलाई इच्छा लागेको कुरा रोज्ने स्वतन्त्रता पनि दिनुभयो। तिनी रोबोटजस्तो थिएनन्‌। के सही, के गलत, तिनी आफैले निर्णय गर्न सक्थे। परमेश्‍वरले तिनलाई त्यस्तो क्षमता दिनुभएको थियो। यदि आदमले परमेश्‍वरको आज्ञा मान्‍न रोजेर सही निर्णय गरेको भए सधैँभरि प्रमोदवनमा बाँचिरहन सक्थे।

६. (क) परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गरेकोले आदमले के-के गुमाउनुपऱ्‍यो? (ख) आदमले गरेको गलत निर्णयले गर्दा हामीलाई के भयो?

६ तर आदमले परमेश्‍वरको आज्ञा पालन नगर्ने निर्णय गरे र तिनले त्यसको ठूलो मोल चुकाउनुपऱ्‍यो। तिनले परमेश्‍वरसितको विशेष मित्रता, त्रुटिरहित जीवन र बगैँचाजस्तो सुन्दर घर पनि गुमाए। (उत्पत्ति ३:१७-१९) आदम र हव्वाले जानाजानी परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गर्ने गलत निर्णय गरेको हुनाले तिनीहरूले सधैँभरि बाँच्ने आशा गुमाए। तिनीहरूले मृत्युको सजाय पाए। आदमको गलत निर्णयले गर्दा “पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु, त्यसैले मृत्यु सबै मानिसमा व्याप्त भयो किनकि तिनीहरू सबैले पाप गरे।” (रोमी ५:१२) आदमले आफूलाई मात्र होइन तर हामीलाई पनि पाप र मृत्युको दासत्वमा ‘बेचिदिए।’ (रोमी ७:१४) त्यसोभए के मानिसजातिको लागि कुनै आशा छैन? अवश्‍य छ।

७, ८. फिरौती भनेको के हो?

७ फिरौती भनेको के हो? फिरौती भनेको बन्दी बनाएर राखेको मानिसलाई अथवा बन्धकी राखेको कुरालाई मुक्‍त गर्न तिरिने मूल्य हो। तर बाइबलमा चर्चा गरिएको फिरौतीको अर्को अर्थ पनि छ। त्यो हो, नोक्सानीको क्षतिपूर्तिस्वरूप तिरिने मूल्य।

८ आदमले परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गरेर पाप गरेकोले हामी मृत्युको बन्दी भयौँ। हामीलाई मृत्युको बन्धनबाट मुक्‍त गर्न कुनै मानिसले फिरौती तिर्न सक्दैनथ्यो। तर हामीलाई पाप र मृत्युको बन्धनबाट मुक्‍त गर्न यहोवा आफैले फिरौती तिर्ने बाटो खोल्नुभयो। त्यसोभए, हाम्रो फिरौती कसरी तिरियो र त्यसले गर्दा हामीलाई के फाइदा भयो, आउनुहोस्‌ अब बुझौँ।

यहोवा परमेश्‍वरले कसरी फिरौतीको प्रबन्ध गर्नुभयो?

९. फिरौती कसरी तिर्न सकिन्थ्यो?

९ हामी सबै त्रुटिपूर्ण छौँ। त्यसैले आदमले गुमाएको त्रुटिरहित जीवनको फिरौती हामीमध्ये कसैले तिर्न सक्दैनथ्यौँ। (भजन ४९:७, ८) हाम्रो लागि फिरौती तिर्न त्रुटिरहित जीवन नै चाहिन्थ्यो। त्यसैले त्रुटिरहित मानिसले नै “फिरौतीस्वरूप आफूलाई अर्पण” गर्नुपर्थ्यो। (१ तिमोथि २:६) तिनले फिरौतीस्वरूप दिएको जीवन आदमले गुमाएको जीवनबराबर हुनुपर्थ्यो।

१०. यहोवा परमेश्‍वरले कसरी फिरौतीको प्रबन्ध गर्नुभयो?

१० यहोवाले कसरी फिरौतीको प्रबन्ध गर्नुभयो? आफ्नो सबैभन्दा प्यारो छोरालाई पृथ्वीमा पठाएर। ती छोरा येसु हुनुहुन्थ्यो, जो परमेश्‍वरको सबैभन्दा पहिलो सृष्टि हुनुहुन्थ्यो। (१ युहन्‍ना ४:९, १०) येसु आफ्नो बुबा र आफ्नो घर स्वर्ग छोडेर पृथ्वीमा आउन राजी हुनुभयो। (फिलिप्पी २:७) अनि यहोवाले येसुको जीवन स्वर्गबाट पृथ्वीमा सारिदिनुभयो र उहाँ त्रुटिरहित मानिसको रूपमा जन्मनुभयो। त्यसैले उहाँमा कुनै पाप थिएन।—लुका १:३५.

यातनाको खम्बामा येसुको पीडादायी मृत्यु

हाम्रो लागि फिरौतीस्वरूप यहोवाले आफ्नो प्यारो छोरा दिनुभयो

११. एक जना मानिसले कसरी सबै मानिसको लागि फिरौतीको मोल तिर्न सक्थ्यो?

११ पहिलो मानिस आदमले परमेश्‍वरको आज्ञा पालन गरेनन्‌। तिनले गर्दा सबै मानिसले त्रुटिरहित जीवन गुमाए। त्यसोभए कसरी अर्को मानिसले आदमका सबै सन्तानलाई मृत्युबाट मुक्‍ति दिन सक्थ्यो? (रोमी ५:१९ पढ्‌नुहोस्‌) येसुले कहिल्यै पाप गर्नुभएन र उहाँ त्रुटिरहित हुनुहुन्थ्यो। त्यसैले उहाँले आफ्नो त्रुटिरहित जीवन फिरौतीको मोलस्वरूप अर्पण गर्न सक्नुभयो। (१ कोरिन्थी १५:४५) उहाँले अर्पण गर्नुभएको त्रुटिरहित जीवनले गर्दा आदमका सबै सन्तानले मृत्युबाट मुक्‍ति पाउन सक्थे।—१ कोरिन्थी १५:२१, २२.

१२. येसुले किन धेरै दुःख भोग्नुपऱ्‍यो?

१२ आफ्नो मृत्यु हुनुअघि येसुले भोग्नुपरेको दुःख र पीडा बाइबलमा वर्णन गरिएको छ। विरोधीहरूले उहाँलाई निर्ममतासाथ कोर्रा लगाए र उहाँलाई किला ठोकेर खम्बामा टाँगे। यस्तो चरम यातनाले गर्दा अन्ततः उहाँको मृत्यु भयो। (युहन्‍ना १९:१, १६-१८, ३०) तर येसुले किन त्यो हदसम्म दुःख भोग्नुपऱ्‍यो? किनकि धेरै दुःख, पीडा, यातना पायो भने कुनै पनि मानिसले परमेश्‍वरलाई साथ दिनेछैन भनेर सैतानले दाबी गरेको थियो। येसुले जतिसुकै दुःख अनि पीडा भोग्नुपरे पनि परमेश्‍वरलाई त्याग्नुभएन। यसरी त्रुटिरहित मानिस परमेश्‍वरप्रति वफादार रहन सक्छ भनेर उहाँले प्रमाणित गर्नुभयो। येसुलाई देखेर यहोवाले कति धेरै गर्व महसुस गर्नुभयो होला!—हितोपदेश २७:११; नोट १६ हेर्नुहोस्‌।

१३. फिरौतीको मोल कसरी तिरियो?

१३ फिरौतीको मोल कसरी तिरियो? फिरौतीको मोलस्वरूप येसुले आफ्नो जीवनको मोल बुबालाई चढाउनुभयो। यहुदी पात्रोअनुसार इस्वी संवत्‌ ३३, नीसान १४ को दिन शत्रुहरूले येसुको हत्या गर्दा यहोवा परमेश्‍वरले हस्तक्षेप गर्नुभएन। (हिब्रू १०:१०) त्यसको तीन दिनपछि यहोवा परमेश्‍वरले उहाँलाई ब्युँताउनुभयो। अनि केही समयपछि येसु स्वर्ग फर्कनुभयो र फिरौतीस्वरूप अर्पण गर्नुभएको आफ्नो त्रुटिरहित जीवनको मोल यहोवासामु चढाउनुभयो। (हिब्रू ९:२४) यसरी फिरौतीको मोल तिरिएकोले हामी सबैले पाप र मृत्युबाट मुक्‍ति पाउने सुअवसर पायौँ।—रोमी ३:२३, २४ पढ्‌नुहोस्‌।

फिरौतीको बलिदानले गर्दा सम्भव भएको लाभ

१४, १५. पापको क्षमा पाउन हामीले के गर्नुपर्छ?

१४ परमेश्‍वरले दिनुभएको सबैभन्दा अनमोल उपहार, फिरौतीको बलिदानले गर्दा हामीले अहिले पनि लाभ उठाइरहेका छौँ। त्यसोभए फिरौतीको बलिदानले गर्दा अहिले हामीले कस्तो लाभ उठाइरहेका छौँ अनि भविष्यमा कस्तो लाभ उठाउनेछौँ?

१५ पापको क्षमा पाउन सक्छौँ। हामी गल्ती गरिरहन्छौँ। हामी भन्‍न नहुने कुरा भन्छौँ वा गर्न नहुने काम गर्छौँ। (कलस्सी १:१३, १४) हामीले गल्ती गर्दा कसरी त्यसको क्षमा पाउन सक्छौँ? सबैभन्दा पहिला, आफूले गरेको गल्तीको लागि मनैदेखि पश्‍चात्ताप गर्नुपर्छ र नम्र हुँदै यहोवा परमेश्‍वरसित माफी माग्नुपर्छ। अनि उहाँसित माफी मागिसकेपछि क्षमा पाइएन कि भनेर चिन्ता गरिरहनु पर्दैन।—१ युहन्‍ना १:८, ९.

१६. सफा अन्तस्करणको लागि हामीले के गर्नुपर्छ?

१६ सफा अन्तस्करण कायम राख्न सक्छौँ। हामीले गल्ती गर्दा हाम्रो अन्तस्करण अर्थात्‌ मनभित्रको आवाजले हामीलाई दोषी ठहऱ्‍याउँछ। त्यस्तो बेला हामी निराश हुन सक्छौँ अथवा आफू निकै तल गिरिसकेको महसुस हुन सक्छ। तर हामीले हरेस खानु हुँदैन। हामीले यहोवा परमेश्‍वरलाई बिन्ती गरेर क्षमा माग्यौँ भने उहाँले हाम्रो पुकारा सुन्‍नुहुनेछ र क्षमा दिनुहुनेछ भनेर हामी ढुक्क हुन सक्छौँ। (हिब्रू ९:१३, १४) यहोवा हामीले आफ्नो सबै समस्या र कमजोरीहरूबारे उहाँलाई बताएको चाहनुहुन्छ। (हिब्रू ४:१४-१६) त्यसो गरेर हामी परमेश्‍वरसित नजिकको सम्बन्ध कायम राख्न सक्छौँ।

१७. येसुले हाम्रो लागि आफ्नो जीवन बलिदान गर्नुभएकोले हामीले कस्ता आशिष्‌हरू पाउन सक्छौँ?

१७ सधैँभरि बाँच्ने आशा पाउँछौँ। “पापले तिर्ने ज्याला मृत्यु हो तर परमेश्‍वरले दिनुहुने वरदान हाम्रा प्रभु ख्रिष्ट येसुमार्फत पाइने अनन्त जीवन हो।” (रोमी ६:२३) येसुले हाम्रो लागि आफ्नो जीवन बलिदान गर्नुभएकोले हामीले निरोगी अनि स्वस्थ भएर सधैँभरि बाँच्ने आशा पाएका छौँ। (प्रकाश २१:३, ४) तर यस्ता आशिष्‌हरू पाउन हामीले के गर्नुपर्छ?

फिरौतीको बलिदानको कदर गर्नुहोस्‌

१८. यहोवा परमेश्‍वर हामीलाई धेरै माया गर्नुहुन्छ भनेर हामी कसरी भन्‍न सक्छौँ?

१८ कसैले तपाईँलाई राम्रो उपहार दिँदा तपाईँलाई मनैदेखि धन्यवाद दिन मन लाग्छ नि, होइन र? फिरौतीको बलिदान हामीले पाउन सक्ने सबैभन्दा अनमोल उपहार हो। त्यसैले यस उपहारको लागि हामीले यहोवा परमेश्‍वरलाई मनैदेखि धन्यवाद दिनुपर्छ। बाइबलमा युहन्‍ना ३:१६ मा यसो भनिएको छ, “परमेश्‍वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो।” हो, यहोवा परमेश्‍वर हामीलाई धेरै माया गर्नुहुन्छ। त्यसैले त उहाँले हाम्रो लागि आफ्नो प्यारो छोरा येसु दिनुभयो। येसु पनि हामीलाई धेरै माया गर्नुहुन्छ किनभने हाम्रो लागि आफ्नो जीवन बलिदान गर्न उहाँ तयार हुनुभयो। (युहन्‍ना १५:१३) फिरौतीको बलिदानले यहोवा परमेश्‍वर अनि येसु ख्रिष्ट हामीलाई धेरै माया गर्नुहुन्छ भन्‍ने कुरा स्पष्ट पार्छ।—गलाती २:२०.

एउटी स्त्री बाइबल पढ्‌दै

यहोवा परमेश्‍वरबारे सिक्दै जाँदा हामी उहाँको साथी बन्‍नेछौँ र उहाँप्रतिको हाम्रो माया बढ्‌दै जानेछ

१९, २०. (क) तपाईँ कसरी यहोवा परमेश्‍वरको साथी बन्‍न सक्नुहुन्छ? (ख) फिरौतीको बलिदानमा विश्‍वास गर्छौँ भनेर हामी कसरी देखाउन सक्छौँ?

१९ परमेश्‍वर तपाईँलाई कत्ति धेरै माया गर्नुहुन्छ भनेर तपाईँले बुझ्नुभयो। त्यसोभए तपाईँ कसरी उहाँको साथी बन्‍न सक्नुहुन्छ? कहिल्यै नदेखेको व्यक्‍तिसित घनिष्ठ हुन अनि तिनलाई माया गर्न सजिलो छैन। हामी कसरी यहोवा परमेश्‍वरलाई चिन्‍न सक्छौँ, युहन्‍ना १७:३ मा बताइएको छ। तपाईँ परमेश्‍वरलाई जत्ति धेरै चिन्‍नुहुन्छ, उहाँप्रतिको तपाईँको माया उत्तिकै बढ्‌दै जानेछ। उहाँलाई मन पर्ने काम गर्ने चाहना पनि तपाईँमा बढ्‌दै जानेछ। यसरी तपाईँ उहाँको साथी बन्‍नुहुनेछ। त्यसैले बाइबल अध्ययन गरेर यहोवा परमेश्‍वरबारे सिक्न र उहाँलाई अझ राम्ररी चिन्‍न कोसिस गरिरहनुहोस्‌।—१ युहन्‍ना ५:३.

२० फिरौतीको बलिदानमा विश्‍वास गर्नुहोस्‌। बाइबल यसो भन्छ, “जसले छोरामाथि विश्‍वास गर्छ, उसले अनन्त जीवन पाउँछ।” (युहन्‍ना ३:३६) येसुमा विश्‍वास गर्नुको अर्थ के हो? उहाँले हामीलाई सिकाउनुभएको कुरा पालन गर्नु हो। (युहन्‍ना १३:१५) हामीले ‘म येसुमा विश्‍वास गर्छु’ भनेर मात्र पुग्दैन। फिरौतीको बलिदानमा विश्‍वास गर्छौँ भनेर हामीले आफ्नो कामबाट पनि देखाउनुपर्छ। याकुब २:२६ यसो भन्छ, “कामविनाको विश्‍वास पनि मरेको हुन्छ।”

२१, २२. (क) तपाईँ येसुको मृत्युको सम्झना गर्न मनाइने समारोहमा किन हरेक वर्ष उपस्थित हुनुपर्छ? (ख) अध्याय ६ र ७ मा हामी कुन कुरा सिक्नेछौँ?

२१ येसुको मृत्युको सम्झना गर्न मनाइने समारोहमा उपस्थित हुनुहोस्‌। येसुले आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो साँझ उहाँको मृत्युको सम्झना गर्ने आज्ञा दिनुभयो। हामी हरेक वर्ष यसो गर्छौँ। यसलाई स्मरणार्थ उत्सव अर्थात्‌ “प्रभुको साँझको भोज” भनिन्छ। (१ कोरिन्थी ११:२०; मत्ति २६:२६-२८) हामीलाई पाप र मृत्युबाट मुक्‍त गर्न उहाँले आफ्नो त्रुटिरहित जीवन अर्पण गर्नुभएको थियो भनेर हामीले सम्झेको उहाँ चाहनुहुन्छ। उहाँले यसो भन्‍नुभयो: “मेरो सम्झनामा यो गर्ने गर।” (लुका २२:१९ पढ्‌नुहोस्‌) स्मरणार्थ उत्सवमा उपस्थित भएर तपाईँले फिरौतीको बलिदानलाई र यहोवा परमेश्‍वर अनि येसुले देखाउनुभएको अपार मायालाई बिर्सनुभएको छैन भनेर देखाइरहनुभएको हुनेछ।—नोट १७ हेर्नुहोस्‌।

२२ हामीले पाउन सक्ने सबैभन्दा अनमोल उपहार फिरौतीको बलिदान हो। (२ कोरिन्थी ९:१४, १५) यो अनमोल उपहारले गर्दा मरिसकेका लाखौँ मानिसले समेत लाभ उठाउनेछन्‌। यसबारे हामी अध्याय ६ र ७ मा धेरै कुरा सिक्नेछौँ।

सारांश

एक: हामी सबैलाई फिरौतीको बलिदान चाहिन्छ

“मानिसको छोरा . . . धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन आयो।”—मत्ति २०:२८

हामीलाई किन फिरौतीको बलिदान चाहिन्छ?

  • उत्पत्ति ३:१७-१९

    आदमले परमेश्‍वरको आज्ञा पालन नगरेकोले तिनले परमेश्‍वरसितको विशेष मित्रता, त्रुटिरहित जीवन र बगैँचाजस्तो सुन्दर घर पनि गुमाए।

  • रोमी ५:१२

    आदमले गर्दा हामी जन्मजातै पाप र मृत्युको दास भयौँ।

  • एफिसी १:७

    फिरौतीको बलिदान मानिसजातिलाई पाप र मृत्युबाट मुक्‍ति दिने यहोवा परमेश्‍वरको माध्यम हो।

दुई: यहोवा परमेश्‍वरले फिरौतीको प्रबन्ध गर्नुभयो

“परमेश्‍वरले आफ्नो एक मात्र छोरा संसारमा पठाउनुभयो ताकि उहाँद्वारा हामीले जीवन पाउन सकौँ।”—१ युहन्‍ना ४:९

यहोवा परमेश्‍वरले कसरी फिरौतीको प्रबन्ध गर्नुभयो?

  • भजन ४९:७, ८

    आदमले गुमाएको त्रुटिरहित जीवनको मोल हामी कसैले पनि तिर्न सक्दैनथ्यौँ।

  • लुका १:३५

    यहोवा परमेश्‍वरले आफ्नो छोरालाई त्रुटिरहित मानिसको रूपमा जन्मन पृथ्वीमा पठाउनुभयो।

  • रोमी ३:२३, २४; हिब्रू ९:२४

    येसुलाई फेरि जीवित पारिएपछि उहाँ स्वर्गमा फर्कनुभयो र उहाँले आफ्नो त्रुटिरहित जीवनको मोल यहोवा परमेश्‍वरसामु चढाउनुभयो।

तीन: फिरौतीको बलिदानले गर्दा हामीले साँचो आशा पाएका छौँ

“उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ र मृत्यु हुनेछैन।”—प्रकाश २१:४

फिरौतीको बलिदानबाट हामी के-कस्तो लाभ उठाउन सक्छौँ?

  • १ युहन्‍ना १:८, ९

    पापको क्षमा पाउन सक्छौँ।

  • हिब्रू ९:१३, १४

    परमेश्‍वरसामु सफा अन्तस्करण कायम राख्न सक्छौँ।

  • रोमी ६:२३

    सधैँभरि बाँच्ने आशा पाउँछौँ।

  • गलाती २:२०

    फिरौतीको बलिदानको उपहारबाट यहोवा परमेश्‍वर र येसु हामीलाई साँच्चै माया गर्नुहुन्छ भनेर प्रस्ट हुन्छ।

चार: हामीले फिरौतीको बलिदानको कदर गर्नुपर्छ

“परमेश्‍वरले . . . आफ्नो एक मात्र छोरा दिनुभयो ताकि ऊमाथि विश्‍वास गर्ने[ले] . . . अनन्त जीवन पाओस्‌।”—युहन्‍ना ३:१६

फिरौतीको बलिदानको कदर गरेको कुरा हामी कसरी देखाउन सक्छौँ?

  • युहन्‍ना १७:३

    यहोवा परमेश्‍वर र येसुलाई चिन्‍नुहोस्‌ र उहाँहरूको देखासिकी गर्नुहोस्‌।

  • लुका २२:१९

    हरेक वर्ष येसुको मृत्युको सम्झनामा मनाइने समारोहमा उपस्थित हुनुहोस्‌।

  • युहन्‍ना ३:३६; याकुब २:२६

    ‘म येसुमा विश्‍वास गर्छु’ मात्र नभन्‍नुहोस्‌। उहाँले सिकाउनुभएअनुसार गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने