चेला बनाउनुहोस्
पाठ ११
सरल तरिकामा सिकाउनुहोस्
सिद्धान्त: “सजिलै बुझ्न नसकिने बोली बोल्यो भने के बोलेको हो, कसरी थाह पाउने?”—१ कोरि. १४:९.
येसुले के गर्नुभयो?
१. भिडियो हेर्नुहोस् वा मत्ति ६:२५-२७ पढ्नुहोस्। त्यसपछि यी प्रश्नहरू विचार गर्नुहोस्:
क. यहोवा हाम्रो ख्याल राख्नुहुन्छ भनेर बुझाउन येसुले कुन उदाहरण चलाउनुभयो?
ख. येसुलाई चराहरूबारे थुप्रै कुरा थाह भए तापनि उहाँले चराको कुन साधारण पक्षबारे बताउनुभयो? यो तरिका किन प्रभावकारी थियो?
हामी येसुबाट के सिक्न सक्छौँ?
२. सरल तरिकामा सिकाउँदा विद्यार्थीको मन छुनेछ र तिनले सिकेको कुरा सम्झिरहनेछन्।
येसुको अनुकरण गर्नुहोस्
३. धेरै नबोल्नुहोस्। कुनै विषयबारे आफूलाई थाह भएको सबै कुरा बताउनुको सट्टा अध्ययन सामग्रीको विषयवस्तुमा जोड दिनुहोस्। प्रश्न सोधेपछि धीरजी भई विद्यार्थीको जवाफ पर्खनुहोस्। तिनले प्रश्नको जवाफ दिन सकेनन् वा बाइबलको शिक्षासित मेल नखाने विचार व्यक्त गरे भने थप प्रश्नहरू सोधेर तिनलाई सही निष्कर्षमा पुग्न मदत दिनुहोस्। विद्यार्थीले मुख्य कुरा बुझेपछि अध्ययन अघि बढाउनुहोस्।
४. विद्यार्थीलाई पहिल्यै थाह भएको र अहिले सिकिरहेको कुराबीचको सम्बन्ध बुझ्न मदत दिनुहोस्। उदाहरणको लागि, फेरि जीवित हुने आशाबारे चर्चा गरिएको पाठ सुरु गर्नुअघि विद्यार्थीलाई मृतकहरूको अवस्थाबारे के थाह छ भनेर छोटकरीमा छलफल गर्न सक्नुहुन्छ।
५. सोचविचार गरेर उदाहरण चलाउनुहोस्। उदाहरण चलाउनुअघि आफैलाई यी प्रश्नहरू सोध्नुहोस्:
क. ‘के यो उदाहरण सरल छ?’
ख. ‘के मेरो विद्यार्थीले यो उदाहरण सजिलै बुझ्नेछन्?’
ग. ‘के मेरो विद्यार्थीले उदाहरण मात्र नभई यसले प्रस्ट पार्न खोजेको बुँदा पनि सम्झिनेछन्?’