सल्लाह माँग्न तपाईं कहाँ जानु हुन्छ?
तपाईंलाई कुनै बेला, कसैले नक्कली मुद्रा दिएकोछ? छैन होला। तर, यस प्रकारको मुद्राको प्रसारण भइरहेकोछ भनेर कसैले भन्यो भने, तपाईंको कस्तो प्रतिकृया हुनेछ? के तपाईं रिसाउनु हुनेछ? कदापि होइन। सम्भवत:, बरू तपाईं कृतज्ञ हुनु होला। किनकि, मेहनत गरेर कमाउनु भएको सक्कली मुद्राको ठाउँमा नक्कली मुद्रा तपाईंको हात नपरोस भनेर तपाईंलाई कसैले सतर्क गरायो।
हामी मध्ये धेरैजसोले समय समयमा सल्लाह अथवा चेतावनीहरू पाई रहन्छौं। हुनत हो, केही चेतावनीहरू अरू भन्दा विशेष लाभदायक हुन्छन्। यद्दपि, हामीलाई दिइएको केही सल्लाह र सुझावहरू हाम्रालागि ब्यक्तिगत रूपमा कुनै महत्वको नदेखिएता पनि, सल्लाह दिइएकोमा रिसाउने कुनै कारण छ र?
हो, हामी प्रत्येकलाई समय-समयमा मदद र सल्लाहको खाँचो पर्दछ। कसै सँग पनि सबै प्रश्नहरूको उत्तर छैन। आर्थिक र राजनीतिक अनिश्चितताले घेरिएको समयमा भविष्यका लागि ठोस आशाको आधार हामी सबैलाई चाहिन्छ। आजको यस संसारमा, जहाँ आधा जसो विवाहहरू सम्बन्ध विच्छेदमा टुङ्गिन्छन्, जता-ततै नाबालिगहरू गर्भवती हुन्छन्, र लैंगिक सम्बन्धी रोगहरू तीव्रता साथ बढदो छ, गम्भीर र व्यावहारिक निर्देशन अत्यावश्यक छ। यस्तो अस्त-व्यस्तताको समयमा, आफ्ना छोरा-छोरीहरू हुर्काउने सर्वोत्तम बाटो निश्चित गर्नका लागि आमा-बाबुहरूलाई मददको खाँचो छ। मानसिक आवेगको अन्तर्द्वन्द र असह्य चापमा परेका नाबालिगहरूलाई मददको आवश्यकता छ। बेइमानी, अनैतिकता र हिंसा जस्ता कुरालाई बढदो मान्यता दिने यस संसारमा हामी प्रत्येकलाई व्यावहारिक र नैतिक मूल्यहरू स्थापित गर्न सहायता चाहिएको छ।
यस प्रकारको सहायता कहाँ पाउन सकिन्छ? जीवन सम्बन्धी सबैभन्दा असल सल्लाहको स्रोत परमेश्वरको प्रेरित वचन बाइबल हो। प्राचीन भजन-संग्रहका लेखकले यस प्रकार लेखेकाछन्: “तपाईंको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो छ।” (भजनसंग्रह ११९:१०५) परमेश्वरको वचन अध्ययन गरेर त्यसलाई प्रयोगमा ल्याएकाहरूले आफूलाई आजका धेरैजसो भड़खालहरू बाट जोगाएका छन्। त्यो एउटा कारण हो कि आज यहोवाका साक्षीहरू आफ्ना छिमेकीहरूलाई भेटेर बाइबल छलफलगर्नमा प्रत्येक वर्ष लाखौं घण्टा बिताउछन्। तापनि, धेरै मानिसहरूले सुन्दैनन् र कोही त रिसाँउछन पनि। यो किन?
बन्द चित्तहरू—किन?
हो, धेरै मानिसहरू सल्लाह पाउन, विशेषगरी धर्म सम्बन्धी विषयमा, रूचाउदैनन्। एक जना अंग्रेज धर्मगुरुले यस्तो विलौना गरेकाछन्: “प्रत्येकको आफ्नै विचारहरू छन् र ती विचारहरूलाई धर्मगुरुको विचार सरहनै राम्रो ठान्दछन।” त्यसकारण, आफ्नो ढोकामा आएका अपरिचित व्यक्तिहरूलाई सुन्न नचाहनु कुनै आश्चर्यको कुरा होइन।
हामीहरू एउटा सन्देहवादी युगमा बसेको भएता पनि, आ-आफ्नो धर्म संस्था सँग धेरैको अझपनि गहिरो भावनात्मक सम्बन्ध छँदैछ। एउटा विश्वकोषले लेखे झैं, “धर्म मानिसहरूको गहिरो भावनाहरू सँग गाँसिएको हुन्छ।” यस प्रकारका मानिसहरू, आफ्नै समस्याहरूको समाधान बारे छलफल गर्नु परेको भएतापनि अर्को धर्मका मानिस सँग बाइबलको विषयमा कुरा गर्न चाहदैनन्।
कोही चाँही धर्ममा अनेक प्रकारका भ्रष्टाचार र कपट देखेको हुनाकारण, बाइबलको विषयमा कुरा गर्न रुचाउदैनन्। कुनै कुनै धर्म-गुरुहरूले अनैतिकताको समर्थन गरेको र टेलिभिजनमा देखापर्ने धेरै धर्म-प्रचारकहरूको निर्लज्ज लोभ देखेर तिनीहरू अप्रसन्न छन्। राजनीतिक द्वन्दमा पनि धर्मगुरूहरूले एक पक्षको समर्थन र अर्कोको विरोध गरेर आफ्नो अधिकारको दुरुपयोग गरेको देखेर पनि तिनीहरू अझ दिक्क भएका छन्। तिनीहरूको दृष्टिमा, धर्मले समस्याहरूको समाधान गर्नुको सट्टा अझ समस्या बढ़ाएको छ।
यिनीहरूले जुन समस्याहरू बारे असन्तोष व्यक्त गरेका छन्, ती समस्याहरू वास्तविक हुन्। धार्मिक दृष्टिकोणले भन्ने हो भने, थुप्रा “नक्कली मुद्राहरू” प्रचलनमा छन्। तर यस परिस्थितिले गर्दा, बाइबलको बहुमूल्य मदद अस्वीकार गर्नु, नक्कली मुद्रा प्रचलनमा छ भन्दै सक्कली मुद्रा पनि अस्वीकार गरे झैं हुनेछ।
अघिनै उल्लेख गरे अनुसार, अनेक प्रकारको अफ्ठ्यारो चयनहरू गर्नु पर्ने, र खतरनाक परिस्थितिहरू भएको यस संसारमा हामी सबैलाई सल्लाहको आवश्यक्ता छ। सल्लाह स्वीकार्ने सम्बन्धमा निपुण निर्देशन प्राप्त गर्ने के कुनै उपाय छ र? भिन्न र्धमको मानिस सँग बाइबलको विषयमा कुरा गर्न के अनावश्यक अथवा गलत हो र? खुल्ला मन राखेर, असल सल्लाह स्वीकार्नु र नक्कली सल्लाह द्वारा भ्रममा नपर्नु, के सम्भव छ र? यस विषयमा बाइबलले के भन्दछ? (w89 8/1)