मोआबी शिला नाश भयो तर हराएन
मोआबी अथवा मेशाको शिलाको आविष्कार १८६८ मा भएको एक वर्ष भित्रै, त्यसलाई जाना-जानी टुक्रा-टुक्रा पारियो। त्यो शिला कमतिमा पनि ३,००० वर्ष पुरानो थियो। यो टुप्पोमा गोलाई भएको, कालो रङ्गको आग्नेय चट्टानको टुक्रा, उँचाइमा करिब चार फीट, चौडाइमा दुई फीट र मोटाइमा पनि दुई फीट थियो। यसलाई टुक्रा टुक्रा पारि सकेको थोरै समय पश्चात्, यसका २ वटा ठूला-ठूला र १८ वटा साना-साना टुक्राहरू फेला पर्यो तर शिलाको एक तिहाइ कहिले फेला नपर्ने गरी हरायो।
यस प्रकारको एउटा असाधारण कारिगरीको सामान कसरी सधैंको निम्ति हरायो? र बाइबलका विद्यार्थीहरूका लागि यो कतिको महत्वपूर्ण छ?
षड़यन्त्र र अविश्वास
यो शिलालाई यसको सम्पूर्ण र नटुक्रिएको रूपमा देख्ने प्रथम र अन्तिम युरोपीय मानिस, एफ. ए. क्लाइन थिए। डेड सीको उत्तर-पूर्व पट्टि, डिबोनका खण्डहरहरूको माझमा, यो शिला पड़ी रहेको थियो। क्लाइनले यरूशलेम फर्कने बेलामा, यो ३५ पंक्ती शिलालेखका केही भागहरूका साना साना नक्सा कागतमा कोरेर ल्याए र त्यसलाई आफ्ना जर्मन हाकिमलाई दिए। तुरन्तै यो फिनिसि लेखाइ हो भनी थाह लगाइयो र त्यसको महत्व पनि बुझियो। बर्लीनको शाही संग्राहलय त्यो शिला किन्न तैयार भयो र यसका लागि दाम पनि तोकियो। तर चाँड़ै नै चासो लिने अरू व्यक्तिहरू पनि अघि सरे। यो शिलाको मूल्य निकै रहेछ भनी थाह पाए पछि, गाउँका स्थानीय अरबी हाकिमहरूले त्यो ढुङ्गालाई लुकाइ दिए र त्यसको निम्ति अचाक्ली दाम माग्न थाले।
एक जना फ्रान्सीसी पुरातत्वज्ञले भिजेको कागतमा त्यस शिलालेखको छाप प्राप्त गर्न सके, तर त्यो कागत शिलामा सुक्नु भन्दा अघि नै हतार पतार तानेर ल्याउनु परेकोले, त्यसमा आएको छाप धेरै नै अस्पष्ट भयो। प्राय यसै समयमा, त्यो शिला सरकारलाई दिने आदेश दमिश्कबाट आयो। तर त्यहाँका गाउँलेहरूले चाहिं यो शिला नष्ट पारि दिने फैसला गरे। तिनीहरूले यो बहुमूल्य स्मारकको वरिपरि आगो सल्काए र बारम्बार त्यस शिलामाथि पानी छम्के। शिला जब टुक्रिन थाल्यो, तिनीहरूले त्यसका टुक्राहरू चाँड़-चाँड़ो स्थानीय परिवारहरूका भकारीहरूमा राख्न बाँड़ि दिए। यसो गरेमा, तिनीहरूका अन्न-बालीमाथि आशिष आउँछ भनी तिनीहरूले ठाने। साथै, यी टुक्राहरूको बिक्री तिनीहरूले व्यक्तिगत रूपमा गर्ने मौका पाए।
बाइबलको इतिहास जीवित हुन्छ
किनिएका टुक्राहरूलाई प्लास्टरका ढलौट र कागतमा छापिएका आकृतिहरूले गाँसदै, त्यो शिलालेखको अन्तत्वगत्वा पुनःनिर्माण भयो। त्यो शिलालेख सम्पूर्ण रूपमा प्रकाशित हुँदा, विद्वानहरू छक्क परे। त्यस बेला, यो प्राचीन ढुङ्गाको पाटी “आजसम्म आविष्कार भएका सबै पत्थरका स्मारकहरू मध्य सबै भन्दा असाधारण” कहलियो।
मोआबका राजा मेशाले उनको देवता केमोशको निम्ति यो मोआबी शिला खड़ा गरेका थिए। तिनको भनाइ अनुसार, इस्राएलीहरूको शासन अन्त भएको खुसियालीमा यो शिला खड़ा गरिएको थियो र तिनका देवता केमोश “तिनको देशसँग रिसाएको” हुनाकारण, तिनी इस्राएलीहरूको अधीनमा ४० वर्षसम्म बस्न पर्यो। मोआबको यो विद्रोह अकसर बाइबलको २ राजाहरूको पुस्तकको तेस्रो अध्यायमा पाइने घटनाहरूसँग सम्बन्धित् छ भनी मान्दै आएका छन्। शिलालेखमा मेशाले आफू खूबै धर्मी हुने धाक लाउनु बाहेक, शहरहरू र एउटा राजमार्गको निमार्ण गरेको दाबी गर्दछन् र इस्राएलमाथि विजय प्राप्त गरेको चर्चा पनि गरिएको छ। यी सबैका लागि तिनले आफ्नो देवता केमोशलाई श्रेय दिन्छन्। तर बाइबलमा उल्लेखित्, मेशाको हार र उनको आफ्नै पुत्रको बलिदान बारे चाहिं, आशा गरिए अनुसार, आफ्नो जयजयकार गर्नको निम्ति बनाइएको यो शिलालेखमा केही चर्चा छैन।
यो शिलालेखमा उल्लेखित्, मेशाले आफ्नो कब्जामा पारेका ठाउँहरूका नाउँ बाइबलमा पनि पाइन्छ। उदाहरणका लागि, मिडिबा, आटारोथ, निबो र जाहाज। यस प्रकार यो शिलाले बाइबलमा लेखिएका घटनाहरूलाई समर्थन गर्दछ। तर एउटा विशेष कुरा के हो भने, मेशाले इस्राएलका परमेश्वरको नाउँ अर्थात ती चार अक्षरहरूको प्रयोग, त्यो लेखको १८ वाँ पंक्तीमा गरेको पाँउदछौं। त्यहाँ मेशा भन्छ: “मैले त्यहाँबाट [नेबो] याहवेहका [भाँड़ा-कुड़ाहरू] लगें, तिनीहरूलाई केमोशको सामुन्ने घसार्दै लगें।” बाइबलमा बाहेक, त्यो ईश्वरीय नाउँको सबै भन्दा पुरानो प्रयोग यही नै हुन सक्छ।
१८७३ मा मोआबी शिलाको पुनःनिर्माण भयो। त्यसका हराएका भागहरूको ठाउँमा, प्लास्टरका ढलौटहरूमा हराएका शब्दहरू लेखेर त्यहाँ गाँसी दिइयो। र पछि, त्यसलाई पेरीसको लुव्र संग्राहलयमा राखियो र आजसम्म त्यो त्यहीं नै छ। त्यसको एउटा नकल चाहिं लन्डनको ब्रिटिश संग्रहालयमा पनि देख्न सकिन्छ। (w90 4/15)
[पृष्ठ २७-मा भएको चित्र]
(माथि) मोआबको देश
(देब्रे) पुनःनिर्माण गरिएको मोआबी शिला
(दाहिने) यो पुरातात्त्विक लेखमा ईश्वरको नाउँ देखा परेको