ज्योति अनि प्रेममा हिंडिरह
प्रथम यूहन्नाका विवरणिका
यहोवा ज्योति अनि प्रेमको स्रोत हुनुहुन्छ। आध्यात्मिक ज्योतिको निम्ति हामीहरूले परमेश्वरतर्फ हेर्नुपर्छ। (भजनसंग्रह ४३:३) अनि उहाँको पवित्र आत्माको फलहरू मध्य प्रेम एउटा फल हो।—गलाती ५:२२, २३.
यूहन्नाको प्रथम प्रेरित पत्रमा, ज्योति, प्रेम अनि अन्य विषयहरूको छलफल गरिएको छ। यो पत्र लगभग सा. यु. ९८ मा, एफिससमा अथवा एफिसस नजिकबाट लेखिएको थियो। मसीहीहरूलाई धर्मत्यागबाट बचाउन र तिनीहरूलाई ज्योतिमा हिंडिरहने सहायता दिन, यो पत्र लेख्नुको एउटा मुख्य उद्देश्य थियो। प्रेम, विश्वास अनि सत्यप्रति हाम्रो समग्रताको विरूद्धमा हामीले चुनौतीहरूको सामना गरिरहनु परेको हुनाकारण, यो पत्रको मनन गर्न हामीहरूका लागि लाभदायक हुनेछ।
“ज्योतिमा हिंड”
यूहन्नाले स्पष्ट गरे कि विश्वासी मसीहीहरू आध्यात्मिक ज्योतिमा हिंडनुपर्छ। (१:१–२:२९) उनले भने: “परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा कत्ति पनि अँध्यारो (कुनै खराबी, अनैतिकता, असत्यता, अपवित्रता) छैन।” आत्माद्वारा अभिषिक्त मसीहीहरू “ज्योतिमा हिंड्छन्”, यसकारण परमेश्वर, ख्रीष्ट अनि एक-अर्कासँग तिनीहरूको “सङ्गति” हुन्छ। साथै तिनीहरू येशूको रगतद्वारा पापबाट पखालिएका छन्।
हामी चाहे स्वर्गीय आशा भएका अभिषिक्त मसीहीहरू हौं, या पृथ्वीमा अनन्त जीवनको आशा हुनेहरू हौं, येशूको बलिदानबाट लाभ उठाइराख्न तब मात्र सम्भव छ जब हामीहरू यस संसारलाई प्रेम गर्नुको सट्टा, आफ्ना भाइहरूलाई प्रेम गर्दछौं। पिता अनि पुत्र दुवैलाई अस्वीकार गर्ने “ख्रीष्ट विरोधी” जस्ता धर्मत्यागीहरूको प्रभावबाट पनि हामी बाँच्नु पर्दछ। सत्यलाई समातिराख्ने र धार्मिकता अनुसार हिंडनेहरूले मात्र अनन्त जीवनको आनन्द उठाउन पाउनेछन् भनेर हामीले कहिले पनि बिर्सनु भएन।
परमेश्वरका सन्तानहरूले प्रेम प्रकट गर्छन्
यस पछि यूहन्नाले परमेश्वरका सन्तानहरूलाई चिनाउनु हुन्छ। (३:१–४:२१) तिनीहरू धार्मिकताका कामहरू गर्छन्। ‘उहाँको पुत्र, येशू ख्रीष्टको नाउँमा विश्वास गर्न र एक-अर्कालाई प्रेम गर्न’ भनेर यहोवा परमेश्वरले दिनु भएको आदेश तिनीहरू पालन गर्दछन्।
“परमेश्वरको ज्ञान” हुने व्यक्तिलाई यहोवाका उद्देश्यहरू र उहाँको प्रेम प्रकट हुने गतिविधिबारे जानकारी हुन्छ। यसबाट त्यो व्यक्तिले प्रेम प्रकट गर्ने मदद पाउन सक्नेछ। तर “प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ।” परमेश्वरले “हाम्रा पापको प्रायश्चित हुनलाई उहाँको पुत्र” पठाउनु हुँदा, ईश्वरीय प्रेमको प्रदर्शन भयो। यहोवाले हामीलाई त्यहाँ सम्म प्रेम गर्नु भएको छ भने, हामीहरूले पनि एक-अर्कालाई प्रेम गर्नै पर्छ। हो, परमेश्वरलाई प्रेम गर्ने दावा गर्ने मानिसले आफ्नो आध्यात्मिक भाइलाई पनि प्रेम गरेको हुनु पर्दछ।
विश्वासले “संसारमाथि विजय गर्दछ”
प्रेमले परमेश्वरका सन्तानलाई उहाँका आज्ञा पालन गर्ने प्रेरणा दिन्छ तर विश्वास द्वारा तिनीहरूले संसारमाथि विजय गर्छन्। (५:१-२१) परमेश्वरमा, उहाँको वचनमा, अनि उहाँको पुत्रमा भएको हाम्रो विश्वासले हामीलाई “संसारमाथि विजयी” हुन र यसको गलत सोंच-विचार र गतिविधि अस्वीकार गर्दै यहोवाका आज्ञाहरू पालन गर्ने बल दिन्छ। संसारमाथि ‘विजय गर्नेहरूलाई’ परमेश्वरले अनन्त जीवनको आशा दिनु भएकोछ अनि उहाँको इच्छा बमोजिम गर्नेहरूको प्रार्थना उहाँ सुन्नुहुन्छ। “परमेश्वरबाट उत्पन्न” भएको कसैले पनि पाप गर्ने बानी बसाल्दैन र यस प्रकारको व्यक्तिलाई शैतानले आफ्नो अधीनमा राख्न सक्तैन। तर यहोवाका दुवै अभिषिक्त जनहरू र पार्थिव आशाहुने यहोवाका दासहरूले याद राख्नु पर्दछ कि “सारा संसार त्यस दुष्टको अधीनमा छ।” (w91 4/15)
[पृष्ठ ३०-मा भएको पेटी/चित्र]
प्रायश्चितको बलिदान: येशू “हाम्रा पापको निम्ति (उहाँका अभिषिक्त जनहरूको) प्रायश्चित हुनुहुन्छ। औ हाम्रो निम्ति मात्र होइन, तर सबै संसारको निम्ति पनि हो,” अर्थात बाँकी मानव जातिको निम्ति पनि। (१ यूहन्ना २:२) उहाँको मृत्यु एउटा “प्रायश्चित” थियो। (यहाँ युनानी शब्द हि-ला-स्मोस प्रयोग गरिएको छ, जसको अर्थ हो “शान्त पार्ने उपाय” अथवा एउटा प्रायश्चित)। तर यसको अर्थ परमेश्वरको मनमा परेको चोटलाई शान्त पारेको होइन। बरू, येशूको बलिदानले सिद्ध ईश्वरीय न्यायको मागलाई शान्त वा पूरा गरिदियो। कसरी? पाप क्षमा गर्ने धार्मिकता र न्यायपूर्ण आधार प्रस्तुत गरेर। यसले गर्दा, “येशूमाथि विश्वास राख्ने [पापी] मानिसलाई धर्मी ठहराउनु हुँदा, परमेश्वर न्यायी” ठहरिनु हुने भयो। (रोमी ३:२३-२६; ५:१२) येशूको बलिदानले मानिसको पापको निम्ति सम्पूर्ण प्रायश्चित प्रस्तुत गर्दै, यहोवासँग मानवजातिले राम्रो सम्बन्ध राख्न खोज्न र यस प्रकारको सम्बन्ध कायम राख्न सम्भव अथवा ग्रहणयोग्य पारि दियो। (एफिसी १:७; हिब्रू २:१७) यसका लागि हामीहरू सबै कति कृतज्ञ हुनु पर्छ!