यहोवाले हाम्रो गुहार सुन्नु हुन्छ
मद्दतको ठूलो खाँचो थियो। यो कुरा, राजालाई दाखमद्य टक्राउने व्यक्तिको अनुहारमा देखिने घोर चिन्ताबाट प्रष्ट देखिन्थ्यो। के भयो भनेर प्रश्न गर्दा, दाखमद्य टक्राउनेले यरूशलेम र त्यस्का पर्खालहरू भताभुङ्ग भएको अवस्थाबारे आफ्नो मनको पीर व्यक्त गरे। त्यस पछि यो प्रश्न गरियो: ‘मबाट तिमी के चाहन्छौ?’ “मैले स्वर्गका परमेश्वरलाई प्रार्थना गरें,” भनेर दाखमद्य टक्राउने नहेम्याहले पछि लेखे। यहोवाका मद्दतका लागि चाँड़-चाँड़ो र मनै-मन गरिएको त्यो एउटा अत्यावश्यक बिन्ती थियो। त्यसको परिणाम के भयो? फारसी राजा आर्टाजर्जेसले तुरुन्तै नहेम्याहलाई यरूशलेमका पर्खालहरूको निर्माण गर्ने अधिकार दिए!—नहेम्याह २:१-६.
हो, परमेश्वरलाई प्रेम गर्नेहरूले अत्यन्त खाँचोमा पर्दा गरेका बिन्तीहरू उहाँले सुन्नु हुन्छ। (भजनसंग्रह ६५:२) यसकारण, कुनै परीक्षा तपाईंले सहन नसक्ने जस्तो लागेमा, भजनसंग्रह ७० मा भजनसंग्रहका लेखक, दाऊदले, आफूलाई तुरुन्तै ईश्वरीय मद्दत चाहिएको बेलामा प्रार्थना गरे झैं, तपाईंले पनि गर्न सक्नु हुन्छ। यस भजनको शुरूमा लेखिएको शीर्षकबाट यो बुझिन्छ कि यसको उद्देश्य “सम्झना गराउनु” रहेछ। सानु-तिनु परिवर्तनहरूका साथ, भजन ४०:१३-१७ यसमा दोहोरिएको छ। तर ७० वाँ भजनबाट हामी यहोवाका मानिसहरूले कसरी मद्दत पाउन सक्तछौं?
तत्कालीन छुटकाराका लागि बिन्ती
दाऊदले यो बिन्तीसाथ भजन शुरू गर्छन्: “हे परमेश्वर, मलाई झट्टै छुटाउनुहोस्, हे परमप्रभु [यहोवा, न्यु. व.] मलाई सहायता गर्नलाई आत्तुरी गर्नुहोस्।” (भजनसंग्रह ७०:१) आपत् परेको बेलामा, परमेश्वरले चाँड़ै हामीलाई मद्दत दिऊन् भनेर प्रार्थना गर्न सक्तछौं। यहोवाले खराब कुराहरू द्वारा हाम्रो परीक्षा गर्नु हुँदैन र “भक्तहरूलाई परीक्षाबाट बचाउन” उहाँ जान्नु हुन्छ। (२ पत्रुस २:९; याकूब १:१३) तर सम्भवतः हामीलाई केही कुरा सिकाउनका लागि, उहाँले कुनै परीक्षा रही रहन दिनु भयो भने, के गर्ने? त्यस्तो भएमा, हामीले त्यसको सामना गर्ने बुद्धि उहाँबाट माँग्न सक्तछौं। विश्वासका साथ माँग्यौं भने, उहाँले हामीलाई बुद्धि दिनु हुन्छ। (याकूब १:५-८) परमेश्वरले हामीलाई हाम्रा परीक्षाहरूमा धैर्य धारण गर्ने बल पनि दिनु हुन्छ। उदाहरणका लागि, उहाँले हामीलाई ‘बिरामी अवस्थामा पलङ्गमै सह्माल्नुहुन्छ।’—भजनसंग्रह ४१:१-३; हिब्रू १०:३६.
हामीमा भएको अन्तर्निहित पाप, साथै यहोवासँगको हाम्रो सम्बन्ध तोड़ने शैतानको प्रयास र बारम्बार हाम्रो सामुन्ने आइ रहने परीक्षाहरूको कारण, हामीले प्रत्येक दिन परमेश्वरसँग मद्दतको निम्ति प्रार्थना गर्नु पर्दछ। (भजनसंग्रह ५१:१-५; रोमी ५:१२; १२:१२) येशूको आदर्श प्रार्थनाका यी शब्दहरू स्मरणीय छन्: “हामीलाई परीक्षामा नल्याउनुहोस्, तर दुष्टबाट छुटाउनुहोस्।” (मत्ती ६:१३) हो, उहाँको आज्ञा उल्लङ्घन गर्ने परीक्षाको सामुन्ने हामी झुक्नु न परोस् र “दुष्ट” शैतानले हामीलाई ठग्न न पाओस् भनेर हामी परमेश्वरसँग माँग गर्न सक्तछौं। तर छुटकाराका लागि गुहारनुका साथै, सितैंमा हामीलाई परीक्षा र शैतानका जालहरूको सामना गराउने परिस्थितिहरूबाट अलग रहने कदमहरू पनि हामीले चाल्नु पर्दछ।—२ कोरिन्थी २:११.
“आहा!” भन्नेहरू
हाम्रो विश्वासको खातिर दुश्मनहरूले हामीमाथि लगाएको दोषको कारण, हाम्रो धैर्यको चरम सीमासम्म जाँच होला। तपाईंलाई त्यस्तो भएमा, दाऊदका यी शब्दहरूमाथि मनन गर्नु होस्: “मेरो प्राण लिन खोज्नेहरू शर्माऊन् र अँध्यारो मुख लाऊन्, मेरो हानि गर्न खोज्नेहरू पछि हटेर बेइज्जतीमा परून्। मलाई आहा! आहा! भन्नेहरू आफ्ना शर्ममा परेर पछि हटून्।” (भजनसंग्रह ७०:२, ३) दाऊदका दुश्मनहरूले तिनी मरेको देख्न चाहन्थे; तिनीहरू ‘तिनको प्राण’ अथवा जीवन लिन चाहन्थे। तथापि, बदला लिनुको सट्टा, परमेश्वरले नै तिनीहरूलाई शर्ममा पार्नु हुनेछ भनी तिनले विश्वास प्रकट गरे। तिनका शत्रुहरू “शर्माऊन् र अँध्यारो मुख लाऊन्”—तिनीहरूका दुष्ट षड्यन्त्रहरू पूरा गर्ने कोशिश गर्दा, तिनीहरू लज्जित्, अलमल्ल, जिल्ल र विफल होउन् भनी दाऊदले प्रार्थना गरे। हो, तिनलाई हानि पुर्याउन चाहने र तिनको विपत्तिमा आनन्द लिनेहरू अन्योलमा परून् र अपमान अनुभव गरून्।
एउटा शत्रुमाथि विपत्ति आईपर्दा, हामी मनमा ईख राखेर रमाएका छौं भने, हामीले यहोवालाई हाम्रो पापको लेखा दिनु पर्ने छ। (हितोपदेश १७:५; २४:१७, १८) तथापि, शत्रुहरूले परमेश्वर र उहाँका मानिसहरूको निन्दा गर्दा, यहोवाले आफ्नो पवित्र नाउँको खातिर, जुन मानिसहरूको सामुन्ने ती शत्रुहरूले मान खोजेका थिए, तिनै मानिसहरूका सामुन्ने यहोवाले तिनीहरूलाई ‘पछि हटाउनु भएर बेइज्जतीमा पारून्’ भनी हामी प्रार्थना गर्न सक्तछौं। (भजनसंग्रह १०६:८) बदला लिने काम परमेश्वरको हो र उहाँले उहाँका र हाम्रा शत्रुहरू, दुवैलाई अलमल्लमा पार्न र होच्याउन सक्नु हुन्छ। (व्यवस्था ३२:३५) उदाहरणका लागि, नाट्सी नेता, एडोल्फ हिट्लरले जमर्नीमा यहोवाका साक्षीहरूलाई खतम पार्न खोजेका थिए। तर तिनी कति नराम्रोसँग विफल भए किनभने आज त्यहीं नै हजारौंले राज्यको सन्देश घोषणा गरिरहेकाछन्!
खिसीपूर्ण अवहेलना गर्दै, हाम्रा शत्रुहरूले “आहा! आहा!” गर्लान्। तिनीहरूले परमेश्वर र उहाँका जनहरूको ठट्टा गरेको हुनाकारण, तिनीहरू “आफ्ना शर्ममा परेर पछि हटून्,” र अपमान भोगून्। यस्तो होस् भनेर प्रार्थना गर्दा, हामी आफ्नो समग्रता कायम राखौं र यहोवाको हृदयलाई आनन्दित तुल्याऔं जसबाट, उहाँले शैतान र उहाँको निन्दा गर्ने सबैलाई जवाफ दिन सक्नु हुनेछ। (हितोपदेश २७:११) र हामी कहिले पनि आफ्ना अहङ्कारी शत्रुहरूसँग भयभीत हुनु हुँदैन किनभने “परमप्रभुमा [यहोवामा, न्यु. व.] भरोसा गर्ने मानिस सुरक्षित रहन्छ।” (हितोपदेश २९:२५) बाबेलका अहङ्कारी राजा नबूकदनेसरले परमेश्वरका जनहरूलाई कैदमा लगेका थिए तर तिनले अपमान भोग्नु पर्यो र ‘स्वर्गका राजाले अहङ्कारीलाई खसाल्न’ सक्नु हुँदो रहेछ भनी तिनी स्वीकार्न बाध्य भए।—दानियल ४:३७.
“परमेश्वरकै बढाइँ होस्!”
शत्रुहरूले हामीलाई दुःख दिएता पनि, हामी सधैं आफ्ना सङ्गी-उपासकहरूसँग मिलेर यहोवाको जयजयकार गरौं। परमेश्वरको बढ़ाइँ गर्न न सक्ने गरी आपत-विपतमा आफू ग्रस्त हुनुको सट्टा, दाऊदले भने: “तपाईंलाई खोज्नेहरू सबै तपाईंमा खुशी होऊन् र रमाऊन्, तपाईंबाट हुने मुक्तिलाई प्रेम गर्नेहरूले निरन्तर भनून्, “परमेश्वरकै बढाइँ होस्।” (भजनसंग्रह ७०:४) यहोवाका मानिसहरू निरन्तर खुशी मनाइरहन्छन् किनभने तिनीहरू उहाँमै “खुशी . . . [हुन्छन्] र रमाउँछन्।” उहाँका समर्पित र बप्तिस्मा लिएका साक्षीहरू हुनाकारण, उहाँसँगको घनिष्ठ सम्बन्धबाट उत्पन्न हुने आनन्द तिनीहरूले अनुभव गर्दछन्। (भजनसंग्रह २५:१४) तापनि, तिनीहरू परमेश्वरको खोजी गर्ने नम्र व्यक्तिहरू हुन्। परमेश्वरका आज्ञाहरू पालन गर्ने विश्वासी जनहरू भएका हुनाकारण, तिनीहरूले निरन्तर उहाँ र उहाँका वचनबारे बढ़दो ज्ञानको खोजी गरिरहन्छन्।—उपदेशक ३:११; १२:१३, १४; यशैया ५४:१३.
यहोवाका साक्षीहरूले सुसमाचारको घोषणा गर्दै हिंड्दा, वास्तवमा तिनीहरूले बारम्बार एसो भनेका हुन्: “परमेश्वरको बढ़ाइँ होस्!” तिनीहरूले यहोवाको जयजयकार गर्दछन् र उहाँलाई सर्वश्रेष्ठ श्रद्धा चढ़ाउँछन्। सत्यको खोजीगर्नेहरूलाई परमेश्वरबारे सिक्ने र उहाँको महिमा गर्ने सहायता तिनीहरू आनन्दपूर्वक दिन्छन्। सुखविलास रुचाउने सांसारिक मानिसहरू जस्ता न भएर, यहोवाका जनहरूले उहाँबाट हुने ‘मुक्तिलाई प्रेम’ गर्दछन्। (२ तिमोथी ३:१-५) आफूमा भएको पापबारे तिनीहरू चेतनशील छन् र यहोवा परमेश्वरका प्रिय पुत्र येशू ख्रीष्टले दिनु भएको प्रायश्चितको बलिदान द्वारा सम्भव हुन सकेको अनन्त जीवन तर्फ लैजाने मुक्तिको प्रेमपूर्ण प्रबन्धका लागि तिनीहरू अति नै कृतज्ञ छन्। (यूहन्ना ३:१६; रोमी ५:८; १ यूहन्ना २:१, २) के तपाईं पनि परमेश्वरको बढाइँ गर्नु हुँदैछ र उहाँको प्रशंसा हुने गरी, साँचो उपासना व्यवहारमा ल्याउँदै, तपाईं उहाँबाट हुने ‘मुक्तिलाई प्रेम’ गर्नु हुन्छ भन्ने कुरा प्रदर्शित गर्नु हुँदैछ?—यूहन्ना ४:२३, २४.
मुक्तिको प्रबन्ध गर्नु हुनेमाथि भरोसा राख्नु होस्
दाऊदले यो भजनमा आफ्नो भावना व्यक्त गर्दा, तिनलाई यति आच्छु-आच्छु परेको थियो कि तिनले एसो भने: “तर म दुःखी र दरिद्र छु, मकहाँ चाँड़ै आऊनहोस्, हे परमेश्वर, तपाईंनै मेरो सहायक र मलाई मुक्ति दिने हुनुहुन्छ। हे परमप्रभु [यहोवा, न्यु. व.], ढीलो नगर्नुहोस्।” (भजनसंग्रह ७०:५) विश्वास गर्ने व्यक्तिहरूमाथि आइपर्ने कठिनाइहरू—अर्थात् शैतानबाट आउने सतावट, परीक्षा र आक्रमण जस्ता सङ्कष्टहरूको कारण दुःख भोग्नुपर्दा—हामी “दरिद्र” देखिन सक्छौं। हामी निराश्रय न भएता पनि, सिद्धान्तहीन शत्रुहरूको सामुन्ने हामी असहाय देखिन्छौं। तथापि, यहोवाले हामी, उहाँका विश्वासी सेवकहरूलाई बचाउन सक्नु हुन्छ र बचाउनु पनि हुनेछ भनी हामी निश्चित रहनसक्छौं।—भजनसंग्रह ९:१७-२०.
हामीलाई खाँचो परेको बेलामा, यहोवाले नै “मुक्ति” दिनु हुन्छ। आफ्नै कमजोरीहरूको कारण, हामी एउटा कठिन परिस्थितिमा परेको हौंला। तर यसरी ‘आफ्नै मूर्खताले’ हाम्रो जीवनको बाटो बिग्रिएको छ भने, हामी ‘परमप्रभुको [यहोवाको, न्यु. व.] विरुद्धमा असन्तोष प्रकट’ नगरौं। (हितोपदेश १९:३) उहाँलाई दोष दिन मिल्दैन र हामीले उहाँसित विश्वाससित प्रार्थना गर्यौं भने, उहाँ हामीलाई सहायता दिन तैयार हुनुहुन्छ। (भजनसंग्रह ३७:५) तर पापबाट अलग्ग रहन हामी सङ्घर्ष गरिरहेका छौं भने, के गर्ने? यस विषयलाई किटेर प्रार्थना गर्ने गरौं र निरन्तर एउटा धार्मिक मार्गको पिछा गर्न सक्नका लागि ईश्वरीय मद्दत माँगौं। (मत्ती ५:६; रोमी ७:२१-२५) हामीले हृदयको गहराइबाट गरेको प्रार्थनाको उत्तर परमेश्वरले दिनु हुनेछ र उहाँको पवित्र आत्माको निर्देशन पालन गर्यौं भने, हाम्रो आध्यात्मिक उन्नति हुनेछ।—भजनसंग्रह ५१:१७; एफिसी ४:३०.
हाम्रो विश्वासको धूम-धाम जाँच भइरहेको बेलामा, अब धेरै बेरसम्म सहन सक्तैनौं जस्तो हामीलाई लाग्न सक्छ। हामी शारीरिक रूपमा कमजोर भएको हुनाकारण, तुरुन्तै छुटकारा पाउने तिर्सना गर्न सक्छौं। (मर्कूस् १४:३८) यसकारण हामीले यस प्रकार बिन्ती गर्नु मिल्दछ: “हे परमप्रभु [यहोवा, न्यु. व.], ढीलो नगर्नु होस्।” विशेषगरी, परमेश्वरको नाउँ बदनाम हुने सम्बन्धमा हामी चिन्तित छौं भने, अगमवक्ता दानियलले झैं प्रार्थना गर्न सक्ने छौं: “हे परमप्रभु [यहोवा, न्यु. व.], सुन्नुहोस्। हे परमप्रभु [यहोवा, न्यु. व.] क्षमा गरिदिनुहोस्। आफ्नै नाउँको खातिर ढीलो नगर्नुहोस्। हे परमेश्वर, किनभने तपाईंको लोक . . . तपाईंकै नाउँले कहलाइएका छन्।” (दानियल ९:१९) हाम्रा स्वर्गीय पिताले अबेर गर्नु हुनेछैन भनी हामी विश्वस्त हुन सक्छौं किनभने प्रेरित पावलले यो ढाड़स दिए: “अनुग्रहको परमेश्वरको नजीक हामी निर्भयसँग आऔं, र कृपा पाऔं, औ दरकारको समयमा हाम्रो उपकारको निम्ति उहाँद्वारा अनुग्रह पाउनसक्छौं।”—हिब्रू ४:१६.
मुक्ति दिनु हुने यहोवा नै हुनुहुन्छ भनी कहिले न बिर्सनुहोस्। यो कुरा र भनजसंग्रह ७० मा उल्लेखित भावनाहरूको सम्झना गर्नु हामी उहाँका सेवकहरूका निम्ति लाभदायक हुनेछ। कुनै बेला, कुनै गम्भीर चिन्ताको विषय लिएर हामीले बारम्बार प्रार्थना गर्नु पर्ला। (१ थिस्सलोनिकी ५:१७) कुनै समस्या यस्तो होला जसको समाधान नै हुन सक्तैन जस्तो देखिएला अथवा दुविधाबाट उम्कने हामीले बाटोनै न पाउँला जस्तो होला। तर हाम्रा मायालु स्वर्गीय पिताले हामीलाई बलियो तुल्याउनु हुनेछ र हामीले सहन नसक्नेसम्मको जाँचमा पर्न दिनु हुने छैन। यसकारण, अनन्तको महाराजाको सिंहासनको सामुन्ने, हार्दिक प्रार्थनाका साथ हाजिर हुन, थकित भएर कहिले पनि न हिचकिचाउनु होस्। (१ कोरिन्थी १०:१३; फिलिप्पी ४:६, ७, १३; प्रकाश १५:३) विश्वासका साथ प्रार्थना गर्नुहोस् र उहाँमाथि सम्पूर्ण भरोसा राख्नु होस्, किनभने यहोवाले हाम्रो गुहार सुन्नु हुन्छ। (w05/15/91)