यहोवा प्रतिको प्रेमले साँचो उपासनालाई प्रेरणा दिन्छ
“हामीले उहाँको आज्ञा पालन गर्नुनै परमेश्वर प्रति प्रेम हो।”—१ यहून्ना ५:३.
१, २. कस्तो नियत राखेर यहोवाको सेवा हामीले गर्नुपर्छ?
जापानबाट आएका ८० जना दर्शकहरूको एउटा समूह, संयुक्त राष्ट्र अमेरिकाको, क्यालिफोर्निया स्थित यहोवाका साक्षीहरूको एउटा सभा-गृहको भ्रमण गरिरहेको थियो। नीलकण्ठहरू, ढुक्कुरहरू र गुनगुनाउने चराहरूले सुसज्जित त्यो बगैंचाको अत्यन्तै रमणीय वातावरणको कारण, तिनीहरूले आफ्ना सृष्टिकर्त्ता, यहोवा परमेश्वरसँग अझ बढ़ी घनिष्ठता अनुभव गरे। त्यस समूहका प्रायः सबैनै, पूर्ण समय अग्रगामी सेवा गर्नेहरू रहेछन् भनी तिनीहरूलाई घुमाउनेले केही समय पछि थाह पाए। यसकारण, केही बेर पछि, अक्सर सोधिने एउटा प्रश्न त्यस समूहलाई पनि सोधियो: “जापानमा त्यतिका अग्रगामीहरू किन छन्?” एक छिनका निम्ति त्यहाँ कोही पनि बोलेनन्। अनि एउटी तरुनी आइमाई बोल्न अगाड़ि सरिन्: “किनकि हामी यहोवालाई प्रेम गर्दछौं।”
२ यहोवा प्रतिको प्रेम—यसले हामीलाई उहाँको सेवामा जोशिलो हुन कति उत्साहित पार्दछ! यो साँचो हो, सबैलेनै अग्रगामी भएर सेवा गर्न सक्तैनन्। हाम्रा ४० लाख राज्य-प्रकाशकहरूमध्यका बहुमतले यो सुअवसरको आनन्द उठाउने व्यवस्था मिलाउन सकेका छैनन्। तर आफ्नो परिस्थिति मिल्ने धेरै जना यो सेवाका लागि अघि बढ़ेका छन्। हामी बाँकीले पनि “यहोवामा भरोसा [राख्दै] . . . र भलाइ” गर्दै, चेला बनाउने काममा भाग लिएर आफ्नो प्रेम दर्शाउन सक्छौं। (भजनसंग्रह ३७:३, ४) र यहोवाका सबैनै समर्पित उपासकहरूले अग्रगामी सेवामा लागेकाहरू प्रति प्रेमपूर्ण समर्थन जनाउँदै, अग्रगामी भावलाई बढ़ावा दिने काममा भाग लिन सक्तछौं।—मत्ती २४:१४; २८:१९.
३. धेरै मसीही कहलाउँदाहरू र यहोवाका साक्षीहरू बीच के भिन्नता देखिन्छ?
३ धर्मलाई सजिलैसँग आफ्नो जीवनसित संलग्न एउटा वस्तु मात्र ठान्ने, धेरैजसा मसीही कहलाउनेहरूको विपरीत यहोवाका साक्षीहरूले परमेश्वरका निम्ति एउटा गहिरो प्रेम प्रदर्शित गर्दछन्, जसले तिनीहरूलाई “पहिले राज्य र उहाँको धार्मिकताको खोजी” गरिरहने प्रेरणा दिन्छ। यसो गर्दा धेरै कुरा त्याग्न आवश्यक परेता पनि, त्यो त्याग कति सार्थक भएको छ! (मत्ती ६:३३; १६:२४) शुरूमा मोशाले र पछि येशू ख्रीष्टले दोहराउनु भएको त्यो प्रथम महान आज्ञा बमोजिम नै यी भएका छन्: “परमप्रभु [यहोवा न्यु. व.] हाम्रा परमेश्वर, एउटै परमप्रभु [यहोवा न्यु. व.] हुनुहुन्छ, औ तैंले परमप्रभु [यहोवा न्यु. व.] आफ्ना परमेश्वरलाई आफ्नो सारा मनले, आफ्नो सारा प्राणले, आफ्नो सारा बुद्धिले र आफ्नो सारा शक्तिले प्रेम गर्।”—मर्कूस १२:२९, ३०; व्यवस्था ६:४, ५.
४, ५. कस-कसलाई विश्वासी भन्न सकिन्छ र विश्वासिलोपना कसरी देखाउन सकिन्छ?
४ पूर्णसमय सेवकाईमा ७० वर्ष भन्दा बढ़ी समय बिताएका, वाचटावर सोसाइटीका अध्यक्ष, ९८ वर्षीय एफ. डब्लू. फ्रान्जलाई यहोवाका साक्षीहरूका मुख्यालयको एक जना कार्यकर्ताले हालसालै भने: “विश्वासीलोपनाको तपाईं एउटा असल उदाहरण हुनु भएको छ, भाइ फ्रान्ज।” र भाइ फ्रान्जले जवाफ दिए: “हो! हामी सबै नै विश्वासी हुनु पर्दछ।” कुराको सार यही नै हो। राज्य सम्बन्धी जुनसुकै गतिविधिमा हामीले सेवा गरेता पनि, हामी विश्वासी हुन सक्तछौं।—१ कोरिन्थी ४:२; गलाती ३:९.
५ हो, धेरैले यहोवाको सेवामा अझ बढ़ी गर्ने इच्छा गर्दछन् तर शास्त्रमा निर्देशित जिम्मावारीहरू र स्वास्थ्य सम्बन्धी समस्याहरूको कारण तिनीहरूको गतिविधि केही मात्रमा सीमित हुनजान्छ। तथापि, अग्रगामी हुन न सक्नेहरू, कम विश्वासी हुन् भनी ठान्नु हुँदैन। कति त अत्यन्तै कठिन परीक्षाहरूको माझमा पनि, धेरै वर्षसम्म, वफादार रहेका छन्। हो, तिनीहरू विश्वासी रहेका छन्! तिनीहरूले यहोवा प्रति प्रेम देखाएका छन् र उहाँको धर्म-राज्य सम्बन्धी प्रबन्धहरूलाई सम्पूर्ण हृदयले समर्थन गर्दै मेहनती भएर सेवा गरेका छन्। अग्रगामीहरूको गतिविधिमा तिनीहरूले गहिरो चासो लिएका छन् र अग्रगामी हुन सक्नेहरू अथवा आफ्नै छोरा-छोरीलाई समेत अग्रगामी सेवा तर्फ बढ्न तिनीहरूले प्रोत्साहन दिन्छन्, किनभने अग्रगामी सेवकाईले अरू सबै पेशाहरूलाई माथ गर्दछ।—व्यवस्था ३०:१९, २० सङ्ग तुलना गर्नुहोस्.
६, ७. १ शमूएल ३०:१६-२५ मा उल्लेख गरिएको उदाहरण आज कसरी प्रयोग हुनसक्तछ?
६ परमेश्वरका आजका सबैनै जनहरूमा देखिने क्रियाशील प्रेमको एउटा उदाहरण, १ शमूएल ३०:१६-२५ मा दिइएको बयानमा पाउन सकिन्छ। अमालेकीहरूका विरुद्धको युद्धमा, “दाऊदले तिनीहरूलाई बिहानदेखि बेलुकीसम्म औ भोलिपल्टसम्मै मार्न लागे” र तिनले धेरै माल-समानहरू लगे। क्याम्पमा फर्किएर आए पछि, दाऊदका लड़ाकूहरूमध्य केहीले भने कि लुटेर ल्याइएका मालहरूबाट लड़ाइँमा भाग नलिनेहरूलाई केही पनि नदिनू। तर दाऊदले जवाफ दिए: “तिमीहरूले गरेका प्रस्तावमा को सहमत हुन्छ? माल-समान हेर्न बसेकाहरूले लड़ाइँमा जानेहरूकै बराबर हिस्सा पाउनेछन्। तिनीहरूले पनि बराबर हिस्सा पाउनेछन्।”
७ सोही सिद्धान्त आज पनि प्रयोग हुन्छ। हाम्रो आध्यात्मिक लड़ाइँमा अग्रगामीहरू अग्रिम पंक्तिमा छन्। तर मण्डलीका अरू सबैले सम्पूर्ण हृदयका साथ वफादार समर्थन दिन्छन्। र १९९१ भरि तिनीहरूले मिली-जुली गरेका संयुक्त गतिविधिको महान परिणाम तल दिएको तालिकामा चित्रण गरिएको छ।
एउटा उल्लेखनीय रिपोर्ट
८. (क) जम्मा कति जना प्रकाशकहरू छन् र तिनीहरूले यहोवाको सेवामा कति घण्टा बिताए भनी विश्वव्यापी रिपोर्टले के देखाउँछ? (ख) रिपोर्टमा भर्खरै उल्लेख भएका देशहरूबारे चासोका कुन कुराहरू तपाईं देख्नुहुन्छ?
८ हो, यस पत्रिकाको अगिल्ला चार पानाहरूले देखाउँछन् कि १९९१ सालको दौडानमा एउटा रोमाञ्चकारी विश्व-व्यापी बढ़ोत्तरी गराउनमा कसरी यहोवाका उत्साही उपासकहरूको संयुक्त प्रयासले योगदान दिएको छ। ४,२७८,८२० जना प्रकाशकहरूको एउटा नया शिखर—अथार्त ६.५ प्रतिशतको बृद्धि कायम भएको छ। यिनीहरूले ९५१,८७०,०२१ घण्टाहरू सेवामा बिताए। र पहिले प्रतिबन्धित तर अब पहिलो पटक विश्व-व्यापी रिपोर्टमा उल्लेख भएका—अङ्गोला, बुल्गारिया, चेकोस्लोभाकिया, रोमानिया, रूस जस्ता देशहरूका भाइहरूले गरेका महान प्रयासमाथि ध्यान दिनुहोस्।
९, १०. (क) कठिन समयका चुनौतिको सामना अग्रगामीहरूले कसरी गरेकाछन्? (ख) अग्रगामी सेवामा प्रवेश गर्न के प्रोत्साहन दिइएकोछ?
९ हालका वर्षहरूमा अग्रगामी हुने भावना संसारभरि फैलिएको छ। जुन जुन देशहरूमा उपासना सम्बन्धी स्वतन्त्रता भरखरै पाइएका छन्, ती देशहरूमा पनि अग्रगामी हुनेहरूको संख्या जोरसोरका साथ बढ़ी रहेछ। कठिन आर्थिक परिस्थितिहरू हुँदा हुँदै पनि, यी दृढ़ साक्षीहरू यहोवाको उपासनामा आफूसँग भएको सबै कुरा लगाउन पछि हटेका छैनन्। (२ कोरिन्थी ११:२३, २७ सँग तुलना गर्नुहोस्) एक महिनामा सरदर, राज्यका सारा प्रकाशकहरूको १४ प्रतिशतले अग्रगामी सेवा गरेका छन्। अग्रगामीहरूको उच्चतम संख्या ७८०,२०२ छ र यो सारा प्रकाशकहरूको १८ प्रतिशत हुन जान्छ।
१० अग्रगामीहरूले अनुभव गरेको हर्षलाई देखेर, अरूहरू पनि यो सेवा गर्न प्रोत्साहित हुन्छन्। तपाईं अहिलेसम्म अग्रगामी हुनु भएको छैन भने, के यहोवा प्रति तपाईंको प्रेमले तपाईंलाई पनि, यशैया ६:८ मा भने झैं यसो भन्न उत्साहित पार्न सक्ला कि: “म हाजिर छु, मलाई पठाउनुहोस्”? अथवा बाइबल अध्ययन गर्नमा मेहनती हुनु भएर, तपाईंको हृदयमा परमेश्वरको वचनले एउटा प्रवल इच्छा जगाउन सक्छ कि? जसले गर्दा अग्रगामी सेवामा प्रवेश गर्ने कदम तपाईंले उठाउनै पर्नेछ। परीक्षाको समयमा पनि, यहोवाको वचनले यर्मियालाई उत्साहित पार्यो जसलेगर्दा तिनी चूप लागेर बस्नै सकेनन्।—यर्मिया २०:९.
मानवजातिका निम्ति मायालु सेवा
११. गृह-बाइबल अध्ययनको गतिविधि कसरी प्रगति गरिरहेछ?
११ वार्षिक रिपोर्टको एउटा उल्लेखनीय विशेषता मानिसहरूका घरहरूमा गरिएका निःशुल्क बाइबल अध्ययनहरूको संख्यामा बृद्धि हो। विश्वभरि प्रत्येक महिना नियमित रूपमा, यस प्रकारका ३,९४७,२६१ अध्ययनहरू सञ्चालित गरिन्छ। यो एउटा मायालु प्रबन्ध हो जसद्वारा यहोवाका साक्षीहरूले घर-घर प्रचार गर्दा फेला पारेका चासो व्यक्त गर्ने व्यक्तिहरूलाई अझ बढ़ी मद्दत दिइन्छ। प्रेरित पावलले देखाएको जस्तै उत्साह र इमान्दारी साथ काम गर्दै, सबै राष्ट्र र जातिका मानिसहरूसित बाइबल अध्ययन गर्न हामी आनन्द मान्छौं। तिनले ‘यहूदीहरूलाई र ग्रीकहरूलाई साक्षी’ दिंदा, निश्चय पनि धेरै समय लगाएर सत्यको ज्ञानबारे शिक्षा दिन आवश्यक परेको हुन सक्छ। (प्रेरित २०:२०, २१) आज पनि त्यस्तै हो। “सबै मानिसहरूले उद्धार पाउन् र तिनीहरू सत्यको ज्ञानमा आउन्” भनेर यहोवाका साक्षीहरूले सहायता दिने काम गरिरहेकाछन्।—१ तिमोथी २:४.
१२-१४. युरोपबारे के हर्षमय रिपोर्टहरू सुनिन्छ?
१२ पूर्वीय युरोपमा बाइबल अध्ययन सम्बन्धी गतिविधिमा वृद्धि भएको रिर्पोटहरू पाउँदा हामी हर्षले गद्गद हुन्छौं! कैयौं दशक देखिन्, त्यहाँ हाम्रा भाइहरू सानो सानो समूहमा भेला हुनु पर्द थियो र हातले नकल गरिएको एउटा पुरानो प्रहरीधरहराको एक प्रति मात्र त्यहाँ भेला भएका सबैले प्रयोग गर्नु पर्द थियो। तर अब बाइबलहरू र बाइबल सम्बन्धी साहित्यहरू प्रशस्त मात्रामा ती देशहरूमा पठाइन्दैछन्। यसले श्रेष्ठगीत २:४ [किंग जेम्स भर्सन] को सम्झना गराउँछ: “उहाँले [येशू ख्रीष्टले] मलाई आफ्नो [आध्यात्मिक] भोजनालय भित्र लैजानु भयो र आफ्नो प्रेमको चिन्ह मलाई पहराइ दिनु भयो।” अब तिनीहरू प्रत्येकसँग हाम्रा पत्रिकाहरू भएका हुनाले, “सत्यको वचनलाई ठीकसँग प्रयोग गर्न” धेरै जना पूर्णरूपले निपुण भइरहेका छन्।—२ तिमोथी २:१५.
१३ रूसमा सेन्ट पिटर्सवर्ग भन्ने ठाउँको एउटा मण्डलीका १०३ जना प्रकाशकहरूले, हालसालै ३०० भन्दा धेरै गृह-बाइबल अध्ययनहरू रिपोर्ट गरे। बाइबल अध्ययन द्वारा गरिएको यो प्रयासको परिणाम स्वरूप, मात्र आठ महिना भित्र, ५३ जना नया साक्षीहरूले बप्तिस्मा लिए। मण्डलीका आधा भन्दा बढ़ी सदस्यहरू, आठ महिना वा त्यस भन्दा पनि कम समय देखिन् मात्र सच्चाइमा छन्! र तिनीहरूकहाँ एक जना प्राचीन पनि छैनन्—तिनीहरूको आध्यात्मिक वृद्धिमा मद्दत पुर्याउन, एक जना सहायक सेवक मात्र छन्।
१४ अध्ययनका निम्ति आफ्ना केही साथीहरूलाई निम्त्याउनु हुन्छ कि हुँदैन भनेर एस्टोनियाका एक जना प्रकाशकलाई तिनीसँग बाइबल अध्ययन गर्ने एउटी विद्यार्थीले सोधिन्। आउँदो हप्ता ती साक्षी अध्ययनका निम्ति आउँदा, त्यहाँ ५० जना भन्दा बढ़ी व्यक्तिहरू भेला भएका थिए! निश्चय नै, चासो देखाउने ती सबैको देखरेखका निम्ति विशेष प्रबन्धहरू गर्न आवश्यक भयो।
१५. स्मरणार्थको समारोहको उपस्थिति र बप्तिस्माबारे के भन्न सकिन्छ?
१५ अध्ययन गरिरहेकाहरूमध्य धेरैले येशूको मृत्यको स्मरणार्थमा भेला भएर, पहिलो पटक मसीही सङ्गतको स्वाद पाउँछन्। गएको वर्षमा, प्रथम चोटि १०,०००,००० भन्दा बढ़ी मानिसहरू जम्मा भएका थिए। यस हर्षमय अवसरमा, यस पटक विश्वभरिका ६६,२०७ मण्डलीहरूमा १०,६५०,१५८ जना भेला भएका थिए। ल्याटिन-अमेरिका, अफ्रिका, र पूर्वीय युरोपका अनेक देशहरूमा, राज्य प्रकाशकहरूको संख्या भन्दा तीन वा चार गुणा अधिक मानिसहरू भेला भएका थिए। अब हामीले यस वर्ष शुक्रवार, अप्रिल १७ मा मनाइने स्मरणार्थको तैयारी शुरू गर्नु परेको छ। स्मरणार्थको समारोहमा भेला हुने बाइबलका नया विद्यार्थीहरूको एउटा ठूलो संख्याले बप्तिस्मा तर्फ प्रगति गरिरहनेछन् भनी आशा गरिएको छ। १९९१ मा, ३००,९४५ जनाले पानीमा डुबुल्की लगाएर यहोवा परमेश्वर प्रति आफ्नो समर्पणालाई जाहेर गरे। यो १९९० भन्दा . . . प्रतिशतको वृद्धि हो।
ईश्वरीय स्वतंत्रताका प्रेमीहरू
१६. “स्वतन्त्रताका प्रेमीहरूका” जिल्ला सम्मेलनहरूबाट के उत्तेजनापूर्ण रिपोर्टहरू आइरहेकाछन्?
१६ सेवकाई-साल १९९१ को एउटा उल्लेखनीय विशेषता, “स्वतंत्रताका प्रेमीहरू” भन्ने जिल्ला सम्मेलनहरूको श्रृंखला भएको छ, जुन हाल उत्तरी गोलार्धमा पूरा भएर अब दक्षिण गोलार्धमा १९९२ सम्मै चलिरहने छ। सम्मेलनको सम्पूर्ण कार्यक्रम प्रथम पटक कैयौं पूर्वीय युरोपका देशहरूमा प्रस्तुत गरियो, जहाँ यहोवाको प्रशंसाका निम्ति आफूले पाएको नया स्वतंत्रताको पूर्ण प्रयोग गर्न पाउँदा हाम्रा भाइहरू हर्ष मनाइ रहेछन्। अक्तुबर १९९१ मा ५४ देशहरूमा सम्पन्न प्रथम ७०५ वटा सम्मेलनहरूको जम्मा उपस्थिति ४,७७४,९३७ थियो।
१७, १८. (क) यहोवाका उपासकहरूले कुन प्रकारका स्वतन्त्रताहरूको आनन्द उठाइ रहेकाछन् र अझ उठाउने आशा गरिरहेकाछन्? (ख) सांसारिक स्वतन्त्रता र ईश्वरीय स्वतन्त्रता कसरी भिन्न छ?
१७ येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो: “सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।” (यूहन्ना ८:३२) आज, बाइबलको सत्यताले लाखौंलाई मसीही जगतका धर्म-शिक्षाहरूबाट मुक्त पारेको छ। छुटकाराका निम्ति येशूले दिनु भएको बलिदानको जुन प्रबन्ध यहोवाले मिलाउनु भएको छ, त्यस प्रबन्ध द्वारा मानवजातिले “विनाशको बन्धनबाट [परमेश्वरको महिमाको सन्तान सरह, न्यु. व.] छुटकारा” पाउन सम्भव हुनेछ भनी यी लाखौं मानिसहरूले सिकेकाछन्। (रोमी ८:१९-२२) त्यो कस्तो महान स्वतन्त्रता हुनेछ—जब यहोवाले प्रेमपूर्वक निश्चित गर्नु भएको उचित परिधि भित्र एउटा पार्थिव प्रमोदवनमा सदाका लागि बाँच्न सकिनेछ।—यशैया २५:६-८; प्रेरित १७:२४-२६ सङ्ग तुलना गर्नुहोस्.
१८ यहोवाका साक्षीहरूले जुन स्वतन्त्रताको आनन्द अहिले उठाइरहेका छन्, र परमेश्वरको नया रीतिरिवाजमा उठाउने आशा राख्तछन्, ती सबै हाम्रा परमेश्वर, यहोवाबाट आएको हो। (२ कोरिन्थी ३:१७) तिनीहरू कुनै राजनैतिक वा क्रान्तिकारी आन्दोलनमा भर पर्दैनन्। (याकूब १:१७) यस कुरामा कुनै गलतफहमी नहोस् भनेर, केही पूर्वीय युरोपका देशहरूमा यहोवाका साक्षीहरूले लगाएका १९९१ को सम्मेलनका बिल्लाहरूमा, यी शब्दहरू लेखिएका थिए: “ईश्वरीय स्वतन्त्रताका प्रेमीहरूको जिल्ला सम्मेलन।”
यहोवाका लागि प्रगाढ़ प्रेम
१९. प्रार्थनाद्वारा यहोवासित राखिएको आत्मीयताले हामीलाई कसरी थाम्न सक्तछ?
१९ यहोवा प्रतिको हाम्रो प्रेम र उहाँमाथिको हाम्रो विश्वासले गर्दा हामी सदा प्रार्थनाद्वारा उहाँको नजीक रहनेछौं। यहोवासितको यही आत्मीयताले गर्दानै अनेक कठिनाइहरू र सतावटहरू सहने मदद हाम्रा भाइहरूले पाएका छन्। (भजनसंग्रह २५:१४, १५) आफ्नो परीक्षाको सबै भन्दा कठिन घड़ीमा, येशूले प्रार्थनाद्वारा आफ्ना पितासित आत्मीयता कायम राख्नुभयो। (लूका २२:३९-४६) यहोवासित प्रार्थनाद्वारा कायम राखिने यसै प्रकारको आत्मीयताबाट स्तिफनले एउटा शहीदको दुःखदायी मृत्यु सहने बल पाए। ढुङ्गाले हानेर तिनलाई मार्ने बेलामा, तिनले स्वर्गतर्फ हेर्दै भने: “हेर! स्वर्ग खोलेको र मानिसका पुत्रलाई परमेश्वरका दाहिने बाहुलीपट्टि उभिरहनुभएको म देख्तछु।”—प्रेरित ७:५६.
२०-२२. परमेश्वर प्रार्थना सुन्नु हुन्छ भन्ने कुरालाई एउटा अनुभवले कसरी प्रदर्शित गर्दछ?
२० यहोवाका उपासकहरूले धेरै पटक अनुभव गरेकाछन् कि उहाँको इच्छा अनुसार गरिएका प्रार्थनाहरूको जवाफ यहोवाले दिनुहुन्छ। उदाहरणकालागि, साक्षीहरूको कामलाई प्रतिबन्ध लगाइएको एउटा अफ्रिकी देशमा, बसबाट उत्त- रतर्फ भ्रमण गरिरहेका एकजना विशेष अग्रगामीसित अन्य ठाउँमा पुर्याउनु पर्ने राज्य सम्बन्धी साहित्य र खामहरूको एउटा ठूलो थाक थियो। बसमा माल-समान लाद्ने खलासी भाइलाई सोध्यो: “बोरामा के छ?” भाइको मनमा जे कुरा पहिले आयो सोही तिनले भनीदिए: “डाक।”
२१ बाटोमा, एउटा चौकीमा नियमित जाँचका लागि नरोकिकनै बस दौड़ाएर लग्यो, तर बाटो प्रहरीले त्यस बसलाई लखेटे र कुनै निषिद्ध सामानहरू लगेको होला भनी शङ्का गर्दै बसलाई रोके। तिनीहरूले सबै यात्रीहरूलाई बसबाट ओर्लने आदेश दिए र सब सामानहरू खोलेर देखाउन लगाए। यो एउटा ठूलो सङ्कट थियो! गनगन गरिरहेको त्यो भीड़बाट हाम्रो भाइ अलिक पर गए र घुँड़ा टेकेर यहोवालाई प्रार्थना गरे। फर्किएर आउँदा, प्रत्येक यात्रीको बाकस खोलेर सावधानीपूर्वक जाँच गरिंदै थियो। भाइको बोरा खोल्ने पालो आउँदा, तिनले मदतकालागि चुपचाप यहोवालाई पुकारा गरे।
२२ “यो कसको बोरा हो र यसमा के छ?” भनी पुलिस करायो। भाइले बोल्नु अघिनै, बसको खलासीले जवाफ दिंदै भन्यो: “यो डाक हो—फलाना डाकखानाबाट—फलाना डाकखाना लैजाने।” “भइगयो त” भन्दै अधिकृतले झोला उठाए र खलासीलाई दिए। “यात्रामा यसलाई सुरक्षित ठाउँमा राख्न नबिर्सिनु” भन्ने आदेश पनि तिनले दिए। विशेष अग्रगामीले फेरि घुँड़ा टेकेर प्रार्थना सुन्नुहुनेलाई धन्यवाद चढ़ाए।—भजनसंग्रह ६५:२; हितोपदेश १५:२९.
२३. यहोवाले के प्रदर्शित गर्नुभएको छ, र पनि कहिलेकाहीं सतावटलाई त्यसको पूरा समयसम्म किन चलिरहन दिनुहुन्छ?
२३ तथापि, यसको अर्थ यो होइन कि यहोवाका उपासकहरू आपत्तिपूर्ण घटनाहरूबाट बिल्कुलै मुक्त छन्। कुनै कुनै परिस्थितिहरूमा यहोवाले आफ्ना जनहरूको उद्धार गर्न सक्नु हुन्छ भनी उहाँले बाइबलका समयमा र आज पनि प्रदर्शित गर्नु भएको छ। तर समग्रता सम्बन्धी विवादको समाधान गर्ने सिलसिलामा, उहाँले कहिलेकाहीं सतावटलाई त्यसको पूरै समयसम्म चल्न दिनु भए जस्तै गर्नु हुन्छ। (मत्ती २६:३९ सङ्ग तुलना गर्नुहोस्) साथै, बाइबलमा आधारित व्यावहारिक बुद्धि प्रयोगमा ल्याउँदा केही हदसम्म लाभदायक भएता पनि, यहोवाले आफ्ना जनहरूलाई दुर्घटनाहरू, गृह-कलह, वा अपराधबाट स्वतः सुरक्षित राख्नु हुन्न। (हितोपदेश २२:३; उपदेशक ९:११) तथापि, कठिन परीक्षाहरूबाट हामीहरूको बचाव होस् वा न होस्, आफ्नो विश्वासिलोपनाको इनाम, आवश्यक भएमा पुनरुत्थानद्वारा पनि पाउने छौं।—मत्ती १०:२१, २२; २४:१३.
२४. यहोवाले कुन कुन मायालु वरदानहरू दिनु भएको छ र उहाँले देखाउनु भएको प्रेमको निम्ति हामीले के गर्न सक्छौं?
२४ यहोवाका प्रेमपूर्ण वरदानहरू कति अद्भुत छन्! मानवजातिका निम्ति उहाँको वरदान यो पृथ्वी र यसमा हुने सबै थोक उहाँको प्रेमको एउटा उल्लेखनीय प्रदर्शन हो। (भजनसंग्रह १०४:१, १३-१६; ११५:१६) र मानवजातिलाई पाप र मृत्युबाट छुटकारा दिलाउनका निम्ति दिनु भएको आफ्ना पुत्र, येशू ख्रीष्टको वरदान, परमेश्वरले आजसम्म दिनुभएको टिठालु वरदानहरूमध्य सबैभन्दा महान वरदान हो। “यसैमा परमेश्वरको प्रेम हामीमा प्रकट भएको छ, कि हामी उहाँद्वारा जिऔं भन्ने हेतुले परमेश्वरले आफ्ना एकलो पुत्रलाई यस संसारमा पठाउनुभयो। प्रेम यसैमा छ, हामीले परमेश्वरलाई प्रेम गरेका होइनौं, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र हाम्रा पापको प्रायश्चित हुनालाई उहाँका पुत्रलाई पठाउनुभयो।” (१ यहून्ना ४:९, १०) त्यस प्रेमले गर्दा, “नता मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न प्रधानताहरूले, न वर्त्तमानका कुराहरूले, न पछि हुने कुराहरूले, न शक्तिहरूले, न उँचाइले, नगहराइले, न अरू कुनै सृष्टिले हाम्रा प्रभु ख्रीष्ट येशूमा भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्नसक्नेछ” भनी हामी विश्वस्त हुन सकौं।—रोमी ८:३८, ३९. (w92 1/1)
यस लेखको पुनरावलोकन
◻ विश्वासी हुनुको अर्थ के हो?
◻ हाम्रा गतिविधिका कुन क्षेत्रहरूद्वारा हामीले यहोवा प्रति प्रेम दर्शाउन सक्तछौं?
◻ सेवकाई-वर्षको कुनचाहिं विशेषताहरूमा तपाईंको ध्यान विशेष रूपमा आकर्षित भयो?
◻ यहोवाको मायालु वरदानहरूकालागि हामीले आफ्नो मूल्याङ्कन कसरी देखाउन सक्तछौं?
[पृष्ठ १३-मा भएको पेटी]
यति धेरै अग्रगामीहरू किन?
प्राप्त रिर्पोट अनुसार, २,६०० वर्षका लागि, जापानीहरू तिनीहरूका सम्राटहरूका उत्साही उपासकहरू थिए। यो २० वीं शताब्दीका युद्धहरूमा, ३० लाख भन्दा बढ़ी जापानी योद्धा-पुरूषहरूले आफ्नो जीवन बलिदान चढ़ाए, किनकि तिनीहरूका सम्राट-देवताका लागि मर्नु भन्दा ठूलो सम्मानको कुरा अरू केही छैन भनी तिनीहरूले सोंचे। तर दोस्रो विश्व-युद्धमा बौद्ध-शिन्टो सैनिक शासनको पराजय भयो र त्यस पछि सम्राटले आफ्नो ईश्वरत्व परित्याग गरे। धर्म सम्बन्धी खड़ा भएको यो खाली ठाउँलाई के ले भर्न सक्द थियो? हामी खुशीका साथ भन्दछौं कि यहोवाका साक्षीहरूका धर्म-प्रचारकहरूले र पछि जापान कै साक्षीहरूले सञ्चालन गरेका गृह-बाइबल अध्ययनहरू द्वारा धेरैले साँचो परमेश्वर, यहोवालाई चिनेर उहाँलाई आफ्नो जीवन समर्पण गर्न सके। ती जापानी साक्षीहरूका लागि यो समर्पणाले ठूलो अर्थ राख्तछ। बितेका समयहरूमा, एउटा सम्राट-देवताका निम्ति तिनीहरू आफ्नो प्राण अर्पण गर्न तयार थिए भने, अझ कति ठूलो जोशका साथ अब तिनीहरूले जीवित परमेश्वर र ब्रह्माण्डका सृजनहारको उपासनामा, आफ्नो बल अग्रगामी-सेवकहरू भएर दिनेछन्!
[पृष्ठ १३-मा भएको चित्र]
ईश्वरीय स्वतन्त्रताका प्रेमीहरू—१९९१, अगस्त ९-११ सम्म प्रागमा भएको सम्मेलनमा यहोवाका उपासकहरू