जब पूर्वले पश्चिमलाई भेट्छ
“पूर्व र पश्चिमको छ यो भेद, हुँदैन तिनीहरूको कहिल्यै भेट।” ब्रिटिश कवि रुडयार्ड किप्लिङ्गका यी शब्दहरूले मानवजातिलाई अलग पार्ने गहिरो सांस्कृतिक भिन्नताको सम्झना गराउँछ। यस्तै भिन्नताको कारण आज चारैतिर साम्प्रदायिक, जातीय, र राष्ट्रिय घृणा विस्फोट भइरहेको छ। के यस्तो परिस्थितिमा परमेश्वरले केही गर्न सक्नु हुन्न र, धेरैले प्रश्न गर्छन्। निस्सन्देह उहाँले गर्न सक्नुहुन्छ र केही गरिरहनु भएको पनि छ! किप्लिङ्गको उक्त कविताको दोस्रो हरफले यसको उल्लेख गर्छ। कतिञ्जेल पूर्व र पश्चिम एकआपसमा छुट्टिएर रहनेछ त? कविले भने: “जबसम्म आकाश र धर्ती परमेश्वरको न्याय सिंहासनअघि खडा हुँदैनन्।”
परमेश्वरले आफ्नो पुत्र येशू ख्रीष्टलाई न्याय गर्ने जिम्मेवारी सुम्पनु भएको छ। (यूहन्ना ५:२२-२४, ३०) तर त्यो न्यायको दिन कहिले सुरु हुन्छ? कसको न्याय हुन्छ र त्यसको नतिजा के हुन्छ? सन् १९१४ देखि मानवजातिलाई पीडित पार्ने विश्व युद्धहरू र त्यसका साथमा हुने विपत्तिहरूबारे भविष्यवाणी गर्ने व्यक्ति येशू नै हुनुहुन्थ्यो। यी कुराहरू उहाँको अदृश्य “आगमन र जगत्को अन्तको चिह्न” हुनेछ भनेर उहाँले भन्नुभयो।—मत्ती २४:३-८.
यस महान भविष्यवाणीको चरमबिन्दुमा येशूले हाम्रो वर्तमान समयलाई न्यायको दिनको रूपमा चिनाउनु हुँदै आफ्नो विषयमा यसो भन्नु हुन्छ: “जब मानिसको पुत्र स्वर्गदूतहरूसमेत आफ्नो महिमामा आउला, तब आफ्नो महिमाको सिंहासनमा बस्नेछ। औ उसको सामु सबै देशका मानिसहरू जम्मा हुनेछन्, र जसरी गोठालाले भेड़ाहरूलाई बाख्राबाट छुट्याउँछ, उसरीनै उसले तिनीहरू एकलाई अर्कोबाट छुट्याउनेछ। औ उसले भेड़ाहरूलाई आफ्नो दाहिने हातपट्टि, तर बाख्राहरूलाई देब्रेपट्टि राख्नेछ।” प्रतिकात्मक रूपमा लिने हो भने अहिले यस पृथ्वीका सबै मानिसहरू त्यस न्यायधीशसमक्ष जम्मा भएका छन्। उहाँले दिनुहुने छुटकाराको समाचारप्रति आफूले व्यक्त गरेका प्रतिक्रियाका लागि तिनीहरू जवाफदेह छन्। चाँडै नै महासंकष्टको समयमा न्यायदण्ड दिइँदा बाख्राखालका अनाज्ञाकारी मानिसहरू “अनन्त दण्डमा, तर धार्मिकहरूचाहिं [भेडाखालका आज्ञाकारी मानिसहरू] अनन्त जीवनमा जानेछन्।”—मत्ती २५:३१-३३, ४६; प्रकाश १६:१४-१६.
‘पूर्वदेखि पश्चिमसम्म’
वास्तवमा प्रथम विश्व युद्धको तुफानी वर्षहरूदेखि यस संसारको न्याय सुरु भयो। त्यतिबेला मसीहीजगतका पादरीहरूले युद्धरत दलहरूलाई पूर्ण समर्थन दिए। तिनीहरूको यस्तो कर्तुतले तिनीहरू “परमेश्वरको क्रोध”-को योग्य भ्रष्ट संसारका भाग हुन् भनी प्रष्टियो। (यूहन्ना ३:३६) तर परमेश्वरमाथि विश्वास गर्ने शान्तिप्रिय मसीहीहरूबारे के भन्न सकिन्छ? यिनीहरूलाई भने १९१९ देखि राजा येशू ख्रीष्टको दाहिने हाततर्फ जम्मा गर्न थालियो।
यिनीहरू यस भू-मण्डलको चारै कुनाबाट आएका छन्। तर यीमध्ये पहिले छानिने चाहिं मसीही युगको शताब्दीऔंदेखि जम्मा गरिंदै आएका १,४४,००० अभिषिक्त जनहरूका शेष जनहरू हुन्। यिनीहरू उहाँको स्वर्गीय राज्यमा “ख्रीष्टसँग साझे-हकवाला” हुनेछन्। (रोमी ८:१७) यिनीहरूलाई परमेश्वरको अगमवक्ताले यसो भन्छ: “नडरा, किनकि म तँसित छु। म तेरो वंशलाई पूर्वदेखि ल्याउनेछु, र पश्चिमदेखि पनि भेला गर्नेछु। म उत्तर दिशालाई भन्नेछु, ‘छोड़िदे।’ र दक्षिण दिशालाई भन्नेछु, ‘थुनी राख्।’ मेरा छोराहरूलाई टाढ़ादेखि र मेरा छोरीहरूलाई पृथ्वीको पल्लो छेउदेखि ल्याऊ, हरेक जो मेरो नाउँद्वारा बोलाइएको छ, र जसलाई मैले मेरो महिमाको निम्ति सृष्टि गरेको छु, त्यसको आकार मैलेनै बनाएँ र त्यसलाई रचें।”—यशैया ४३:५-७.
तर कुरा यतिमै सकिंदैन! हाल लाखौंको संख्यामा पुगेको एउटा ठूलो भीडलाई पनि विशेषगरि १९३० देखि यता जम्मा गर्न थालियो। यी ती नै “भेड़ाहरू” हुन् जसको उल्लेख येशूले मत्ती २५:३१-४६ मा गर्नुभयो। आफूअघिका शेष अभिषिक्त जनहरूलेझैं यिनीहरूले यहोवामाथि “विश्वास” गरेका छन् जसले यसो भन्नुहुन्छ: ‘तिमीहरू मेरा साक्षी हौ र म तिमीहरूका परमेश्वर।’ (यशैया ४३:१०-१२) यस ठूलो भीडलाई जम्मा गर्ने काम पनि ‘पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि दक्षिणसम्म र पृथ्वीको पल्लो छेउ’ सम्म भइरहेको छ।
यी शान्तिप्रिय भेडाहरूलाई एउटा अन्तर्राष्ट्रिय भ्रातृत्वमा एकत्रित गरिंदैछ। आफू बसोबास गर्ने २३१ मुलुकहरूमा यिनीहरू अनेकन भाषाहरू बोल्छन्। यद्यपि, “सबैले परमप्रभुको नाउँको पुकारा गरेर एकै हृदयको भएर उहाँको सेवा” गर्न सकुन् भनेर “शुद्ध भाषा” सिक्न तिनीहरू आध्यात्मिक तवरमा एकत्रित छन्। (सपन्याह ३:९) सार्वभौम प्रभु यहोवाको सेवा अनि प्रशंसा गर्न पूर्वले पश्चिम र सबै दिशाका मानिसहरूलाई भेटिरहेको छ भन्ने अद्भुत प्रमाण यिनीहरूको विश्वास, उद्देश्य अनि कामको एकताले दिन्छ।
कुनै कुनै मुलुकहरूमा यो जम्मा गर्ने काम एकदम असाधारण परिस्थितिहरूमा भइरहेको छ। यसबारे निम्न रिपोर्टहरूले बताउनेछ। (w94 1/1)