प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 १/१ पृ. १०-१९
  • निष्ठा कायम गर्ने राष्ट्र

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • निष्ठा कायम गर्ने राष्ट्र
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • राष्ट्रको जन्म हुन्छ
  • प्रकाशकहरूको नयाँ शिखर
  • “यो गर्नेगर”
  • “हामी एक ठाउँमा भेला हुनालाई नछोड़ौं”
  • “तयार रह”
  • अन्तसम्मै निष्ठा कायम गर्नुहोस्‌
  • भलाइको निम्ति उत्सुक हुनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 १/१ पृ. १०-१९

निष्ठा कायम गर्ने राष्ट्र

“सत्य पालन गर्ने धार्मिक [राष्ट्र] पस्न मूल-ढोकाहरू खोल।”—यशैया २६:२.

१. “धार्मिक [राष्ट्र]” सम्बन्धी यशैयाको भनाइ किन आश्‍चर्यलाग्दो हुन सक्छ?

आज अनेकौं प्रकारका राष्ट्रहरू छन्‌। कतै प्रजातान्त्रिक शासन छ त कतै तानाशाही। कुनै राष्ट्रहरू धनी छन्‌ त कुनै गरीब। तर सबैमा एउटै समान कुरा पाइन्छ: ती सबै राष्ट्रहरू त्यस संसारको भाग हो, जसको देव शैतान हो। (२ कोरिन्थी ४:४) यस दृष्टिकोणलाई ध्यानमा राख्दा यशैयाका यी शब्दहरू कसै कसैलाई आश्‍चर्यपूर्ण लाग्न सक्छ: “सत्य पालन गर्ने धार्मिक [राष्ट्र] पस्न मूल-ढोकाहरू खोल।” (यशैया २६:२) एउटा धार्मिक राष्ट्र? हो, एउटा धार्मिक राष्ट्र छ किनभने उक्‍त भविष्यवाणीले हाम्रो समयमा त्यसको अस्तित्वलाई अङ्‌कित गर्छ। यस अनौठो राष्ट्रलाई कसरी चिन्‍न सकिन्छ?

२. “धार्मिक राष्ट्र” के हो? हामी त्यो कसरी भन्‍न सक्छौं?

२ न्यु वर्ल्ड ट्रान्सलेशन्‌ले यशैया २६:२ मा यसलाई “विश्‍वासी आचरण कायम गर्ने” राष्ट्र भनी अनुवाद गरेको छ। किङ्‌ग जेम्स्‌ भर्सन (छेउटिप्पणी) ले यो पदलाई यसरी अनुवाद गरेको छ: “सत्य पालन गर्ने धार्मिक [राष्ट्र]।” यी दुवै विवरणहरू उपयुक्‍त छन्‌। वास्तवमा, यो धार्मिक राष्ट्र चिन्‍न सजिलो छ किनभने राजा, ख्रीष्टको अधीनमा पृथ्वीमा भएको यो एक मात्र राज्य हो। यसर्थ, यो शैतानी संसारको भाग होइन। (यूहन्‍ना १७:१६) त्यसकारण यसका सदस्यहरू ‘अन्यजातिहरूका बीचमा असल चालचलन’ कायम गर्नेहरू भनी चिनिन्छन्‌। तिनीहरू परमेश्‍वरको महिमा हुने जीवन-शैली पछ्याउँछन्‌। (१ पत्रुस २:१२) यसबाहेक, संसारमा जहाँसुकै भए तापनि तिनीहरू “जीवित परमेश्‍वरको मण्डली, सत्यको खामा र जग[का]” भाग हुन्‌। (१ तिमोथी ३:१५) सत्यको समर्थन गर्दै तिनीहरू मसीहीजगतले सिकाउने गैरमसीही दर्शनशास्त्रहरू तिरस्कार गर्छन्‌ र परमेश्‍वरको वचन, बाइबलमा पाइने “छलरहितको आत्मिक दूधको” उद्‌घोषण गर्छन्‌। (१ पत्रुस २:२) यसबाहेक, “स्वर्गमनि भएका सारा सृष्टिमा” राज्यको सुसमाचार जोशका साथ प्रचार गर्छन्‌। (कलस्सी १:२३) यो राष्ट्र अभिषिक्‍त मसीहीहरूको मण्डली “परमेश्‍वरका इस्राएल[का]” शेष जनहरूबाट बनिएको छ भन्‍नुमा के कुनै शङ्‌का हुन सक्छ र? पटक्कै सक्दैन!—गलाती ६:१६.

राष्ट्रको जन्म हुन्छ

३. परमेश्‍वरको “धार्मिक राष्ट्र[को]” जन्म कसरी भयो, व्याख्या गर्नुहोस्‌।

३ “धार्मिक राष्ट्र[को]” जन्म कहिले भयो? यसको सुरुआतबारे यशैयाको पुस्तकमा भविष्यवाणी गरिएको थियो। यशैया ६६:७, ८ मा हामी पढ्‌छौं: “सुत्केरी हुनभन्दा पहिलेनै त्यसले जन्माई। सुत्केरी व्यथा लाग्नभन्दा पहिलेनै त्यसले एउटा छोरो जन्माई। . . . सियोनले ता सुत्केरी व्यथा लाग्ने बित्तिकै बालकहरू जन्माई।” सबैभन्दा अनौठो कुरा त, परमेश्‍वरको स्वर्गीय सङ्‌गठन सियोनले सुत्केरी व्यथा लाग्नुअघि नै “छोरो” जन्माउनु पर्थ्यो। सन्‌ १९१४ मा स्वर्गमा मसीही राज्य खडा भयो। (प्रकाश १२:५) त्यस छोरोको जन्मपश्‍चात्‌ झन्‌ बढी राष्ट्रहरू प्रथम विश्‍व-युद्धमा अन्तर्ग्रस्त हुँदै जाँदा अभिषिक्‍त मसीहीहरूले कठोर दुःख र सतावटहरू भोगे। अन्ततः, सन्‌ १९१९ मा पृथ्वीमा आत्मिक राष्ट्र अर्थात्‌ “छोरो” खडा भयो। यसप्रकार सियोनले “बालकहरू” अर्थात्‌ नयाँ “धार्मिक राष्ट्र[को]” अभिषिक्‍त सदस्यहरू जन्माई र तिनीहरूलाई निरन्तर विस्तारित साक्षी कार्यको लागि सङ्‌गठित पारियो।—मत्ती २४:३, ७, ८, १४; १ पत्रुस २:९.

४. निष्ठा कायम गर्न परमेश्‍वरको धार्मिक राष्ट्रले किन सङ्‌घर्ष गर्नु परेको छ?

४ गर्भधारण भएदेखिनै यस राष्ट्रले निष्ठाको कठोर जाँचहरू सामना गरेको छ। किन? स्वर्गीय राज्यको जन्म हुँदा शैतान र त्यसका दूतहरूलाई स्वर्गबाट पृथ्वीमा फ्याँकिएको थियो। एउटा ठूलो स्वरले यसप्रकार घोषणा गऱ्‍यो: “अब हाम्रो परमेश्‍वरको मुक्‍ति, शक्‍ति, राज्य र उहाँको ख्रीष्टको अख्तियार आएको छ, किनकि हाम्रा भक्‍तहरूलाई दोष लगाउने, जसले हाम्रा परमेश्‍वरका सामने दिनरात तिनीहरूलाई दोष लगाउँछ, त्यो फ्याँकिदिएको छ। औ थुमाको रगत, र तिनका वचनको साक्षीको कारण, र तिनीहरूले मृत्युसम्मै आफ्नो जीवनको पनि प्रेम नराखेको हुनाले तिनीहरूले त्यसलाई जितेका छन्‌।” यस्तो परिवर्तित अवस्थाप्रति शैतानले ठूलो क्रोध व्यक्‍त गऱ्‍यो अनि “परमेश्‍वरको आज्ञा पालन गर्ने, र येशूको साक्षी दिने, त्यसका बाँकि सन्तानहरूसँग युद्ध गर्न गयो।” शैतानका आक्रमणहरू भोगेका अभिषिक्‍त मसीहीहरू दृढ बसे। आजसम्म पनि परमेश्‍वरको धार्मिक राष्ट्रका जोशिला सदस्यहरू येशूको छुटकाराको रगतमा विश्‍वास राख्छन्‌ र “मृत्युसम्मै” निष्ठा कायम गरेर महाआलोचक, शैतानलाई मुखभरिको जवाफ दिन्छन्‌।—प्रकाश १२:१, ५, ९-१२, १७; हितोपदेश २७:११.

५. आधुनिक दिनका साक्षीहरूको कस्तो असल मनोवृत्तिले तिनीहरूलाई निष्ठा कायम गर्न मदत गरेको छ?

५ सन्‌ १९१९ मा परमेश्‍वरको राज्यको आधुनिककालीन साक्षी कार्य सुरु हुँदा त्यतिबेला बाइबल विद्यार्थीहरू कहलिने, यहोवाका साक्षीहरू थोरै तर विश्‍वासमा बलिया थिए। तिनीहरू ‘पर्खाल र आडको निम्ति बलियो शहरको’ जगका सदस्यहरू भए। तिनीहरूको भरोसा “परमप्रभु परमेश्‍वर सनातनको चटान[मा]” थियो। (यशैया २६:१, ३, ४) पुरातन समयका मोशाले जस्तै तिनीहरूले घोषणा गरे: “म परमप्रभुको नाउँको घोषणा गर्नेछु। परमेश्‍वरको महानताको कदर गर। उहाँनै चटान हुनुहुन्छ। उहाँको काम सिद्ध छ, किनकि उहाँका सबै काम न्यायसँगत छन्‌। परमेश्‍वर विश्‍वासयोग्य र अधर्मविहीन, न्यायी र सत्य हुनुहुन्छ।”—व्यवस्था ३२:३, ४.

६. यी अन्तिम दिनहरूमा यहोवाले आफ्ना जनहरूलाई कसरी आशिष्‌ दिनुभएको छ?

६ त्यतिबेलादेखि परमेश्‍वरको राज्य प्रबन्धका अवसरहरू उपभोग गर्ने मौका सारा मानवजातिको लागि खुला भयो। सर्वप्रथम १,४४,००० अभिषिक्‍त मसीही- हरूको शेष जन जम्मा गरियो र अहिले यहोवाका राज्यसम्बन्धी उद्देश्‍यहरू घोषणा गर्न “अरू भेड़ा[को]” ठूलो भीडले सानो बगाललाई साथ दिइरहेका छन्‌। (यूहन्‍ना १०:१६) यसकारण आनन्दपूर्वक यो घोषणा गर्न सकिन्छ: “तपाईंले जाति जातिहरूको वृद्धि गर्नुभएको छ। हे परमप्रभु, तपाईंले जाति जातिहरूको वृद्धि गर्नुभएको छ। तपाईं महिमित हुनुभएको छ। तपाईंले देशका सारा सीमाना बढ़ाउनुभएको छ।” (यशैया २६:१५) आज संसारको सर्वेक्षण गर्दा ती शब्दहरू सत्य भएको हामी देख्न सक्छौं! पवित्र आत्माको मदतद्वारा ख्रीष्टको आउँदै गरेको राज्यको साक्षी “पृथ्वीको अन्तसम्म” दिइएको छ। (प्रेरित १:८) त्यो प्रचार-कार्यको व्यापकता सन्‌ १९९४ मा विश्‍वभरि यहोवाका साक्षीहरूको सेवा रिपोर्टबाट नाप्न सक्छौं, जुन पृष्ठ १२ देखि १५ मा प्रकाशित गरिएको छ।

प्रकाशकहरूको नयाँ शिखर

७, ८. (क) परमेश्‍वरका जनहरूले ‘डेराको पाटा तन्काएका छन्‌’ भन्‍ने के प्रमाण छ? (ख) सन्‌ १९९४ को सेवा वर्षको रिपोर्ट हेर्दा कुन कुन क्षेत्रमा ‘आफ्ना सीमाहरू फैलाइरहेको’ देख्नुहुन्छ?

७ यस रिपोर्टका केही मुख्य बुँदाहरूलाई ध्यान दिनुहोस्‌। संसारभरि राज्य प्रकाशकहरूको शिखर सङ्‌ख्या ४९,१४,०९४ पुग्यो! “हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड़, सिंहासन र थुमाको अगाड़ि सेता लुगा लगाएर” निरन्तर जम्मा गरिएको हेर्न पाउनु कति उत्साहवर्धक कुरा हो! हो, यिनीहरू पनि निष्ठावान व्यक्‍तिहरू साबित भएका छन्‌। येशूको छुडौतीको बलिदानमा विश्‍वास राखेर “तिनीहरूले आफ्ना आफ्ना लुगाहरू थुमाको रगतमा धोएर सेता बनाएका” हुनाले धर्मी ठहरिएका छन्‌।—प्रकाश ७:९, १४.

८ विशेषगरि १९१९ देखि यहोवाको सङ्‌गठनलाई यो आज्ञा दिइएको छ: “तेरो पालको ठाउँ बढ़ा। तेरो डेराको पाटा तन्काइऊन्‌। न थाम्‌, लामो पार्‌, र तेरा कीलाहरू बलियो गर्‌।” (यशैया ५४:२) त्यसको प्रत्युत्तरमा प्रचार-कार्य द्रुत गतिले अघि बढिरहेको छ। अलास्काको सीमा क्षेत्र, असाध्यै चीसो युकोनमा समेत त्यस्तो कठिन परिस्थिति सामना गर्न सक्ने अग्रगामीहरूको समूह छ। त्यहाँको तापक्रम कहिलेकाहीं हप्तौंसम्म -४५ डिग्रीदेखि -५० डिग्री सेल्सियससम्म पुग्छ। हालैका वर्षहरूमा यहोवाको निष्ठा कायम गर्ने राष्ट्रमा ठूलो भीड द्रुत गतिले ओइरिरहेको छ। मसीहीजगत बाहिरका एसियाली मुलुकहरू, पहिलेको साम्यवादी आधिपत्य भएका मुलुकहरू, थुप्रै अफ्रिकी राष्ट्रहरू र इटाली, स्पेन, पुर्तुगाल तथा दक्षिण अमेरिकाजस्ता क्याथोलिक देशहरूका मानिसहरूलाई स्वागत गर्न ढोका अझ धेरै खोलिएको छ। यत्रतत्र छरिएका मानिसहरूले गर्दा वैदेशिक भाषाका इलाकाहरू खुलेका छन्‌। उदाहरणको लागि, बेलाइतमा साक्षीहरूले १३ वटा वैदेशिक भाषाका जातिहरूको आवश्‍यकतालाई हेरचाह गरिरहेका छन्‌।

“यो गर्नेगर”

९. (क) सन्‌ १९९४ को स्मरणार्थ उत्सवको उपस्थितिले कुन कुरा सङ्‌केत गर्छ? (ख) स्मरणार्थ उत्सवमा असाधारण उपस्थिति सङ्‌ख्या भएका केही देशहरू कुन कुन हुन्‌?

९ वार्षिक रिपोर्टको अर्को उल्लेखनीय बुँदा, स्मरणार्थ उत्सवको उपस्थिति हो। मरणको अलिक क्षणअघि येशूले आफ्नो मृत्युको स्मरणार्थ उत्सव स्थापना गर्नुभयो र चेलाहरूलाई यसो भन्‍नुभयो: “यो मेरो सम्झनाको निम्ति गर।” (१ कोरिन्थी ११:२४) सन्‌ १९९४ मा १,२२,८८,९१७ जना उपस्थित भएको हेर्न पाउनु उत्साहवर्धक थियो। त्यो सङ्‌ख्या सक्रिय प्रकाशकहरूको सङ्‌ख्याभन्दा दोब्बर बढी थियो। यसरी एकसाथ भेला हुनेहरू या त सहभागी हुन्छन्‌ या त अवलोकनकर्त्ताहरू। केही मुलुकहरूमा स्मरणार्थ उत्सवमा उपस्थित हुनेहरूको अनुपात प्रकाशकहरूको सङ्‌ख्याभन्दा निकै बढी थियो। स्मरणार्थ उत्सवमा १२,८७६ उपस्थित भएको देखेर एस्टोनिया, लाट्‌भिया र लिथुआनियाका ४,०४९ प्रकाशकहरू आनन्दित भए। त्यो प्रकाशकहरूको सङ्‌ख्याभन्दा तीन गुना बढी थियो। अनि बेनिनमा स्मरणार्थ उत्सवमा उपस्थिति सङ्‌ख्या १६,७८६ थियो जुन प्रकाशकहरूको सङ्‌ख्याभन्दा पाँच गुना बढी थियो। पैंतालीस प्रकाशकहरू भएको एउटा मण्डलीमा ८३१ उपस्थित भए!

१०. (क) स्मरणार्थ उत्सवमा अधिकतम उपस्थितिले हामीमाथि कुन जिम्मेवारी राख्छ? (ख) स्मरणार्थ उत्सवमा उपस्थित हुनेहरूले थप मदत पाउँदा के हुन सक्छ, वर्णन गर्नुहोस्‌।

१० त्यस सौहार्दमय अवसरमा त्यति धेरै जिज्ञासुहरू उपस्थित भएकोमा यहोवाका साक्षीहरू आनन्दित छन्‌। सत्यप्रति प्रेम र त्यसलाई अझ राम्ररी बुझेर यिनीहरूलाई थप प्रगति गराउन तिनीहरू अब मदत दिन चाहन्छन्‌। केहीले रूसकी आलाले जस्तै प्रतिक्रिया देखाउलान्‌। एउटी विशेष अग्रगामी बहिनीसित आलाले अध्ययन गरिरहेकी थिइन्‌ तर उनले खास कुनै प्रगति नगरेको हुनाले अध्ययन स्थगित गरियो। तापनि, स्मरणार्थ उत्सवमा उपस्थित हुने निमन्त्रणा आलाले स्वीकारिन्‌। त्यस असाध्यै महत्त्वपूर्ण सभाले उनमा गहिरो प्रभाव पाऱ्‍यो। घर फर्किनासाथ उनले आफूसित भएजति सारा मूर्तिहरू फ्याँकिन्‌ र मदतको लागि यहोवासित प्रार्थना गरिन्‌। स्मरणार्थ उत्सव आलालाई कस्तो लाग्यो भनी बुझ्न दुई दिनपछि त्यस अग्रगामी बहिनी उनलाई भेट्‌न गइन्‌। एउटा फलदायी वार्तालाप सुरु भयो। आलाको अध्ययन पुनः थालियो। चाँडै उनले साक्षी कार्यमा पनि भाग लिन थालिन्‌। स्मरणार्थ उत्सवमा उपस्थित हुनेहरूकहाँ पुनः जानु पर्ने महत्त्व यस अनुभवले देखाउँछ। सम्भवतः धेरैले आलाले जस्तै प्रतिक्रिया व्यक्‍त गर्नेछन्‌।

“हामी एक ठाउँमा भेला हुनालाई नछोड़ौं”

११-१३. (क) धार्मिक राष्ट्रको इमान्दार आचरणको भाग के हो? (ख) साँचो मसीहीहरू सभामा उपस्थित हुनु किन आवश्‍यक छ?

११ यहोवाका साक्षीहरूको पात्रोमा सबैभन्दा महत्त्वपूर्ण सभा येशूको मरणको स्मरणार्थ उत्सव हो तर त्यो एक मात्र सभा भने अवश्‍य होइन। प्रेरित पावलका शब्दहरूलाई पालन गर्दै प्रत्येक हप्ता यहोवाका साक्षीहरू एक साथ भेला हुन्छन्‌: “प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार राख्ने गरौं। कसै कसैको बानी भएझैं, हामी एक ठाउँमा भेला हुनालाई नछोड़ौं। तर दिन नजीक नजीक आईपुगेको तिमीहरूले देखेकै हुनाले एउटाले अर्कोलाई झन्‌ बढ़ता गरेर अर्ती दिँदै गरौं।” (हिब्रू १०:२४, २५) तिनीहरू यहोवाको धार्मिक राष्ट्रसित सम्बन्धित छन्‌, जुन त्यसको विश्‍वासी आचरणबाट चिनिन्छ। इमान्दार आचरणमा इमान्दारीपूर्वक सभाहरूमा उपस्थित हुनु पनि समावेश छ।

१२ प्राप्त प्रमाणहरूअनुसार यो कुरा फिलिपिन्समा स्पष्ट बुझिएको छ, जहाँ आइतबारको सभामा देशभरिको औसतन्‌ उपस्थिति प्रकाशकहरूको सङ्‌ख्याको १२५ प्रतिशत छ। सभामा उपस्थित हुनु पर्ने गम्भीरतालाई अर्जेन्टिनाका साक्षीहरू र जिज्ञासुहरूको समूहले पनि राम्ररी बुझेका छन्‌। तिनीहरू राज्य भवनबाट २० किलोमिटर टाढा बस्छन्‌। तापनि क्षेत्रीय निरीक्षकको रिपोर्टअनुसार बिरामीबाहेक अन्य कुनै कारणले तिनीहरूमध्ये कोही पनि कुनै सभाहरूमा अनुपस्थित हुँदैनन्‌। बग्गी अथवा घोडामा तिनीहरू चार घण्टा लामो यात्रा गर्छन्‌ र हिँउदमा राती अँध्यारोमा आफ्नो घर फर्कन्छन्‌।

१३ यस रीतिरिवाजको अन्त जसै नजिकिंदै जान्छ, जीवन धान्‍न झन्‌ झन्‌ कठिन हुन्छ, समस्याहरू थुप्रिन्छन्‌ र सभाहरूमा नियमित उपस्थित हुनु एउटा चुनौती हुन सक्छ। तर त्यस्ता परिस्थितिहरूमा सभाहरूमा मात्र पाइने आध्यात्मिक आहार र न्यानो सङ्‌गतिको झन्‌ बढी आवश्‍यकता हुन्छ।

“तयार रह”

१४. आफ्नो सेवकाईबारे यहोवाका साक्षीहरू किन तत्परता महसुस गर्छन्‌ र कस्ता परिणामहरूले यो प्रदर्शित गर्छ?

१४ गत वर्ष, इटालीको क्याथोलिक चर्चले यहोवाका साक्षीहरूको कार्यलाई “जङ्‌गली ढङ्‌गको धर्म परिवर्तन” भनेर उदृत गऱ्‍यो। तर वास्तवमा यहोवाका साक्षीहरूको कार्यमा कुनै जङ्‌गलीपन छैन। बरु, तिनीहरूको सेवकाई आफ्ना छिमेकीहरूप्रति गहिरो प्रेमको अभिव्यक्‍ति हो। यो पावलका शब्दहरूप्रति आज्ञाकारिताको प्रमाण पनि हो: “वचन प्रचार गर, समय र बेसमयमा तयार रह।” (२ तिमोथी ४:२) आफ्ना छिमेकीहरूलाई प्रचार गर्न, पुनः भेटहरू गर्न र साप्ताहिक ४७,०१,३५७ बाइबल अध्ययनहरू गर्न १९९४ मा यहोवाका साक्षीहरूले बिताएको जम्मा १,०९,६०,६५,३५४ घण्टाबाट सेवकाईमा जोशिला हुन तिनीहरूलाई तत्परताको भावनाले उत्प्रेरित गर्छ भन्‍ने कुरा देखिन्छ। थुप्रै साक्षीहरू अग्रगामी सेवामा भाग लिन सक्षम भए जसले अग्रगामी जोश जीवित र सक्रिय छ भनी देखाउँछ। संसारभरिका औसतन्‌ ६,३६,२०२ अग्रगामीहरूले यसको पुष्टि दिन्छ।

१५, १६. (क) जवान तथा वृद्ध दुवैले कसरी अग्रगामीको जोश देखाएका छन्‌? (ख) सन्‌ १९९४ सेवा वर्षको रिपोर्टमा देशहरूलाई एक एक गरी हेर्दा कुन देशहरूमा तपाईंले अग्रगामीहरूको उल्लेखनीय सङ्‌ख्या देख्नुहुन्छ?

१५ ती अग्रगामीहरूमध्ये थुप्रै जवानहरू पनि छन्‌। संयुक्‍त राज्य अमेरिकाका उच्च माध्यामिक विद्यालयमा अध्ययनरत केही जवानहरू नियमित अग्रगामीको हैसियतमा सेवा गरिरहेका छन्‌ र तिनीहरूको प्रमुख इलाका आफ्ना सहपाठीहरू भएका छन्‌। ती जवानहरूको लागि अग्रगामी गर्नु त्यस मुलुकका थुप्रै स्कूलहरूमा व्याप्त लागू पदार्थ, अनैतिकता र हिंसाबाट आफूलाई जोगाउने सर्वोत्तम तरिका साबित भएको छ। अन्य कतिपयको लक्ष्य स्कूलको अध्ययन सकिने बित्तिकै अग्रगामी गर्नु भएको छ। युक्रेनकी एरीनाले उच्च माध्यामिक विद्यालयको शिक्षा सकिने बित्तिकै अग्रगामी गर्न उच्च माध्यामिक कक्षाहरूमा अध्ययनरत होउन्जेल सहायक अग्रगामी गरिन्‌। स्कूल सिद्धिने बित्तिकै आर्थिक खाँचोहरू टार्न उनको परिवारले मदत गर्ने प्रस्ताव राखे, जसले गर्दा उनी नियमित अग्रगामी सेवामा लागेर आफ्नो परिवारको प्रतिनिधित्व गर्न सक्थिन्‌। आर्थिक तवरमा युक्रेनमा जीवन धान्‍न सजिलो छैन। तर एरीना भन्छिन्‌: “मैले गरिरहेको काम मेरो लागि मात्र जीवनदायी नभई मैले प्रचार गर्नेहरूको लागि पनि जीवनदायी छ भनेर मलाई थाहा छ।” आज थुप्रै जवानहरू एरीनाले जस्तै सोचिरहेको हेर्न पाउनु साँच्चै आनन्दको कुरा हो। “आफ्नो युवावस्थामा आफ्नो सृष्टिकर्त्ताको सम्झना” गर्ने योभन्दा उत्तम तरिका अरू के नै छ र?—उपदेशक १२:१.

१६ थुप्रै अग्रगामीहरू वृद्ध भइसकेका छन्‌। एउटी मसीही बहिनीको विवरणअनुसार दोस्रो विश्‍व-युद्धताका उनको बुबा र भाइ युद्धमा मारिए। अनि उनकी आमा र बहिनीलाई बस्तीमा गोली हानियो। पछि उनको छोराको मृत्यु भयो। अहिले वृद्ध र अस्वस्थ अवस्थामा यहोवाले उनलाई आफूले गुमाएको भन्दा ठूलो परिवार मसीही मण्डलीभित्र दिनुभएको छ। नियमित अग्रगामीको हैसियतमा अरूलाई मदत दिन पाउँदा उनी आनन्दित हुन्छिन्‌।

१७, १८. अग्रगामी होस्‌ या नहोस्‌ हामी प्रत्येकले अग्रगामीको जोश कसरी देखाउन सक्छौं?

१७ निस्सन्देह, सबै अग्रगामी हुन सक्दैनन्‌। हाम्रो व्यक्‍तिगत परिस्थिति जस्तोसुकै भए तापनि हामीले चढाउन सक्ने सर्वोत्तम पूर्ण भेटी स्वीकार्न यहोवा खुशी हुनुहुन्छ। (मलाकी ३:१०) वास्तवमा, हामी सबैले यी जोशिला अग्रगामीहरूको जोश खेती गर्न सक्छौं र हाम्रो परिस्थितिले भ्याएसम्म सुसमाचार फैलाउन सक्छौं।

१८ उदाहरणको लागि, अस्ट्रेलियामा सडक साक्षीको निम्ति अप्रिल १६, विशेष दिनको रूपमा छुट्याइएको थियो। यसमा प्रकाशक र अग्रगामीहरू दुवैले राम्रो साथ दिए भन्‍ने कुरा त्यस महिनामा प्रकाशकहरूको नयाँ शिखर सङ्‌ख्या, ५८,७८० बाट प्रमाणित हुन्छ। यसबाहेक, त्यही महिना गत वर्षको तुलनामा ९०,००० बढी पत्रिकाहरू वितरित भए। त्यस विशेष दिनमा एउटी बहिनीले एक पुरुषलाई पत्रिका दिए र पुनः तिनीकहाँ गएर कुरा गर्न तिनको नाउँ तथा ठेगाना लिँदा त्यो व्यक्‍ति आफ्नै नातेदार पो रहेछन्‌ भन्‍ने कुरा थाहा पाईन्‌! त्यो मानिस यस बहिनीकी ठूलीआमाको छोरा पो रहेछन्‌ जससित भेटघाट नभएको ३० वर्ष भइसकेको थियो। यस भेटघाटले गर्दा अवश्‍य पनि रमाइला पुनः भेटहरू हुन गए!

अन्तसम्मै निष्ठा कायम गर्नुहोस्‌

१९. यहोवाको धार्मिक राष्ट्रले अन्तसम्मै निष्ठा कायम गर्नु किन जरूरी छ?

१९ शैतानको संसार मृत्युतर्फ खस्कँदै जाँदा परमेश्‍वरको धार्मिक राष्ट्रसित सम्बन्धित सबैले निष्ठा कायम गर्नु जरूरी छ। चाँडै, यहोवाको पवित्र राष्ट्रले यो आह्वान सुन्‍नेछ: “हे मेरा मानिस हो, आऊ, तिमीहरू आफ्ना भित्री कोठाहरूमा पसेर ढोकाहरू थुन। परमप्रभुको क्रोध शान्त नहोउञ्जेल केही क्षणको निम्ति लुकिबस।” रक्‍तदोषी यो संसार कुनै हालतमा ईश्‍वरीय न्यायबाट उम्कनेछैन। “किनकि हेर, पृथ्वीका बासिन्दाहरूलाई तिनीहरूका अधर्मका निम्ति सजाय दिन परमप्रभु आफ्नो ठाउँबाट निस्की आउनुहुन्छ। पृथ्वीले आफूमाथि पोखाइएको रगत प्रकट गर्नेछ, र मारिएकाहरूलाई अब उप्रान्त पृथ्वीले छिपाउनेछैन।” (यशैया २६:२०, २१) यहोवाको धार्मिक राष्ट्रसित सम्बन्धित निष्ठावान मसीहीहरूको हैसियतमा हामी प्रत्येक दृढ भएर खडा होऔं। त्यसपछि ख्रीष्टको राज्य अन्तर्गत स्वर्ग अथवा पृथ्वीमा अनन्त जीवन प्राप्त गर्न हामी आनन्दित हुनेछौं।

के तपाईंलाई याद छ?

◻ “धार्मिक [राष्ट्र]” को जन्म कहिले भयो?

◻ यी अन्तिम दिनहरूमा परमेश्‍वरका जनहरूलाई किन धीरजको खाँचो परेको छ?

◻ सन्‌ १९९४ सेवा वर्षको रिपोर्टमा देखिएअनुसार अधिकतम प्रकाशक सङ्‌ख्या र सेवकाईमा बिताइएको घण्टाले कुन कुरा प्रदर्शित गर्छ?

◻ यो संसारको अन्त नजिक आउँदा सभाहरूमा उपस्थित हुनु किन त्यतिको महत्त्वपूर्ण छ?

◻ परमेश्‍वरको धार्मिक राष्ट्रसित सम्बन्धित सबैले किन निष्ठा कायम गर्नुपर्छ?

[पृष्ठ १२-१५-मा भएको तालिका]

विश्‍वव्यापी यहोवाका साक्षीहरूको १९९४ सेवा साल रिपोर्ट

(See bound volume)

[पृष्ठ १८-मा भएको चित्र]

यहोवाको धार्मिक राष्ट्रमा निष्ठा कायम गर्नेहरूले सिद्धतामा अनन्त जीवन प्राप्त गर्नेछन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने