डोमिनिकन रिपब्लिक—अन्वेषणको निम्ति अझै खुला
जवान छँदै क्रिस्टोफर कोलम्बसले समुद्री यात्रा सुरु गरे र अन्ततः आज वेस्ट इन्डिज भनेर चिनिने टापुहरू पत्ता लगाउन पुगे। सन् १४९२ डिसेम्बरमा उनको मुख्य जहाज, सान्ता मारिया एस्पान्योला टापुको उत्तरी तटनिर किनारा लागे। त्यो टापु आज हिस्पानियोलाको नाउँले चिनिन्छ र त्यो हैटी तथा डोमिनिकन रिपब्लिक मिलेर बनेको छ। यहाँ कोलम्बसले प्रथम युरोपेली बस्ती बसाले र छिटो छिटो किल्ला बनाएर त्यसलाई ला नाभिदाद नामाकरण गरे। यो टापु उनका थप अन्वेषणहरूको केन्द्र बन्न पुग्यो।
यस टापुका बासिन्दाहरू सुन्दर, भरोसायोग्य र अतिथि सत्कार गर्ने टाइनो इन्डियनहरू रहेछन् भनी कोलम्बसले पत्ता लगाए। त्यसताका त्यहाँ लगभग १,००,००० टाइनो इन्डियनहरू थिए। तर सुन पत्ता लगाउने एक मात्र लक्ष्य भएका आक्रमणकारीहरूको कठोर व्यवहारले गर्दा त्यहाँका स्थानीय बासिन्दाहरूको जनसंख्या छिटै घट्न थाल्यो। रिपोर्ट गरिएअनुसार सन् १५७० सम्म ५०० जति टाइनो इन्डियनहरू मात्र बाँकि थिए।
आज, डोमिनिकन रिपब्लिकमा थुप्रै जाति तथा रंगका मानिसहरू छन्। तिनीहरूका पुर्खाहरू त्यहाँ बसाइँ सरेका थिए। त्यसो भए तापनि तिनीहरू टाइनोहरूजस्तै मुख्यतः मिलनसार र शान्त स्वभावका छन्। यसको साथसाथै परमेश्वरमा साँचो विश्वास र बाइबलप्रति आदरले यहोवाका साक्षीहरूको प्रचार तथा शिक्षण-कार्य यस मुलुकमा असाध्यै सफल भएको छ।
अर्कै प्रकारको अन्वेषण
वाच टावरका प्रथम मिसनरीहरू, लेनार्ट र भर्जिनिया जोन्सन, तानाशाही ट्रुजिलोको समयमा डोमिनिकन रिपब्लिक आइपुगेका थिए। बाइबल समाचारप्रति थुप्रैले छिटो सकारात्मक प्रतिक्रिया देखाएकोमा तिनीहरू हर्षित भए। तर यो अधिकारीहरू र तिनीहरूका धार्मिक सल्लाहकारहरूको लागि मन पर्ने कुरा थिएन। सतावट प्रस्फुटन भयो र प्रारम्भिक डोमिनिकन साक्षीहरूको विश्वासको कठोर परीक्षा भयो। मृत्युसम्मै तिनीहरूले कायम गरेको विश्वासबारे आजसम्म पनि प्रायः कुरा गरिन्छ।
यस मुलुकका लगभग १६,००० यहोवाका साक्षीहरू सुपरिचित छन्। केही समयअघि पाँच टेलिभिजन केन्द्रहरूले जेहोभाज् विट्नेसेज्—दी अर्गनिजेशन बिहाइन्ड द नेम (यहोवाका साक्षीहरू—त्यस नाउँ पछाडिको संगठन) भिडियो चलचित्र देशभरि प्रसारण गरेका थिए।a
यसले गर्दा ठूल-ठूला शहरहरूमा मात्र नभई स-साना शहर तथा ग्रामीण क्षेत्रहरूमा पनि साक्षीहरूको कार्यको व्यापक प्रचारप्रसार भयो। यसपश्चात् यी टाढा टाढाका क्षेत्रहरूमा राज्यको सुसमाचार पुनः प्रचार गर्न एउटा विशेष प्रचार अभियानको प्रबन्ध गरियो।
अझ बढी गर्नेहरूका लागि आशिष्
यी टाढा टाढा क्षेत्रहरूमा दुई महिना प्रचार गर्न जवान, बलिया र जोशिला साक्षीहरू स्वेच्छापूर्वक राजी भए। तिनीहरूका प्रयासहरूले राम्रा आशिष्हरू पाए। एउटा क्षेत्रमा दुई साक्षीहरूले असाधारण चासो भेटाए। येशूको मृत्युको वार्षिक स्मरणार्थ उत्सवको समय भएकोले तिनीहरूले प्रबन्धहरू मिलाएर मानिसहरूलाई निमन्त्रणा दिए। भवन मानिसहरूले खचाखच भरियो र तिनीहरूले सभा सञ्चालन गरे। सभा सकिएपछि तिनीहरू छक्कै परे। भवनभित्र पस्न अर्को एउटा ठूलो भीड बाहिर कुरिरहेको थियो। अतः तिनीहरूलाई पनि भित्र बोलाएर कार्यक्रम पुनः दोहोऱ्याए। त्यो इलाकामा अहिले एउटा मण्डली छ।
मानिसहरूको उदार तथा मिलनसार स्वभावले गर्दा आफूले सिकेका बाइबल सत्यहरू परिवारका सदस्य र अरूसित बाँड्न तिनीहरू उत्प्रेरित हुन्छन्। घर-घरको सेवकाईमा भाग लिन दक्ष हुँदा एक बाइबल विद्यार्थी हर्ष विभोर भएका थिए। यसअघि नै आफ्नो छिमेकमा तिनले पाँच गृह बाइबल अध्ययन सञ्चालन गरिरहेका थिए तर सेवकाईमा अझ बढी भाग लिन पाउँदा तिनी खुशी भए।
अधिकांश इलाकामा राज्य प्रचारकहरू नियमित तवरमा जान नसक्ने हुनाले बसका यात्रुहरू र शहरमा व्यापार गर्न आउने वा पसलहरूमा मानिसहरूलाई प्रचार गर्ने प्रयास गरिएको छ। यसले गर्दा आनन्ददायी परिणामहरू पाएका छन्। शाखा कार्यालयमा प्राप्त पत्रसित सम्बन्धित अनुभवबाट यो प्रष्ट हुन्छ। बाइबल अध्ययन आग्रह गर्दै ग्रामीण इलाकाका दुई वयस्कहरूले यो पत्र लेखेका थिए। एक साक्षी भेट्न जाँदा ती “मानिसहरू” त १० र ११ वर्षका केटाहरू रहेछन्। तर तिनीहरूले बाइबल अध्ययन प्रबन्धबारे कसरी थाहा पाए? कुरा के भने, व्यापार गर्न एक मानिस त्यो गाउँबाट शहरमा आएको रहेछ। उनले सडकमा एक साक्षी भेटे जसले उनलाई एउटा पर्चा दिए र निश्शुल्क गृह बाइबल अध्ययनको प्रस्तावना राखे। गाउँमा फर्केपछि त्यस मानिसले त्यो पर्चा एक १२ वर्षीय छिमेकी केटीलाई दिए र बाइबल अध्ययन प्रबन्धबारे बताए। त्यसपछि उनले यो कुरा ती दुई केटाहरूलाई बताइन् र तिनीहरूले यो पत्र लेखिहाले। यी दुई केटाहरू, केटी, त्यो मानिस र उनका दुई बच्चाहरूसित बाइबल अध्ययन थालियो।
जवानहरूको राम्रो प्रतिक्रिया
निस्सन्देह, सच्चाइमा वा सच्चाइ बाहिर हुर्काइएका जवानहरूले परमेश्वरको उपासनालाई गम्भीरतापूर्वक लिएको देखिन्छ। उदाहरणको लागि, तामार र उनकी बहिनी, कला दुवैले १० वर्षको उमेरमा बप्तिस्मा लिए अनि ११ वर्षको उमेरमा अग्रगामीको हैसियतमा पूर्ण-समय सेवकाई थाले। पानीको बप्तिस्मा- द्वारा आफ्नो समर्पणलाई प्रतीकात्मक रूप दिंदा वेन्डी क्यारोलिना १२ वर्षकी थिइन् र दुई वर्षपछि सन् १९८५ मा तिनले नियमित अग्रगामी सेवा सुरु गरिन्। आज तिनी बाइबल सत्यका प्रभावकारी शिक्षिका भएर अहिले पनि पूर्ण-समय सेवकाईबाट आनन्द उठाइरहेकी छिन्। जवान होभानीले १० वर्षको उमेरमा बप्तिस्मा लिए र ११ वर्षको हुँदा नियमित अग्रगामी सुरु गरे अनि अहिले चार गृह बाइबल अध्ययन सञ्चालन गरिरहेका छन्। सडकमा किताब बेच्ने मानिससित यहोवाका साक्षीहरूद्वारा प्रकाशित पुस्तिका भएको दश वर्षीय रेले थाहा पाउने बित्तिकै त्यो किताब किनिदिन आमालाई बिन्ती गरे। उनले सम्पूर्ण पुस्तक पढ्न सिध्याए। अझ बढी बाइबल साहित्यहरू पढ्ने चासोले गर्दा उनी शाखा कार्यालयमा सम्पर्क गर्न पुगे। आज उनले पूर्ण-समय सेवकाईको आनन्द उठाइरहेका छन् र उनकी आमाले पनि परमेश्वरको सेवा गरिरहेकी छिन्।
आध्यात्मिक कुराहरूको महत्त्व मूल्यांकन गर्न यी र अन्य थुप्रै जवानहरूलाई कुन कुराले मदत पुऱ्याएको छ? प्रायजसो परिस्थितिमा आमाबाबुको उचित डोऱ्याइले महत्त्वपूर्ण भूमिका खेलेको छ। होस्वाको सन्दर्भमा पनि यस्तै भएको थियो। उनका मसीही आमाबाबुहरू शिक्षक हुन्। परिवारमा एक बच्चालाई पूर्ण-समय सेवकाईमा लाग्न प्रोत्साहन दिन परिभ्रमण निरीक्षकले सुझाव दिंदा उनका आमाबाबुले होस्वामाथि ध्यान केन्द्रित गरे। विशिष्ट विद्यार्थी हुनाले इन्जिनियरिङ अध्ययन गर्न सरकारले उनलाई छात्रवृत्रि प्रदान गऱ्यो। विश्वविद्यालयमा साढे एक वर्ष बिताइसकेपछि डोमिनिकन रिपब्लिकस्थित यहोवाका साक्षीहरूको मुख्यालयको निर्माण कार्यमा भाग लिने निमन्त्रणा उनले स्वीकारे। यहोवाको सेवाको लागि आफ्नो छोरा दिन पाएकोमा तिनका आमाबाबुले गहिरो सन्तुष्टि व्यक्त गरे।
अन्य मुलुकका “अन्वेषकहरू”
“फसल ता साँच्चिनै प्रशस्त छ, तर खेतालाहरू भने थोरै छन्” भन्ने येशूका शब्दहरू यस क्षेत्रमा लागू गर्न सकिन्छ। (मत्ती ९:३७) ठूलो खाँचो र राम्रो प्रतिक्रियाले गर्दा अन्य मुलुकका साक्षीहरू आधुनिक समयको साँचो धन अर्थात् सत्य खोज्ने साँचो व्यक्तिहरू भेटाउन यहाँ आएका छन्।
छिमेकी मुलुक पोर्टो रिकोबाट यहाँ साक्षी परिवारहरू बसाइँ सरेका छन् र डोमिनिकन रिपब्लिकका विभिन्न क्षेत्रहरूमा सेवा गरेर साँचो आनन्द उठाएका छन्। एक परिवारका मूलीले यसो भने: “सुन्न इच्छुक व्यक्तिहरूलाई आफ्नो विश्वास र आशाबारे बताउन पाउँदा सत्य साँच्चै जीवन्त हुन्छ!” यहाँको आवश्यकताबारे थाहा पाएर अन्य पूर्ण-समय सेवकहरूको साथमा काम गर्न स्वीडेनकी सिसिल्या र संयुक्त राज्यकी निया त्यहाँ आएकी छिन्। अग्लो उचाइ र नरम तापक्रम भएको भित्री भूभागमा तिनीहरूले सेवा गरिरहेका छन्। त्यस्तैगरि, संयुक्त राज्यबाट फर्केका डोमिनिकन परिवारसित दुई क्यानेडेली परिवारले लेकतिर सल्लाघारी भएका पहाडहरूमा सेवा गरिरहेका छन्। तिनीहरू सानो मण्डलीका भाग हुन् र दश वर्षसम्म यहोवाका साक्षीहरूले नभेटेका मानिसहरू भेट्न सक्षम भएका छन्।
आल्फ्रेडो र लुर्डस् तथा तिनीहरूका पाँच छोराछोरीहरू न्यु योर्क शहरबाट आए अनि अहिले समुद्री किनारा छेऊको रमणीय पर्यटन क्षेत्रमा सेवा गरिरहेका छन्। सोझा हृदय भएकाहरू भेटाउन र मण्डलीलाई बढ्न मदत दिन पाएकोमा तिनीहरू आनन्दित छन्। अस्ट्रियाका कम्प्युटर सञ्चालक रोल्याण्ड र उनकी पत्नी युटा त्यो देशको दक्षिणी भागको तातो, सुखा ठाउँमा बसोबास गरेका छन्। आफू आएपछि नयाँ मण्डलीको स्थापना भएको हेर्न पाउँदा तिनीहरू आनन्दित भएका छन्। नजिकैको गाउँमा बाइबल अध्ययन गर्न चाहनेहरू थुप्रै हुनाले ती सबै सञ्चालन गर्न नसकेको क्यालिफोर्नियाबाट आएका तीन अग्रगामी बहिनीहरू र एक दम्पतीले रिपोर्ट गरे। अतः सबै जिज्ञासुहरूलाई स्थानीय राज्य भवनको सभामा उपस्थित हुन प्रोत्साहन दिए र बाइबल अध्ययन गर्न तिनीहरूको नाउँ वेटिंग लिस्टमा राखे। यो देशको उत्तरपूर्वी किनाराको सुन्दर गाउँ सामनामा अवस्थित सानो मण्डलीमा युटाका भाइ श्टिफानले विश्वासीपूर्वक सेवा गरिरहेका छन्। दुई वर्षभित्र त्यहाँका राज्य प्रकाशकहरूको संख्यामा दोब्बर वृद्धि भएको छ।
मदतका निम्ति आएका यी र अन्य व्यक्तिहरूले देखाएको प्रेम र जोश साँच्चै सराहनीय छ। तिनीहरू भिन्न संस्कृति र चलनहरू भएको नयाँ ठाउँमा घुलमिल हुनुको साथै प्रायजसो परिस्थितिमा भेडाखाले मानिसहरूको आध्यात्मिक आवश्यकताहरू हेरचाह गर्न नयाँ भाषा सिक्ने जिम्मेवारी पनि स्वीकारेका छन्। तिनीहरूका प्रयासहरूप्रति स्थानीय मानिसहरूले सकारात्मक प्रतिक्रिया देखाएका छन्।
केही डोमिनिकन परिवारहरूले ठूलो शहरका ऐस-आरामहरू त्यागेका छन् र टाढा इलाकाहरूमा बसाइँ सरेका छन्। निष्कपटतासाथ सत्य खोजी गर्ने साँचो धन पत्ता लगाउँदा सबैले प्रशस्त इनाम पाएका छन्।
पन्ध्रौं शताब्दीमा सम्पत्ति खोज्न आएकाहरूले स्थानीय टाइनो बासिन्दाहरूका लागि आशिष् नभई बन्धन र अनगिन्ती दुःखहरू ल्याए। नयाँ संसारको सम्पत्तिबाट कोलम्बस आफैले पनि लाभ उठाएनन्। अन्ततः उनी पक्राउमा परे र स्पेनका नरेशले उनलाई कैदीसरह त्यो टापुबाट निकालिदिए।
आज त्यहाँ बेग्लै प्रकारको अन्वेषण कार्य भइरहेको छ र अझ बहुमूल्य सम्पत्ति पत्ता लागेको छ। राज्यको सुसमाचार सुन्ने सोझो हृदय भएका व्यक्तिहरू भेटाउन यहोवाका जनहरू व्यस्त छन्। त्यसको परिणामस्वरूप सदा वृद्धि भइरहेको भीड जम्मा भएको छ र यिनीहरूले मात्र परमेश्वरको वचनले प्रदान गर्ने स्वतन्त्रताको आनन्द उठाइरहेका छन्। (यूहन्ना ८:३२) पहाड, सुन्दर झरनाहरू, राम्रा समुद्रीतट तथा मोहक गुफाहरू भएको यो मुलुक प्रमोदवनरूपी टापु नभई सम्पूर्ण पृथ्वीभरि फैलिएको नयाँ संसारको भाग हुने समयको तिनीहरू प्रतीक्षा गर्छन्।—२ पत्रुस ३:१३.
[फुटनोट]
a वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा निर्मित।
[पृष्ठ २४-मा भएको नक्सा]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
डोमिनिकन रिपब्लिक
[पृष्ठ २४, २५-मा भएका चित्रहरू]
पूर्ण-समय सेवकाई पछ्याएर जवानहरूले आध्यात्मिक कुराहरूको मूल्य पत्ता लगाएका छन्