हाम्रो निम्ति कुनै अवकाश छैन!
टोक्यो, जापानस्थित एक असामान्य घरमा जानुहुँदा तपाईंले यो सन्देश पाउनुहुनेछ, “हाम्रो निम्ति कुनै अवकाश छैन।” औसतन ७० वर्षका २२ पुरुष तथा स्त्रीहरू त्यहाँ बस्छन्। तिनीहरूलाई रगतको नाताले नभई मिसनरी सेवा गर्ने साझा इच्छाले एकत्रित गरेको छ। पूर्ण-समय सेवामा तिनीहरूले जम्माजम्मी १,०२६ वर्ष बिताएका छन्! तिनीहरूमध्ये सबैभन्दा जेठा तीन सदस्यहरू सन् १९१० मा जन्मेका थिए। तिनीहरूमध्ये सात जनाले आफू किशोरावस्थामा छँदै पूर्ण-समय सेवा थालेका थिए। दोस्रो विश्व-युद्धपश्चात् प्रचार-कार्य सुरु भएदेखि जापानमा राज्य प्रचार-कार्यमा भएको वृद्धि तिनीहरूमध्ये नौ जनाले देखेका छन्।—यशैया ६०:२२.
तथापि वाच टावर शाखा कार्यालयको पहिलेको यो छ-तल्ले भवन विशेषगरि त्यहाँ बस्ने मिसनरीहरूको श्रेष्ठ प्रवृत्तिले गर्दा प्रोत्साहनको थलो भएको छ। उमेर र अस्वस्थताले गर्दा तिनीहरूमध्ये धेरै शारीरिक तवरमा सीमित भए तापनि यी आध्यात्मिक योद्धाहरू हार मान्न तयार छैनन्। भुइँतल्लामा राज्य भवन र लिफ्टको प्रबन्ध गरेर जापानी साक्षीहरूले त्यो भवन पूर्णतया जीर्णोद्धार गरेका छन्।
तिनीहरूलाई कुन कुराले खुशी बनाउँछ
आ-आफ्ना कार्यभारहरू पूरा गर्न यहाँ धेरै समय बिताइसकेको हुनाकारण ती मिसनरीहरूलाई यही आफ्नो घरजस्तो लाग्छ। त्यस परिवारको वृद्ध सदस्यमध्ये एकले यसो भनिन्: “गत ग्रीष्म ऋतुमा जिल्ला सम्मेलनको लागि अस्ट्रेलिया पुगेको दुई हप्तापछि नै मलाई जापान फर्किन मन लागिसकेको थियो!” आफूले सेवा गरिरहेका मानिसहरू तिनीहरू मनपराउँछन् र उनीहरूप्रति गहिरो स्नेह खेती गरेका छन्। अनुस्मरण गराउने पत्र तथा फोन कलहरूको मोल सबै मिसनरीहरू गर्छन्।
त्यो लगनशील सेवकाईको परिणाम हो। यहोवाप्रति प्रेमले उत्प्रेरित भई विविध परिस्थितिहरूमा मिसनरीहरूले परमेश्वरको वचन तत्परतासाथ प्रचार गरेका छन्। (तुलना गर्नुहोस् २ तिमोथी ४:२) जापानमा ३७ वर्ष सेवा गरिसकेकी भेरा मके यसो भन्छिन्: “यहोवाको सेवा गरिरहेकोले आनन्दित हुन हामीले आफूलाई प्रशिक्षित गऱ्यौं। ढोकामा कोही नआए तापनि हामी त्यहाँ यहोवाको साक्षी दिन खडा छौं।”
यिनीहरूमध्ये बाह्र मिसनरीहरूले विवाह गरेका छैनन् तैपनि कुनै अलमलबिना यहोवाको सेवा गर्न पाएकोमा खुशी छन्। (१ कोरिन्थी ७:३५) तिनीहरूमध्ये मिसनरीको रूपमा ४३ वर्ष सेवा गरिसकेकी ग्लाडिस ग्रेगरी एक हुन्। उनी यसो भन्छिन्: “यहोवाको अझ बढी सेवा गर्न मैले अग्रगामी काम थालें र पछि गिलियडमा [वाचटावर बाइबल स्कूल अफ गिलियड] गएर मिसनरी कार्यमा लागें। मैले अविवाहित बस्ने कुनै वाचा त बाँधेकी थिइनँ, तैपनि मैले विवाह गरिनँ र अरू थुप्रै साक्षीहरूझैं म पनि कहिल्यै पछुताइनँ।”
छाँटकाँट गर्ने इच्छुकता
उमेर ढल्किंदै जाँदा केही मानिसहरू एकोहोरो हुने भए तापनि यी मिसनरीहरू छाँटकाँट गर्न इच्छुक भएका छन्। लोइस डेयर, मली हेरोन र लेना तथा माग्रिट विन्टेलेरहरू पहिले टोक्योस्थित आवासीय क्षेत्रको सानो मिसनरी घरमा बस्थे। तिनीहरूले त्यहाँ २० वर्षभन्दा बढी समय बिताए र त्यस इलाकाका मानिसहरूसित घनिष्ठ भए। त्यस इलाकामा विन्टेलेर दिदीबहिनीको पत्रिका मार्गमा ४० व्यक्तिहरू थिए र मली तथा लोइस हेरोनको पत्रिका मार्गमा ७४ व्यक्तिहरू थिए। त्यसपछि, सोसाइटीले तिनीहरूलाई टोक्यो शहर बीच अवस्थित त्यस छ-तल्ले मिसनरी घरमा सर्न आग्रह गऱ्यो। लेना मानी लिन्छिन्: “सुरुमा म निराश र दुःखी भएँ।” तर सदाझैं नयाँ कार्यभारमा घुलमिल हुन तिनीहरूले छाँटकाँट गरे। तिनीहरूलाई अहिले कस्तो लाग्छ? लेना जवाफ दिन्छिन्: “अत्यन्त खुशी। हाम्रो निम्ति खाना पकाउन र घर सफा गर्न बेथेलका दुई भाइहरू यहाँ छन्। हाम्रो राम्रो हेरचाह गरिन्छ।” तिनीहरू सबै लोइसको यो कुरामा सहमत छन्: “यहोवाको संगठनले हाम्रो राम्रो हेरचाह गरेको हुनाले हामी अहिलेसम्म लागिरहन सकेका छौं।”
नोरिन थम्सनले पनि नयाँ परिस्थितिमा घुलमिल हुन छाँटकाँट गरिन्। उनी यसो भन्छिन्: “मेरो पति [न्यु जील्यान्डका] सँगै परिभ्रमण कार्यमा १५ वर्षसम्म भाग लिने सुअवसर मैले पाएँ र त्यतिबेला सम्पूर्ण जापान एउटै क्षेत्र थियो।” तथापि, उनको पतिको स्वास्थ्य झन् झन् नराम्रो हुँदै गयो र १८ वर्षअघि उनको मृत्यु हुँदा आफ्नो जीवनको सबैभन्दा ठूलो परीक्षा उनले सहनुपऱ्यो। उनी भन्छिन्, “जापानभरिका भाइहरूले देखाएको प्रेम, प्रार्थना र यहोवाको सेवामा व्यस्त रहनाले मिसनरी सेवामा लागिरहन मलाई त्यतिखेर मदत मिल्यो।”
स्वास्थ्य समस्याहरू हुँदा सहने
मिसनरी घरका निरीक्षक, अल्बर्ट पास्टर यसो भन्छन्: “हरेकको एक न एक स्वास्थ्य समस्या छ तर तिनीहरू हँसिला छन् र सेवा गर्ने तिनीहरूको इच्छा उल्लेखनीय गुण हो।” मिसनरीहरूको हेरचाह गर्न एक डाक्टर र तिनकी पत्नी, नर्सलाई मिसनरी घरमा खटाइएको छ।
गिलियड स्कूलको ११ औं कक्षाका स्नातक, एल्सी तानिगावाले तीन वर्षअघि एक दिन आफ्नो बाँया आँखाको दृष्टि अकस्मात् गुमाइन्। चार महिनापछि दाँया आँखामा पनि असर पऱ्यो। एल्सी बताउँछिन्: “पहिलेजस्तो सेवा गर्न नसकेकोमा म कहिलेकाहीं निराश हुन्छु। तर सोसाइटीको दयालु प्रबन्धहरू र मेरो साथी तथा अरूको मायालु सहयोगले गर्दा म अझै पनि यहोवाको सेवाबाट आनन्द उठाउँछु।”
एल्सीका गिलियड सहपाठीहरू, शिनिची टोहारा र उनकी पत्नी मासाकोले गत केही वर्षहरूमा स्वास्थ्यसम्बन्धी निकै समस्याहरू सामना गरेका छन्। कमजोर दृष्टिले गर्दा आफ्ना टिपोटहरू राम्ररी देख्न नसक्नु दक्ष वक्ता, शिनिचीको लागि ठूलो चुनौती हो। हालैका वर्षहरूमा उनको सानातिना तथा जटिल शल्यक्रियाहरू गरिसकेको भए तापनि अहिले आफूले मदत गरिरहेका ९० वर्षीय बाइबल विद्यार्थीबारे कुरा गर्दा उनका आँखा चहकिला हुन्छन्।
“शरीरमा एक किसिमको छेस्को” भए तापनि यी मिसनरीहरू आफ्ना कमजोरीहरूप्रति प्रेरित पावलको जस्तै दृष्टिकोण राख्छन्। जसले यसो भने: “दुर्बल हुँदा, म शक्तिमान हुन्छु।” (२ कोरिन्थी १२:७-१०) तिनीहरू साँच्चै शक्तिशाली छन्! हरेक दिन बिहान सात बजे हुने प्रभातकालीन उपासनाको लागि तयार हुन्छन्। बिहानको चिया-चमेनापछि शारीरिक तवरमा सक्षम व्यक्तिहरू बिहान सबेरै क्षेत्र सेवकाईमा जान्छन्।
क्षेत्र सेवामा नियमित तवरमा जानेहरूमध्ये रिचर्ड र मर्टल शिरोमा पनि हुन्। सन् १९७८ मा मस्तिष्क धमनीसूज भएदेखि मर्टललाई निकै पटक हृदयघात भइसकेको छ। तैपनि उनी नोभेम्बर १९८७ सम्म परिभ्रमण कार्यमा आफ्नो पति सँगसँगै गइन्। अहिले स्वयं ७० वर्ष पुगिसकेका रिचर्डले सबै कुरामा मर्टललाई मदत गर्छन्। तिनी बिहान ५ बजे उठ्छन्, मर्टललाई ओछ्यानबाट उठाउँछन्, नुहाइदिन्छन्, लुगा लगाइदिन्छन्, श्रृंगारपटार गरिदिन्छन् र खाना खुवाउँछन्। त्यसपछि हरेक बिहान उनलाई ह्विलचेरमा राखेर क्षेत्र सेवामा लग्छन्। एक घण्टाजति घर-घर साक्षी दिएपछि तिनीहरूले बस-बिसौनीहरूमा मानिसहरूलाई साक्षी दिन्छन्। अहिले मर्टल बोल्न त सक्दिनन् तर उनले उच्चारण गरेकी अन्तिम शब्दहरू डेन्डो डेन्डो थियो, जसको अर्थ जापानी भाषामा “प्रचार गर्नु, प्रचार गर्नु” हो।
तिनीहरूलाई मदत गर्न तिनीहरूकी छोरी, सान्द्रा सुमुडा मिसनरी घरमा सरेकी छिन्। हृदयघातको कारण सान्द्राले हालै आफ्नो प्रिय पति गुमाउनु पऱ्यो। उनी आफ्नो पतिसित गुआममा मिसनरी थिइन्। अब उनलाई पुनः जापान खटाएर सोसाइटीले देखाएको दयालु प्रबन्धप्रति उनी मूल्यांकन व्यक्त गर्छिन्। उनी भन्छिन्: “गुआममा भएकोले आमाबाबुको पूरापूर हेरचाह गर्न नसकेको जस्तो म सधैं महसुस गर्थें। यही घरमा मेरी बहिनी जोआनले उहाँहरूको हेरचाह गर्थिन्। अतः यो अवसर पाउँदा म खुशी भएँ। पतिको अकस्मात् मृत्युपश्चात् अरूले मेरो आवश्यकता महसुस गर्नु नै सबैभन्दा ठूलो स्वास्थोपचार साबित भएको छ।””
अझै पनि चिन्ताको विषय
मिसनरीहरूले वृद्धावस्थाका असरहरू महसुस गरे तापनि तिनीहरू मिसनरी जोश त्याग्न राजी छैनन्। (भजनसंग्रह ९०:१०; रोमी ५:१२) जापानमा सबैभन्दा पहिले आउने गिलियड स्नातकहरूमध्ये जेरी र योशी तोमा हुन्। तिनीहरू अहिले पनि शिबुया नगरको व्यापारिक थलोहरूमा प्रचार गर्न जान्छन्। योशी भन्छिन्: “सन् १९४९ मा यहाँको दुई-तल्ले घरमा हामी आउँदा पहाडी इलाकाका स-साना गाउँहरूमा प्रचार गर्न जान्थ्यौं। अहिले टोक्यो त महानगर भइसकेको छ। हामी वृद्ध भइसक्यौं र पहिलेजति गर्न सक्दैनौं। तर प्रचार-कार्यबाट फर्कंदा हामी असाध्यै ताजा महसुस गर्छौं।”
लिलियन साम्सन जापानमा मिसनरी भएको ४० वर्ष भइसक्यो र सेवकाईबाट असाध्यै आनन्द उठाउँछिन्। “मेरो मिसनरी साथी, आडलिन नाको आफ्नी बिरामी आमाको हेरचाह गर्न हवाई फर्केपछि उनीसित अध्ययन गर्ने ८० वर्षीयालाई अहिले मदत गरिरहेकी छु। पितृ उपासना गर्ने समस्याबाट उम्केकी त्यस स्त्री हालै राज्य प्रकाशक भइन्। मन्दिरमा गएर उनले पूजाहारीकी पत्नीलाई यसो भनिन्, ‘मैले मसीही धर्म अपनाइसकें!’” यस्ता आनन्दहरूले गर्दा १९ वर्षको उमेरमा सांसारिक काम त्यागेर अग्रगामी सेवा थालेकोमा लिलियन कहिल्यै पछुताउँदिनन्।
रूथ अल्रीक र मार्था हेस मिसनरी साथीहरू भएको ४५ वर्ष भइसक्यो अनि यही मिसनरी घरमा बसेर तिनीहरूले ३५ वर्ष सेवा गरिसकेका छन्। त्यस इलाकामा तिनीहरू सुपरिचित छन्। एक पटक क्षेत्रीय निरीक्षकले मार्थालाई सोधिन्: “घर-घर जान के म तपाईंको मुहार सापटी लिन सक्छु?” मानिसहरूले मार्थालाई राम्ररी चिन्थे र क्षेत्रीय निरीक्षकलाई वार्तालाप सुरु गर्न गाह्रो परिरहेको बेला मानिसहरू मार्थासित पत्रिकाहरू लिन्थे।
रूथको पत्रिका मार्गमा स्वास्थ्य समस्याले गर्दा पढ्न असक्षम एउटी स्त्री छिन्। तापनि त्यस स्त्री पत्रिकाहरू लिन्छिन् र सजिल्द पुस्तक म्यानकाइन्डस् सर्च फर गड (मानवजातिद्वारा परमेश्वरको खोज) समेत स्वीकारिन्। ती प्रकाशनहरू कसैले पनि नपढ्ने जस्तो देखिएकोले पत्रिकाहरू अबदेखि दिने या नदिने भनी रूथले सोच्न थालिन्। एक दिन त्यस स्त्रीको पतिले सर्च (खोज) पुस्तक लिएर रूथलाई यसो भन्यो: “मलाई यो पुस्तक साह्रै राम्रो लाग्यो! मैले दुई पटक सुरुदेखि अन्तसम्म पढिसकें।” यो मानिस र उनकी पत्नीसित रूथले बाइबल अध्ययन सुरु गरिन्।
यो मिसनरी घरले नै मानिसहरूलाई आकर्षित गर्छ। एक साँझ, एक जवान मानिस त्यस मिसनरी घरमा आएर यसो भने: “मलाई थाहा भएअनुसार म यहाँ आएँ भने बाइबल सिक्ने मदत पाउन सक्छु।” तिनीसित बाइबल अध्ययन थालनी गरियो। तिनी चिनियाँ भोजनालयमा भान्छे थिए र साथै एउटी स्त्रीको घरमा काम गर्थे। यस स्त्री मण्डलीबाट बहिष्कृत भएकी धेरै वर्ष बितिसकेको थियो। एक प्रकाशक त्यो भोजनालयको भान्छामा पुग्न सफल हुँदा पत्रिकाहरू पनि दिन सके। यस जवान भान्छेलाई ती पत्रिकाहरू मन पऱ्यो र तिनले त्यस बहिष्कृत साक्षीलाई प्रश्नहरू सोध्न थाले। ती सबै प्रश्नको जवाफ दिन असक्षम हुनाकारण उनले मिसनरी घरमा जाने सल्लाह दिइन्। अहिले तिनी सहायक सेवक र अग्रगामीको हैसियतमा सेवा गरिरहेका छन्। समयमा त्यस बहिष्कृत बहिनी पनि पुनःस्थापित भइन् र अन्ततः उनी पनि नियमित अग्रगामी भइन्।
यहोवाले तिनीहरूको निम्ति गर्नुभएका कुराहरूको लागि सबै मिसनरीहरू मूल्यांकन जाहेर गर्छन्। तिनीहरू अस्ट्रेलिया, क्यानाडा, हवाई, स्वीट्जरल्याण्ड तथा संयुक्त राज्यबाट आएका थिए र तिनीहरूमध्ये ११ जना ११ औं अनि त्योभन्दा अघिको गिलियड मिसनरी स्कूलका स्नातकहरू हुन्। तिनीहरूले जापानमा राज्य कार्यमा भएको प्रगति देखेका छन् र राजा दाऊदको जस्तै अनुभूति व्यक्त गर्छन्। तिनले यसो भने: “जवान थिएँ, र म अहिले बूढ़ो भएको छु। तैपनि धर्मात्मा त्यागिएको, र तिनका सन्तानले भिक्षा मागेको मैले देखेको छैनँ।” (भजनसंग्रह ३७:२५) परमेश्वरको मायालु प्रेमप्रति मूल्यांकनस्वरूप यी मिसनरीहरू अवकाश नलिइकन यहोवाको सेवा गरी नै रहन कटिबद्ध छन्।