धर्म–एक वर्जित विषय?
“धर्म र राजनीति, यी दुइ विषयमा म कहिल्यै कुरा गर्दिनँ!” अरूसँग बाइबलबारे कुरा गर्दा यहोवाका साक्षीहरूले प्रायः यस्तै प्रत्युत्तर पाउँछन्। र तिनीहरूको त्यस्तो दृष्टिकोण स्वाभाविक छ।
राजनैतिक विषयमा वादविवाद चल्दा मानिसहरूलाई झोंक चल्न सक्छ, भनाभन हुनसक्छ। अधिकांश मानिसहरू राजनीतिज्ञहरूका खोक्रो आश्वासनहरूको भ्रममा पर्दैनन् र ती राजनीतिज्ञहरू केवल शक्ति, ख्याति र पैसा चाहन्छन् भनेर तिनीहरूलाई थाहा छ। दुःखलाग्दो कुरा, राजनैतिक मतभिन्नताले गर्दा कहिलेकाहीं हिंसासमेत हुन्छ।
‘तर,’ तपाईं यसो भन्दै तर्क गर्नुहोला, ‘के धर्मको सम्बन्धमा पनि त्यही कुरा भन्न मिल्दैन र? के धर्मप्रतिको संवेदनशीलताले गर्दा नै आज धेरैजसो विवादहरू सुरु भएको होइन र?’ उत्तरी आयरल्यान्डमा रोमन क्याथोलिक र प्रोटेस्टेन्टहरूबीच आपसी दुश्मनी सुरु भएको आज निकै भइसक्यो। बाल्कन राज्यहरूमा इस्टर्न अर्थोडक्स चर्च, रोमन क्याथोलिक र अन्य धर्मपन्थीहरू आफ्नो इलाकाको लागि लड्दैछन्। नतिजा? नृशंस व्यवहार अनि लामो समयदेखि चल्दैआएको द्वेष।
मृत्युको धम्कीले गर्दा धेरैले आफ्नो तथा परिवारको विश्वासलाई ढाकछोप गर्ने प्रयत्न गर्छन्। अफ्रिकामा शताब्दीऔंदेखि मसीहजगतका मानिसहरू र अन्य विदेशी तथा जातीय धर्मका अनुयायीहरूबीच चलिआएको धार्मिक वैमनस्यले गर्दा आमा-बाबुहरूले आफ्ना छोरा-छोरीहरूलाई केही हदसम्म सुरक्षा प्रदान गर्न दुइवटा नाउँ राख्छन्। यो प्रचलन आजसम्म कायमै छ। यसप्रकार एउटा मात्र नाउँ लिंदा एउटा केटो चर्च वा अन्य धर्म दुवैको सदस्य हुनसक्छ। आफ्नै धार्मिक विश्वासले गर्दा ज्यान जान सक्छ भने, धर्मबारे खुलस्त भएर कुरा नगर्नु कुनै अस्वाभाविक कुरा होइन।
अरू चाहिं आफ्नो ज्यान खतरामा नपरे तापनि धर्मलाई वर्जित विषय ठान्छन्। बेग्लै विश्वास भएको व्यक्तिसँग आफ्नो धर्मबारे कुरा गर्दा निरथर्क तर्कवितर्कहरू हुनसक्छन् भनेर तिनीहरू डराउँछन्। बाँकि अरू मानिसहरू भने सबै धर्म असल छन् भन्ने धारणा राख्छन्। आफ्नो धर्मसित चित्त बुझेको छ भने बेग्लै धर्मबारे कुरा गर्नु व्यर्थ छ भनेर तिनीहरू भन्छन्।
धर्मको प्रकृतिबारे गम्भीरतापूर्वक अध्ययन गर्ने विद्यार्थीहरूमा समेत आपसी मतभिन्नता पाइन्छ। द न्यु इनसाइक्लोपीडिया ब्रिटानिका-ले (विश्वकोश) “धर्महरूको अध्ययन तथा वर्गीकरण” शीर्षकको लेखअन्तर्गत यो कुरा मानि लिएको छ: “[धर्मको] प्रकृतिबारे विद्वानहरू एकमत भएका कमै भेटिन्छन्। . . . आफ्नो इतिहासभरि धर्म एउटा विवादको विषय बनेको छ।”
एउटा शब्दकोशले धर्मलाई “ब्रम्हाण्डको सृष्टिकर्ता तथा शासकको रूपमा परिचित अलौकिक शक्तिमाथि मानिसको विश्वास र श्रद्धाको अभिव्यक्ति” भनेर परिभाषित गर्छ। त्यसैले हाम्रो जीवनमा धर्मले ठूलो भूमिका खेलिरहेको छ। निस्सन्देह, मानव इतिहास निर्माण गर्ने सर्वमान्य तत्त्व पनि धर्म नै हो। अक्सफोर्ड इलस्ट्रेटेड इनसाइक्लोपीडिया अफ पिपल्स एण्ड कल्चर्स-अनुसार (मानिस तथा संस्कृतिको सचित्र अक्सफोर्ड विश्वकोश) “धर्मको माध्यमद्वारा सुव्यवस्था ल्याउन र जीवनलाई अर्थपूर्ण बनाउन प्रयत्न नगर्ने कुनै समाज छैन।” “सुव्यवस्था” र “अर्थपूर्ण” जीवनजस्ता आधारभूत तत्त्वहरू समेट्ने धर्म अवश्य तर्कवितर्क र वाद-विवादको लागि मात्र योग्य हुनसक्दैन। धर्म छलफलको योग्य छ अर्थात् कसैसँग त्यसबारे राम्ररी मनन गर्नु आवश्यक छ। तर कोसँग र त्यसबाट के लाभ हुन्छ?