धर्मबारे छलफल गरेर के लाभ हुनसक्छ?
आफ्नो बच्चाले बोली फुटाएको सुन्न आमा-बाबु निकै उत्सुक हुन्छन्। तोते बोलीमा आफ्नो बच्चाले “मम्मा” वा “बाबा” भनी उच्चारण गर्दा तिनीहरूको मन प्रफुल्लित हुन्छ। त्यसपछि तुरुन्तै आफ्ना मित्र तथा छिमेकीहरूलाई त्यसको खबर दिन्छन्। बच्चाले पहिलो चोटि त्यसरी बोलेको सुन्न पाउनु अवश्य आनन्ददायी सुसमाचार हो।
आफूले महसुस गरेको आवाज, दृश्य र गन्धले सानो बच्चालाई प्रतिक्रिया व्यक्त गर्न उत्प्रेरित गर्छ। निस्सन्देह, बच्चापिच्छे प्रतिक्रिया भिन्दा भिन्दै होला। तर केही समयावधिपछि पनि बच्चाले उपरोक्त कुराहरूप्रति कुनै प्रतिक्रिया देखाउँदैन भने, स्वाभाविकतः आफ्नो बच्चा ठीकसँग विकास नहोला भनी आमा-बाबुहरू चिन्ता गर्छन्।
आफूले चिनेजानेका मानिसहरूसँग बच्चाहरू बढी झ्यामिन्छन्। आमाले बच्चालाई लुटुपुटु गर्दा बच्चाको अनुहारमा प्रायः मीठो मुस्कान छाउँछ। यद्यपि, भेटघाट गर्न आएको नातेदारले छुँदा मात्र पनि ऊ चिच्याएर रुन सक्छ र बोक्न खोज्दा पटक्कै नमान्न सक्छ। तर यो कुरा थाह हुने अधिकांश नातेदारहरू हार मान्दैनन्। तिनीहरूसित घुलमिल हुँदै गएपछि बच्चाले अप्ठ्यारो मान्न छोड्छ र बिस्तारै उसको मुहारमा मुस्कान छाउन थाल्छ।
त्यस्तैगरि, कोही व्यक्ति त्यत्ति परिचित छैन भने आफ्नो धार्मिक विश्वासबारे कुरा गर्न अधिकांश वयस्कहरू हिचकिचाउँछन्। एक अपरिचित व्यक्ति, धर्मजस्तो निजी मामलामा किन छलफल गर्न चाहन्छन् भनेर तिनीहरूले नबुझ्न सक्छन्। फलतः सृष्टिकर्ताबारे कुरा गर्ने व्यक्ति र आफूबीच तिनीहरूले तगारो खडा हुन दिन्छन्। मानवजातिको जन्मजात अन्तर्निहित गुन अर्थात् उपासना गर्ने इच्छाजस्तो विषयमा समेत तिनीहरू कुरा गर्न इन्कार गर्छन्।
वास्तवमा, हामी आफ्नो सृष्टिकर्ताबारे सिक्न इच्छुक हुनुपर्छ र अरूसँग छलफल गर्दा झन् बढी सिक्न सक्छौं। कारण, परमेश्वरले निकै समय अघिदेखि खुला सञ्चार कायम गर्नुभएको छ। कसरी? आउनुहोस्, हामी जाँचेर हेरौं।
‘सुन्नुहोस् अनि सिक्नुहोस्’
अदनको बगैंचामा आदमसित कुरा गर्नु भएर परमेश्वरले पहिलो चोटि मानिससित सञ्चार कायम गर्नुभएको थियो। आदम र हव्वाले पाप गरिसकेपछि पनि परमेश्वरले तिनीहरूलाई बोलाएर फेरि सञ्चार कायम गर्न खोज्नुभएको थियो। तर तिनीहरू लुक्न रुचाए। (उत्पत्ति ३:८-१३) यद्यपि, परमेश्वरसँग सञ्चार कायम राख्न चाहने पुरुष तथा स्त्रीहरूका विवरणहरू बाइबलमा लेखबद्ध छन्।
नूहको समयमा तत्कालीन दुष्ट संसारको सन्निकट विनाशबारे परमेश्वरले तिनीसित कुरा गर्नुभयो। फलतः नूह “धर्मका प्रचारक” भए। (२ पत्रुस २:५) आफ्नो पुस्ताका लागि तिनी परमेश्वरको प्रवक्ता बने। परमेश्वरले मानिससित गर्नुहुने व्यवहारमाथि विश्वास प्रदर्शन गर्नुका साथै आफू यहोवाको पक्षमा भएको कुरा तिनले खुलेआम घोषणा गरे। नूहले कस्तो प्रत्युत्तर पाए त? दुःखलाग्दो कुरा, “जलप्रलय आएर सबलाई स्वात्तै नलगुञ्जेल” तिनका दौंतरहरूले ‘थाहै पाएनन्।’ (मत्ती २४:३७-३९) तर खुशीको कुरा, नूहको परिवारका सात सदस्यहरूले परमेश्वरका निर्देशनहरू पालन गरेर त्यस विश्वव्यापी जलप्रलयबाट बचे। आज बाँचिरहेका सबै मानिसहरू तिनीहरूकै सन्तान हुन्।
पछि, मानिसहरूको सिंगो राष्ट्र, पुरातन इस्राएलसँग परमेश्वरले सञ्चार कायम गर्नुभयो। परमेश्वरले मोशाद्वारा दश आज्ञाहरूका साथै त्यति नै महत्त्वपूर्ण ६०० जति नियमहरू दिनुभयो। इस्राएलीहरूले ती सबै नियमहरू पालन गरून् भनी यहोवा चाहनुहुन्थ्यो। मोशाले प्रत्येक सात वर्षमा वार्षिक झुप्रो बासको चाडको दौडान सबैले सुन्नेगरि परमेश्वरको व्यवस्था पढ्ने निर्देशन दिए। तिनले यसो भने, “स्त्री, बालक र तिमीहरूका शहरभित्र भएका परदेशीहरू सबैलाई भेला गर।” किन? “तिनीहरूले सुनेर परमप्रभु तिमीहरूका परमेश्वरका भय मान्न सिकून् औ यस व्यवस्थाका सबै आज्ञा होशियारीसाथ पालन गरून्।” हो, सबैले सुन्नु र सिक्नुपर्थ्यो। आफूले सिकेका कुरा छलफल गरेर तिनीहरूले कति आनन्द उठाए होलान्, यसो कल्पना गर्नुहोस् त!—व्यवस्था ३१:१०-१२.
यसको झन्डै पाँच शताब्दीपछि यहोवाको उपासना पुनर्स्थापना गर्ने अभियानमा यहूदाका राजा यहोशापातले राजकुमार तथा लेवीहरूलाई संगठित गरे। यी मानिसहरूले यहूदाका सारा शहरहरूमा गएर त्यहाँका बासिन्दाहरूलाई यहोवाको व्यवस्था सिकाए। जनसमक्ष यहोवाको व्यवस्था घोषणा गर्न लगाएर राजा यहोशापातले साँचो उपासनाका लागि आफ्नो दृढता प्रदर्शित गरे। तिनका प्रजाहरूले सुन्नु र सिक्नुपर्थ्यो।—२ इतिहास १७:१-६, ९.
छलफलद्वारा साक्षी दिने
आफ्नो प्रवक्ताको रूपमा परमेश्वरले आफ्नै पुत्र येशूलाई यस पृथ्वीमा पठाउनुभयो। (यूहन्ना १:१४) येशूको रूप परिवर्तन भएको देख्ने उहाँका तीन चेलाहरूले परमेश्वर स्वयंले यसो भन्नुभएको आवाज सुने: “यिनी मेरा प्रिय पुत्र हुन्, जसमा म प्रसन्न छु, तिमीहरूले उनको कुरा सुन।” (मत्ती १७:५) तिनीहरूले स्वेच्छापूर्वक यो कुरा माने।
त्यस्तैगरि, अरूलाई परमेश्वरको उद्देश्यहरू बताउन येशूले आफ्ना प्रेरितहरूलाई अह्राउनुभयो। तर आफ्नो पार्थिव सेवकाई अन्त हुनुभन्दा छ हप्ताअघि येशूले स्वर्गको राज्यको प्रचार-कार्य अति विशाल भएकोले अझ धेरै चेलाहरूको खाँचो पर्नेछ भनी बताउनुभयो। अपरिचित मानिसहरूसित परमेश्वरको राज्यबारे कसरी कुरा गर्ने भनेर उहाँले ७० चेलाहरूलाई सिकाउनुभयो र जनसमक्ष व्यापक तवरमा त्यस समाचार घोषणा गर्न पठाउनुभयो। (लूका १०:१, २, ९) स्वर्गमा हुनुहुने आफ्नो पिताकहाँ जानुभन्दा केही समयअघि येशूले आफ्ना चेलाहरूलाई अग्रसर भई अरूसँग यो समाचारबारे कुरा गर्न आग्रह गर्नुको साथै यो आज्ञासमेत दिनुभयो: “यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ, . . . जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ।” (मत्ती २८:१९, २०) आज सारा संसारभरि आफ्ना छिमेकीहरूलाई परमेश्वरको राज्यको सुसमाचार सुनाएर साँचो मसीहीहरू यो जिम्मेवारी पूरा गर्छन्। यस्ता छलफलहरूले सृष्टिकर्ता, यहोवाको सच्चाइको साक्षी दिन तिनीहरूलाई मदत गर्छ।—मत्ती २४:१४.
शान्तिपूर्ण, उत्थानदायी छलफल
तर आफ्नो विश्वासबारे येशूका चेलाहरूले कुन ढंगमा छलफल गर्नुपर्ने थियो? विरोधीहरूलाई तिनीहरूले चिढ्याउनु हुँदैन थियो न ता तिनीहरूसित बहस गर्नु हुन्थ्यो। बरु, सुसमाचार सुन्न चाहने व्यक्तिहरू तिनीहरूले खोज्नुपर्थ्यो र त्यसलाई समर्थन गर्ने शास्त्रीय प्रमाणहरू प्रस्तुत गर्नुपर्थ्यो। निस्सन्देह, आफ्नो पुत्रका चेलाहरूको सम्पर्कमा आउने मानिसहरूको प्रतिक्रिया परमेश्वरले हेर्नुहुन्थ्यो। यस सम्बन्धमा येशूले यस्तो समेत भन्नुभयो: “तिमीहरूलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्दछ, र मलाई ग्रहण गर्नेले मलाई पठाउनेलाई ग्रहण गर्नेछ।” (मत्ती १०:४०) येशूको समाचार इन्कार गर्ने थुप्रै समकालीन मानिसहरूले साँच्चै परमेश्वरलाई कति कठोरतापूर्वक इन्कार गरे!
मसीही प्रेरित पावलले यस्तो सल्लाह दिए, “प्रभुका सेवकले झगड़ा गर्नुहुँदैन, तर सबैप्रति भला, सिकाउसक्ने, सहनशील, आपसमा विरोध गर्नेहरूलाई नम्रसँग सच्याउने हुनुपर्छ, सायद परमेश्वरले तिनीहरूलाई सत्यको ज्ञानको निम्ति पश्चाताप दिनुहुनेछ।” (२ तिमोथी २:२४, २५) एथेन्स, ग्रीसका मानिसहरूलाई पावलले जुन ढंगमा सुसमाचार प्रचार गरे, त्यो राम्रो उदाहरण हो। यहूदीहरूको सभाघरमा पावलले तिनीहरूसित तर्क गरे। “बजारमा तिनीसँग भेट गर्ने जतिसँग” दिनहुँ तिनी बहस गर्थे। निस्सन्देह, केही व्यक्तिहरू नयाँ विचारहरू सुन्न मात्र मन पराउने खालका भए तापनि पावल स्पष्ट र दयालु ढंगमा बोल्थे। तिनले आफ्ना स्रोताहरूसँग परमेश्वरको समाचारबारे छलफल गरे, जसले तिनीहरूलाई पश्चात्ताप गर्ने आग्रह गरिरहेको थियो। तर तिनीहरूको प्रतिक्रिया आज मानिसहरूले व्यक्त गर्ने प्रतिक्रियाभन्दा भिन्न थिएन। “कसै कसैले गिल्ला गरे। तर अरूले चाहिं ‘हामी फेरि यस विषयमा तिम्रा कुरा सुन्नेछौं भने।’” यद्यपि, पावलले अझ छलफल जारी राख्न जिद्दी गरेनन्। आफ्नो समाचार प्रचार गरेर पावल “तिनीहरूसँगबाट बिदा भए।”—प्रेरित १७:१६-३४.
पछि, एफिसस मसीही मण्डलीका सदस्यहरूलाई ‘तिनीहरूको लाभ हुने कुरा देखाइदिन र घर-घरमा खुल्लमखुल्ला सिकाउन पछि हटिनँ’ भनेर पावलले बताए। यसबाहेक, “यहूदीहरूलाई र ग्रीकहरूलाईसमेत परमेश्वरतिरको पश्चातापको, र हाम्रा प्रभु येशू ख्रीष्टतिरको विश्वास[बारे]” तिनले बेलीबिस्तार छलफल गरिसकेका थिए।—प्रेरित २०:२०, २१.
बाइबलकालीन समयमा परमेश्वरका विश्वासी सेवकहरूले कसरी धर्मको छलफल गर्थे भनी यी शास्त्रीय उदाहरणहरूले प्रष्टसँग देखाउँछ। अतः आज यहोवाका साक्षीहरू आज्ञाकारीपूर्वक आफ्ना छिमेकीहरूसित धर्मबारे छलफल गर्छन्।
धेरै लाभ हुने छलफल
‘परमेश्वरको वचन सुन।’ ‘उहाँका आज्ञाहरू पालन गर।’ यस्ता सल्लाहहरू बाइबलमा निकै पाइन्छन्! यहोवाका साक्षीहरू फेरि कुरा गर्न आउँदा ती सल्लाहहरू तपाईंले पालन गर्न सक्नुहुन्छ। तपाईंका निम्ति तिनीहरूले बाइबलबाट ल्याएको समाचार सुन्नुहोस्। यो कुनै राजनैतिक समाचार होइन बरु त्यसले परमेश्वरद्वारा सञ्चालित स्वर्गीय राज्य सरकार अर्थात् उहाँको राज्यको समर्थन गर्छ। अनि यसै माध्यमद्वारा परमेश्वरले वर्तमान समयका विवादहरू अन्त गर्नुहुनेछ। (दानियल २:४४) तत्पश्चात् स्वर्गबाट सञ्चालित परमेश्वरको यस राज्यले पूरै पृथ्वीलाई अदनको बगैंचाजस्तो प्रमोदवनमा परिवर्तन गर्ने प्रबन्ध मिलाउनेछ।
यहोवाका साक्षीहरूले बाइबलबारे कुरा गर्न खोज्दा एक भूतपूर्व प्रहरी गुप्तचरले बारम्बार इन्कार गर्थे। तर दिनहुँ बढ्दो अपराधको सामना गर्नुपर्दा तिनी जीवनदेखि वाक्क भए। अतः अर्कै साक्षी घरमा भेट गर्न आउँदा बाइबलबाट प्रमाणहरूको जाँच गर्छु भनी तिनले बताए। त्यसपछि नियमित छलफल सुरु भयो। बीचबीचमा यो प्रहरी निकै पटक सरुवा भए तापनि छलफल जारी राख्न साक्षीहरूले झिजो नमानी तिनलाई खोज्थे। अन्ततः यस प्रहरी अधिकृतले यसो भनेर मानी लिए: “मैले खोजेका प्रमाणहरू सधैं पवित्र शास्त्रमै भेटिन्थ्यो। ती साक्षीहरूले लगनशील भएर मसँग कुराकानी नगरेको भए म अहिलेसम्म पनि जीवनको उद्देश्य के होला भनेर सोचिरहेकै हुन्थें। अब भने मैले सच्चाइ पाएको छु र म आफ्नो बाँकि जीवन, मजस्तै परमेश्वरको खोजी गर्ने मानिसहरू खोज्न बिताउँछु।”
जिज्ञासु व्यक्तिहरू निष्कपटतासाथ अझ धेरै कुरा जान्न चाहन्छन्। तिनीहरूले आफूसमक्ष प्रस्तुत गरिएको विश्वासका कारणहरूको आशा गर्नु स्वाभाविक कुरा हो। (१ पत्रुस ३:१५) सानो बालकले आफ्ना आमा-बाबुलाई प्रश्नमाथि प्रश्न गरेर त्यसको जवाफको आशा गरेझैं यहोवाका साक्षीहरूले ठोस जवाफहरू दिएको आशा गर्नु उचित छ। तिनीहरू झिजो नमानी फर्कनेछन् र तपाईंसित बाइबलको समाचारबारे थप छलफल गर्नेछन् भनी तपाईं विश्वस्त हुन सक्नुहुन्छ।
सायद तपाईंलाई बाइबलबारे केही ज्ञान होला। परमेश्वरको इच्छाअनुसार चल्ने हो भने, आफ्नो जीवनपद्धतिमा परिवर्तन गर्नु पर्नेछ भनेर पनि तपाईंलाई थाह हुनसक्छ। परमेश्वरका आवश्यकताहरू पूरा गर्न धेरै कुरा त्याग्नुपर्ला भन्ने डरले गर्दा अघि बढ्न नहिचकिचाउनुहोस्। त्यसो गर्नुभयो भने तपाईंले साँचो आनन्द प्राप्त गर्नुहुनेछ। बिस्तारै एकपछि अर्को कदम अघि बढाउँदै जानुभयो भने तपाईंले यो कुरा बुझ्नुहुनेछ।
सर्वप्रथम यहोवा को हुनुहुन्छ, उहाँले तपाईंबाट के आशा गर्नुहुन्छ र उहाँले के प्रदान गर्नुहुन्छ, त्यो छलफल गर्नुहोस्। यस सम्बन्धमा बाइबलले के भन्छ भनी देखाउन यहोवाका साक्षीहरूलाई आग्रह गर्नुहोस्। तिनीहरूले भनेका कुरा ठीक हुन् कि होइनन्, आफ्नै बाइबलबाट जाँचेर हेर्नुहोस्। साक्षीहरूले तर्कपूर्ण ढंगमा धर्मसम्बन्धी सच्चाइ प्रस्तुत गर्छन् भनी तपाईंले देख्नु भएपछि निस्सन्देह तिनीहरूसित शास्त्रबाट अझ धेरै असल कुराहरू तपाईं सिक्न चाहनुहुनेछ।—हितोपदेश २७:१७.
यहोवाका साक्षीहरूको स्थानीय सभाघर अर्थात् राज्य भवनमा आएर तिनीहरूको गतिविधि अवलोकन गर्न तपाईंलाई स्वागत छ। त्यहाँ तपाईंले परमेश्वरको वचनसम्बन्धी लाभदायी छलफलहरू सुन्नुहुनेछ। त्यहाँ उपस्थित मानिसहरू एकआपसमा परमेश्वरका उद्देश्यहरूबारे कुरा गर्न कति आनन्द मान्दा रहेछन् भनी तपाईंले देख्नुहुनेछ। परमेश्वरले आज हामीबाट चाहनु हुने कुरासँग सम्बन्धित सच्चाइ तपाईंलाई सिकाउन यी साक्षीहरूलाई मौका दिनुहोस्। साँचो उपासनाबारे छलफल गर्ने परमेश्वरको आह्वान स्वीकारेर उहाँको अनुमोदनलगायत प्रमोदवनमा अनन्त जीवनसमेत प्राप्त गर्नुहोस्।—मलाकी ३:१६; यूहन्ना १७:३.
[पृष्ठ ५-मा भएको चित्र]
नूहले खुलेआम परमेश्वरको उद्देश्य बताए
[पृष्ठ ७-मा भएको चित्र]
पावलले पुरातन एथेन्समा गरेझैं आज यहोवाका साक्षीहरू बाइबलमा दिइएका सत्य कुराहरू अरूलाई सिकाउँछन्