प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ७/१ पृ. ९-१४
  • स्वर्गीय नागरिकता हुने मसीही साक्षीहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्वर्गीय नागरिकता हुने मसीही साक्षीहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ‘नयाँ गरी जन्मनु’
  • परमेश्‍वरका सन्तान
  • “परमेश्‍वरको इस्राएल”
  • नयाँ करार
  • “नयाँ यरूशलेम”
  • यहोवाले धेरै सन्तानहरूलाई मुक्‍तिमा पुऱ्‍याउनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • स्वर्गीय बोलाहट वास्तवमा कसले पाएका छन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • “परमेश्‍वरका इस्राएल” र “ठूलो भीड़”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • स्वर्ग र पृथ्वीका कुराहरू गाभ्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ७/१ पृ. ९-१४

स्वर्गीय नागरिकता हुने मसीही साक्षीहरू

“हाम्रो नागरिकता स्वर्गमा छ।”—फिलिप्पी ३:२०.

१. यहोवाले केही मानिसहरूका लागि कुन अद्‌भुत उद्देश्‍य राख्नुभएको छ?

पृथ्वीवासीहरूले स्वर्गमा स्वर्गदूतहरूमाथि समेत राजा र पूजाहारी भएर राज्य गर्नेछन्‌। (१ कोरिन्थी ६:२, ३; प्रकाश २०:६) कति छक्कलाग्दो सत्य! यद्यपि, यहोवाले त्यस्तै उद्देश्‍य रच्नुभएको थियो र आफ्नो एकलौटो पुत्र, येशू ख्रीष्टद्वारा त्यसलाई पूरा गर्नुहुन्छ। तर हाम्रो सृष्टिकर्ताले त्यस्तो काम किन गर्नुहुन्छ? अनि त्यससित सम्बन्धित ज्ञानले आज मसीहीलाई कस्तो असर पार्नुपर्छ? आउनुहोस्‌ हेरौं, बाइबलले यी प्रश्‍नहरूको जवाफ कसरी दिन्छ।

२. येशूले कुन नौलो काम गर्नुहुनेछ भनी बप्तिस्मा दिने यूहन्‍नाले घोषणा गरे र यो नौलो कुरा केसित सम्बन्धित थियो?

२ बप्तिस्मा दिने यूहन्‍नाले येशूको निम्ति बाटो तयार पार्दा उहाँले नौलो काम गर्नुहुनेछ भनी घोषणा गरे। अभिलेखले यसो भन्छ: “[यूहन्‍नाले] यसो भन्दै प्रचार गरे, ‘जो मपछि आउनुहुन्छ, उहाँ मभन्दा शक्‍तिमान हुनुहुन्छ, उहाँका जुत्ताको फिता निहुरेर फुकाउने लायकको म छैनँ। मैले तिमीहरूलाई पानीले बप्तिस्मा दिएँ, तर उहाँले तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ।’” (मर्कूस १:७, ८) यसअघि कसैलाई पवित्र आत्माले बप्तिस्मा दिइएको थिएन। पवित्र आत्मा मुछिएको यो एउटा नौलो प्रबन्ध थियो र मानिसहरूलाई स्वर्गीय शासनाधिकारका लागि तयार पार्न यहोवाले प्रकट गर्न लाग्नुभएको उद्देश्‍यसित त्यो सम्बन्धित थियो।

‘नयाँ गरी जन्मनु’

३. येशूले स्वर्गको राज्यबारे कस्तो नौलो कुरा निकोदेमसलाई वर्णन गर्नुभयो?

३ येशूले एक प्रतिष्ठित फरिसीसँगको गोप्य भेटमा यस ईश्‍वरीय उद्देश्‍यबारे थप कुराहरू प्रकट गर्नुभयो। निकोदेमस नाउँ गरेको उक्‍त फरिसी राती येशूकहाँ गएका थिए र तिनलाई येशूले यसो भन्‍नुभयो: “कोही नयाँ गरी जन्मेन भने उसले परमेश्‍वरको राज्य देख्नसक्‍तैन।” (यूहन्‍ना ३:३) निकोदेमस फरिसी भएकोले हिब्रू शास्त्र पढेको हुनुपर्छ र परमेश्‍वरको राज्यसित सम्बन्धित महान्‌ सत्यबारे पनि केही जानेकै हुनुपर्छ। किनकि दानियलको पुस्तकले त्यो राज्य “मानिसको पुत्रजस्तै” एक जना व्यक्‍ति तथा “सर्वोच्चका पवित्र जनहरूलाई” दिइनेछ भनेर भविष्यवाणी गरेको थियो। (दानियल ७:१३, १४, २७) त्यो राज्यले अरू सबै राज्यलाई “चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त” गरेर आफै चाहिं सदासर्वदै रहिरहने थियो। (दानियल २:४४) शायद निकोदेमसले यी भविष्यवाणीहरू यहूदी राष्ट्रमाथि पूरा हुनेछन्‌ भनी सोचेका होलान्‌; तर त्यो राज्य देख्न नयाँ गरी जन्मनुपर्छ भनेर येशूले भन्‍नुभयो। निकोदेमसले यो कुरा बुझेनन्‌ त्यसैकारण येशूले अगाडि यसो भन्‍नुभयो: “कोही पानी र आत्माले जन्मेन भने परमेश्‍वरको राज्यमा पस्नसक्‍तैन।”—यूहन्‍ना ३:५.

४. पवित्र आत्माले नयाँ गरी जन्मनेहरूको यहोवासितको सम्बन्ध तत्पश्‍चात्‌ कसरी परिवर्तन हुनेछ?

४ बप्तिस्मा दिने यूहन्‍नाले पवित्र आत्माको बप्तिस्माबारे बताएका थिए। अब यहाँ येशू के थप्नुहुन्छ भने, परमेश्‍वरको राज्यमा प्रवेश गर्न पवित्र आत्माले जन्मेको हुनैपर्छ। यो अनुपम जन्मद्वारा असिद्ध पुरुष तथा स्त्रीहरूले यहोवा परमेश्‍वरसित एउटा अति विशेष सम्बन्ध गाँस्छन्‌। यिनीहरू उहाँका धर्मपुत्र वा पुत्री हुन्छन्‌। यस सम्बन्धमा हामी यसो लेखिएको पाउँछौं: “जत्तिले उहाँलाई [येशू] ग्रहण गरे, उहाँले यिनीहरूलाई परमेश्‍वरका सन्तान हुने हक दिनुभयो, अर्थात्‌ उहाँको नाउँमाथि विश्‍वास गर्नेहरूलाई। जो प्राकृतिक नियमबमोजिम मानवीय पिताबाट जन्मेका होइनन्‌, परमेश्‍वर नै तिनीहरूका बाबु हुन्‌।”—यूहन्‍ना १:१२, १३; रोमी ८:१५.

परमेश्‍वरका सन्तान

५. विश्‍वासी चेलाहरूलाई प्रथम पटक पवित्र आत्माद्वारा बप्तिस्मा कहिले दिइयो र पवित्र आत्मासित सम्बन्धित कस्ता कामहरू त्यहाँ भए?

५ निकोदेमससँग कुरा गर्नुअघि पवित्र आत्माले येशूलाई परमेश्‍वरको राज्यको भावी शासनका लागि अभिषिक्‍त गरिसकेको थियो र परमेश्‍वरले उहाँलाई आफ्नो पुत्र हो भनी खुलेआम स्वीकार्नु भइसकेको थियो। (मत्ती ३:१६, १७) यहोवाले सा.यु. ३३ को पेन्तिकोसमा अझ धेरै आत्मिक सन्तानहरू उत्पन्‍न गर्नुभयो। त्यस दिन यरूशलेमको माथिल्लो कोठामा भेला भएका विश्‍वासी चेलाहरूलाई पवित्र आत्माद्वारा बप्तिस्मा दिइयो। त्यति नै खेर यिनीहरू परमेश्‍वरका आत्मिक पुत्र हुन पवित्र आत्माबाट नयाँ गरी जन्मे। (प्रेरित २:२-४, ३८; रोमी ८:१५) साथै भावी स्वर्गीय उत्तराधिकारलाई ध्यानमा राखी यिनीहरूलाई पवित्र आत्माले अभिषिक्‍त गरियो र यिनीहरूको यस स्वर्गीय आशा निश्‍चित छ भनी देखाउन यिनीहरूमाथि पवित्र आत्माद्वारा प्रारम्भिक छाप लगाइयो।—२ कोरिन्थी १:२१, २२.

६. स्वर्गीय राज्यबारे यहोवाको उद्देश्‍य के हो र यसमा मानिसहरूको सहभागिता हुनु किन सुहाउँदो छ?

६ यिनीहरू परमेश्‍वरले आफ्नो राज्यमा प्रवेश गराउन छान्‍नुभएका प्रथम असिद्ध मानिसहरू हुन्‌। अर्थात्‌ यिनीहरू मृत्युपश्‍चात्‌ पुनरुत्थान भएर त्यस स्वर्गीय राज्य संगठनका भाग हुन्छन्‌ जसले मानिस तथा स्वर्गदूतहरूमाथि राज्य गर्नेछन्‌। अनि यहोवाको उद्देश्‍य पनि यही राज्य मार्फत आफ्नो महान्‌ नाउँ पवित्र पार्नु र सारा सृष्टिसमक्ष सार्वभौमिकता उच्च पार्नु हो। (मत्ती ६:९, १०; यूहन्‍ना १२:२८) मानिसहरू यस राज्यको सदस्य हुनपाउनु साँच्चै सुहाउँछ! यहोवाको सार्वभौमिकतालाई पहिलो चुनौती दिन शैतानले अदनको बगैंचामा मानिसहरूलाई चलाएका थिए भने यहोवाले त्यस चुनौतीको प्रत्युत्तर दिन अहिले मानिसहरूलाई नै चला- उने उद्देश्‍य रच्नुभएको छ। (उत्पत्ति ३:१-६; यूहन्‍ना ८:४४) त्यस राज्यमा शासन गर्न चुनिएकाहरूलाई प्रेरित पत्रुसले यसरी लेखे: “हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्‍वर र पिता धन्यको हुनुहुन्छ, जसले आफ्नो ठूलो कृपा अनुसार मरेकोबाट येशू ख्रीष्टको पुनरुत्थानद्वारा जीवित आशाको निम्ति हामीलाई फेरि नयाँ जन्म दिनुभयो, स्वर्गमा तिमीहरूका निम्ति साँचिराखेको अविनाशी, विशुद्ध र नष्ट नहुने हकको निम्ति।”—१ पत्रुस १:३, ४.

७. पवित्र आत्माद्वारा बप्तिस्मा प्राप्त गर्नेहरूले येशूसँग कस्तो अनुपम सम्बन्धको आनन्द उठाउँछन्‌?

७ परमेश्‍वरका धर्मपुत्रहरूको नाताले यी चुनिएका मसीहीहरू येशू ख्रीष्टका भाइहरू बने। (रोमी ८:१६, १७; ९:४, २६; हिब्रू २:११) येशू, अब्राहामसित प्रतिज्ञा गरिएको सन्तानका वंश प्रमाणित हुनुभएकोले यी आत्मा-अभिषिक्‍त मसीहीहरू त्यस वंशको संगीवंश वा सहायक अनि भाग हुन्‌ जसले विश्‍वासी मानवजातिलाई आशिष्‌ दिनेछन्‌। (उत्पत्ति २२:१७, १८; गलाती ३:१६, २६, २९) तर कस्तो आशिष्‌? त्यो हो, पापबाट मुक्‍ति पाएर परमेश्‍वरसँग मिलाप गर्न अनि अहिले र अनन्तकालसम्म उहाँको सेवा गर्न पाउने सुअवसर। (मत्ती ४:२३; २०:२८; यूहन्‍ना ३:१६, ३६; १ यूहन्‍ना २:१, २) पृथ्वीका अभिषिक्‍त मसीहीहरूले आफ्नो आत्मिक भाइ येशू ख्रीष्ट तथा आफ्नो धर्मपिता यहोवा परमेश्‍वरको साक्षी दिएर असल हृदय भएकाहरूलाई यस आशिष्‌ प्राप्त गर्न मदत गर्छन्‌।—प्रेरित १:८; हिब्रू १३:१५.

८. परमेश्‍वरको आत्माद्वारा उत्पन्‍न छोराहरूको “प्रकटीकरण” के हो?

८ बाइबलले परमेश्‍वरको आत्माद्वारा उत्पन्‍न यी छोराहरूको ‘प्रकटीकरणबारे’ बताउँछ। (रोमी ८:१९) येशूका संगी राजाहरू भएर त्यस राज्यमा प्रवेश गरेपछि यिनीहरू शैतानको पार्थिव रीतिरिवाजलाई नष्ट गर्ने काममा भाग लिन्छन्‌। त्यसपछि हजार वर्षसम्म मानवजातिलाई छुटकाराको बलिदानका लाभहरू उठाउन र आदमले गुमाएको सिद्धतासम्म पुग्न मदत गर्छन्‌। (२ थिस्सलोनिकी १:८-१०; प्रकाश २:२६, २७; २०:६; २२:१, २) यिनीहरूको प्रकटीकरणमा माथि उल्लिखित यी सबै कुराहरू समावेश छन्‌। अनि विश्‍वासी मानिसहरूले उत्कट आशा लिएर प्रतीक्षा गर्ने कुरा पनि यही हो।

९. बाइबलले अभिषिक्‍त मसीहीहरूको विश्‍वव्यापी समूहलाई कसरी सम्बोधन गर्छ?

९ अभिषिक्‍त मसीहीहरूको विश्‍वव्यापी समूह “स्वर्गमा नाउँ दर्ता भएका पहिला गनिएकाहरूको . . . मण्डली” हो। (हिब्रू १२:२३) यिनीहरू येशूले दिनुभएको छुटकाराको बलिदानबाट लाभ उठाउने पहिला व्यक्‍तिहरू हुन्‌। यिनीहरू “ख्रीष्टका शरीर” पनि हुन्‌, जसले यिनीहरू अनि यिनीहरू र येशूबीच घनिष्ठ सम्बन्ध छ भनी देखाउँछ। (१ कोरिन्थी १२:२७) पावलले यसप्रकार लेखे: “जस्तो शरीर एउटै हो, तर त्यसका धेरै अंगहरू हुन्छन्‌, र शरीरका सबै अंगहरू धेरै भए तापनि एउटै शरीर हो, ख्रीष्ट पनि त्यस्तै हुनुहुन्छ। किनकि चाहे यहूदी, चाहे ग्रीक, चाहे कमारा, चाहे फुक्का, हामी सबै पनि एउटै शरीर भई एउटै आत्मामा बप्तिस्मा भयौं, र सबैलाई एउटै आत्माबाट पिउनालाई दिइयो।”—१ कोरिन्थी १२:१२, १३; रोमी १२:५; एफिसी १:२२, २३; ३:६.

“परमेश्‍वरको इस्राएल”

१०, ११. प्रथम शताब्दीमा नयाँ इस्राएलको आवश्‍यकता किन पऱ्‍यो र को को मिलेर यो नयाँ राष्ट्र बनेको छ?

१० येशू प्रतिज्ञा गरिएको मसीह भएर आउनुभन्दा १,५०० वर्षअघि इस्राएल राष्ट्र यहोवाको विशेष जन थियो। तर बारम्बार सम्झाउँदा पनि पूरै राष्ट्र अविश्‍वासी साबित भयो। येशू देखा पर्नुहुँदा त्यस राष्ट्रले उहाँलाई इन्कार गऱ्‍यो। (यूहन्‍ना १:११) त्यसैकारण येशूले यहूदी धार्मिक नेताहरूलाई यसो भन्‍नुभयो: “परमेश्‍वरको राज्य तिमीहरूबाट खोसिनेछ, र एउटा यस्तो जातिलाई दिइनेछ, जसले त्यसबाट फल फलाउँछ।” (मत्ती २१:४३) उद्धारका लागि राज्यको ‘फल फलाउने जातिलाई [राष्ट्र, न्युव]’ चिन्‍नु अपरिहार्य छ।

११ यो नयाँ राष्ट्र सा.यु. ३३ को पेन्तिकोसमा जन्मिएको अभिषिक्‍त मसीही मण्डली हो। यसका प्रथम सदस्यहरू येशूलाई स्वर्गीय राजाको रूपमा स्वीकार्ने यहूदी चेलाहरू थिए। (प्रेरित २:५, ३२-३६) तथापि, यिनीहरूको यहूदी वंशावलीले गर्दा होइन बरु येशूमाथि राखेको विश्‍वासको आधारमा यिनीहरू परमेश्‍वरको नयाँ राष्ट्रका सदस्यहरू भए। यसप्रकार परमेश्‍वरको नयाँ इस्राएल अनुपम थियो किनभने त्यो आत्मिक राष्ट्र थियो। अधिकांश यहूदीहरूले येशूलाई स्वीकार्न इन्कार गरेपछि सामरीहरू अनि त्यसपछि अन्यजातिहरूलाई नयाँ राष्ट्रको सदस्य हुने निमन्त्रणा दिइयो। यो नयाँ राष्ट्रलाई “परमेश्‍वरको इस्राएल” भनियो।—गलाती ६:१६.

१२, १३. नयाँ इस्राएल यहूदी धर्मको गुट मात्र थिएन भनेर कसरी प्रष्ट भयो?

१२ पुरातन इस्राएलमा गैर-यहूदीहरूले यहूदी मत मानेमा मोशाको व्यवस्था पालन गर्नुपर्थ्यो र पुरुषहरूले चाहिं खतना गरेर प्रतीकात्मक रूप दिनुपर्थ्यो। (प्रस्थान १२:४८, ४९) त्यसैकारण केही यहूदी मसीहीहरूले सोही कुरा परमेश्‍वरका इस्राएलमा हुने गैर-यहूदीहरूमाथि पनि लागू हुनुपर्ने हो भनी महसुस गरे। तथापि, यहोवाको मनमा भने एउटा भिन्‍नै कुरा थियो। अतः पवित्र आत्माले प्रेरित पत्रुसलाई अन्यजाति कर्निलियसको घरतर्फ डोऱ्‍याएर लग्यो। कर्निलियस र तिनको परिवारले पत्रुसले प्रचार गरेका कुराहरू सुन्दा यिनीहरूले पानीबाट बप्तिस्मा लिनुअगावै पवित्र आत्मा पाए। यसले के कुरा स्पष्ट देखायो भने, यहोवाले यी अन्यजातिहरूलाई मोशाको व्यवस्था पालन गराउनुअगावै परमेश्‍वरको इस्राएलका सदस्यहरूको रूपमा स्वीकार्नुभयो।—प्रेरित १०:२१-४८.

१३ केही विश्‍वासी मानिसहरूलाई यो कुरा स्वीकार्न कठिन पऱ्‍यो। फलतः चाँडै नै यरूशलेमका प्रेरित तथा प्राचीनहरूले त्यो पूरै विषय छलफल गर्नुपऱ्‍यो। यी अख्तियारप्राप्त मानिसहरूको समूहले गैर-यहूदीहरूमाथि कसरी पवित्र आत्मा क्रियाशील भए भन्‍ने सम्बन्धमा प्रमाणहरू सुने। यिनीहरूले बाइबलबाट अनुसन्धान गरे अनि यी सबै प्रेरित भविष्यवाणीको पूर्ति रहेछन्‌ भनी थाह पाए। (यशैया ५५:५; आमोस ९:११, १२) अन्ततः यिनीहरू सही निष्कर्षमा पुगे। र त्यो के थियो भने, गैर-यहूदी मसीहीहरूले मोशाको व्यवस्था पालन गर्नुपर्दैन। (प्रेरित १५:१, ६-२९) यसप्रकार आत्मिक इस्राएल, यहूदी धर्मको गुट मात्र नभई साँच्चै नै एउटा नयाँ राष्ट्र थियो।

१४. याकूबले मसीही मण्डलीलाई “तितर-बितर भइरहेका बाह्रै कुल” भनी सम्बोधन गर्नुको अर्थ के हो?

१४ यसअनुरूप चेला याकूबले प्रथम शताब्दीका अभिषिक्‍त मसीहीहरूलाई पत्र लेख्दा “तितर-बितर भइरहेका बाह्रै कुललाई” भनी सम्बोधन गरे। (याकूब १:१; प्रकाश ७:३-८) निस्सन्देह, नयाँ इस्राएलका नागरिकहरूलाई कुनै खास कुलहरूमा छुट्टाइएको थिएन। आत्मिक इस्राएललाई प्राकृतिक इस्राएललाई जस्तो १२ भिन्‍न कुलहरूमा विभाजित गरिएको थिएन। तैपनि, याकूबका प्रेरित अभिव्यक्‍तिहरूले के संकेत गर्छन्‌ भने यहोवाको दृष्टिमा परमेश्‍वरको इस्राएलले प्राकृतिक इस्राएलका १२ कुलहरूलाई पूर्णतया विस्थापित गरिसकेको थियो। यदि कुनै जन्मजात यहूदी नयाँ राष्ट्रको सदस्य बन्छ भने ऊ वंशले चाहे यहूदी होस्‌ वा यहूदा अथवा लेवी कुलकै किन नहोस्‌, त्यसले कुनै महत्त्व राख्दैन।—गलाती ३:२८; फिलिप्पी ३:५, ६.

नयाँ करार

१५, १६. (क) यहोवाले परमेश्‍वरको इस्राएलका गैर-यहूदी सदस्यहरूलाई कुन दृष्टिले हेर्नुहुन्छ? (ख) नयाँ इस्राएल कुन वैध आधारमा स्थापित भएको थियो?

१५ यहोवाको दृष्टिमा यो नयाँ राष्ट्रका गैर-यहूदी सदस्यहरू पूर्णतया आत्मिक यहूदीहरू हुन्‌। यसबारे प्रेरित पावलले यसरी वर्णन गरे: “बाहिरी यहूदी देखाउने यहूदीनै होइन, औ बाहिरी शरीरमा खतना हुने खतनाकै होइन, तर भित्र मनका यहूदी हुनेनै यहूदी हो, औ लेखिएको व्यवस्थामा होइन, तर आत्मामा हृदयको खतना हुने चाहिं खतनाको हो, जसको प्रशंसा मानिसहरूबाट होइन, तर परमेश्‍वरबाट हुन्छ।” (रोमी २:२८, २९) थुप्रै अन्यजातिहरूले परमेश्‍वरको इस्राएलको सदस्य बन्‍ने निमन्त्रणा स्वीकारे र यसले बाइबलको भविष्यवाणी पूर्ति गऱ्‍यो। उदाहरणका लागि, होशे अगमवक्‍ताले यो कुरा लेखेका थिए: “म मेरो निम्ति त्यसलाई पृथ्वीमा छर्नेछु, र दया नपाउनेमाथि म दया देखाउनेछु। औ जो मेरो प्रजा थिएन यिनीहरूलाई म भन्‍नेछु, ‘तिमीहरू मेरा प्रजा हौ,’ र यिनीहरूले भन्‍नेछन्‌, ‘तपाईं हाम्रा परमेश्‍वर हुनुहुन्छ।’”—होशे २:२३; रोमी ११:२५, २६.

१६ तर आत्मिक इस्राएल मोशाको व्यवस्था करारको अधीनमा थिएन भने कुन आधारमा यिनीहरू नयाँ राष्ट्रका सदस्य भए त? यहोवाले येशू मार्फत यो आत्मिक इस्राएलसित एउटा नयाँ करार बाँध्नुभयो। (हिब्रू ९:१५) येशूले नीसान १४, सा.यु. ३३ मा आफ्नो मृत्युको स्मरणार्थ उत्सव स्थापित गर्नुहुँदा ११ जना विश्‍वासी प्रेरितहरूलाई रोटी र दाखमद्य दिनुभयो र साथै दाखमद्यले “नयाँ करारको . . . रगत[लाई]” संकेत गर्छ भन्‍नुभयो। (मत्ती २६:२८; यर्मिया ३१:३१-३४) लूकाको विवरणअनुसार येशूले दाखमद्य भएको कचौरा “नयाँ करार[को]” प्रतीक हो भन्‍नुभयो। (लूका २२:२०) येशूका शब्दहरूको पूर्तिअनुरूप पेन्तिकोसको दिनमा पवित्र आत्मा खन्याएर परमेश्‍वरको इस्राएलको जन्म हुँदा प्राकृतिक इस्राएलबाट राज्य खोसियो र त्यो आत्मिक इस्राएललाई दिइयो। अब प्राकृतिक इस्राएल होइन तर यहोवाका साक्षीहरू मिलेर बनेको यो नयाँ राष्ट्र नै यहोवाको सेवक भयो।—यशैया ४३:१०, ११.

“नयाँ यरूशलेम”

१७, १८. अभिषिक्‍त मसीहीहरूले प्राप्त गर्ने महिमाबारे प्रकाशको पुस्तकमा कस्तो विवरण दिइएको छ?

१७ स्वर्गीय बोलावट हुनेहरूलाई साँच्चै कति ठूलो महिमाले प्रतीक्षा गरिरहेको छ! अनि यिनीहरूले प्राप्त गर्ने अद्‌भुत कुराहरूबारे जान्‍न पाउनु कति हर्षको कुरा हो! प्रकाशको पुस्तकमा हामी यिनीहरूले प्राप्त गर्ने स्वर्गीय उत्तराधिकारका रोमाञ्चक दृश्‍यहरू देख्नसक्छौं। उदाहरणका लागि, प्रकाश ४:४ मा हामी यस्तो लेखिएको पाउँछौं: “[यहोवाको] सिंहासनको वरिपरि चौबीसवटा सिंहासनहरू थिए, र शिरमा सुनका मुकुटहरू र सेता पोशाकहरू पहिरेका चौबीस जना धर्म-गुरुहरू ती सिंहासनहरूमा मैले देखें।” यी २४ धर्म-गुरुहरू अभिषिक्‍त मसीहीहरू हुन्‌। यिनीहरूको पुनरुत्थान भइसकेको छ र अहिले यहोवाले प्रतिज्ञा गर्नुभएको स्वर्गीय ओहदामा छन्‌। यिनीहरूको मुकुट र सिंहासनहरूले यिनीहरूको राजत्व स्मरण गराउँछ। यहोवाको सिंहासन वरपर बसेर सेवा गर्ने यिनीहरूको अति महान्‌ सुअवसरलाई सम्झनुहोस्‌ त!

१८ प्रकाश १४:१ मा हामी यिनीहरूको अर्को दृश्‍य पाउँछौं: “मैले देखें, र हेर, सियोन डाँड़ामा थुमा खडा हुनुहुन्थ्यो, र उहाँको साथमा उहाँको नाउँ र उहाँका पिताको नाउँ तिनका निधारमा लेखिएका एक लाख चवालीस हजार थिए।” यहाँ हामी यी अभिषिक्‍त जनको सीमित संख्या देख्छौं—१,४४,०००। यिनीहरूको शाही ओहदा यसकारणले भिन्‍न छ किनभने यिनीहरू यहोवाका सिंहासनारूढ राजा, “थुमा,” येशूसँगै खडा छन्‌। अनि यिनीहरू स्वर्गीय सियोन पर्वतमा छन्‌। पार्थिव सियोन पर्वतमा इस्राएलको शाही शहर, यरूशलेम अवस्थित थियो। स्वर्गीय सियोन पर्वतले येशू र उहाँका सह-उत्तराधिकारीहरूको उच्च ओहदालाई प्रतिनिधित्व गर्छ। यिनीहरू मिलेर नै स्वर्गीय यरूशलेम बनेको छ।—२ इतिहास ५:२; भजन २:६.

१९, २०. (क) अभिषिक्‍त मसीहीहरू कुन स्वर्गीय संगठनका सदस्यहरू हुनेछन्‌? (ख) यहोवाले स्वर्गीय नागरिकता हुने मानिसहरूलाई कुन समयावधिभित्र चुन्‍नुभयो?

१९ यसअनुरूप स्वर्गीय महिमा पाउने अभिषिक्‍त जनलाई “नयाँ यरूशलेम” पनि भनिन्छ। (प्रकाश २१:२) पार्थिव यरूशलेम “महाराजको शहर” अनि मन्दिरको थलो थियो। (मत्ती ५:३५) तर नयाँ स्वर्गीय यरूशलेम त्यो शाही राज्य संगठन हो जसद्वारा महान्‌ सार्वभौम यहोवा अनि उहाँले नियुक्‍त गर्नुभएको राजा, येशूले अहिले शासन गर्नुहुन्छ र जहाँ याजकीय सेवाहरू गरिन्छन्‌। यो त्यो राज्य हो जसमा मानिसहरूको निवारण गर्न यहोवाको सिंहासनबाट प्रचुर आशिष्‌हरू बग्छन्‌। (प्रकाश २१:१०, ११; २२:१-५) यूहन्‍नाले पुनरुत्थान भएका विश्‍वासी अभिषिक्‍त मसीहीहरूलाई अर्को दर्शनमा ‘थुमाकी दुलही’ भनी सम्बोधन गरेको सुन्छन्‌। यिनीहरूले अनुभव गर्ने येशूसितको घनिष्ठता अनि स्वेच्छापूर्वक उहाँप्रति देखाएको अधीनताको कति न्यानो चित्रण! यिनीहरूमध्ये अन्तिम व्यक्‍तिले आफ्नो स्वर्गीय इनाम पाउँदा स्वर्गमा कति रमाहट होला, कल्पना गर्नुहोस्‌! अब भने, “थुमाको विवाह” हुन सम्भव छ! तत्पश्‍चात्‌ त्यो स्वर्गीय शाही संगठन पूर्ण हुनेछ।—प्रकाश १९:६-८.

२० हो, प्रेरित पावलले यी शब्दहरूद्वारा सम्बोधन गरेका मानिसहरूलाई अद्‌भुत आशिष्‌हरूले प्रतीक्षा गरिरहेका छन्‌: “हाम्रो नागरिकता स्वर्गमा छ।” (फिलिप्पी ३:२०) यहोवाले झन्डै दुइ हजार वर्षदेखि आफ्ना आत्मिक सन्तानहरू छानेर स्वर्गीय उत्तराधिकारका लागि तयार पार्नुभयो। सम्पूर्ण प्रमाणहरूको आधारमा अब के भन्‍न सकिन्छ भने यो चुन्‍ने र तयार पार्ने काम सकिनै लागेको छ। तर अझ थुप्रै कुराहरू हुन बाँकी नै छन्‌, जुन कुरा यूहन्‍नालाई प्रकाश अध्याय ७ मा अभिलिखित तिनले देखेको दर्शनमा प्रकट गरियो। अतः अहिले मसीहीहरूको अर्को समूहले हाम्रो ध्यानाकर्षण गर्दैछ। यो समूहबारे अर्को लेखमा छलफल गरिनेछ।

के तपाईंलाई सम्झना छ?

◻ स्वर्गीय उत्तराधिकार हुनेहरूमाथि पवित्र आत्माले के के काम गर्छ?

◻ अभिषिक्‍त जनले यहोवासित कस्तो घनिष्ठ सम्बन्धको आनन्द उठाउँछ? येशूसित नि?

◻ बाइबलमा अभिषिक्‍त जनको मण्डलीलाई कसरी वर्णन गरिएको छ?

◻ परमेश्‍वरको इस्राएल कुन वैध आधारमा स्थापित भयो?

◻ अभिषिक्‍त मसीहीहरूले कस्ता स्वर्गीय सुअवसरहरू पाउनेछन्‌?

[पृष्ठ १०-मा भएको चित्र]

यहोवाले लगभग दुइ हजार वर्षको अवधिमा स्वर्गीय राज्यमा शासन गर्ने मानिसहरू चुन्‍नुभयो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने