राज्य प्रचारकहरूका रिपोर्ट
ग्रीनल्यान्डका दुर्गम बस्तीहरूमा पुग्ने
दशकौंदेखि यहोवाका साक्षीहरूले सुसमाचार प्रचार गर्न प्रहरीधरहरा र ब्यूँझनुहोस्! प्रयोग गर्दै आएका छन्। ती पत्रिकाहरूले यहोवाको वचन, बाइबलमा अभिव्यक्त उहाँको बुद्धिलाई उच्च पार्छ। अनि बाइबलका भविष्यवाणीहरूसित सम्बन्धित घटनाहरूलाई ध्यान दिनुको साथै समकालीन समस्याहरूबारे बाइबलबाट व्यवहारिक सल्लाह पनि दिन्छ।—याकूब ३:१७.
सन् १९९४ मा ग्रीनल्यान्डका साक्षीहरूले यथासम्भव धेरै मानिसहरूलाई प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिका वितरण गर्ने विशेष यत्न गरे। तिनीहरूले ग्रीष्म ऋतुको दौडान ग्रीनल्यान्डका केही अति दुर्गम बस्तीहरूमा जाने प्रबन्ध मिलाए। अतः राज्य प्रचारकहरूको समूहले पश्चिमी तट हुँदै ४,००० किलोमिटरभन्दा टाढा पर्ने ग्रानार्गसम्म (टुली) समुद्री यात्रा गरे र पृथ्वीको सुदूर उत्तरमा पर्ने बस्तीहरूमा पुगे। तिनीहरूको यो यात्रा सात हप्ता लामो थियो। उत्तरी तटमा भने पहिलो चोटि एक साक्षी दम्पती इड्डोर्गग्रोर्डोर्मेटको बस्तीमा पुगे र व्यवस्थित ढंगमा सबै घरमा सुसमाचार सुनाए।
त्यही वर्षको प्रारम्भमा अप्रिल महिनातिर ग्रीनल्यान्डका मानिसहरूलाई ७,५१३ प्रति प्रहरीधरहरा र ब्यूँझनुहोस्! वितरण गरिएको थियो। त्यसको अर्थ प्रत्येक १२७ जना राज्य प्रकाशकहरूले औसतन ५९ पत्रिकाहरू वितरण गरे। अर्को अर्थमा, प्रत्येक ७ बासिन्दाका लागि १ अनुपातमा ती पत्रिकाहरू वितरण गरिए। सो महिनाको ब्यूँझनुहोस्! पत्रिकामा “स्तनको अर्बुद रोग—प्रत्येक स्त्रीको डर” शीर्षकअन्तर्गत श्रृंखलाबद्ध लेखहरू छापिएका थिए। एक सय चालीसवटा पत्रिका वितरण गर्ने एक जना साक्षीले टेलिभिजन संवाददातालाई उपरोक्त ब्यूँझनुहोस्!-का केही प्रतिहरू दिए। केही दिनपश्चात् टेलिभिजनको समाचार कार्यक्रमले स्तनको अर्बुद रोगसम्बन्धी लेख प्रस्तुत गर्दा त्यस संवाददाताले पत्रिकाका केही पृष्ठहरू देखाइन् र गुणस्तरीय ग्रीनलैन्डी अनुवादको प्रशंसा गरिन्। साथै तिनले रोग रोकथामबारे ब्यूँझनुहोस्! पत्रिकामा दिइएका केही व्यवहारिक सुझावहरूमाथि जोड दिइन्।
त्यस संवाददातालाई पत्रिका दिने साक्षीसित पनि सोही टिभि कार्यक्रममा अन्तर्वार्ता लिइयो। तिनले यहोवाका साक्षीहरूबारे केही प्रश्नहरूको जवाफ दिइन् र त्यस महिनाको व्यापक पत्रिका वितरणबारे बताइन्। तिनले बाइबलमा पाइने व्यवहारिक बुद्धिबारे पनि टिप्पणी गरिन् अनि त्यस्तो व्यवहारिक सल्लाहले वर्तमान समस्याहरूसित जुझ्न हामीलाई मदत गर्नसक्छ भनेर औंल्याइन्।
कार्यक्रमको अन्तमा ग्रीनलैन्डी क्यान्सर सोसाइटीकी अध्यक्षसित अन्तर्वार्ता लिइयो। तिनले आफ्नै भाषामा त्यति राम्रो अनि जानकारीमूलक विषय कहिल्यै नदेखेको कुरा बताइन्। त्यसपछि तिनले स्तनको अर्बुद रोगबारे चासो राख्ने सबैलाई ब्यूँझनुहोस्!-का लेखहरू पढ्न आह्वान गरिन्। यहोवाका साक्षीहरूले लिएको अग्रसरताप्रति कृतज्ञ हुने असल कारण छ भनेर तिनले भनिन्।
ग्रीनलैन्डमा जस्तै सारा संसारमा यहोवाका साक्षीहरूले “स्वर्गमनि भएका सारा सृष्टिमा” सुसमाचार प्रचार गर्दैछन्। (कलस्सी १:२३; प्रेरित १:८) प्रहरीधरहरा र ब्यूँझनुहोस्! लगायत अन्य बाइबल साहित्यहरू चलाएर तिनीहरूले हर प्रकारका मानिसहरूलाई वर्तमान समस्याहरूसित जुझ्न मदत गर्नुका साथै उज्ज्वल भविष्यको आशा दिन्छन्।
[पृष्ठ ८-मा भएको नक्सा]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
ग्रानार्ग (टुली)
इड्डोर्गग्रोर्डोर्मेट
नुक (गथाब)