प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ८/१५ पृ. २३-२७
  • विश्‍वासी घरानाहरूले गर्दा श्रीलंकामा द्रुत प्रगति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वासी घरानाहरूले गर्दा श्रीलंकामा द्रुत प्रगति
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • चुनौती सामना गर्ने
  • व्यवस्थित परिवारले प्रशंसा गर्छ
  • विरोधले गर्दा साँचो उपासना गर्न परिवार एकत्रित
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ८/१५ पृ. २३-२७

विश्‍वासी घरानाहरूले गर्दा श्रीलंकामा द्रुत प्रगति

सन्‌ १९७२ सम्म श्रीलंकालाई सीलोन भनिन्थ्यो। यस सुन्दर टापुका समुद्री किनाराहरूमा ताडीको रूख, पहाडी श्रृंखला र स-साना मरुभूमिहरू छन्‌। माथिल्लो भूभागमा अवस्थित आडम्स पीक २,२४३ मिटर अग्लो छ र यो चार प्रमुख धर्महरूको पवित्र थलो हो।a यसको नजीकै वर्ल्डस एण्ड नाउँको १,५०० मिटरभन्दा अग्लो भिरालो चट्टाने पहाड छ। यहाँबाट श्रीलंकाको सबैभन्दा मनोरम दृश्‍य देखिन्छ।

श्रीलंकाका १.८ करोड बासिन्दाहरूको चाखलाग्दो पृष्ठभूमि छ। पाँचौं शताब्दी सा.यु.पू उत्तरी भारतदेखि भारतीय-युरोपेली मूलका मानिसहरू यस टापुमा बसोबास गर्दै आएका छन्‌। तिनीहरू सिंहालीहरू हुन्‌ र तिनीहरू कुल जनसंख्याको ७५ प्रतिशत छन्‌। त्यसपछि १२ औं शताब्दीसम्ममा दक्षिण भारतका तामिलहरू ओइरिसकेका थिए। अहिले यिनीहरू प्रायजसो टापुको उत्तरी तथा पूर्वी भागमा बसोबास गर्छन्‌। पुर्तगाली, डच र बेलाइतीहरूले उपनिवेश शासनकालदेखि चीरकालीन परिवर्तनहरू गरे। यसबाहेक, अरबी तथा मलाया उपद्वीपका नाविक व्यापारीहरू स्थानीय मानिसहरू सँगसँगै बसोबास गर्न थाले। यहाँ युरोपेली, पारसी, चिनियाँ र अन्य समुदायका मानिसहरू पनि बसोबास गर्छन्‌।

जातीय अन्तरमिश्रणको अलावा श्रीलंकाको भाषा तथा धर्मले पनि विविध पृष्ठभूमि झल्काउँछ। यस टापुका प्रमुख भाषाहरू सिंहाली, तामिल र अंग्रेजी हुन्‌। धेरैजसो श्रीलंकालीहरू कम्तीमा दुइटा भाषा बोल्छन्‌। जातीय पृष्ठभूमिले पनि मानिसहरूको धर्ममा ठूलो भूमिका खेलेको छ। प्रायजसो सिंहालीहरू बौद्धमार्गीहरू हुन्‌ भने अधिकांश तामिलहरू हिन्दू हुन्‌। प्रायजसो अरबी तथा मलाया मूलका मानिसहरू इस्लाम धर्म मान्छन्‌ र युरोपेली पृष्ठभूमिका मानिसहरू साधारणतया क्याथोलिक तथा प्रोटेस्टेन्टहरूजस्ता मसीहीजगतका चर्चका सदस्यहरू हुन्‌।

चुनौती सामना गर्ने

यसले श्रीलंकाका यहोवाका साक्षीहरूलाई निकै ठूलो चुनौती प्रदान गर्छ। यिनीहरू येशूको यो आज्ञा पालन गर्न कडा यत्न गर्छन्‌: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ।” (मत्ती २४:१४) सुसमाचारका प्रचारकहरूले विभिन्‍न भाषाका मानिसहरू भेट्‌नुको अलावा प्रचार कार्यको दौडान केही घण्टाभित्र बौद्धमार्गी, हिन्दू, मसीहीजगतका चर्चका सदस्यहरू साथै नास्तिकहरूसित कुरा गर्छन्‌।

सेवकाईमा प्रभावकारी हुन प्रकाशकहरूसित तामिल, सिंहाली तथा अंग्रेजी भाषाका प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिकाहरूका साथै अन्य बाइबल प्रकाशनहरू हुनुपर्छ। गह्रौं भारी बोक्नसक्नेहरूले ती भाषाका बाइबलहरूसमेत लैजान्छन्‌। हालै के परमेश्‍वर साँच्चै हाम्रो चिन्ता गर्नुहुन्छ? र हाम्रा समस्याहरू- —तिनीहरूको समाधान गर्न हामीलाई कसले मद्दत दिनेछ? पुस्तिकाहरू साथै के यो संसार रहिरहनेछ? पर्चा एकै चोटि तीनवटा भाषामा विमोचन हुँदा प्रकाशकहरू असाध्यै रमाए। यसको अर्थ हो, सेवकाईमा प्रयोग गर्न अझ बढी औजारहरू।

इन्टरनेशनल बाइबल स्टुडेन्टस्‌ एसोसिएशनका तत्कालीन अध्यक्ष, चार्ल्स टेज रसलले सन्‌ १९१२ मा सीलोनको छोटो भ्रमण गरेदेखि साक्षीहरूले कडा मेहनत गर्दै आएका छन्‌। तथापि, सन्‌ १९४७ मा वाचटावर बाइबल स्कूल अफ गिलियडका स्नातकहरू आउन थालेदेखि उल्लेखनीय वृद्धि हुन थाल्यो। त्यति बेलादेखि श्रीलंकाका प्रकाशकहरूले तिनीहरूको प्रचार कार्यबाट निकै राम्रा परिणामहरूको लाभ उठाएका छन्‌। सन्‌ १९९४ मा १,८६६ राज्य प्रचारकहरूले प्रत्येक महिना औसतन २,५५१ गृह बाइबल अध्ययनहरू सञ्चालन गरे। अनि स्मरणार्थ उत्सवमा ६,९३० उपस्थित भए र त्यो संख्या श्रीलंकाका प्रकाशकहरूभन्दा चार गुना बढी थियो। कस्तो अद्‌भुत आशिष्‌!

अन्य केही मुलुकहरूको अनुपातमा श्रीलंकाको प्रगति सुस्त देखिनसक्छ। यसको एउटा कारण बलियो पारिवारिक सम्बन्धजस्तो देखिन्छ। तथापि, बलियो पारिवारिक सम्बन्ध लाभदायी पनि हुनसक्छ। रोमी पल्टनका कप्तान कर्नीलियसले सत्यलाई स्वीकार्दा तिनको सम्पूर्ण घरानाले पनि स्वीकारे। (प्रेरित १०:१, २, २४, ४४) प्रेरितको पुस्तकले पावल तथा सिलास थुनिएका झ्यालखानाको हाकिम अनि लिडिया, क्रिस्पसलगायत अन्य मजबूत मसीही घरानाहरूबारे पनि उल्लेख गर्छ।—प्रेरित १६:१४, १५, ३२-३४; १८:८.

निस्सन्देह, सुव्यवस्था र अनवरत लगनशीलता छ भने बलियो पारिवारिक सम्बन्ध लाभदायी हुनसक्छ। यशैया ६०:२२ लाई मनमा राख्दै लामो समयदेखि मिसनरी सेवा गर्दै आएका रे म्याथ्यु यसो भन्छन्‌: “यहोवाले व्यक्‍तिहरूद्वारा मात्र होइन तर घरानाहरूलाई चलाउनुभएर अहिले उपयुक्‍त समयमा निकै वृद्धि गरिरहनुभएको महसुस हुन्छ।”

व्यवस्थित परिवारले प्रशंसा गर्छ

आज श्रीलंकामा त्यस्ता घरानाहरू अवश्‍य छन्‌। उदाहरणको लागि, श्रीलंकाको प्रमुख शहर, कोलम्बोको एउटा प्रान्त, कोटेनामा बस्ने सुव्यवस्थित सिनापा परिवार छ। केही समयअघि परिवारको शिर मारियानको मृत्यु भयो। तापनि तिनकी पत्नी, आनामा र तिनीहरूका १५ छोराछोरीहरूमध्ये १२ जनाले एक संयुक्‍त घरानाको रूपमा यहोवाको निरन्तर सेवा गरि- रहेका छन्‌। ती छोराछोरीहरू १३ देखि ३३ वर्षका छन्‌। यो लेखुञ्जेल तिनका आठ जना छोराछोरीहरूले बप्तिस्मा लिइसके र तीमध्ये तीन जनाले नियमित अग्रगामीको हैसियतमा पूर्ण-समय सेवकाई गरिरहेका छन्‌। तीन जनाले बेला बखत अग्रगामी सेवकाई गरेका थिए। त्यस घरानाका स-सानाहरूमध्ये चार जना बप्तिस्मा अप्राप्त प्रकाशकहरू छन्‌। यसबाहेक, सानै उमेरका चार नातिनातिनीहरू बाइबल अध्ययन गर्दैछन्‌ र यहोवाका साक्षीहरूको कोलम्बो उत्तरी मण्डलीमा मसीही सभाहरू धाउँछन्‌।

आनामाले सन्‌ १९७८ मा प्रहरीधरहरा-को एक प्रति स्वीकार्दा प्रथम चोटि राज्यको सुसमाचार सुनेकी थिइन्‌। बाइबल अध्ययन सुरु भयो र द ट्रुथ द्यात लिड्‌स टु इटर्नल लाइफ (अनन्त जीवनतर्फ डोऱ्‍याउने सत्य) बाइबल सहायकको अध्ययन पूरा गरिसकेपछि आनामाले यहोवा परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गरेर बप्तिस्मा लिइन्‌। यसप्रकार तिनले आफ्नो घरानाका थुप्रैको लागि प्रारम्भिक उदाहरण बसालिन्‌।

पल्टनका कप्तान कर्नीलियसजस्तै आनामाको घराना सुव्यवस्थित छ। आनामा सम्झिन्छिन्‌: “हामीले मसीही सभा तथा सम्मेलनहरूका लागि योजना बनाउनुपर्थ्यो अनि स्कूलबारे त कुरै नगरौं। लुगाफाटा किन्‍न त समस्या नै हुन्थ्यो तर यहोवाको मदतद्वारा हरेक सम्मेलनको लागि जसोतसो एउटा नयाँ लुगा जोरजाम गर्थ्यौं। सम्मेलनमा आइपुग्दा सम्पूर्ण परिवार राम्रो लुगाफाटा लगाएर हृष्टपुष्ट हुन्थे र सबैको मुहारमा ठूलो मुस्कान हुन्थ्यो।”

केटाकेटीहरूले आफ्नो परिवारको सुव्यवस्थालाई स्नेहका साथ स्मरण गर्छन्‌। सम्पूर्ण परिवारलाई मसीही सभाहरूमा उपस्थित हुन मदतको लागि हुर्किसकेकाहरूलाई विशेष जिम्मेवारी दिइन्थ्यो। उदाहरणको लागि, मंगला लुगा धुन्थिन्‌ र विनिफ्रेडा इस्त्री लगाउँथिन्‌। विनिफ्रेडा स-साना भाइबहिनीहरूलाई लुगाफाटा लगाउन पनि मदत गर्थिन्‌। तिनी यसो भन्छिन्‌: “घरबाट निस्कँदा सबै जना चिटिक्क देखिन्थे।”

आध्यात्मिक प्रबन्धहरू पनि उत्तिकै सुव्यवस्थित थिए। अहिले नियमित अग्रगामी गरिरहेकी छोरी, पुष्पम सम्झिन्छिन्‌: “हरेक दिन हामी सम्पूर्ण परिवार एकसाथ बसेर बाइबल पढाइ र दैनिक बाइबल पद पुनरावलोकन गर्न रमाउँथ्यौं।” आनामा अझै थप्छिन्‌: “हरेक बच्चासित बाइबल, प्रहरीधरहरा र अन्य प्रकाशनहरूको व्यक्‍तिगत प्रति हुन्थ्यो। सभामा तिनीहरूको टिप्पणीलाई म ध्यान दिएर सुन्छु। कतै आवश्‍यकजस्तो देखिएमा घरमा प्रोत्साहन दिन्छु र सच्याउँछु। राती सुत्नुअघि सपरिवार एकसाथ बसेर प्रार्थना गर्छौं।”

परिवारका सबैलाई मसीही शिक्षा प्रदान गर्न आनामालाई उनका हुर्किसकेका छोराछोरीहरूले अमूल्य सहयोग पुऱ्‍याएका छन्‌। घरबाहिर सुसमाचार बाँड्‌ने इच्छालाई व्यस्त तालिकाले रोक्न सकेको छैन। परिवारका बेग्लाबेग्लै सदस्यहरूले आफ्नो टोलमा ५७ वटा गृह बाइबल अध्ययनहरू सञ्चालन गर्छन्‌। जुवाइँ राजन यस्तो टिप्पणी गर्छन्‌: “हाम्रो परिवारले प्रगतिशील बाइबल अध्ययनहरू सञ्चालन गर्छ। मेरी पत्नी, पुष्पमको एक विद्यार्थीले यहोवालाई आफ्नो जीवन समर्पण गरी सकिन्‌। यो हेर्न पाउनु उनको निम्ति सुअवसर हो।”

त्यस्तो ठूलो परिवारले रोमन क्याथोलिक चर्चलाई परित्याग गर्दा निकै होहल्ला मचेको थियो। चर्च त्याग्नुको कारण बुझ्न पादरी तिनीहरूकहाँ कहिल्यै नआए तापनि तिनले पूछताछ गर्न आफ्नो चर्चका सदस्यहरूलाई भने अह्राएका थिए। त्यसपछि निकै पटक छलफलहरू भए र प्रायजसो त्रिएकको धर्मसिद्धान्तबारे छलफल हुन्थ्यो। आनामाले आफ्नो विश्‍वास कायम राख्न सधैं यहोवा र बाइबलमा भरोसा राखिन्‌। यी छलफलहरूमा उनलाई सबैभन्दा मनपर्ने शास्त्रपद यूहन्‍ना १७:३ थियो।

सुव्यवस्था र लगनशील प्रयासले सन्तोषप्रद परिणामहरू ल्याउँछ भनेर सिनापा घरानाले स्पष्टसित प्रदर्शित गर्छ। तिनीहरूको जोशिलो प्रयासले गर्दा यहोवाको प्रशंसा गर्न राज्य प्रकाशकहरूको नयाँ पुस्ता वृद्धि भइरहेको छ।

विरोधले गर्दा साँचो उपासना गर्न परिवार एकत्रित

रत्नम घराना सिनापा परिवारभन्दा अलि टाढा कोलम्बोको अर्को प्रान्त, नारेनपित्यामा बस्छन्‌। तिनीहरू पनि पहिले रोमन क्याथोलिक थिए। सन्‌ १९८२ मा घर-घरको सेवकाईको दौडान साक्षीहरूले जेठी छोरी, फतिमाको पति, बलेन्द्रनलाई भेटे। सम्पूर्ण परिवारसित बाइबल अध्ययन थालियो। थोरै समयपश्‍चात्‌ तिनीहरूका तीन जना नातिनातिनीहरूले हजुरआमा इग्नासिमाललाई परमेश्‍वरको नाउँबारे सोधिरहेका थिए। नातिनातिनीहरूले उहाँको नाउँ “यहोवा” भनी बताउँदा हजुरआमाको चासो जाग्यो र उनीसित बाइबल अध्ययन थालियो। पछि उनका दुइ छोरीहरू, गीभकला र स्टेलाले पनि अध्ययन गर्न थाले। अनि सन्‌ १९८८ सम्म तीनै जनाले बप्तिस्मा लिइसकेका थिए।

त्यतिञ्जेल, बलेन्द्रन र फतिमाले फतिमाकी बहिनी, मलिका र उनको पति, योगनाथनसित सत्यबारे कुरा गरे। सन्‌ १९८७ सम्म यस दम्पतीले बप्तिस्मा लिइसकेका थिए। तिनीहरूले आफ्ना दुइ छोराछोरीहरूलाई पनि यहोवालाई प्रेम गर्न सिकाएका छन्‌। त्यसपछि फतिमाकी अर्की बहिनी, पुष्पाले सत्य स्वीकारिन्‌। तिनले समर्पण गरेर सन्‌ १९९० मा बप्तिस्मा लिइन्‌। तिनीहरू टोक्योमा छँदा उनको पति, आकाले अंग्रेजी मण्डलीमा सेवा गरे। पुष्पाले आफ्नो जवान छोरा, अल्फ्रेडलाई यहोवाको मार्गमा हुर्कन मदत गरेकी छिन्‌।

यसप्रकार, रत्नम परिवारका दश छोराछोरीहरूमध्ये चार जना साँचो उपासनाको पक्षमा खडा भएका छन्‌। आनन्दको कुरा, अरू तीन जनाले व्यक्‍तिगत बाइबल अध्ययनमा राम्रो प्रगति गरिरहेका छन्‌। तिनीहरूका ११ नातिनातिनीहरूमध्ये प्रदिपाले बप्तिस्मा लिइसकिन्‌। अरू सात जना केटाकेटीहरूले पारिवारिक बाइबल अध्ययनद्वारा प्रशिक्षण पाइरहेका छन्‌। यसबाहेक, तिनीहरूले आफ्नो टोलका जिज्ञासुहरूसित २४ वटा गृह बाइबल अध्ययनहरू सञ्चालन गर्छन्‌।

यिनीहरूलाई यहोवाका साक्षीहरू हुन त्यति सजिलो भएन। सुरुमा परिवारबाट निकै विरोध सामना गर्नुपऱ्‍यो। बुबा, मुटुपिलाइ र दाजुहरूले परिवारका सदस्यहरू राज्य भवनमा सभाका लागि उपस्थित हुँदा वा जनप्रचार कार्यमा सहभागी हुँदा निकै विरोध गर्थे। यस्तो विरोध गर्नुको कारण केही हदसम्म व्यक्‍तिगत सुरक्षाको लागि भए तापनि मुटुपिलाइ यसो भन्छन्‌: “म ‘सन्तहरूप्रति’ पूर्णतया समर्पित थिएँ र मेरो परिवारले क्याथोलिक चर्चलाई त्यागेको हेर्नै सक्दिनथें।” तथापि, तिनीहरूले साँचो परमेश्‍वरको उपासना गरिरहेका छन्‌ भनेर उनी अहिले विश्‍वास गर्छन्‌ किनभने उनले तिनीहरूको विश्‍वासले गर्दा भएका लाभहरू देखेका छन्‌।

उदाहरणको लागि, एक चोटि तिनीहरूको बौद्धधर्मावलम्बी घरधनीले तन्त्रमन्त्र गरेर तिनीहरूलाई घरबाट निकाल्न खोजे। घरधनीले रातको मौका छोपेर “तन्त्रमन्त्र” गरिएको कागती तिनीहरूको घरको चारैतिर राखे। अब रत्नम परिवारमाथि कुनै अप्रिय घटना हुनेछ भनेर सबै अन्धविश्‍वासी छिमेकीहरू डराइरहेका थिए। तथापि, इग्नासिमालले यो थाह पाएपछि नडराइकन कागती फ्याँकिन्‌ र तिनीहरूमाथि केही विपत्ति आइपरेन। तिनीहरूको निडर कार्यले त्यस इलाकामा ठूलो साक्षी दियो र मानिसहरूले तिनीहरूलाई आदर गर्न थाले। स्टेला आफ्नो घर नजीकै दुइटा गृह बाइबल अध्ययन सञ्चालन गर्न सक्षम भइन्‌। यो देखेर प्रोत्साहित हुँदै बुहारी नजीरा पनि बाइबल अध्ययन गर्न राजी भइन्‌।

आफ्नो परिवारमाथि आएका थुप्रै आशिष्‌हरूलाई विचार गर्दा इग्नासिमाल यस्तो टिप्पणी गर्छिन्‌: “मेरो परिवारको आध्यात्मिक वृद्धि देखेर म निकै खुशी छु। यहोवाले हामीलाई आशिष्‌ दिनुभएको छ किनभने विरोध कम तर हाम्रो पारिवारिक एकता भने सुदृढ भएको छ।”

यी ठूला घरानाहरू कस्तो आशिष्‌ साबित भएका छन्‌। तिनीहरूले श्रीलंका शब्दको अर्थअनुरूप यस “देदीप्यमान मुलुक[मा]” राज्यको सुसमाचार घोषणा गर्ने कार्यलाई अझ तीव्र पारिरहेका छन्‌। यस कार्यमा तिनीहरूले कडा यत्न गरिरहेका साना परिवार, आमा या बाबु मात्र भएको परिवारका साथै अविवाहित मसीहीहरूलाई साथ दिइरहेका छन्‌। संसारभरिका संगी मसीहीहरूसँगै श्रीलंकाका साक्षीहरू प्रमोदवन पुनस्थापना भएको उत्सुकतासाथ प्रतीक्षा गर्छन्‌। अहिले पनि सुन्दर श्रीलंकाका समुद्री किनारा तथा पहाडहरूलाई हेर्दा त्यस प्रमोदवनको स्मरण हुन्छ।

[फूटनोट]

a त्यस पहाडको ठूलो खोपिल्टालाई मुस्लिम, बौद्ध, हिन्दू तथा चर्चका मिथ्याहरूअनुसार क्रमशः आदम, बुद्ध, शिव तथा “सन्त” थोमसको पदचिन्ह भनिन्छ।

[पृष्ठ २४ र २५-मा भएका चित्रहरू]

श्रीलंकामा थुप्रैले मसीही प्रचार र शिक्षा ग्रहण गरिरहेका छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने