राज्य प्रचारकहरूका रिपोर्ट
साँचो मसीहीहरू सताइनेछन्
हाबिलको समयदेखि यहोवाका थुप्रै सेवकहरूले धार्मिक सतावट सहेका छन्। (लूका ११:४९-५१) त्यसकारण बाइबलले “ख्रीष्ट येशूमा भक्तिसँग जीवन बिताउन इच्छा गर्नेहरू ता सबै जना खेदोमा पर्नेछन्” भनेर चेताउनी दिनु कुनै अचम्मको कुरा होइन! (२ तिमोथी ३:१२) माथि भनेजस्तै आज २५ भन्दा बढी मुलुकहरूमा यहोवाका साक्षीहरू प्रतिबन्धित छन् वा सतावट सहन्छन्।
यहोवाका साक्षीहरू प्रतिबन्धित तथा धर्मविद्हरूद्वारा सताइएका एउटा मुलुकमा सुसमाचारका १२,००० भन्दा बढी प्रकाशकहरूले जोशका साथ काम गरेर १५,००० भन्दा बढी मानिसहरूसित बाइबल अध्ययन गरिरहेका छन्। निस्सन्देह, तिनीहरूले समझदारीपूर्वक प्रचार गर्छन्। साधारणतया तिनीहरूले निजी घरहरूमा मसीही सभाहरू सञ्चालन गर्छन् र ती सभाहरूमा जिज्ञासुहरूलाई आमन्त्रित गर्न सतर्कता अपनाउँछन्।
हालै सरकारले साक्षीहरूप्रति कम कडिकडाउ गर्न थालेको छ। अतः अहिले साक्षीहरूको कार्यमा कठोरतासाथ हस्तक्षेप गरिंदैन। तथापि, विभिन्न धार्मिक समूहहरूले समस्या उस्काउने प्रयास गरेका छन्।
एउटा शहरमा लगभग २०० धार्मिक हठधर्मीहरूको हूल ५० जना जति साक्षीहरू मसीही सभाको लागि भेला भएको ठाउँमा आए। त्यस हूलमा केहीले ढुंगा बोकेका थिए र धार्मिक नाराहरू लगाइरहेका थिए। तिनीहरूको मनसाय साक्षीहरूलाई आक्रमण गरेर घरमा तोडफोड गर्नु थियो। धार्मिक नेताहरूले केही समयदेखि सभाहरूमाथि चियोचर्चो गरेर तोडफोड गर्ने उपयुक्त समयलाई कुरिरहेका थिए। त्यस हूल घरभित्र छिर्नै लाग्दा १५ जना प्रहरी आइपुगे र हूललाई तितरबितर गरे। साक्षीहरू यो देखेर छक्कै परे किनभने कसैले पनि प्रहरीलाई बोलाउने समय पाएका थिएनन्।
तर, अरू बेलामा भने विरोधीहरू निकै सफल भएका छन्। थुप्रै साक्षीहरूलाई सोधपुछ गर्न बोलाएर जेलमा हालेका छन्। एउटा मुद्दा चलेको निकै वर्ष भइसकेको थियो र वकिलहरूको त्यसप्रति जोश हराइसकेको जस्तो देखिन्थ्यो। तथापि, स्थानीय पादरीवर्गले उस्काएपछि यस विवादलाई पुनः अदालतमा पेश गरियो र त्यस साक्षीलाई कैद सजाय दिइयो।
अर्को ठाउँमा साक्षीहरूको समूह प्रभुको साँझको भोज मनाउन एउटा निजी घरमा भेला भएका थिए। त्यही साँझ बेलुकीपख केही प्रहरीहरूले घरधनी र सभा सञ्चालन गर्ने प्राचीनलाई गिरफ्तार गरे। तिनीहरूलाई थानामा निकै नराम्रोसँग पिटे। निकै घण्टासम्म क्रूरतापूर्वक पुछताछ गरियो। एक साक्षीलाई त चिसो इनारमा डुबाएर यातना दिइयो।
तर प्रहरीहरूले यस्ता आक्रमण किन गरिरहेका थिए? प्रहरीहरूका यस्ता कदमहरूको पछाडि पुनः धार्मिक हठधर्मीहरू तथा स्थानीय पादरीवर्गको साठगाँठ थियो। पछि, प्रहरी प्रमुखले आफ्नो स्वीकृतिबिना त्यस्ता गिरफ्तारीहरू भएको प्रकट गरे। माफी मागियो र ती कुटपिट गर्ने प्रहरीहरूलाई सजाय दिइयो।
संसारभरि यहोवाका साक्षीहरूले हिंसात्मक विरोधको बावजूद परमेश्वरको राज्यको सुसमाचार प्रचार गरिरहन्छन्। तिनीहरूले येशूको यस सल्लाह पालन गर्छन्: “हेर, म तिमीहरूलाई ब्वाँसाका बीचमा भेड़ाझैं गरी पठाउँछु, यसकारण तिमीहरू सर्पझैं चनाखो र ढुकुरझैं सोझो होओ।”—मत्ती १०:१६.
[पृष्ठ ३१-मा भएको चित्र]
हाबिल, सतावट भोग्ने पहिलो व्यक्ति थिए