‘सबै जना तिनीहरूजस्तै भए कति असल हुनेथियो!’
यी शब्दहरू लक्जमबर्ग पत्रिका, लेट्सेबुर्गर जर्नल-का एक स्तम्भकारका हुन्। तिनी कसबारे बताउँदैथिए?
तिनी अश्वीचको मुक्तिको ५० औं वार्षिक उत्सवका लागि पोल्यान्ड गएका थिए र असाध्यै यातना भोग्ने एउटा समूहबारे त्यहाँ उल्लेखै नगरिएको याद गरे। तिनले फेब्रुअरी २, १९९५ को स्तम्भमा त्यो समूह यहोवाका साक्षीहरू हुन् भनी चिनाएपछि यसप्रकार लेखे: “कठोरभन्दा कठोर कैद सजाय वा यातना शिविरहरू वा भोक, बञ्चरो वा गिलोटिनले समेत तिनीहरूलाई आफ्नो विश्वास त्याग्न बाध्य बनाउन सक्दैनथियो।” तिनी अझै भन्छन्: “क्रूर एसएस सुरक्षाकर्मीहरूसमेत यहोवाका साक्षीहरूले मृत्युसम्म सहने साहस देखाएकोमा छक्क पर्थे।”
यहोवाका साक्षीहरू शहीद हुन खोजेका होइनन्। तर प्रथम शताब्दीका मसीहीहरूले जस्तै हजारौंले मसीही विश्वास सम्झौता गर्नुको साटो मृत्यु रोजे। नाजी शासनको निराशाजनक समयमा तिनीहरूले देखाएको त्यस्तो विश्वास उल्लेखनीय थियो।
स्तम्भ लेखकले अन्तमा यसो भने: “सबै मानिसहरू यहोवाका साक्षीहरूजस्तै भए कति असल हुनेथियो!” त्यसो भएको भए दोस्रो विश्वयुद्ध नै हुनेथिएन।