विश्वभरि यहोवाका साक्षीहरू—भारत
भारत! यस विशाल उपमहाद्वीपमा विश्वको हरेक ६ जना मानिसहरूमध्ये १ जना बसोबास गर्छ। यस विविध मुलुकमा जम्माजम्मी १,००० भन्दा बढी स्थानीय भाषाहरू बोलिन्छन्। यहाँ मुख्यतः हिन्दूहरू छन् र यो कुल जनसंख्याको ८३ प्रतिशत हो। अनि ११ प्रतिशत मुस्लिम र बाँकी चाहिं सिक्ख, बौद्व धर्मावलम्बी, जैन तथा मसीही भनौंदाहरू छन्।
हालैका वर्षहरूमा भारतमा यहोवाका साक्षीहरूले उल्लेखनीय सफलता अनुभव गरिरहेका छन्। तिनीहरूले भेडाखाले मानिसहरू भेटाएका छन्, जो हर प्रकारको दबाब र विरोधको बावजूद यहोवाको राज्यको पक्षमा दृढतापूर्वक खडा हुन इच्छुक छन्।
उदाहरणको लागि, कट्टर हिन्दू परिवारमा हुर्केकी एउटी केटी बाल्यकालमा पोलियोले गर्दा लंगडी भइन्। आफूले भोगेकी दुःखले गर्दा उनले परमेश्वर र जीवनको उद्देश्यबारे सोच्न थालिन्। उनले त्यसको जवाफ पाउन निकै धर्महरूलाई केलाइन् तर कतै पनि सान्त्वना पाइनन्। फलतः उनले धर्मप्रति विश्वास गुमाइन् तापनि परमेश्वरमा भने अझै विश्वास गर्थिन्।
यसै समयतिर दुइ साक्षीहरूले घर-घरको सेवकाईमा यस केटीलाई भेटे। उनी सम्झिन्छिन्, “उहाँहरूले प्रकाश २१:४ पढेर सुनाउनुहुँदा मेरा आँखाहरू रसाए।” उनले वाच टावर सोसाइटीका थुप्रै प्रकाशनहरू लिइन् र आमाको विरोधको बावजूद गृह बाइबल अध्ययन गर्न राजी भइन्। यस केटीले जीवनमा निकै परिवर्तनहरू गरिन्, आफ्ना नातेदारहरूको विरोधलाई निडरतापूर्वक सहिन् र बप्तिस्माप्राप्त साक्षी भइन्। उनी यसो भन्छिन्: “मैले निकै प्रगति गरिसकेकी छु र त्यो सजिलो भने पटक्कै भएको छैन। तर यहोवा परमेश्वर सधैं मेरो साथमा हुनुभयो र उहाँले मलाई शान्ति तथा आनन्द दिनुभयो।”
स्कूलमा शुद्ध उपासनाको लागि दृढ
एउटी जवान बहिनीलाई उनको शिक्षिकाले अरू विद्यार्थीहरू सँगै क्याथोलिक चर्चमा जान बोलाइन्। बहिनीले नम्रतापूर्वक इन्कार गरिन् र आफू यहोवाको साक्षी भएकीले यहोवाबाहेक अरू कसैको उपासना नगर्ने कुरा बताइन्। अरू सबै जना चर्च जाँदा उनी पनि जानुपर्छ भनी शिक्षिकाले भनिन्। तर यस बहिनी दृढ रहिन् र चर्च जानेहरूले यहोवालाई प्रार्थना नगर्ने हुँदा उनी त्यहाँ जान नसक्ने कुरा बताइन्।
यस केटीको दृढताले गर्दा शिक्षिका यसबारे अझ बढी जान्न चाहन्थिन्। अतः भोलिपल्ट यस बहिनीले तिनलाई यहोवाको उपासनाबारे छलफल गरिएको प्रहरीधरहरा दिइन्। आफूले पढेको कुराबाट प्रभावित भएर शिक्षिकाले उनलाई स्कूलका सम्पूर्ण धार्मिक क्रियाकलापहरूबाट अलग बस्ने अनुमति दिइन्। यस बहिनीले तिनी र अन्य शिक्षकहरूलाई दशवटा पत्रिका दिन सकिन्।
रगतसम्बन्धी परमेश्वरको व्यवस्थाप्रति आज्ञाकारिताले गर्दा आशिष्
हालै केरला प्रान्तका केही भागहरूमा जीवाणुले गर्दा हुने ज्वरोको महामारी फैलियो। यस रोगले मृगौलालाई असाध्यै हानि पुऱ्याउँछ र डायलाइसिस गर्नुपर्ने हुन्छ। साधारणतया रक्तक्षेपण गरिन्छ। एउटा शहरमा यस रोगको कारण १४ जना मानिसहरू अस्पतालमा भर्ना गरिए। यीमध्ये एक जना बिरामी यहोवाको साक्षी एवं स्थानीय मण्डलीका प्राचीन थिए। तिनलाई एक मात्र उपचारविधि रक्तक्षेपण हो भनेर बताइयो। त्यस प्राचीनले आफ्नो शास्त्रीय विश्वास बताएर रक्तक्षेपण गर्न दृढतापूर्वक इन्कार गरे। (प्रेरित १५:२८, २९) निकै तर्कवितर्कपछि रक्तक्षेपण गर्न इन्कार गरेकोले तिनी मर्नेछन् भनी चिकित्सकहरूले भने।
अन्य १३ जना बिरामीहरूले रक्तक्षेपण गरे। तर दुःखको कुरा, ती सबै केही दिनभित्रै मरे। यस भाइ मात्र बाँचे! अस्पतालका अधिकृतहरू छक्कै परे। मण्डलीका सदस्यहरूले यस भाइलाई नियमित तवरमा भेट्न आएको देखेर चिकित्सा टोली निकै प्रभावित भयो। यस भाइ अस्पतालबाट छुटेपछि चिकित्सकहरूलाई धन्यवाद दिन गए तर तिनीहरूले यसो भने: “हामीलाई किन धन्यवाद दिनुहुन्छ? तपाईंको परमेश्वर, यहोवालाई धन्यवाद दिनुहोस्। तपाईंलाई उहाँले पो बचाउनुभएको हो। कृपया हाम्रो लागि पनि तपाईंको परमेश्वर, यहोवासित प्रार्थना गर्नुहोस्।”
[पृष्ठ २४-मा भएको पेटी]
देशको तथ्यांक
१९९४ सेवा वर्ष
साक्षी दिनेहरूको शिखर संख्या: १४,२७१
अनुपात: १ साक्षीले ६५,२६६
स्मरणार्थ उत्सवमा उपस्थिति: ३८,१९२
औसत अग्रगामी प्रकाशकहरू: १,७८०
औसत बाइबल अध्ययनहरू: १२,४५३
बप्तिस्माप्राप्त संख्या: १,३१२
मण्डलीहरूको संख्या: ४१०
शाखा कार्यालय: लोनाभला
[पृष्ठ २५-मा भएको चित्र]
शाखा कार्यालय, लोनाभला
[पृष्ठ २५-मा भएको चित्र]
सन् १९६३ को “अनन्त सुसमाचार” अधिवेशनबारे प्रचार गरिरहेका
[पृष्ठ २५-मा भएको चित्र]
दिल्लीमा लाल किल्लाबाहिर बिक्रेतालाई प्रचार गरिरहेका