अर्थहीन रीति?
क्याथोलिकहरूले आफ्नो पाप स्वीकार्ने धार्मिक संस्कार गर्दै आएको निकै शताब्दी भइसक्यो। यद्यपि, धेरैको निम्ति यो एउटा अर्थहीन रीति भएको छ। आफ्नो युवावस्थालाई सम्झँदै उच्च माध्यमिक विद्यालयका प्राध्यापक, बबले यसो भने: “म किशोर हुँदासमेत मैले पाप स्वीकार्ने धार्मिक संस्कारलाई गम्भीरतापूर्वक लिइनँ।” किन? किनभने तिनलाई त्यो अर्थहीन रीति लाग्थ्यो। तिनी यसप्रकार वर्णन गर्छन्: “पाप स्वीकार्ने त्यो धार्मिक संस्कार पालन गर्नु भनेको विमानस्थलमा भंसार अधिकृतलाई पापैपापले भरिएका आफ्ना झोलाहरू देखाउनुजस्तै हो। तिनले तपाईंका पापहरूबारे प्रश्न सोध्छन् र तपाईंले विदेशमा छँदा किन्नुभएका विलासिताका सामानहरूको अलिकता कर तिरेपछि तपाईंलाई जान दिन्छन्।”
त्यस्तैगरि, फ्रांक वेस्लिङले पाप स्वीकार्ने प्रचलनलाई “सामान्य पापहरूको पश्चात्ताप गर्न मुखस्त पारिएको प्रार्थनादेखि लिएर नाउँ मात्रको प्रायश्चित गर्ने विधिवत् तरिका समाविष्ट भएको असाध्यै सरलीकृत क्रमागत निर्देशक हो” भनी यु.एस.क्याथोलिक-मा वर्णन गरे। वेस्लिङको निष्कर्ष के थियो? तिनी भन्छन्, “पाप स्वीकार्नु आध्यात्मिक हितको लागि लाभदायी हुन्छ भनेर म विश्वस्त छु। तर क्याथोलिकहरूले जुन ढंगमा रीति गर्छन्, त्यो पो दिक्क लाग्दो छ।”
बाइबलले पाप स्वीकार्ने प्रक्रियालाई पूर्णतया बेग्लै ढंगमा प्रस्तुत गरेको छ। परमेश्वरसमक्ष पाप स्वीकार्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। (भजन ३२:१-५) अनि मसीही चेला याकूबले यसप्रकार लेखे: “के तिमीहरूमध्ये कोही बिरामी छ? त्यसले मण्डलीको धर्म-गुरुहरूलाई बोलाओस्, र तिनीहरूले प्रभुको नाउँमा त्यसलाई तेल घसेर त्यसको विषयमा प्रार्थना गरून्। यसकारण तिमीहरू एउटाले अर्कोसँग आफ्नो आफ्नो पाप स्वीकार गर, र तिमीहरू निको होओ भनी एउटाले अर्कोको निम्ति प्रार्थना गर। धार्मिक मानिसको निवेदनले धेर ठूलो काम हुनुसक्तछ।”—याकूब ५:१४, १६.
पाप पीडित मसीहीले मण्डलीका निरीक्षकहरूलाई बोलाउन सक्छ। तिनीहरूले बाइबलबाट आत्मीय तथा व्यवहारिक सल्लाह दिएर गल्ती गर्नेलाई पापी मार्ग त्याग्न मदत दिनसक्छन्। निरीक्षकहरूले आध्यात्मिक तवरमा बिरामीहरूको प्रगतिलाई नियालेर उपयुक्त प्रोत्साहन दिनसक्छन्। आजका चर्चहरूले अपनाएको पाप स्वीकार्ने विधिभन्दा कति भिन्न! मण्डलीका प्राचीनहरूको आत्मीय सहयोगबाट सुदृढ भएर गल्ती गर्ने पश्चात्तापीले दाऊदले जस्तै छुटकारा महसुस गर्नसक्छन्। तिनले भजनमा यसरी व्यक्त गरे: “मैले आफ्नो पाप तपाईंमा प्रकट गरें, र मेरो अधर्म मैले लुकाएको छैनँ। मैले भनें, ‘म आफ्ना अपराध परमप्रभुको सामने स्वीकार गर्नेछु। र तपाईंले मेरो पापको अधर्म क्षमा गर्नुभयो।’”—भजन ३२:५.