आधुनिक एथेन्समा बसोबास गर्ने सबै प्रकारका मानिसहरूकहाँ पुग्ने
प्रेरित पावलले लगभग सा. यु. ५० तिर एथेन्स भ्रमण गर्दा, प्राचीन समयमा झैं यस शहरको प्रतिष्ठा नभए तापनि अझै त्यो एउटा मुख्य व्यापारिक केन्द्र थियो। एउटा ऐतिहासिक पुस्तकले यस्तो बयान गर्छ: “[एथेन्स] आध्यात्मिकता र कलाकृतिले परिपूर्ण ग्रीसको शहर हुनुको साथै त्यस युगको शिक्षित र शक्तिशाली मानिसहरूलाई भ्रमण गर्न लोभ लाग्ने ठाउँ थियो।”
सम्भवतः भ्रमणको दौडान पावलले त्यहाँ यहूदी, गैरमसीही एथेन्सबासी र विभिन्न ठाउँबाट आएका मानिसहरूलाई प्रचार गर्ने मौका पाए होलान्। तिनी होशियारी र दक्ष शिक्षक भएको हुनाले एकपल्ट जन सम्बोधन गर्दा यसो भने, परमेश्वरले “सबैलाई जीवन र सास” दिनुभयो। उहाँले “एउटै मानिसबाट हरेक जातिलाई बनाउनुभयो” र “सबै ठाउँमा सबै मानिसहरूले पश्चाताप गर्नुपर्छ।” किनकि, उहाँले “संसारको इन्साफ” गर्नुहुनेछ।—प्रेरित १७:२५-३१.
विविध क्षेत्र
हालको दशकहरूमा एथेन्स फेरि सबै ठाउँबाट आउने मानिसहरूका लागि आकर्षक शहर भएको छ। विदेशी कूटनीतिज्ञ र सैन्य कर्मचारीहरू कूटनीतिक र राजनैतिक मामिलाको निम्ति त्यहाँ आएका छन्। अफ्रिका तथा मध्यपूर्वका जवान मानिसहरू विश्वविद्यालयमा अध्ययन गर्न त्यहीं आएर बसेका छन्। अफ्रिका, एसिया र पूर्व युरोपीय देशहरूबाट आएका श्रमिकहरू यसै शहरमा जम्मा भएका छन्। घरायसी नोकरको रूपमा काम खोज्न धेरै मात्रामा फिलीपिन्स निवासीहरू र दक्षिणपूर्व एसियाबाट मानिसहरू आएका छन्। अनि छिमेकी देश र संकटग्रस्त मुलुकहरूबाट त्यत्तिकै शरणार्थीहरू अविरल गतिले ओइरिरहेका छन्।
यो परिस्थिति राज्यको सुसमाचार प्रचार गर्ने स्थानीय प्रचारकहरूको लागि चुनौती भएको छ। धैरैजसो यस्ता अस्थायी बासिन्दाहरू अंग्रेजी बोल्छन् तर कोहीले भने आफ्नो मातृभाषा मात्र जान्दछन्। यी मानिसहरूले विभिन्न सांस्कृतिक तथा धार्मिक पृष्ठभूमिहरूको प्रतिनिधित्व गर्छन्। तिनीहरूमध्ये मसीही भनौंदाहरू, मुस्लिम, हिन्दू, बौद्धमार्गी, आत्मावादी, अज्ञेयवादी र नास्तिकहरू भेटाउन सकिन्छ। तसर्थ, यी मानिसहरूको विभिन्न पृष्ठभूमिसित मिल्दो प्रस्तुतिहरू प्रस्तुत गर्न यहोवाका साक्षीहरूले सिक्नुपर्छ।
यी आगन्तुकहरूमध्ये धेरैले कठिनाइहरू भोगेको हुँदा जीवनको अर्थ र भविष्यको आशाबारे तिनीहरू अक्सर प्रश्न गर्छन्। कोहीले बाइबललाई कदर गर्छन् र सहर्ष स्वीकार्छन्। यस विविध क्षेत्रका बहुसंख्यक मानिसहरू भद्र, नम्र र सच्चाइको लागि भोका छन्। आफ्नो परिवार र घरको परिवेशदेखि टाढा भएकोले सच्चाइ खोज्न स्वतन्त्र भएको महसुस गर्छन्।
एथेन्सको यस क्षेत्रलाई रेखदेख गर्न १९८६ मा अंग्रेजी भाषामा संचालित प्रथम मण्डली यहाँ गठन गरियो। अद्भुत तरिकाले वृद्धि भएको छ। विगत पाँच वर्षको दौडान, लगभग ८० जना नयाँ व्यक्तिहरूले बप्तिस्मा लिए। परिणामस्वरूप, अरबी र पोलिश भाषाका मण्डलीहरू तथा केही समयको लागि फ्रेन्च भाषाको समूह एथेन्समा स्थापना गरिएको छ। उत्तरमा भएका थिस्सलोनिका, इराकलियन, क्रेट र एथेन्सको बन्दरगाह पाइरीअसका मण्डलीहरूलाई मदत गर्न अंग्रेजी मण्डलीबाट केही भाइहरू बसाइँ सरेका छन्। एथेन्समा सच्चाइ सिक्ने केही विदेशीहरूसित के तपाईं भेट गर्न चाहनुहुन्छ?
जातिजातिका इच्छुक जनहरू आउँदैछन्
एरिट्रआ, आसमेरामा जन्मेका थोमस समर्पित क्याथोलिक थिए। तिनी १५ वर्षको हुँदा चर्चको विहारमा बस्न गए। त्यहाँ तिनले प्रधान भिक्षुलाई सोधे: “एउटै परमेश्वर तीनवटा हुनु कसरी सम्भव छ?” प्रत्युत्तरमा पादरीले भने: “किनकि, आध्यात्मिक कुराहरूबारे पोपले जे भन्छन् हामी त्यही ग्रहण गर्छौं। भनौं भने, यो एउटा रहस्य हो र तिमी यो कुरा बुझ्ने उमेरको भएकै छैनौ।” त्यहाँको आचरण र शिक्षाबाट मनै भाँचिएर पाँच वर्षपछि थोमसले चर्चको विहार छाडे। यद्यपि, तिनले साँचो परमेश्वरको खोजी गर्न भने छाडेको थिएन।
एथेन्स गएको धेरै दिन नबित्दै एकदिन तिनले आफ्नो ढोकामा प्रहरीधरहरा-को एक प्रति भेट्टाए। त्यसको आवरण पृष्ठमा “स्वास्थ्य र खुशीयाली तपाईंको हुनसक्छ” भन्ने शीर्षक थियो। तिनले त्यो धेरैपटक पढे। सोही पत्रिकामा तिनले परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर्नुपर्छ भन्ने कुरा पनि पढे। (मत्ती ६:३३) तब थोमसले घुडा टेके र सो खोजी गर्ने तरिका जान्न यसरी प्रतिज्ञा गर्दै परमेश्वरलाई प्रार्थना गरे: “यदि मलाई तपाईंको राज्य खोज्न सिकाउनुभयो भने, तपाईंको सेवा गर्ने तरिका सिक्न मेरो जीवनको छ महिना अर्पण गर्नेछु।” यसको चार हप्तापछि दुइ साक्षीहरू तिनको ढोकामा देखा परे। थोमसले तुरुन्तै बाइबल अध्ययन स्वीकारे र दश महिनापछि बप्तिस्मा लिए। तिनी भन्छन्: “यहोवाले साँच्चै मेरो प्रार्थनाको उत्तर दिनुभयो र उहाँको एक साक्षी बन्ने सुअवसर प्रदान गर्नुभयो। अहिले जीवनमा प्रथम उहाँको राज्य र धार्मिकतालाई खोजी गर्न उहाँकै प्रेमले मलाई उत्प्रेरित गर्छ।”
घर-घरको प्रचारमा अरू दुइ साक्षीहरूले पनि एक विदेशी भेट्टाए।
“तपाईंहरूलाई के चाहियो?” इन्टरकममा स्त्रीको आवाज आयो।
प्रत्युत्तरमा, बाइबलप्रति रुचि भएका अंग्रेजी भाषी मानिसहरूलाई भेटाउने प्रयासमा तिनीहरू छन् भनेर एक साक्षीले भनी।
“तपाईंहरू कुन धर्मको हुनुहुन्छ?” ती महिलाले सोधिन्।
“हामी यहोवाका साक्षीहरू हौं।”
“आह, राम्रो भयो! माथिल्लो तल्लामा आउनुहोस् न।”
तिनीहरू गए। लिफ्टको ढोका खुल्ने बित्तिकै ठूलो जीउको मान्छे तिनीहरूलाई जान नदिन त्यहाँ खडा भए। तर भित्रबाट ती स्त्री कराइन्।
“तिनीहरूलाई भित्र आउन देऊ। म कुरा गर्न चाहन्छु।”
स्त्रीले साक्षीहरूलाई के भनी भने, तिनले पतिको खेलकुद समूहसितै विश्वभ्रमण गर्दा एकदिन अगाडि मात्र यहोवाका साक्षीहरूलाई भेट्न पाउँ भनी प्रार्थना गरेकी रहेछ। तसर्थ, बाइबल अध्ययन लगत्तै सुरु भइहाल्यो। ग्रीसमा तिनीहरू बस्ने अवधि सीमित भएकोले दशै हप्तामा सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक सिध्याउने ध्येयले हप्तामा तीनपटक अध्ययन गर्ने प्रबन्ध मिलाइयो।
अर्को वर्ष खेलकुदको समयमा तिनीहरू फेरि ग्रीस फर्किए। स्वास्नीले पुनः अध्ययन थालिन् र अप्रत्याशित तवरले उन्नति गरिन्। दुइ महिना पछि बप्तिस्मा अप्राप्त प्रकाशकको रूपमा साक्षीहरूसित प्रचार कार्यमा भाग लिन थालिन् अनि चाँडै प्रथम बाइबल अध्ययन पनि सुरु गरिन्। कोसित? आफ्नो पतिसित, जो आफ्नी पत्नीको परिवर्तन र साक्षीहरूद्वारा साह्रै प्रभावित भएका थिए।
एलन, प्रोटेस्टेन्ट पादरीको छोरा थिए। तिनी दक्षिण अफ्रिकामा हुर्के। कलिलै छँदा, बाइबल परमेश्वरद्वारा प्रेरित प्रकाश हो भनी तिनी निश्चित थिए। आफ्नो धर्मबाट सन्तुष्ट नहुँदा तिनी तत्त्वज्ञान र राजनीतितिर ढल्के। तर यसले आफूलाई झन् रित्तो बनाएको तिनले आभास पाए। ग्रीसमा गएपछि तिनको रित्तो भावना अझ तीव्र भयो। लक्ष्यबिनाको बटुवा जस्तै आफ्नो जीवनमा कुनै उद्देश्य नभएको तिनले महसुस गरे।
एक रात यस्तो घटना घट्यो। एलन बताउँछन्: “घुडा टेकें र परमेश्वरलाई मेरो आन्तिरक भावनाहरू व्यक्त गरें। मेरो दयनीय जीवन पद्धतिमा आँसु बहाउँदै उहाँको साँचो अनुनायीहरूसितै मलाई पनि डोऱ्याउनुहोस् भनी परमेश्वरलाई बिन्ती चढाएँ। त्यसो भएमा, उहाँको डोऱ्याइको ज्योतिमा हिंड्नेथें भनेर प्रतिज्ञा गरें।” त्यही हप्ताको दौडान एउटा पसलको मालिक्नीसित तिनको वार्तालाप भयो। तिनी साक्षी थिइन्। त्यो वार्तालापले एलेनको जीवन एउटा नयाँ मोड ल्यायो। “त्रिएक, नरककुण्ड, आत्माको अमरता जस्ता अघि मलाई मन परेका धारणाहरू पत्यार लाग्न छोड्यो। स्पष्टतया, ती शिक्षाहरू बाइबलमा आधारित थिएनन्।” राज्यभवनमा एक साक्षी दम्पतीले तिनीसित बाइबल अध्ययन गर्ने प्रस्ताव राखे। तिनले स्वीकारे र चाँडै उन्नति पनि गरे। “सच्चाइ पाएको खुशीमा म रोएँ। र यसले मलाई स्वतन्त्र तुल्यायो।” अध्ययन गरेको एक वर्षपछि तिनले बप्तिस्मा लिए। आज तिनी स्थानीय मण्डलीमा सहायक सेवकको हैसियतमा खुशीसाथ सेवारत छन्।
नाइजेरियाको एलिजाबेथले परमेश्वरको खोजी गर्न विभिन्न चर्चहरु धाइन्। तर यस विषयमा तिनी असन्तुष्टै रहिन्। नरककुण्डमा अनन्त दण्डको शिक्षा तिनलाई सबैभन्दा भयभीत पार्ने कुरा थियो। तिनी आफ्नो परिवारसित एथेन्समा आएपछि, दुइ साक्षीहरू एकदिन तिनको घरमा आए। बाइबल अध्ययन सुरु भयो। परमेश्वरले मानिसलाई सास्ती दिनुहुन्न तर पार्थिव प्रमोदवनमा अनन्त जीवनको प्रबन्ध गर्नुभएको छ भन्ने जानेर एलिजाबेथ रोमाञ्चित भइन्। गर्भमा भएको चौथो बच्चालाई तिनी गर्भपात गर्न चाहन्थिन्। अध्ययन गर्दा जीवनको पवित्रताप्रति यहोवाको दृष्टिकोणबारे तिनले बाइबलबाट जानिन्। तिनको त्यो बच्चा अहिले राम्री छोरी भएकी छे। एलिजाबेथले एकदमै छिट्टो उन्नति गरिन् र चाँडै बप्तिस्मा लिइन्। चार-चार जना छोराछोरी र पूर्ण-समय कामको बावजूद पनि प्रायः प्रत्येक महिना सहायक अग्रगामी गर्छिन्। पतिले बाइबल अध्ययन सुरु गरेको देख्न पाउनु तिनको निम्ति आशिष् थियो। तिनी भन्छिन्: “अन्तमा मैले साँचो परमेश्वर र साँचो उपासना भेटाएँ। यसको लागि यहोवा परमेश्वर र उहाँको मायालु संगठनप्रति म कृतज्ञ छु।”
यस विविध इलाकाका धेरैजसो मानिसहरू सडक साक्षीद्वारा सम्पर्कमा आउँछन्। तर तिनीहरूको रुचि बढाउन तिनीहरूप्रति चासो देखाइरहन खाँचो छ। यस्तै एउटा घटना सियरा लियोनको सले नामकी एक जवान स्त्रीसित भयो। एक साक्षीले तिनलाई पर्चा दिएर तिनको ठेगाना पनि लिए र पुनःभेटको निम्ति प्रबन्ध मिलाए। सले इच्छुक थिइन् अनि बाइबल अध्ययन स्वीकार गरिन्। तर काम र अन्य कठिनाइहरूको दबाबले गर्दा तिनको अध्ययन नियमितरूपले हुन सकेन। त्यसपछि, तिनी ठेगाना नबताइ अन्यत्र सरेर गइन्। ती साक्षी बहिनी तिनको पुरानै डेरामा गइरहिन्। अन्ततः सलेले तिनी सरेको नयाँ डेरामा आउनु भनी ती साक्षीलाई खबर पठाइन्।
तत्पश्चात, सले गर्भाधारणको अन्तिम महिनामा हुँदा पनि तिनको अध्ययन नियमित तवरले भयो। बच्चा जन्मेपछि, सले बप्तिस्मा अप्राप्त प्रकाशक भइन्। तिनले यी सब सजिलैसित गरेको जस्तो देखिए तापनि, यथार्थमा सजिलो चाहिं थिएन। बसबाट आधा घण्टा लाग्ने नर्सरी स्कूलमा बच्चालाई पुऱ्याउन बिहान ६.३० मै तिनी तयार हुनुपर्छ। त्यसपछि, आफ्नो काम गर्ने ठाउँसम्म पुग्न बसमा एक घण्टा तिनी यात्रा गर्नुपर्छ। आफ्नो सफाईको काम सकेपछि यसरी नै घर फर्कन्छिन्। पतिको विरोधको बावजूद सभाहरू वा क्षेत्र सेवकाईमा जान-आउन दुइ घण्टा बसको यात्रा गर्छिन्। तरै पनि पतिलाई प्रेम र धीरज देखाउँदै समर्पण र बप्तिस्मा लिन सफल भइन्। तिनको पति नि? तिनी ख्रीष्टको मृत्युको स्मरणार्थमा उपस्थित भए र बाइबल अध्ययन स्वीकारे।
उत्तम परिणामहरूद्वारा आशिषित्
यिनीहरूमध्ये अधिकांश मानिसहरू एथेन्समा अस्थायी रूपले बस्छन्। आफन्त र साथी संगीहरूलाई सुसमाचार बाँड्न धेरै जना आफ्नो जन्म थलो फर्कन्छन्। अरू भने पश्चिमी मुलुकहरूमा गएर परमेश्वरको सेवामै लाग्छन्। ग्रीसमै बस्नेहरूले चाहिं आफ्नै मुलुकबाट बसाइँ सर्न आएका मानिसहरूलाई साक्षी दिंदै असल परिणामहरूको आनन्द उठाउँछन्। केही घटनाहरू कस्ता पनि छन् भने, भ्रमणकारीहरू अर्को देशमा गएर साक्षीहरूको सम्पर्कमा आएपछि मात्र सच्चाइका बीउहरू उम्रिएका छन्।
यी सबै कुराले यहोवा पक्षपाती हुनुहुन्न भनी प्रमाणित गर्छ। उहाँको डर मान्ने र धार्मिकतालाई प्रेम गर्ने हरेक जातिका मानिसहरूलाई उहाँ स्वीकार गर्नुहुन्छ। (प्रेरित १०:३४, ३५) भौतिक कुराहरूको लागि अर्को देशमा सर्दा यी भेडाखाले मानिसहरूले आफूले प्रत्याशा गरेकोभन्दा महान् आशिषहरू पाए। त्यो हो, साँचो परमेश्वर यहोवाको ज्ञान र उहाँले प्रतिज्ञा गर्नुभएको धार्मिक नयाँ संसारमा अनन्त जीवन। हो, आधुनिक एथेन्समा बसोबास गर्ने विदेशी मानिसहरूकहाँ पुग्ने हर प्रयासलाई साँच्चै यहोवाले प्रचुर मात्रामा अशिष् दिनुभएको छ!
[पृष्ठ १६-मा भएका चित्रहरू]
विभिन्न मुलुकका मानिसहरूले एथेन्समा सुसमाचार सुन्दैछन्