हेर! निऊको राज्य भवन
निऊ, दक्षिण प्रशान्त महासागरस्थित एउटा सानो प्रवाल टापु हो र यो न्यु जील्याण्डको २,१६० किलोमिटर उत्तरपूर्वमा पर्छ। यात्रा निर्देशक पुस्तिकाअनुसार निऊ नाउँ दुइटा शब्द मिलेर बनेको छ। निऊ भाषामा, निउ-को अर्थ नरिवलको रूख र ई-को अर्थ हो, “हेर।” उक्त पुस्तिकाले यसो भन्छ: “किंवदन्तीअनुसार यहाँ बस्न आएका प्रथम पोलिनेसियनहरूले यहाँका नरिवलका रूखहरू देखेपछि त्यस्तो उद्गार व्यक्त गरेका थिए।”
आज, निऊका यहोवाका साक्षीहरूले गर्वसाथ आगन्तुकहरूलाई यसो भन्छन्, “ई! फाले हे काउटु हा माउटोलु!” त्यसको अर्थ हो, “हेर! हाम्रो राज्य भवन!” यस भवनको लागि यस्तो गहिरो भावना किन? सबै ठाउँका यहोवाका साक्षीहरू आफ्नो राज्य भवनको गर्व गर्छन् र अझ विशेषगरि तिनीहरू आफैले निर्माण गरेका हुन् भने झन् बढी गर्व गर्छन्। तर विशाल दक्षिण प्रशान्त महासागरको बीचको सुदूर टापुमा राज्य भवन निर्माण गर्नु कुनै चानचुने कुरा होइन। आखिरमा, निऊको क्षेत्रफल केवल २६० वर्ग किलोमिटर छ र सम्पूर्ण टापुमा २,३०० बासिन्दाहरू मात्रै छन्।
सर्वप्रथम, राज्य भवन कसले निर्माण गर्ने भन्ने प्रश्न उठेको थियो। निऊको एउटा मण्डलीमा केवल ३२ जना साक्षीहरू छन्। निर्माणको लागि चाहिने ट्रक, बुलडोजर र क्रेनजस्ता उपकरणहरू सबै सरकारका सम्पत्ति हुन्। यसबाहेक, स्टिल, कंक्रीट ब्लक, जस्तापाता, विद्युतीय तथा पाइपसम्बन्धी सरसमान, ध्वनि उपकरण तथा मेचहरूजस्ता सम्पूर्ण निर्माण सामग्रीहरू न्यु जील्याण्डबाट ढुवानी गर्नुपर्नेछ। त्यो ढुवानी सेवा पनि पाँच हप्ताको एक चोटि मात्र चालू हुन्छ। अन्ततः टापुको चट्टाने सतहले गर्दा निर्माणकार्य सजिलो हुनेथिएन र उष्ण कटिबन्धीय आँधीबेह्री थाम्नसक्ने भवन बनाउनु पर्नेथियो। निस्सन्देह, यो जोसुकैको लागि पनि भयानक कार्य हो!
तथापि, त्यहाँ एउटा ठूलो भिन्नता थियो। यहोवाका साक्षीहरूको लागि स्थानीय इलाकामा साँचो उपासनाको केन्द्रबिन्दु राज्य भवन हो र तिनीहरू यहोवा परमेश्वरसित डोऱ्याइ तथा मदत माग्छन्। (भजन ५६:११; १२७:१) न्यु जील्याण्डका भाइहरूलगायत अकल्याण्डस्थित निऊभाषी मण्डलीका सदस्यहरू निऊका साक्षीहरूको सानो समूहलाई मदत गर्न आए। तिनीहरूले निर्माणकार्यमा पूर्ण सहयोग गरे।
काम सुभारम्भ गर्ने निर्णय
सन् १९९४ जून महिनामा न्यु जील्याण्डको रोटोरूवास्थित निर्माणस्थलमा निऊको परियोजनामा भाग लिन चाहनेहरूलाई निमन्त्रणा दिइयो। छक्कैलाग्दो, २०० मसीही भाइबहिनीहरू स्वयंसेवा गर्न तयार थिए। यीमध्येबाट ८० जना छानिए। यिनीहरू सिकर्मी, स्टिलको कामदार, पाइपको कामदार, छाना लगाउने, प्लाष्टर गर्ने, रंगरोगन गर्ने, बिजुलीमिस्त्री, ध्वनि प्राविधिक, सिमेन्टको काम गर्ने, इँटा बिछ्याउने र मजदुरहरू इत्यादि थिए।
भाइहरूले भवनको रूपरेखा तयार पारे अनि यहोवामा भरोसा राख्दै काम थाले। निऊ मण्डलीका दुइ जना प्राचीनमध्ये एक स्थानीय व्यापारी हुन्। तिनले सबै आवश्यक सरसामग्रीहरू ढुवानी गर्ने प्रबन्ध मिलाउन थाले। समुद्रपारका कारिन्दाहरूको लागि सुपथ मूल्यमा हवाई सेवा तथा आवासको प्रबन्ध मिलाइयो। यी कारिन्दाहरू आफ्नै खर्च बेहोरेर आउन तयार थिए र निर्माणकार्य सुरु गर्ने मिति तय गरियो। मार्च ४ देखि मार्च २३, १९९५ अर्थात् २० दिनभित्र परियोजना पूरा गर्नुपर्नेथियो र मार्च २३ तारिखका दिन राज्य भवन समर्पण गर्ने कार्यक्रम थियो।
कामकुरा संयोजनको लागि न्यु जील्याण्डबाट एक हप्ताअघि आएका संयोजकले यसो भने, “निर्माणस्थल देख्दा मैले होसहवासै गुमाएँ। यस्तो अनुभव पहिले कहिल्यै गरेको थिइनँ। जमीन त चट्टानै चट्टान रहेछ। जग खन्न मात्र पनि दुइ हप्ता लाग्ला।” तर तिनले स्थानीय साक्षीहरू कति सक्षम छन् भनेर राम्ररी नबुझेको पछि स्वीकारे। तिनले भने, “निऊका भाइहरूलाई चट्टानहरूको संरचनाबारे राम्रो ज्ञान छ। चट्टान फोड्न कहाँनिर हान्नुपर्छ भनेर तिनीहरूलाई थाह छ।” जग खन्ने काम दुइ दिनमै सकियो!
मार्च ४ तारिखका दिन न्यु जील्याण्डका साक्षीहरूको पहिलो जमात आइपुग्यो र कंक्रीट बिछ्याउने काम सकियो। बिस्तारै कामदारहरू आउन थाल्दा निर्माणसम्बन्धी विभिन्न कार्यहरू सम्पन्न भयो। बाइबल पदको छोटो छलफल गरेर बिहान ७ बजे काम सुरु हुन्थ्यो। केही भाइहरूले ३६ डिग्री सेल्सियस तापक्रममा दिनको १२ घण्टा काम गरे। अन्ततः, मार्च २३ सम्म जमीनमा सुन्दर आकारप्रकार तयार भइसकेको थियो। आँपको रूखबाट बनाइएको आकर्षक साइनबोर्डले त्यो भवन “यहोवाका साक्षीहरूको राज्य भवन” हो भनेर चिनायो।
सहयोग तथा आतिथेयको मनोभाव
निर्माणकार्यको सफलतामा योगदान पुऱ्याउने महत्त्वपूर्ण कारक तत्त्व निऊका बासिन्दाहरूको सहयोग थियो। भाइहरूको जोशले उत्प्रेरित भई स्थानीय गाउँलेहरूले भोजन तथा पैसा चन्दास्वरूप दिए। धेरैले त्यो भवन निर्माणकार्यलाई आफ्नै परियोजना सम्झे। सरकारी अधिकृत तथा व्यापारीहरूले अपेक्षा गरिएभन्दा बढी सहयोग प्रदान गरे। आवश्यक सबै उपकरण उपलब्ध गराइयो र तिनीहरूलाई काठको कारखानासमेत प्रयोग गर्न दिइयो। आवश्यक सामग्रीहरू ठीक समयमा आइपुगोस् भनेर ढुवानी कम्पनीले समेत आफ्नो जहाजको मार्ग परिवर्तन गरे।
आफ्नो घर तथा सम्पत्ति अरूलाई प्रयोग गर्न दिने निऊका साक्षीहरूको आतिथेय र कडा मेहनतलाई आगन्तुकहरूले साँच्चै मूल्यांकन गरे। एक निर्माणकर्ताले यसो भने, “स्थानीय बहिनीहरू साह्रै असल हुनुहुन्थ्यो।” हरेक दिन दिउँसो ताततातो भोजनको अलावा बहिनीहरूले बिहान ६:३० मा सधैं कलेवाको प्रबन्ध गरे। खाना तयार पार्न केही त बिहान ४:३० मा उठ्थे। एक निर्माणकर्ताले यसो भने: “हाम्रो घरमा भन्दा यहाँ जीवनस्तर उत्तम छ जस्तो लाग्छ।”
मार्च १० मा निऊ स्टार-को अघिल्लो पृष्ठमै यो विवरण छापियो र त्यसको शीर्षक थियो, “निऊको प्रथम राज्य भवन।” अनि निर्माणस्थलमा न्यु जील्याण्ड तथा निऊका मानिसहरू एकसाथ काम गरिरहेको चित्र थियो। त्यसमा भनिएको थियो, त्यो भवनको क्षेत्रफल २८० वर्ग मिटर छ र ७० देखि १०० जना जति मानिसहरू अटाउँछन्। उक्त लेखमा यो पनि भनिएको थियो: “वास्तवमा, काम दुइ [हप्तामा] पूरा गर्न सकिन्छ तर यो निर्माणकार्य भने लम्ब्याइनेछ। अहिले काम थालेको दुइ दिन मात्रै भयो तर जग खनेर फर्मा राख्ने काम तालिकाभन्दा अघि नै पूरा भइसक्यो।”
निऊ टापुका सबैले त्यो निर्माणकार्य हेरेर पाठ सिकोस् भन्ने इच्छा एक स्थानीय व्यापारीले व्यक्त गरे। तिनले भने, प्रेम र सहयोग छ भने के के सम्पन्न गर्न सकिन्छ, त्यो सबैले देखोस् भन्ने हेतुले त्यसो भनेको हुँ।
भवन समर्पणको लागि २०४ जना भेला भए। त्यहाँ उपस्थित सबैको लागि हृदयस्पर्शी अनुभव के साबित भयो भने, निऊका भाइबहिनीहरू तथा केटाकेटीहरूले उक्त राज्य भवनको निर्माणकार्यलाई गीत र नृत्यद्वारा अभिनय गरे। निर्माण टोली तथा यहोवालाई धन्यवाद ज्ञापन गरियो किनकि त्यो कार्य सम्पन्न गर्न उहाँको आत्माले मन, हृदय अनि हातलाई उत्प्रेरित गऱ्यो।—यशैया ४०:२८-३१.