के तपाईंलाई सम्झना छ?
के तपाईंले हालैका प्रहरीधरहरा-का अंकहरूलाई गहिरिएर ध्यान दिनुभएको छ? निम्न बुँदाहरू पुनः स्मरण गर्नु तपाईंलाई रोचक लाग्ला:
▫ मत्ती ११:२८ को निमन्त्रणाअनुरूप एक जना व्यक्ति कसरी ‘येशूकहाँ आउनसक्छ?’
येशूले यसो भन्नुभयो: “कोही मेरोपछि आउने इच्छा गर्दछ भने उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्।” (मत्ती १६:२४) यसर्थ, येशूकहाँ आउनु भनेको परमेश्वर र ख्रीष्टको अधीनमा बस्नु अनि आफ्ना जिम्मेवारीहरूलाई सधैं पूरा गर्नु हो।—८/१५, पृष्ठ १७.
▫ येशूले मत्ती ७:१३, १४ मा उल्लेख गर्नुभएको ‘जीवनमा पुऱ्याउने साँघुरो बाटो’ किन “थोरै[ले]” मात्र भेट्टाउँछन्?
साँघुरो बाटो परमेश्वरका नियम तथा सिद्धान्तहरूद्वारा नियन्त्रित हुन्छन्। यसर्थ, परमेश्वरको स्तरबमोजिम जीवन बिताउन चाहने निष्कपट मानिसहरूलाई मात्र त्यो बाटो रहरलाग्दो हुनसक्छ। साँघुरो बाटो हेर्नमा ज्यादै रोकटोक भएको जस्तो लाग्ला तर त्यसले हर महत्त्वपूर्ण पक्षमा मानिसलाई स्वतन्त्र बनाउँछ। त्यसका सिमानाहरू “स्वतंत्रताको सिद्ध व्यवस्था[द्वारा]” निर्धारित छन्। (याकूब १:२५)—९/१, पृष्ठ ५.
▫ विवेक कसरी खेती गर्न सकिन्छ?
विवेक सजिलै वा स्वतः आउने कुरा होइन। तर धीरज, प्रार्थना, निष्कपट प्रयास, बुद्धिमान संगति, बाइबल अध्ययन तथा मनन र यहोवाको पवित्र आत्मामा भर गरेर विवेकको खेती गर्न सकिन्छ।—९/१, पृष्ठ २१.
▫ मानव डाह कहिलेकाहीं कसरी असल उत्प्रेरक हुनसक्छ?
यसले आफ्ना प्रियजनलाई खराब प्रभावहरूदेखि जोगाउन उत्प्रेरित गर्नसक्छ। यसबाहेक, मानिसहरूले यहोवा र उहाँको उपासनाप्रति उचित ढंगमा डाह देखाउनसक्छन्। (१ राजा १९:१०)—९/१५, पृष्ठ ८, ९.
▫ यूसुफका नातिहरूबारे उत्पत्ति ५०:२३ मा उल्लिखित, “बालबच्चा पनि यूसुफकै काखमा जन्मे” भन्ने अभिव्यक्तिको अर्थ के हो?
यसको साधारणतया अर्थ, यूसुफले ती बालबच्चाहरूलाई आफ्नो सन्तानको रूपमा स्वीकारेको हुनसक्छ। तर यसको साथसाथै तिनले स्नेहका साथ ती बच्चाहरूलाई काखमा खेलाएको पनि हुनसक्छ। आज पिताहरूले आफ्ना छोराछोरीहरूलाई त्यस्तै प्रकारको स्नेह देखाउनु बेस हुनेछ।—९/१५, पृष्ठ २०, २१.
▫ सफल विवाह र पारिवारिक जीवनको अत्यावश्यक कुरा के हो?
त्यस्ता मनपर्दो परिणामहरू प्राप्त गर्न विवाहित दम्पतीहरूले सधैं परमेश्वरको इच्छालाई प्राथमिकता दिनुपर्छ। त्यसो गर्ने विवाहित दम्पतीहरूले एकअर्कालाई त्याग्दैनन् र परमेश्वरको वचनको सल्लाह प्रयोगमा ल्याउँदै आफ्ना समस्याहरू सुल्झाउँछन्। फलतः परमेश्वरको इच्छालाई बेवास्ता गर्दा उत्पन्न हुने नानाभाँति चोटहरूदेखि तिनीहरू बच्छन्। (भजन १९:७-११)—१०/१, पृष्ठ ११.
▫ आज ईश्वरीय अविलम्बी चेतना कत्तिको गम्भीर छ?
ईश्वरीय अविलम्बी चेतना, यहोवालाई तनमनले चढाइने सेवाको अभिन्न भाग हो। परमेश्वरका सेवकहरू ‘शिथिल भई थाकेर जाओस्’ भनेर दियाबलले गर्ने प्रयासलाई नकाम तुल्याउन त्यसले मदत गर्छ। (हिब्रू १२:३) यसले तिनीहरूलाई संसारसित बढी हेलमेल हुन तथा भौतिकवाददेखि जोगाउँछ। त्यसले तिनीहरूको मनलाई ‘साँच्चैको जीवनमा’ केन्द्रित राख्छ। (१ तिमोथी ६:१९)—१०/१, पृष्ठ २८.
▫ भेडा र बाख्राको उखानमा येशू सिंहासनमा कहिले बस्नुहुन्छ र किन? (मत्ती २५:३१-३३)
यो उखानले उहाँ राजा हुनुभएको अर्थ बुझाउँदैन। बरु, उहाँ न्यायकर्ताको हैसियतमा बस्नुहुन्छ। यो न्याय निकै वर्षसम्म चलिरहनेछैन। यो उखानले त्यो समयलाई देखाउँछ, जब येशूले राष्ट्रहरूमाथि सीमित समयभित्र न्याय घोषणा गर्नुको साथै न्याय गर्नुहुनेछ।—१०/१५, पृष्ठ २२, २३.
▫ येशूले बारम्बार उल्लेख गर्नुभएको “पुस्ता” के हो?
येशूले “यो पुस्ता” भन्ने पद्यांश यहूदी राष्ट्रका समकालीन मानिसहरूको जमातका साथै तिनीहरूको “अन्धा अगुवाहरू[लाई]” संकेत गर्न चलाउनुभएको थियो। (मत्ती ११:१६; १५:१४; २४:३४)—११/१, पृष्ठ १४.
▫ मत्ती २४:३४-३९ मा येशूको भविष्यवाणीको अन्तिम पूर्ति हुँदा “यो पुस्ता” भन्ने अभिव्यक्तिले कुन कुरालाई संकेत गर्छ?
सम्भवतः पृथ्वीका ती मानिसहरूलाई संकेत गर्छ, जसले ख्रीष्टको उपस्थितिको चिन्ह देखेर पनि आफूलाई सुधार्दैनन्।—११/१, पृष्ठ १९, ३१.
▫ शरण-नगरहरूको प्रबन्धलगायत त्यसका प्रतिबन्धहरूले पुरातन इस्राएलका मानिसहरूलाई कसरी लाभ पुऱ्यायो?
यसले मानव जीवनप्रति लापरवाही वा भावशून्य हुनुहुँदैन भनेर इस्राएलीहरूमाथि अमेट छाप पारेको हुनुपर्छ। साथै उपयुक्त अवसरमा दया देखाउनुपर्ने खाँचोलाई पनि जोड दियो। (याकूब २:१३)—११/१५, पृष्ठ १४.
▫ प्रतिरूपक शरण-नगर के हो?
रगतको पवित्रतासम्बन्धी उहाँको आज्ञा भंग गरेकोले मृत्युबाट जोगिनको लागि परमेश्वरको प्रबन्ध हो। (उत्पत्ति ९:६)—११/१५, पृष्ठ १७.
▫ “नविन सामर्थ्य” पाउन हामीलाई मसीही भ्रातृत्वले कसरी मदत गर्नसक्छ? (यशैया ४०:३१)
हामीले भोगिरहेका दबाब तथा परीक्षाहरू भोग्ने भाइबहिनीहरू पनि छन्। (१ पत्रुस ५:९) हामीले भोगिरहेका कुराहरू असामान्य होइनन् र हाम्रा अनुभूतिहरू अनौठा छैनन् भनेर थाह पाउनु आश्वासनदायी कुरा हो।—१२/१, पृष्ठ १५, १६.