राज्य उद्घोषकहरूका रिपोर्ट
“परमेश्वरको वचन बढ़दै गयो”
मसीही मण्डलीको स्थापनापछि, १२० सदस्यहरू तुरुन्तै बढेर ३,००० भन्दा बढी भयो। (प्रेरित १:१५; २:४१) बाइबलको विवरणअनुसार “परमेश्वरको वचन बढ़दै गयो, र चेलाहरूको संख्या यरूशलेममा अत्यन्तै बढ़यो।” (प्रेरित ६:७) केही वर्षपश्चात्, भर्खरै स्थापित मण्डली अफ्रिका, एसिया र युरोपका मसीहीहरूसित मिलेर अन्तरदेशीय संगठन बन्यो।
त्यस्तैगरि आज पनि मसीही मण्डलीहरूले तीव्र वृद्धिको महसुस गर्दैछन्। उदाहरणका लागि, मेक्सिकोमा पाँच वर्षभित्र राज्य उद्घोषकहरूका संख्या १,३०,००० बाट बढेर ४,४३,६४० पुगेको छ! सन् १९९५ मा यहोवाका साक्षीहरूले मनाएको ख्रीष्टको मृत्युको स्मरणार्थ उत्सवमा मेक्सिकोको ५९ मानिसहरूमध्ये एक जना उपस्थित भएका थिए। तर, त्यस देशमा आध्यात्मिक कटनी अझै पूर्णतया सकेको छैन भनेर निम्नलिखित अनुभवले साबित गर्छ।—मत्ती ९:३७, ३८.
चियपस राज्यको एउटा शहरमा यहोवाका साक्षीहरूले २० वर्षदेखि सुसमाचार प्रचार गरिरहेका भए तापनि कसैले पनि गृह बाइबल अध्ययन स्वीकारेको थिएन। स्पष्टतः त्यस शहरका अधिकांश मानिसहरू एक कुख्यात झगडालु व्यक्तिसित डराइ राखेका थिए। साक्षीहरूसित बाइबल अध्ययन गरेको थाह पाएमा त्यस व्यक्तिको प्रतिक्रिया कस्तो होला भनेर तिनीहरू डराउँथे।
त्यस क्षेत्रमा बसाइँ सरेका दुइ निर्भयी साक्षीहरूले त्यस व्यक्तिसित सीधै भेटेर समस्या सुल्झाउने निर्णय गरे। तिनको घर आइपुग्दा त्यस व्यक्तिको पत्नीले ढोका खोलिन् र तिनीहरूको खबर ध्यानपूर्वक सुनिन्। विशेषगरि बाइबलले पार्थिव प्रमोदवनको प्रत्याशाबारे बताउने कुरा सुन्न तिनी इच्छुक थिइन्। तर आफूले बाइबल अध्ययन गरेको पतिले थाह पाएमा साह्रै कठिनाइ आइपर्नेछ भनेर तिनले स्वीकारिन्। यद्यपि, तिनले बाइबल राम्ररी जाँच नगरेसम्म परमेश्वरलाई कसरी सेवा गर्ने र सधैंभरि पृथ्वीमा जीवनको आनन्द कसरी उठाउने भनेर कहिल्यै सिक्ने छैनन् भनी साक्षीहरूले बुझाए। तब तिनले बाइबल अध्ययन स्वीकारिन्।
आशा गरेजस्तै, तिनको पतिलाई त्यो मन परेन। अतः अरू कामका लागि गाडी चलाउन दिए तापनि मसीही सभाहरूमा जान भने तिनले गाडी चलाउन दिएनन्। तर त्यस्तो विरोधको बावजूद तिनी यहोवाका साक्षीहरूको राज्य भवनहरूमध्ये सबैभन्दा नजीक पर्ने राज्य भवनमा नियमित रूपले उपस्थित भइन्। त्यहाँसम्म पुग्न तिनले दश किलोमिटर हिंड्नुपर्थ्यो। त्यस शहरका मानिसहरूले चाँडै तिनको साहस र दृढता देख्न थाले। साक्षीहरू आफ्नो घरमा आउँदा मानिसहरूले सुन्न थाले। कोही त त्यस स्त्रीसित सभाहरूमा पनि धाउन थाले। केही समयपश्चात् साक्षीहरूले लगभग २० वटा बाइबल अध्ययनहरू सञ्चालन गर्न थाले!
यस स्त्रीकी साथीले पनि आफ्नो पतिको विरोधको बावजूद बाइबल अध्ययन गर्ने निर्णय गरिन्। छक्कलाग्दो कुरा, पहिला अध्ययन गर्ने स्त्रीको पतिले अर्की स्त्रीलाई अध्ययन गर्ने प्रोत्साहन दिएको थियो। तिनले त्यस स्त्रीकी पतिसित कुरा गरेपछि विरोध बन्द भयो। यसरी २० वर्षपछि त्यहाँ बाइबल सत्यको बीउ टुसाउन थाल्यो। अहिले यी दुइ स्त्रीहरूलगायत १५ जनाभन्दा बढी मानिसहरूले बाइबल अध्ययन गर्नुका साथै मसीही सभाहरूमा उपस्थित भएर सुसमाचारको घोषणा गर्दैछन्।