मत्तीरचित सुसमाचार पुस्तकको सत्यता
अंग्रेजी अक्षर P64 को नाउँले चिनिने मत्तीरचित सुसमाचार पुस्तकका तीनवटा स-साना पाण्डुलिपि टुक्राहरू सन् १९०१ देखि बेलाइतको अक्सफर्डस्थित माग्दालेन कलेजसित थियो। केही समयअघिसम्म शास्त्रविद्हरूले ती टुक्राहरू सा.यु. दोस्रो शताब्दीको अन्ततिरको हुनुपर्छ भनेर सोचेका थिए।
तर हालै जर्मनीस्थित पाडरबर्न भन्ने ठाउँका पपाइरस लेख विशेषज्ञ कार्सटन पि. टेडले मत्ती अध्याय २६ को १० पदहरूका केही अंशहरू भएको सो P64 राम्ररी जाँच गरे। नतिजा? जाइटस्रिफ्ट फ्युर पापिरोलोजी उन्ड एपिग्राफ्रिक-मा (पपाइरस तथा शिलालेखको पत्रिका) टेडले अक्सफर्डबाट प्राप्त ती स-साना टुक्राहरूलाई “प्रथम शताब्दी, सम्भवतः सन् ७० अघिको (यद्यपि, त्यो सन् ७० अघिकै हुनुपर्छ भन्ने छैन) पुरातन मसीही शास्त्रको टुक्रा” भनी वर्णन गरे।
टेडको अध्ययनले प्रेस तथा शास्त्रविद्हरूबीच निकै हलचल मचायो। किन? किनभने अहिलेसम्म लगभग सा.यु. १२५ वा दोस्रो शताब्दीभन्दा पछितिरको मानिने यूहन्नारचित सुसमाचार पुस्तकको टुक्रा, P52 लाई सुसमाचार पुस्तकको सबैभन्दा पुरानो अवशेष ठानिन्छ।
अब P64 लाई तोकिएको यो नयाँ मितिलाई व्यापक रूपमा स्वीकारिन्छ वा स्वीकारिंदैन, त्यो समयले नै बताउला। तर जे होस्, यो नयाँ मितिले P64 लाई सुसमाचार पुस्तकको सबैभन्दा पुरानो टुक्रा बनाउनुका साथै मत्तीरचित सुसमाचार पुस्तक वास्तवमा प्रथम शताब्दी अर्थात् सम्भवतः सा.यु. ७० अघि लेखिएको हो भन्ने कुराको थप प्रमाण दिनेछ, जुन बेला येशूको जीवनसित सम्बन्धित घटनाहरूका थुप्रै प्रत्यक्षदर्शीहरू थिए र तिनीहरूले मत्तीरचित सुसमाचार पुस्तकको सत्यताको पुष्टि दिनसक्थे।
[पृष्ठ ३२-मा भएको स्रोत]
By permission of the President and Fellows of Magdalen College, Oxford.