प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 २/१५ पृ. ३०-३१
  • “विनयीसित बुद्धि हुन्छ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “विनयीसित बुद्धि हुन्छ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उपशीर्षकहरू
  • परमेश्‍वरसमक्ष
  • कुन कुरामा घमण्ड गर्ने
  • विनयी जनहरूप्रति परमेश्‍वरको चिन्ता
  • लेखिएको कुराभन्दा बढ्‌ता नगर्ने
  • येशू ख्रीष्टको उदाहरण
  • लुगाफाटा र सरसम्पत्ति
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 २/१५ पृ. ३०-३१

“विनयीसित बुद्धि हुन्छ”

विनयलाई आफ्नो सीमा थाह हुनु भनी परिभाषित गरिएको छ। त्यसबाहेक यसलाई पवित्रता वा व्यक्‍तिगत शुद्धता भनेर पनि परिभाषित गरिन्छ। हिब्रू मूल क्रिया साना-लाई मीका ६:८ मा “विनयी हुनु” (न्युव) भनी अनुवाद गरिएको छ। र उपरोक्‍त शब्द मीकाको पुस्तकमा एकैपल्ट मात्र उल्लेख गरिएको पाइन्छ। अ हिब्रू एन्ड इंगलिस लेक्सिकन अफ दि ओल्ड टेस्टामेन्ट-अनुसार त्यसले लज्जालु, विनयी वा विनम्र व्यक्‍तिलाई संकेत गर्छ। “विनय” युनानी शब्द आइदोस-को अनुवाद हो। (१ तिमोथी २:९) नैतिक अर्थमा चलाइँदा आइदोस-ले श्रद्धा, विस्मय, अरूको भावना, विचार वा आफ्नै अन्तस्करणको कदर गर्नु जस्ता भाव प्रकट गर्छ भने त्यसले लज्जालुपन, आत्मसम्मान, आदर भाव, निग्रह र सन्तुलनलाई पनि संकेत गर्छ। यसप्रकार आइदोस-मा कुनै कुरा गर्नदेखि रोक्ने भाव लुकेको हुँदा यो गुन विशेषगरि अन्तस्करणसित सम्बन्धित छ।

परमेश्‍वरसमक्ष

आफूलाई चाहिनेभन्दा बढ्‌ता महत्त्व नदिने अर्थलाई ध्यानमा राख्दै धर्मशास्त्रले विनयबारे थुप्रै सल्लाह दिन्छ। एउटा हितोपदेशले भन्छ, “विनयीसित बुद्धि हुन्छ।” किनभने विनयी व्यक्‍तिले अहंकार वा घमण्ड गरेर आफ्नै अनादर गर्दैन। (हितोपदेश ११:२ न्युव) साथै विनयी व्यक्‍ति यहोवाले अनुमोदन दिनुहुने मार्गमा चल्ने भएकोले बुद्धिमान हुन्छ। (हितोपदेश ३:५, ६; ८:१३, १४) यहोवाले त्यस्तो व्यक्‍तिलाई प्रेम गर्नुका साथै बुद्धि पनि दिनुहुन्छ। वास्तवमा यहोवाको अनुमोदन प्राप्त गर्ने एउटा तरिका नै “उहाँसित विनयी भएर हिंड्‌नु” हो। (मीका ६:८ न्युव) तर त्यसका लागि हामीले परमेश्‍वरसमक्ष आफ्नो स्थानलाई बुझ्नुपर्छ। साथै यहोवाको महानता, शुद्धता, पवित्रताअघि हाम्रो पापी अवस्था कति भिन्‍न छ भनेर पनि मानि लिनुपर्छ। यसबाहेक व्यक्‍तिविशेषले आफूलाई यहोवाको प्राणी सम्झेर उहाँ र उहाँको सार्वभौमिकताको अधीनमा बस्नुपर्छ। हव्वाले त्यसो गर्न सकिनन्‌। तिनी पूर्णतया पराधीन भएर आफै निर्णय गर्न चाहिन्‌। तिनी विनयी भएकी भए “असल र खराबको ज्ञान पाएर . . . परमेश्‍वरजस्तै” हुने विचार मनमा पलाउन दिने थिइनन्‌। (उत्पत्ति ३:४, ५) प्रेरित पावलले पनि अति विश्‍वस्त अनि अहंकारी नहुन सल्लाह दिए। तिनले यसो भने, “डर कम्पसाथ आफ्नो मुक्‍तिको काम पूरा गर्दै जाओ।”—फिलिप्पी २:१२.

कुन कुरामा घमण्ड गर्ने

घमण्ड, विनयको ठीक उल्टो हो। किनभने “प्रशंसा अरूहरूबाट . . . [हुनुपर्छ] आफैबाट होइन, अरू मानिसहरूको मुखबाट . . . [हुनुपर्छ] आफ्नै मुखबाट होइन।” (हितोपदेश २७:२) अनि स्वयं यहोवा यसो भन्‍नुहुन्छ: “‘ज्ञानी मानिसले आफ्नो ज्ञानमा घमण्ड नगरोस्‌, बलियो मानिसले आफ्नो बलमा घमण्ड नगरोस्‌, धनी मानिसले आफ्नो धनमा घमण्ड नगरोस्‌, तर जसले घमण्ड गर्छ त्यसले यसो भनेर घमण्ड गरोस, ‘म परमप्रभुलाई बुझ्दछु, चिन्दछु औ उहाँनै परमप्रभु हुनुहुन्छ, जसले पृथ्वीमा दया, इन्साफ र धार्मिकताको व्यवहार गर्नुहुन्छ। किनभने यिनै कुरामा म प्रशन्‍न हुन्छु,’ परमप्रभु भन्‍नुहुन्छ।”—यर्मिया ९:२३, २४; तुलना गर्नुहोस्‌ हितोपदेश १२:९; १६:१८, १९.

विनयी जनहरूप्रति परमेश्‍वरको चिन्ता

परमेश्‍वरले विनयी जनहरूप्रति देखाउनुहुने चिन्ताका साथै स्वयं आफू कसरी मण्डलीमा विनयको नमुना थिए प्रेरित पावल देखाउँछन्‌। तिनले कोरिन्थका मसीहीहरूले यो लेखे: “ए भाइ हो, तिमीहरू आफ्नो बोलावटलाई विचार गर, शरीरअनुसार धेरै जना बुद्धिमान, धेरै जना शक्‍तिमान, धेरै जना खानदानीलाई बोलावट भएको छैन। तर बुद्धिमानहरूलाई शर्ममा पार्नालाई परमेश्‍वरले संसारका मूर्ख कुराहरूलाई छान्‍नुभयो, र शक्‍तिशाली कुराहरूलाई शर्ममा पार्नालाई परमेश्‍वरले संसारका निर्बल कुराहरूलाई चुन्‍नुभयो। औ परमेश्‍वरले संसारका नीच र तुच्छ ठहरिएका कुराहरूलाई, अर्थात्‌ भइरहेका कुराहरूलाई बेकम्मा गराउनाको निम्ति हुँदै नभएका कुरालाई चुन्‍नुभयो। यो चाहिं कोही प्राणीले परमेश्‍वरको सामने घमण्ड गर्न नपाओस्‌ भनेर हो। . . . जसरी लेखिएको छ, ‘घमण्ड गर्नेले प्रभुमानै घमण्ड गरोस्‌।’ ए भाइ हो, जब म तिमीहरूकहाँ आएँ, तब बात र ज्ञानको सर्व- श्रेष्ठतामा परमेश्‍वरको रहस्य सुनाउन म आएको थिइनँ। किनभने मैले तिमीहरूका बीचमा येशू ख्रीष्ट र उहाँलाई क्रूसमा टाँगेको कुराबाहेक अरू केही नजानेको हुनेनै अठोट गरेको थिएँ। औ म कमजोरी भएर डराउँदै र ज्यादै कम्पमा तिमीहरूसँग रहें। औ मेरो वचन र मेरो प्रचार मानिसको ज्ञानका लोभ्याउने कुराहरूमा होइन, तर आत्मा र शक्‍तिको प्रदर्शनमा थियो, कि तिमीहरूको विश्‍वास मानिसहरूको ज्ञानमा होइन, तर परमेश्‍वरको शक्‍तिमा रहोस्‌।”—१ कोरिन्थी १:२६–२:५.

लेखिएको कुराभन्दा बढ्‌ता नगर्ने

पछि आफ्नो पत्रमा पावलले मण्डलीका सबैले विनय देखाउनुपर्ने आवश्‍यकतामाथि जोड दिए। आफ्नो सही मूल्यांकन गरेर पावलले जुन विनय देखाए तिनीहरूले त्यो सिक्नु आवश्‍यक थियो। अपोल्लसजस्ता केही मानिसहरूका साथै पावलसमेतको पक्ष लिएर कोरिन्थीहरू आपसमा घमण्ड गरिरहेका थिए। तिनीहरूको त्यस्तो काम आध्यात्मिक नभई शारीरिक हो भनेर पावलले तिनीहरूलाई सुधारे। तिनले भने: “ए भाइ हो, मैले यी कुरा तिमीहरूका खातिर, म आफै र अपोल्लसको विषयमा उपमाको रूपमा दिएको छु, कि लेखिएका कुराभन्दा बढ़ता गर्नुहुन्‍न भन्‍ने तिमीहरूले हामीबाट सिक, र तिमीहरूमध्ये कुनै पनि एउटा अर्कोको विरुद्धमा घमण्डले नफूल। किनभने तिमीलाई कसले छुट्टयाउँछ र? तिमीले नपाएको के छ र? तर तिमीले पाएका छौ भने, त्यो नपाए जस्तैगरी किन घमण्डले फूल्दछौ?” यो कुरालाई मनमा राख्यौं भने हामी आफ्नो वा अरूको कुलघरान, जाति, रंग वा राष्ट्रियता, शारीरिक सौन्दर्य, क्षमता, ज्ञान, प्रतिभा आदिको आधारमा अभिमान र घमण्ड गर्नेछैनौं।—१ कोरिन्थी ४:६, ७.

येशू ख्रीष्टको उदाहरण

येशू ख्रीष्ट विनयको सर्वोत्तम उदाहरण हुनुहुन्छ। पिताले जे गर्नुहुन्छ त्यो नदेखेसम्म उहाँ आफैले केही गर्नुहुन्‍न र पिता उहाँभन्दा महान्‌ हुनुहुन्छ भनेर येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो। (यूहन्‍ना ५:१९, ३०; १४:२८) मानिसहरूले पदवी दिनखोज्दा येशूले आफ्नो हक नलाग्ने पदवीहरू स्वीकार्नुभएन। एक जना शासकले उहाँलाई “हे उत्तम गुरु” भनेर सम्बोधन गर्दा येशूले यस्तो जवाफ दिनुभयो: “तिमी मलाई किन उत्तम भन्दछौ? केवल एक, अर्थात्‌ परमेश्‍वरबाहेक कोही उत्तम छैन।” (लूका १८:१८, १९) उहाँले चेलाहरूलाई परमेश्‍वरको दासजस्तो हुन र आफूले परमेश्‍वरलाई गरेको सेवा वा परमेश्‍वरसमक्ष पाएको सम्मानको कारण घमण्डले नफूल्ने आज्ञा दिनुभयो। बरु आफ्नो जिम्मामा दिएको सबै काम गरिसकेपछि तिनीहरूले यस्तो मनोवृत्ति राख्नुपर्थ्यो, “हामी नालायक दास हौं किनकि हामीले ता कर्त्तव्य मात्र गरेका छौं।”—लूका १७:१०.

अर्को कुरा, प्रभु येशू ख्रीष्ट सिद्ध मानव हुनुभएकोले ती असिद्ध चेलाहरूभन्दा श्रेष्ठ हुनुहुन्थ्यो। त्यसबाहेक उहाँले आफ्नो पिताबाट ठूलो अख्तियार पाउनुभएको थियो। यद्यपि, आफ्ना चेलाहरूसित व्यवहार गर्दा उहाँले सधैं तिनीहरूको सीमालाई ध्यानमा राख्नुभयो। उहाँले तिनीहरूलाई कोमलतापूर्वक प्रशिक्षण दिनुभयो र तिनीहरूसित नरम शब्दहरूमा बोल्नुभयो। तिनीहरूले बोक्नै नसक्ने भार उहाँले बोकाउनुभएन।—यूहन्‍ना १६:१२; तुलना गर्नुहोस्‌ मत्ती ११:२८-३०; २६:४०, ४१.

लुगाफाटा र सरसम्पत्ति

मण्डलीमा सबैले उचित आचरण देखाएका छन्‌ वा छैनन्‌ भन्‍ने कुरा निरीक्षण गर्न पावलले निरीक्षक तिमोथीलाई यस्तो निर्देशन दिए: “स्त्रीहरू साधा पहिरनमा लज्जालु र सरल भई सिंगारीऊन्‌। कपाल सिंगारेर बाटेका, सुन, मोती र बहुमूल्य लुगाहरूले ता होइन। तर असल कामद्वारा (जो भक्‍ति गर्ने स्त्रीहरूलाई सुहाउँछ)।” (१ तिमोथी २:९, १०) यहाँ पावलले सफासुग्घर नबस्नू, सुकिलो कोरिबाटी वा पहिरन नगर्नू भन्‍न खोजेका होइनन्‌। किनभने तिनले “साधा पहिरन” होस्‌ भन्‍ने सुझाउ दिए। तर तिनले आफू वा आफ्नो सरसम्पत्तिमाथि अरूको ध्यानाकर्षण गर्ने आडम्बरी अनि तडकभडक पहिरन नहोस्‌ भनेर देखाए। साथै यहाँ अरूको भावना, आत्मसम्मान, आदरभावको कदर गर्नु पनि समावेश छ। मसीहीको पहिरन मर्यादाविहीन, मण्डलीको नैतिक भावनालाई खलल पर्ने वा अरूले ठोकर खाने प्रकारको हुनु हुँदैन। मसीहीले आफूसित भएको भौतिक सरसम्पत्तिप्रति कस्तो दृष्टिकोण राख्नुपर्ने वा कसरी त्यसको प्रयोग गर्नुपर्ने, त्यस सम्बन्धमा पनि यहोवाको दृष्टिकोण बुझ्न पहिरनबारे दिएको यो सल्लाहले मदत गर्नसक्छ।

विनयले हामीलाई अविवेकी काम गर्न वा त्यस्तो मनोवृत्ति देखाउनदेखि बचाउँछ। बाइबलको हितोपदेशले भनेजस्तै विनय साँच्चै बुद्धिको मार्ग हो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने