रोगीको अधिकारलाई कदर गरियो
‘रगतबिना शल्यक्रिया गर्नु मेरोलागि असम्भव कुरा हो। शल्यचिकित्सा गर्न चाहनुहुन्छ भने, तपाईंले मेरो उपचार प्रणाली स्वीकार गर्नुपर्छ। अन्यथा, तपाईंले अर्को चिकित्सक खोज्नुपर्नेछ।’
चिकित्सकका उपरोक्त शब्दहरूले जेङ से जुको विश्वास ढलपल भएन। तिनी यहोवाको साक्षी थिइन् र थाइल्याण्डमा बस्थिन्। तिनलाई मेनिनजाइओमा नामक एक प्रकारको मस्तिष्क ट्युमर भएको थियो। शल्यक्रिया गर्नुपर्ने हुनाले तिनी निराश थिइन्। तर बाइबलको यो आज्ञा पालन गर्न आफ्नो संकल्पमा तिनी दृढ रहिन्: “रगत[बाट] . . . अलग रहनुहोस्।”—प्रेरित १५:२८, २९.
सम्भव भएमा आफ्नै देशमा उपचार गराउने विचारले जेङले अरू दुइ अस्पताल चहारिन्। निराशाजनक कुरा, त्यहाँ पनि चिकित्सकहरूले रगतबिना शल्यक्रिया गर्न अस्वीकार गरे। अन्ततः थाइल्याण्डको अस्पताल जानकारी सेवाले (एचआइएस) जेङलाई टोक्यो विमेन्स मेडिकल कलेजको न्युरोलजिकल इन्सटिच्युटमा पठायो। त्यस अस्पतालमा २०० भन्दा बढी मस्तिष्क ट्युमरका रोगीहरूलाई गामा किरण प्रयोग गरेर उपचार गरिएको थियो। यो उपचार प्रणाली विकिरण उपचारको नवीनतम प्रणाली हो।
अस्पताल नजीकै जापानी साक्षीको घरमा जेङलाई बस्नका लागि प्रबन्ध मिलाइयो। विमानस्थलमा तिनलाई थाइ भाषा बोल्ने दुइ साक्षी र एक एचआइएस प्रतिनिधिलगायत एक हूल साक्षीहरू भेट्न आए। लगभग एक हप्ताको जाँचपछि जेङलाई अस्पतालमा भर्ना गरियो र तिनको गामा किरणद्वारा उपचार भयो। यो उपचार प्रणालीमा एक घण्टा जति समय मात्र लाग्यो। उपचार गरेको भोलिपल्ट जेङले अस्पतालबाट छुट्टी पाइन् अनि छुट्टी पाएको भोलिपल्ट तिनी थाइल्याण्ड फर्किन्।
जेङ भन्छिन्, “यस प्रबन्धद्वारा यति धेरै सहायता प्रदान गर्न सकिन्छ भनेर मैले कहिल्यै कल्पना पनि गरेकी थिइनँ। मप्रति देखाइएको प्रेम र साथै विभिन्न व्यक्तिहरूको सहयोगले म साँच्चै प्रभावित भएँ।”
यो समाचारबारे जापानी समाचारपत्र माईनीची शिम्बुन-ले यस्तो टिप्पणी गऱ्यो: “रक्तक्षेपण अस्वीकार गर्नुका धार्मिक कारणहरू मात्र अहिलेसम्म स्पष्ट भएको छ। तथापि, रक्तक्षेपण गर्दा एड्स, हेपाटाइटिसजस्ता रोग सर्नसक्ने खतरा र एलर्जीहरूजस्ता हानिकारक प्रभावहरू हुन्छन्। यी कारणहरूले गर्दा जुनसुकै धार्मिक विश्वास भए तापनि रोगीहरूले रक्तक्षेपण गर्न चाहँदैनन्।”
त्यस समाचारपत्रले अझै बतायो: “रक्तक्षेपण नलिने रोगीहरूलाई अस्पताल परिवर्तन गर्नु भनेर बलजफ्ती गरिएको छ। तर रोगीको इच्छाको कदर गर्न चिकित्सा संस्थाको तर्फमा पनि परिवर्तन हुन आवश्यक छ। सूचित सम्मति (उपचारको विवरण र उपचारप्रति रोगीको सहमति) आवश्यक छ। अनि रक्तक्षेपणको घटनाहरू अपवाद होइनन्। यो विवाद कुनै एउटा धर्मसित मात्र संलग्न छैन भनेर मानि लिनुपर्छ।”
जेङ से जुजस्ता रगतबिना उपचार गराउन चाहने थुप्रै मानिसहरूले अरू नै अस्पतालमा उपचार खोज्नुपर्छ। तैपनि, रोगीको अधिकारको कदर गर्ने चिकित्सकहरूको प्रयासप्रति तिनीहरू मूल्यांकन व्यक्त गर्छन्।
यहोवाका साक्षीहरूले तिनीहरूको विश्वासको कदर गर्ने चिकित्सकहरूबाट सहयोग लिन वाच टावर सोसाइटीका शाखाहरूमा अस्पताल जानकारी सेवा (एचआइएस) गठन गरे। एचआइएसले संसारभरिका अस्पताल, चिकित्सक, स्वास्थ्यकर्मी, वकिल तथा न्यायाधीशहरूसित सहयोगी सम्बन्ध राख्छ।