के तपाईंलाई सम्झना छ?
हालैका प्रहरीधरहरा-का अंकहरू पढेर के तपाईंले व्यवहारिक लाभ उठाउनुभयो? त्यसो भए, निम्न प्रश्नहरूबाट आफ्नो स्मरण जाँच्नुहोस्:
▫ अम्मोनीहरूको पतनबाट हामी के सिक्नसक्छौं? (सपन्याह २:९, १०)
दयाको बदलामा वैमनस्य राख्नेहरूलाई यहोवाले हलका ठान्नुहुन्न। अनि पुरातन समयमा जस्तै उहाँले आफ्नो तोकिएको समयमा कदम चाल्नुहुनेछ।—(तुलना गर्नुहोस् भजन २:६-१२)—१२/१५, पृष्ठ १०.
▫ मसीहीहरूले कुन कुन मुख्य ढंगमा शान्ति पाएका छन्?
पहिलो हो, तिनीहरूसित “प्रभु येशू ख्रीष्टद्वारा . . . परमेश्वरमा मिलाप [शान्ति, NW]” छ। (रोमी ५:१) दोस्रो, तिनीहरूबीच शान्ति छ। किनकि तिनीहरू यस्तो ज्ञानको खेती गर्छन् “जुन ज्ञान माथिबाट आउँछ।” र “पहिले ता त्यो पवित्र, त्यसपछि मिलापी (शान्तिप्रिय, NW)” हुन्छ। (याकूब ३:१७)—१/१, पृष्ठ ११.
▫ परमेश्वरको वचनलाई के के सित तुलना गरिएको छ र हाम्रोलागि यो कसरी मदतकारी साबित भएको छ?
परमेश्वरको वचनलाई पोषिलो दूध, खँदिलो भोजन, ताजा र स्वच्छ पानी, ऐना र धारिलो तरवारसित तुलना गरिएको छ। परमेश्वरको सेवकले यी पदावलीहरूको प्रयोग बुझेपछि बाइबललाई कुशलतापूर्वक चलाउने मदत पाउनसक्छ।—१/१, पृष्ठ २९.
▫ सन्तुलित सांसारिक शिक्षाले हामीलाई के गर्न मदत दिनुपर्छ?
राम्ररी पढ्न, स्पष्टसित लेख्न, मानसिकता तथा नैतिकता विकास गर्न अनि दैनिक जीवन यापन गर्नका लागि आवश्यक व्यवहारिक प्रशिक्षण हासिल गर्न मदत दिनुपर्छ।—२/१, पृष्ठ १०.
▫ शिक्षाको सन्दर्भमा हामी येशूबाट कुन बहुमूल्य पाठ सिक्नसक्छौं?
शिक्षा, आफ्नो महिमाको लागि होइन तर सबैभन्दा महान् शिक्षक, यहोवा परमेश्वरको प्रशंसा गर्न चलाउनुपर्छ। (यूहन्ना ७:१८)—२/१, पृष्ठ १०.
▫ परमेश्वरको राज्य के हो?
परमेश्वरद्वारा स्थापित स्वर्गीय सरकार हो। त्यसले परमेश्वरको इच्छा पूरा गर्नेछ, पाप र मरणको असरहरूलाई हटाउनेछ अनि पृथ्वीमा धार्मिक अवस्था पुनर्स्थापित गर्नेछ। (दानियल २:४४; प्रकाश ११:१५; १२:१०)—२/१, पृष्ठ १६.
▫ हिंसालाई स्थायी रूपमा अन्त गर्न बाइबलले आवश्यक शिक्षाको प्रबन्ध कसरी गर्छ?
आफ्नो वचन बाइबलद्वारा यहोवाले मानिसहरूलाई शान्तिप्रिय तथा धर्मी हुन सिकाउनुहुन्छ। (यशैया ४८:१७, १८) परमेश्वरको वचनमा मानिसको हृदय छुने र सोचाइ तथा आचरण परिवर्तन गर्नसक्ने शक्ति छ। (हिब्रू ४:१२)—२/१५, पृष्ठ ६.
▫ यशैया अध्याय ३५ मा उल्लिखित भविष्यवाणी कुन तीन तरिकाहरूमा पूरा भए भन्न सकिन्छ?
बाबेलको कैदमा परेका यहूदीहरू सा.यु.पू. ५३७ मा फर्कंदा यशैयामा उल्लिखित भविष्यवाणीको प्रथम पूर्ति भएको थियो। आत्मिक इस्राएल महान् बेबिलोनको कैदबाट मुक्त भएदेखि आज पनि यो आध्यात्मिक तवरमा पूर्ति भइरहेको छ। अनि हुन लागेको यसको तेस्रो पूर्ति पृथ्वीमा चाँडै वास्तविक प्रमोदवन पुनर्स्थापना गर्ने बाइबलको आश्वासनसित सम्बन्धित छ। (भजन ३७:१०, ११; प्रकाश २१:४, ५)—२/१५, पृष्ठ १७.
▫ परमेश्वरले मानिसहरूप्रति व्यक्तिगत चासो राख्नुहुन्छ भनेर उहाँको पुत्र, येशूले गर्नुभएका चमत्कारहरूबाट कसरी प्रदर्शित हुन्छ?
“पिताले जे गर्नुहुन्छ, त्यो नदेखेसम्म” येशू आफैले केही गर्न सक्नुहुन्न। त्यसकारण आफ्ना प्रत्येक सेवकहरूप्रति यहोवाले देखाउनुहुने मायालु चासो येशूको अनुकम्पाबाट झल्कन्छ। (यूहन्ना ५:१९)—३/१, पृष्ठ ५.
▫ येशूले यूहन्ना ५:२८, २९ मा प्रयोग गर्नुभएको “[सम्झनाको, NW] चिहान” भन्ने अभिव्यक्तिको अर्थ के हो?
यहाँ प्रयोग गरिएको युनानी शब्द, नेमियोन-ले (सम्झनाका चिहानहरू) यहोवा परमेश्वरले मरिसकेका अरबौं मानिसहरूको वंशानुगत गुनहरूसहित पूर्ण जानकारी स्मरणमा राख्नुहुन्छ भनेर संकेत गर्छ। परमेश्वरले व्यक्तिगत तवरमा मानिसहरूको फिक्री गर्नुहुन्छ भन्ने कस्तो प्रभावशाली प्रमाण!—३/१, पृष्ठ ६.
▫ हामी सपन्याहको चेताउनीमूलक भविष्यवाणीबाट कसरी व्यवहारिक मदत पाउनसक्छौं?
आफ्नो हृदयमा शंका उब्जाउने र हाम्रो मन वा हृदयमा यहोवाको दिनलाई टाढा सम्झने समय अहिले होइन। यसलगायत भावशून्यताले गर्दा कमजोर हुनदेखि हामी सतर्क हुनुपर्छ। (सपन्याह १:१२, १३; ३:८)—३/१, पृष्ठ १७.
▫ परमेश्वरप्रति वफादारी कायम गर्नु किन चुनौती हो?
किनभने हाम्रा मातापिताबाट प्राप्त वंशानुगत स्वार्थी झुकाउहरू र वफादारी आपसमा जुझ्छ। (उत्पत्ति ८:२१; रोमी ७:१९) योभन्दा ठूलो कुरा, हामीलाई परमेश्वरप्रति अवफादार बनाउन शैतान र त्यसका प्रेतहरूले दृढ संकल्प गरेका छन्। (एफिसी ६:१२; १ पत्रुस ५:८)—३/१५, पृष्ठ १०.
▫ कुन चार क्षेत्रहरूमा वफादारी कायम गर्नु चुनौती भएको छ र वफादार भइरहन कुन कुन कुराले हामीलाई मदत गर्छ?
ती चार क्षेत्रहरू हुन्: यहोवा, उहाँको संगठन, मण्डली र पति वा पत्नी। वफादारीको चुनौती पूरा गर्नु यहोवाको सार्वभौमिकतालाई उच्च पार्नु हो भन्ने कुरा बुझ्नु पनि यी चुनौतीहरू सामना गर्ने एउटा सहायता हो।—३/१५, पृष्ठ २०.
▫ दाऊदले वाचाको सन्दुकलाई यरूशलेम फर्काउन खोज्दा तिनले भोग्नु परेको अनुभवबाट हामी के पाठ सिक्नसक्छौं? (२ शमूएल ६:२-७)
सन्दुकको सन्दर्भमा यहोवाले तोक्नुभएको निर्देशनलाई दाऊदले बेवास्ता गर्दा विपत्ति आइलाग्यो। यहोवाका सुस्पष्ट निर्देशनहरू वास्ता नगरेकोले समस्याहरू उत्पन्न हुँदा यहोवालाई कहिल्यै दोष लगाउनु हुँदैन भन्ने पाठ यसबाट सिक्छौं। (हितोपदेश १९:३)—४/१, पृष्ठ २८, २९.